हाम्राे टीम राम्राे छ, पुरै टीमले चुनाव जित्छः सौरभ ज्योति

  २०७७ साउन १ गते ११:५५     विकासन्युज

सौरभ ज्योति, उपाध्यक्षको उम्मेदवार- नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षको उम्मेदवार हुन् सौरभ ज्योति । पूरानो व्यवसायिक घराना ज्याेति ग्रुपका हर्ताकर्ता, महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिका छोरा, महासंघको कार्यसमितिमा ४ कार्यकाल केन्द्रीय कार्यसमितिमा रहेर भूमिका निर्वाह गरिसकेका ज्योतिको उम्मेदवारी स्वभाविक हो । प्रस्तुत छ चुनावी तयारी, चुनावी अजेण्डा र व्यवसायिक समस्या समाधानतर्फ गरिएका प्रयासबारे उनीसँग विकासन्युजका लागि रामकृष्ण पौडेल र सन्तोष रोकायाले गरेको कुराकानी ।


तपाई एउटा पुरानो र ठूलो व्यवसायीक घरानाको व्यक्ति । आफ्नो व्यवसायमा पनि महत्वपूर्ण भूमिकामा हुनुहुन्छ । विस्तारै महासंघमा पनि तपाईका खुड्किलाहरु माथि चढ्दै छन् । तपाईभित्रको स्ट्रेन्थ के हो ?

म आफूलाई सबै कुरा थाहा भएको जस्तो सक्षम व्यक्ति मलाई लाग्दैन । जो जति विज्ञ भएपनि उ सबै क्षेत्रमा विज्ञ हुन सक्दैन । मेरो उद्देश्य भनेको एउटा राम्रो टीमको साथ लिएर अगाडि बढ्नु हो । उनीहरुको साथ सहयोगले सँगसँगै अगाडि बढ्ने हो । हाम्रो उद्देश्य एउटै हुन्छ । अहिलेको हाम्रो एउटै उद्देश्य भनेको महासंघलाई राम्रो संस्था बनाउने हो । महासंघ सबै उद्योगी व्यवसायीको छाता संगठन हो । महासंघको उद्देश्य भनेको अर्थतन्त्रलाई मजबुद बनाउनु हो । त्यो उद्देश्य हासिल गर्नको लागि सक्षम नेतृत्व र टीम हुनुपर्छ । राजनीति नभई काम गर्ने नेतृत्व र टीम हुनु आवश्यक छ । महासंघमा राजनीतिक धेरै भयो भन्ने आवाज उठ्दै गएको छ । हाम्रो टीम राजनीतिभन्दा पनि पेशागत मर्यादालाई बुझेर अगाडि बढ्न चाहान्छ । पहिलेको भन्दा अहिलेको परिवेश अत्यन्तै कठिन छ । यो विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको कारण अर्थतन्त्रलाई पुनरुत्थान गर्नको लागि राम्रो टीमको आवश्यकता छ ।

तपाईले आफ्नो चुनावी टिम राम्रो छ भनेर भन्नु स्वभाविक हो । तर यो जटिल परिस्थितीमा महासंघका प्रतिनिधिहरु राहतका कुरा होइन, भोट माग्न हिडिरहेका छन् । यो कत्तिको उचित हो ?

मेरो चुनावी क्याम्पियन भनेको मेरो काम हो । यो राजनीतिक संस्थाभन्दा पनि व्यवसायीहरुको संस्था हो । कसले कति काम गरेको छ । कसले कति संस्थामा काम गरेको छ । कसले कति मेहेनत गरेको छ । त्यो प्रष्टै देखिएको छ । योग्यताको हिसावले नेतृत्व हुनुपर्छ भन्ने मेरो मान्यता हो ।  अहिले मौद्रिक नीति सबैभन्दा महत्वपूर्ण विषयका रुपमा रहेको छ । यो नीतिले निजी क्षेत्रलाई राहत दिन सकेन भने एकदमै समस्या हुन्छ । आफ्नो विशषेज्ञता नभए पनि सबैको समस्या सुनेर, जिल्ला नगरहरुका समस्याहरु सुनेर विभिन्न स्टक होल्डरहरुलाई सुझाव दिनुपर्छ । र, दिएका पनि छौं । त्यसको केही रिजल्ट पनि आइसकेको छ ।

रिजल्ट के आयो अहिलेसम्म ?

