विद्युत प्राधिकरणले जडान गर्न थाल्याे ‘स्मार्ट मिटर’

  २०७७ साउन २५ गते १६:३७     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजबाट ‘स्मार्ट मिटर’ जडान कार्य सुरु गरेको छ । पहिलो चरणमा एक लाख ‘स्मार्ट मिटर’ जडान गर्ने योजनाका साथ आजबाट काम सुरु भएको हो ।

‘सिंगल फेज’ का मिटरहरुलाई स्मार्ट मिटर बनाउने काम आजबाट सुरु भएको र पहिलो चरणमा एक लाख मिटर जडान हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उपत्यकाका तीन वटै जिल्लामा कम्तिमा ५ लाख स्मार्ट मिटर आवश्यक पर्ने उल्लेख गर्दै उनले पहिलो चरणमा १ लाख र दोस्रो चरणमा उपत्यका लगायत देशभरी नै स्मार्ट मिटर जडानको काम सुरु गरिने बताए ।

स्मार्ट मिटर जडान भएपछि विहान, दिउँसो र बेलुकीको समयमा फरक महसुल निर्धारण गर्न सकिने, घरघरमा मिटर रिडरहरु जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । विद्युत चुहावट कम हुने र महामारीको समयमा पनि अनलाइन मार्फत विल भूक्तानी लगायतका काम गर्न सकिने उनले बताए ।

ग्राहकले स्मार्ट मिटर जडान भएपछि आफ्नो सुविधा अनुसार ‘प्रिपेड र पोस्टपेड’ गर्न सक्ने अप्सन समेत रहेको छ । स्मार्ट मिटर जडान सुरु गरेको प्राधिकरणले सरकारी संस्थानहरुमा उत्कृष्ठ काम गर्दै आएको उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले बताए । सबैले आफ्नो क्षेत्रबाट इमानदार भएर काम गर्न सके परिवर्तन सम्भव रहेको उदाहरण प्राधिकरणले पेश गरेको उनले बताए । मन्त्री पुनले नेपालको उत्पादन क्षमताअनुसारको विद्युत उत्पादन गरी भारत, बंगलादेश लगायतका छिमेकी देशहरुमा स्वच्छ उर्जा वितरण गरी यस क्षेत्रकै ‘ब्याट्रि स्टोरेज’ का रुपमा काम गर्ने योजनाका साथ काम भइरहेको बताए । अहिले नेपालले रातिको समयमा भारतमा ४० देखि ८० मेगावाट विद्युत निर्यात गरिरहेको उनले बताए ।

प्राधिकरणले पछिल्लो समय विद्युत महसुल केही घटाएको छ । प्राधिकरण पछिल्लो समय दर्जनौ सरकारी संस्थानहरुमा धेरै नाफा कमाउने र गुणस्तरिय सेवा प्रदान गर्ने संस्थाका रुपमा अग्रस्थानमा रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.