चिउरा निर्यात हङकङ्ग र अष्ट्रेलियामा, ओट्स र कर्नफ्लेक्स गाउँघरमा

  २०७७ असार २५ गते १०:३८     विकासन्युज

काठमाडौं । नेपालीहरुको खानपिन शैलीमा छिटोछिटो परिवर्तन आएको छ । मकै भटमास, रोटी-तरकारी र दहि-चिउरा खाजाको सट्टा चाउचाउ, बिस्कुट, ओट्स र कर्नफ्लेक्सको प्रयोग बढ्दो छ ।

उपभोक्ताको आनीबानीमा आएको परिवर्तन, खानपिनको तौल तरिकामा आएको परिवर्तनसँगै नेपाली उद्योगीले पनि आफ्ना उत्पादनमा परिवर्तन ल्याएका छन् । तीन पुस्ता अघिदेखि खाद्यान्य व्यवसाय गर्दै आएको भैरहवाको एक व्यवसायिक घरानाले हाइलाइफ ब्राण्डमा ओट्स र कर्नफ्लेक्स उत्पादन थालेको छ ।

विदेशी ब्राण्डका ओट्स र कर्नफ्लेक्सको उपभोग नेपाली बजारमा बढ्दै गएपछि नेपाली कम्पनीले यस्तो उत्पादन शुरु गरेको हो । ‘हामीले हाइलाइफ ब्राण्डमा ओट्स र कर्नफ्लेक्स नेपालमा नै उत्पादन गरेर बिक्री वितरण गर्न थालेको डेढ वर्ष भयो’ हाइलाइफ फुड्सका प्रबन्ध निर्देशक प्रशान्त घिमिरेले भने- ‘देशभर गाउँ सहर सबैतिर हाइलाइफ ब्राण्डको उपस्थिति छ । उपभोक्ताले रुचाएका छन् । बजार विस्तार हुँदै गएको छ ।’

विदेशी ब्राण्डका ओट्स र कर्नफ्लेक्सको तुलनामा हाइलाइफको मूल्य कम भएको तर गुणस्तर समान रहेको उनले बताए । ‘बहुराष्ट्रिय कम्पनीले प्रयोग गर्ने कच्चा पदार्थ र हामीले प्रयोग गर्ने कच्चा पदार्थ उहि हो । उनीहरुले ब्राण्डिङमा खर्च धेरै गर्छन् । हामीले कम खर्च गर्छौं । गुणस्तर उही हो, मूल्य नेपाली प्रडक्ट सस्तो हुन्छ’ उनको तर्क छ ।

‘बजारमा हुने अन्य कुनैपनि ब्राण्डका उत्पादनको तुलनामा हाम्रो उत्पादन कमसल हुनु हुँदैन भन्नेमा हामी प्रतिबद्ध छौं’ उनले भने- ‘साथसाथै आकर्षक प्याकेजिङ र कम मूल्यलाई हामीले जोड दिएका छौं ।’

‘ओट्सलाई अहिले शताब्दीकै सबैभन्दा पोषणयुक्त खानाको रुपमा लिइन्छ । प्रोटिन धेरै हुने भएकोले आफ्नो हेल्थलाई लिएर जो सचेत छ उसले यो प्रयोग गर्छ’ उनले भने- ‘आट्स जंक फुडमा पनि पर्दैन । यसमा ओट्स बाहेक अरु केही हुँदै हुँदैन । चिनी अथवा प्रेजरभेटिभ लगायतका कुनै पनि केमिकल यसमा हुँदैन । यो शतप्रतिशत नै केमिकलरहित छ ।’

हेर्दा जौ जस्तै देखिने ‘जै’ नामको कच्चापदार्थबाट ओट्स बन्छ । ओट्स उत्पादनको लागि आवश्यक जै बागलुङ्, पर्वत क्षेत्रमा अलि अलि उत्पादन भएपनि उद्योगका लागि चाहिने ठूलो परिणामको कच्चा पदार्थ अष्ट्रेलिया, श्रीलंका तथा क्यानडाबाट आयात गर्नुपर्ने उनले बताए ।

उनका अनुसार ओट्सको बजार ६० प्रतिशत काठमाडौंमा नै हो । ठूलो बजार भएकोले सबैको ध्यान काठमाडौंमा केन्द्रीत छ । हाइलाइफले गाउँका बजारमा पनि जोड दिएको छ । ‘जुम्ला, डोल्पालगायतका स्थानमा पनि पुगेका छौं । गाउँका मानिसहरुलाई ओट्स खुवाउन सिकाउँदै छौं । हामीले भविष्य त्यहाँ देखेका छौं’ प्रबन्ध निर्देशक घिमिरेले भने ।

अहिले गाउँ शहर सबैतिर सबैका हातहातमा मोवाइल छ । युट्युव, फेसबुक लगायतबाट ओट्सको फाइदाको बारेमा सबैलाई थाहा भइसकेकै छ । डाइबिटिज भएकाहरुले सुगर कन्ट्रोलमा ल्याउनका लागि एन्टी अक्सिडेन्ट पनि राम्रै मात्रामा हुने जस्ता कारणले ओट्सको बजार बढेको उनले बताए ।

घिमिरेको परिवारिक व्यवसायमा हाइलाइफ फुड्स एउटा उद्योग मात्र हो । ‘चिउरा, मस्यौरा, बेसन, दालमोठ उत्पादन गर्छौ । अन्य उद्योगका लागि आवश्यक प्याकेजिङ म्याटिरियल्स उत्पादन गर्छौ । सलाई उद्योग छ । २५ वर्ष पुरानो धागो उद्योग चलाईरहेका छौं’ उनले भने-‘करिव एक हजार जना कर्मचारी छन् । वार्षिक ८०-८५ करोड रुपैयाँको कारोबार हुन्छ ।’

सलाई आयात प्रतिस्थापन गर्न ठूलो भूमिका खेलेको बताउँदै घिमिरेले अहिले हाइलाइफ ब्राण्डका चिउरा निर्यात गरिरहेको बताए । ‘चिउरा हाम्रो एग्रो बेस्ड उत्पादन हो । त्यहाँ हामीले १०० प्रतिशत नै नेपालको कच्चा पदार्थ प्रयोग हुन्छ । हामी सिधै किसानसँग गएर धान खरिद गर्छौं । हाम्रा प्रोडक्टहरुमा कुनै किसिमको मिसावट पनि छैन ।’

हङकङ्ग र अष्ट्रेलियामा चिउरा निर्यात पनि गरिरहेका र नेपाली चिउराको माग बढ्दै गएको उनको भनाई छ । ताइचिन चिउरा काठमाडौंबाट ठूलो मात्रामा निर्यात हुन्छ । नेपाली बजारमा चिउरा निकै खपत हुने भएकोले उपभोक्ताको चाहाना अनुसार विभिन्न तौलमा विभिन्न प्रकारका चिउरा उत्पादन गरिरहेको उनले बताए ।

घिमिरेले व्यवसाय विस्तारको योजना पनि बनाएका छन् । ‘चाँडै नै हाम्रा केही नयाँ प्रोडक्टहरु आउँदै छन् । बुटवल नजिकै औद्योगिक क्षेत्रमा उद्योगका लागि ठाउँ बुक गरिसकेका छौं’ उनले भने ।

One comment on "चिउरा निर्यात हङकङ्ग र अष्ट्रेलियामा, ओट्स र कर्नफ्लेक्स गाउँघरमा"

  • Ujjwal Simkhada says:

    I am planning to start new business where the products will be only Made in Nepal. Please contact me Hilife.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.