अहिलेसम्म कहिल्यै पनि केन्द्रिय बैंकले २ प्रतिशत व्याजदर छुट दिएको थिएन । निजी क्षेत्रको पहलमा नै यो सुविधा हामीले पाएका छौं । चैत महिनाको लागि १० प्रतिशत व्याज छुट पनि भयो । विभिन्न आयकरमा २५ प्रतिशत देखि ५० प्रतिशतसम्म छुट दिने किसिमले लविङ पनि गर्यौं । बजेटमा यस्तो सुविधा आएको पनि छ । यस्तो खालको केही रिजल्ट आएको छ । केही रिजल्ट आउन बाँकी नै छ । अझै हामी प्रयासरत छौं । मौद्रिक नीतिपछि फेरि हामी विभिन्न पक्षमा राहतका लागि पहल गर्नेछौं । नीतिगत रुपमा समस्या समाधान भएर आएपनि त्यसको कार्यान्वयनमा हामीले जोड दिनुपर्छ ।

अहिलेको अवस्थामा व्यवसाय चलाउनु नै ठूलो उपलब्धि भयो । नाफाको सम्भावना नै छैन । यस्तो बेलामा २० लाख वा ५० लाख कारोबार हुने व्यवसायीलाई दिइएको आयकर छुटले व्यवसायीलाई लाभ मिलेको छ ?

ज्योती ग्रुपको कुरा गर्ने हो भने हामीलाई लाभ छैन । साना व्यवसायीलाई लाभ मिलेको छ । महासंघ भनेको निजी क्षेत्रको छाता संगठन हो । त्यसमा साना ठूला सबै व्यवसायी रहेका छन् । बजेटमा आएको आयकर छुटको सुविधाले ठूला व्यवसायलाई त्यति फरक नपर्ला तर सानो व्यवसायलाई फरक पर्छ ।

सरकारले ऋणीलाई २ प्रतिशत व्याज छुट दिन बैंकहरुलाई निर्देशन दियो । यसले निजी क्षेत्रलाई फाइदा पुग्यो ? आखिरी बैंकहरु पनि निजी क्षेत्रकै लगानीमा चलेका छन् ? सरकारले एउटा व्यवसायिको खल्तीको पैसा झिकेर अर्को व्यवसायीको खल्तीमा हाल्दैमा निजी क्षेत्रले सरकारप्रति गर्व गर्न मिल्छ ?

अहिले  गर्व गर्ने विषयभन्दा पनि बाँच्ने बचाउने विषय ठूलो हो अहिले कोरोनाले यस्तो अवस्था सिर्जना गर्छ भनेर कसैले पनि सोचेका थिएनन् । यसले धेरै उद्योग व्यवसायहरु बन्द गर्ने अवस्थामा पुगे । ३ महिनासम्म व्यवसाय बन्द भएपछि कसरी कर तिर्ने ? कसरी ऋण तिर्ने ? कसरी तलव भुक्तनी गर्ने ? भाडा कसरी तिर्ने ?

हामीले ऋण नतिर्ने भनेका छैनौ, लिएपछि तिर्नै पर्यो । यो विषम परिस्थितिलाई रिस्ट्रचरिङ गरौं भन्ने हो । अहिले हामीलाई समय दिनोस् भन्ने हो । हाम्रो भनाई पहिलेकै धितोमा थप ऋण पाओस् भन्ने हो ।

अहिले खर्च पनि बढेको छ । ज्यान जोखिममा राखेर कोहि पनि काममा आउन मान्दैनन् । उत्पादन घटेको छ, खर्च २० प्रतिशत बढेको छ । कोभिडको असर ३ देखि ५ वर्षसम्म हुन सक्छ । यस्तो अवस्थामा एकले अर्कोलाई सक्दो सहयोग गरौं । त्यसैले अहिले कर्जामा रिस्ट्रचरिङको व्यवस्था हुन पर्छ जसले गर्दा हामीलाई विस्तारै व्यवसाय माथि उठ्दै जान्छ भन्ने हाम्रो भनाई हो ।

तपाईहरुको बैंकको व्याज, किस्ता र ऋण सुविधाको मात्र कुरा गर्नुहुन्छ । यो परिस्थतीमा सरकारबाट श्रमिकलाई दिने भुक्तानीमा राहत देउ, आम्दानी करमा छुट देउ किन भन्नुहुन्न ?

