समय तोकेपनि एफएनसीसीआईको निर्वाचन अनिश्चित

  २०७७ असार १५ गते १८:२०     विकासन्युज

काठमाडौं । साउन २६ र २७ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अझै अनिश्चित नै छ । कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढेसँगै महासंघको निर्वाचन पनि अनिश्चित बन्दै गएको हो ।

सुरुमा गत चैत २७ र २८ गते हुने भनिएको महासंघको निर्वाचन कोराेनाकै कारणले रोकिएको थियो । गत हप्ता मात्रै महासंघको कार्यसमितिले साउन २६ र २७ गते गर्ने निर्णय गरेको थियो । तर, निर्वाचन अझै पनि अनिश्चित नै रहेको बताइएको छ ।

कोरोना भाइरसको कारण भन्दै आज हुने भनिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (ईपान) को निर्वाचन पनि स्थगित नै भएको छ । कोरोनाको कारण देखाउँदै ललितपुर जिल्ला प्रशासन कार्यालयले निर्वाचन रोक्न परिपत्र जारी गरेसँगै ईपानको निर्वाचन अनिश्चितकालका लागि रोकिएको हो ।

कोभिड- १९ महामारीको असरका बीच २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले परिपत्र जारी गरेपछि निर्वाचन स्थगित भएको इपानले आइतबार नै सूचनामार्फत जानकारी गराएकाे थियो ।

यो सँगै अब महासंघको निर्वाचन पनि के हुन्छ भन्ने बारे प्रश्न उठेको छ । महासंघका एक पूर्व अध्यक्षले महासंघले निर्वाचनको मिति तय गरेपनि निर्वाचन हुन सक्ने सम्भावना भने कमरहेकाे बताए । ‘दिनप्रतिदिन कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ, काठमाडौंमा नै दैनिक कोरोनाका बिरामी बढ्दै गएका छन्, यसले महासंको निर्वाचन हुन सक्ने सम्भावना कम देखाउँछ, उनले भने ।

सरकारले नै २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन भनिरहेको समयमा महासंको निर्वाचन भएमा हजारौं मानिसको सहभागिता हुन्छ । यसले पनि प्रशासनले रोक्न सक्ने सम्भावना बढी छ ।

महासंघका प्रमुख कार्यकारी अधिकृत धरणीधर कोइरालाले निर्वाचनको समय तोकेपनि अहिले नै निर्वाचन हुन्छ वा हुँदैन भन्न सकिने अवस्था नरहेको बताए । ‘सरकारले २५ जनाभन्दा बढी भेला नगर भन्छ, महासंघका सयौं जना मानिस निर्वाचनमा भेला हुन्छन्, कोरोनाको संक्रमणदर तीव्र रुपमा फैलिरहेको छ, अहिले नै यही हुन्छ भन्न सकिने अवस्था छैन,’ उनले भने ।

उनले यसको बारेमा साउन पहिलो हप्ता थाहा हुने बताए । अझै पनि डेढ महिना बाँकी रहेकाेले अहिले नै निर्वाचन रोकिन्छ वा निर्वाचन हुन्छ भन्न सकिने अवस्था नभएको उनको भनाई छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहालले आफु कहाँ महासंघको निर्वाचन हुने कुनै जानकारी नआएकोले निर्वाचन हुने समयलाई अध्ययन गरेर यसको बारेमा निर्णय गर्न सकिने बताए ।

‘हामी कहाँ कुनै जानकारी आएको छैन, उहाँहरुले जानकारी गराइसकेपछि हामीले त्यसको बारेमा निर्णय गर्छौं, कोराेनाको यही स्थिती त्यो समयमसम्म हुन्छ भने निर्वाचन हुन सक्ने सम्भावना कम हुन्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.