एफएनसीसीआईको चुनावी रस्साकस्सी सुरु, प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय

  २०७७ असार १६ गते २०:४१     विकासन्युज

काठमाडाैं । आगमी साउन २६ र २७ गते हुने भनिएकाे नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनकाे रस्साकस्सी सुरु भएकाे छ । कोरोना भाइरसको कारणले हालसम्म हुन नसकेकाे महासंघको निर्वाचनकाे पुन: मिति तय गरेसँगै चुनावी माहाेल बढेकाे हाे ।

पछिल्लो समय लकडाउन मोडालिटी परिर्वतन भएपछि चुनावमा उठ्ने उम्मेदवारहरुले चुनावको तयारीमा लागेका छन् । महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहले चुनावका लागि सम्पर्क कार्यालय पनि खोलेका छन् । प्रधान समुहले ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरेको हाे ।

महासंघको बरिष्ठ उपाध्यक्षसहितका पदमा किशोर प्रधान र चन्द्र ढकालको आ–आफ्नो समुहको प्यानल नै बनाएर उमेद्वाारी दिने घोषणा नै गरेका छन् । महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गरेका छन् ।

उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ सहभागी थिए। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। यसपटक शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन्।