त्यो हामीले भनिसकेका छौं । समस्या अहिले बैंकमा छ । राहत बैंकबाट दिनु  पर्ने भएकोले बैंकहरु र राष्ट्र बैंक मुख्य केन्द्रबिन्दु भएका छन् । बजेटबाट त्यस्तो राहत आएन । त्यही भएर बैंकहरु र म्रौद्रिक नीतिमा हाम्रो जोड हो । हामीले नेपाल सरकारले ल्याउने बजेटमा धेरै सुझावहरु दिएका थियौं । हामीले बजेटको ५ प्रतिशत राहत माग गरेका थियौं । त्यसमा ४ प्रतिशत आयो । हामीले श्रमिकहरु र होटल व्यवसायीलाई छुट्टै खालको राहत दिनु भनेका थियौं । सरकारका पनि आफ्ना सीमा छन् ।

चुनावको कुरा गरौं, तपाईले एसोटिएटको तर्फबाट उपाध्यक्षका लागि उम्मेदवारी दिदै हुनुहुन्छ । चुनाव जित्ते आधार के छन् ?

जुन मेरो टीमका साथी छन् ती सबै एक सय एक हुनुहुन्छ । सबै टीम एफोर्ट गरेर हामी कन्फिडेन्ट छौं कि यो पुरै टीमले जित्छ ।

तपाईसँग प्रोक्सी कति छ ?

प्रोक्सीभन्दा पनि चुनाव भनेको मेरो लागि राजनीतिक कुरा होइन । मेरो जहिले पनि धारणा बेष्ट म्यान फोर द जब हो । मभन्दा राम्रो व्यक्ति त्यो पदमा जान्छ भने म छोडेर त्यो व्यक्तिलाई राख्न चाहन्छु । मलाई जित्नु भन्दा पनि त्यो संस्थामा उपलब्धि हुनु पर्यो । त्यो संस्थामा काम गर्ने मान्छे चाहियो । हाम्रो समस्याको समाधान गर्न सक्ने मान्छे चाहियो । मलाई हार्नुभन्दा पनि जित्नुको डर छ । हार्यो भने त के छ म आफ्नो व्यवसाय हेर्छु । अझै पुरा समय दिन्छु । चुनाव जितेपछि, संस्थामा बसेपछि धेरै काम गर्नुपर्छ । समय दिनुपर्छ । जित्यो भने आफ्नो काम व्यवसाय छोडेर पुरै संस्थामा लाग्नु पर्ने हुन्छ ।

अहिले नेतृृत्वका लागि सबैभन्दा कठिन समय हो । त्यसैले मलाई हार्नुभन्दा बढी जित्नुको डर छ । जित्यो भने हामीले यति मेहेनत गर्नुपर्छ, दिनरात काम गर्नुपर्छ । हाम्रो टीम सम्पूर्ण उद्योग व्यवसायीहरुका समस्याहरु समाधान गर्न तर्फ अगाडि बढ्छ । हाम्रो टीमको सोच परिवर्तन ल्याउनु पर्छ भन्ने हो । आर्थिक विकास गर्नुपर्छ भन्ने हो । काम धेरै हुनुपर्छ, राजनीति कम हुनुपर्छ भन्ने हो । यो कार्यकाल मात्र होइन दश वर्षसम्म महासंघलाई कहाँ लग्ने भन्ने हाम्रो टीमले त्यो खालको वातावरण सिर्जना गर्छ ।

सबै राम्रा मान्छेहरुलाई तपाईका टीमले समेट्न सकेको छ ?

सबैलाई चित्त बुझाउन गाह्रो नै हुन्छ । तर, समग्र रुपमा मेजोरीटी र राम्रो मान्छेहरु समेट्ने कोसिस गरेका छौं । अहिले पनि ढिलो भएको छैन । त्यहाँ काम गर्न जाने हो । मिलेर काम गर्ने हो ।

तपाई किशोर प्रधानको टिममा हुनुहुन्छ, प्रधानको स्ट्रेन्थ के हो ?

उहाँ सबैको सर सल्लाह लिने, धेरै अनुभवी मान्छे हो । उहाँ नेपालको सानो–सानो उद्योगदेखि ठूलो उद्योग व्यवसायहरु सबैले चिनेको नेटवर्क भएको र सबैका समस्या बुझेको व्यक्ति हुनुहुन्छ । त्यो हुनु भनेको नेतृत्व गर्न सक्नु हो । कहिले काहिँ विज्ञ मान्छे आएर पनि सफल नेतृत्व गर्न सक्दैन । विज्ञ मान्छे भयो भने मलाई सबै कुरा थाहा छ कसैको कुरा चाहिँदैन भन्ने खालका हुन्छन् । त्यसलै टीम अगाडि बढाउने, टीमको नेतृत्व गर्न सक्ने क्षमता उहाँमा छ । मेरै कुरा गर्ने हो भने मैले लाष्ट टाइममा पनि छोडेको हो । सबैले तपाई युवा नै हुनुहुन्छ । तपाईको उमेर समय छ भन्छन् । म अहिलेको हिसावले किशोर दाईपछि सबैभन्दा अग्रज हो । मेरो उमेर होइन महासंघका बिताएको समय हेर्नोस् ।

नेपाल उद्यमी मञ्चमा अध्यक्ष भएर लामो समय काम गरेको छु । मैले विभिन्न संघ संस्थामा अध्यक्ष भएर काम गरेको छु । मैले धेरै अनु्भव हाँसिल गरेको छु । महासंघमा पनि ४ कार्यकाल बिताइसकेको छु । महासंघमा नेश्नल एक्सलेन्ट अर्वाड समितिको सभापतिदेखि कर राजश्व समितिको सभापति र अहिले बैंकिङ र वित्तीय संस्थाको सभापति छु ।

तपाई बैंकिङ र वित्तीय संस्थाको सभापति भएको बेलामा बैंकर र व्यवसायीबीच द्वन्द्व नै भयो नि ?

जहाँ आलोचना र द्वन्द्व हुँदैन त्यहाँ काम नै हुँदैन । जे पनि टाउको हल्लाएर राम्रै छ भन्यो भने काम नै नभएको सोच्नु पर्छ । जति तपाईले कोट्याउँदै जानुभयो, जति विवाद हुन्छ, त्यति बढी अन्र्तक्रिया तथा काम भयो सम्झनु पर्छ ।

महासंघमा एसोसिएटबाट अहिले ९ सय २७ जना सदस्यहरु छन्, तिनीहरुले भोट हाल्दा त्यसको वेटेज ३० प्रतिशत मात्र हुन्छ । १ सय ६ जनाले जिल्लाबाट भोट हाल्दा त्यसको वेटेज ५० प्रतिशत हुन्छ । यो संरचना ठीक छ ?

यसमा इतिहासबाटै हेर्नुपर्छ । मेरो पनि महासंघमा एक दशकभन्दा बढी भइसकेको छ । यो दुइटै हामीले पहिलेदेखि नै गर्दौ आएका छौं । जिल्लामा हाम्रो बढी प्रतिनिधिहरु छन् । नेपाल सरकारभन्दा पनि बढी सञ्जाल भएको हाम्रो उद्योग वाणिज्य महासंघ हो । कर उठाउन पनि हाम्रो सञ्जाल ठूलो छ । महासंघको त्यो सञ्जाल एउटा स्ट्रेन्थ हो । समग्र रुपमा नेपालले समृद्धि हाँसिल गर्नको लागि जिल्ला नगरका एसएमईहरुको भूमिका महत्वपूर्ण हुन्छ । हामीले उहाँलाई त्यो अधिकार दिनै पर्छ ।

वर्तमान अध्यक्ष, स्वतः अध्यक्ष हुने मान्छे र पूर्व अध्यक्षहरु समूहगत रुपमा निर्वाचनमा सक्रिय हुनुहुन्छ । यो असल अभ्यास हो ?

यो नयाँ नौलो कुरा होइन । ५४ वर्ष भइसक्यो यही प्रक्रिया चल्दै आएको छ । तर, यसलाई म असल अभ्यास मान्दिन । अहिलेको वरिष्ठ उपाध्यक्ष जो अध्यक्ष हुँदैहुनुहुन्छ। उहाँको जुन भिजन छ । महासंघलाई राजनीतिबाट मुक्त गर्न व्यक्तिगत स्वार्थबाट निस्केर संस्था अगाडि बढ्नु पर्यो । संस्थाको स्वार्थको लागि काम गर्ने मान्छे चाहिएको छ । आइडियोलोजी, प्रिन्सिपल र काम गर्ने तरिका फरक भएर पक्ष विपक्ष भएको हो ।  मेरो सिद्धान्त मेरो लागि सही हो । अरुको लागि उहाँहरुकै सिद्धान्त सही होला । त्यसैले सैद्धान्तिक रुपमा र महासंघ कहाँ लग्ने कुरा फरक भएको हुनाले उहाँले आफ्नो हिसावले अगाडि बढेको हुनुपर्छ । आ–आफ्नो टीमलाई समर्थन गर्नु भएको हो ।

महासंघ अध्यक्षमुखी संस्था त हो तर अध्यक्ष एक्लैले महासंघमा काम गर्न सक्दैन । उहाँलाई सहयोग गर्ने टीम चाहिँन्छ । त्यसमा हामी परिवर्तन गर्न लागेका छौं । अहिलेसम्म अध्यक्षमुखी संस्था हो । तर, अहिले हाम्रो जुन टीम आउँदैछ अध्यक्षमुखीबाट टीममुखी बनाउने हो । उपलब्धि हाँसिल गर्ने रिजल्ट ओरिन्टेड, प्रोफेसनल संस्था, निजी क्षेत्रको हक हितका लागि नतिजा ल्याउने संस्था अहिले चाहिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले २०७३ कार्तिकमा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने प्रावधान जुन मर्मले ल्याएको थियो अहिले त्यो मर्म लागू तथा कार्यान्वयन भएको छ ?

हामीले निर्वाचन हुँदा अध्यक्ष राजनीतिबाट न्युट्रल होस् भन्ने हो । उहाँ स्वतः अध्यक्ष भएपछि चुनाव नै लड्नु नपरेपछि पक्ष विपक्ष हुनु हुँदैन भन्ने उद्देश्यले यो प्रावधान गरिएको हो । तर, त्यही व्यक्तिलाई वरिष्ठ हुँदा विभिन्न कठिनाईहरु ल्याएर संस्था नै विथोल्न अगाडि बढेको हुनाले जुन दिशामा हामी जान चाहन्थ्यौ, त्यो हुन सकेन । यसपाली हुन सकेन । हामीले अब निरन्तर प्रयास गर्यो भने अध्यक्षलाई राजनीतिबाट टाढा राख्न सक्छौं । त्यसैका लागि यो टीम आवश्यक छ ।

महासंघको चुनाव नजिकिँदै गर्दा एकले अर्कालाई होच्याउने, गाली बेइजती गर्ने खालको टिकाटिप्पणीहरु भइरहेका छन् । यसले महासंघको गरिमा बढ्छ ?

यो कुरामा धेरै लामो इतिहास छ । अरुले कसरी भन्नुहुन्छ त्यसमा मेरो कुनै धारणा छैन । तर म आफ्नो सिद्धान्त र हाम्रो पुरै टीमको कोड अफ कण्डक्ट छ । हामीले आफ्नो काम गर्ने हो र त्यसको बलमा प्रचार प्रसार गर्ने हो । आफ्नो राम्रो कुरा प्रचार प्रसार गर्ने, अरुको नराम्रो कुरा हामी बोल्दैनौं । हाम्रो टीमबाट त्यस्तो कुरा हुँदैन । अरुको बारे आरोप प्रत्यारोप गर्ने काम हामी गर्दैनौं । हामीले कसरी महासंघको गरिमा बढाउने कुरामा कमिटमेन्ट गर्छौं । अरुको नराम्रो कुरा हामी गर्दैनौं । त्यस्तो कार्यमा हामी सहभागी पनि हुँदैनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.