भोक सबैभन्दा ठूलो शत्रु

  २०७७ जेठ ३० गते ११:४३     नरेन्द्र रौले

चीनको वुहान शहरबाट शुरू भएको कोरोना (कोभिड १९) यतिखेर पृथ्विका कुनाकाप्चामा फैलिइसकेको छ । कुनै जात, धर्म, भूगोल, वर्ग, सम्प्रदाय, सानो, ठूलो, धनी, गरिब केही नभनि अदृश्य रुपमा फैलिएको यो किटाणु विश्व समुदायका लागि ठूलो चुनौती बनेर आईलागेको छ । सन् २०१९ को मे मा उत्पत्ति भएको कोरोनाले यी हरफहरु लेखिरहँदा सम्म १ लाख ५६ हजार भन्दा बढी मानिसको ज्यान लिईसकेको छ भने २२ लाख ८४ हजार मानिस संक्रमित बनाइसकेको छ । निको हुनेको संख्या ५ लाख ८१ ह्जार ५ सय १५ मात्र छ । विश्वभर २८ नेपालीको मृत्यु भईसकेको छ भने एक हजार भन्दा संक्रमित छन् । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । थाहा छैन, दिनदिनै बढिरहेका संक्रमितहरुमध्ये कतिलाई चुँडेर लैजाने हो ।

चीन हुँदै अन्य देशहरुमा डढेलो झैं फैलिइसकेको थियो, कोरोना । यता भ्रमण वर्ष सन् २०२० को नाममा नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराई भने नेपाल कोरोनामुक्त देश भनेर प्रचार–प्रसारमै व्यस्त देखिन्थे । यसले ल्याउने परिणामबारे नेपालीहरुले आँकलन समेत गरेका थिएनन् । कसैले नपत्याएको, कसैले नसोचेको, कल्पना नै नगरिएको कोरोना जसरी एकाएक आयो यसले ल्याउने भावि परिणामहरु अहिले नै आँकलन गर्न कठिन छ ।

कोभिड -१९ अर्थात् मानिससँग पशु जगतले लिएको बदलाको रुप । कोरोनाको जरो खोतल्दै जाँदा यहि भेटिन्छ । वैज्ञानिकहरुले पनि यसको कारण पुष्टि गरिसकेका छन् । सालक वा चमेरा खाँदा सार्स कोभ टु भाइरस मानिसमा सर्न सक्ने रोगबारे मानिस जानकार नै थिएनन् । ग्लोबल इन्सिट्च्युट् फर इन्टरडिस्प्लिनरी स्टडिजसँग सम्बन्धित अनुसन्धानकर्मी उत्तमबाबु श्रेष्ठ मान्छे र प्रकृतिको बीचको अनौठो सम्बन्धको उदाहरण दिदै यसो भन्छन्– न्युयोर्क विश्वविद्यालयको प्रयोगशाला होस् या चीनको वुहानको मासु बजार या अफ्रिकाको घनाजंगल विभिन्न बहानामा मानिसहरू जंगली जनावरको सामिप्यमा पुगेका छन् । अनुसन्धानका लागि, मासुका लागि, घरमा पालेर राख्ने साथी (पेट) का लागि मानिसले विचित्र प्रकारका जीवजन्तुसँग हिमचिम बढाइरहेका छन् । त्यसैले विश्वभर वन्यजन्तुको वैध–अवैध व्यापार फस्टाउँदो छ । विश्वमा वन्यजन्तुको व्यापारलाई लागूऔषध, सामानको मिसावट र मानव तस्करीपछिको चौथो ठूलो अवैध व्यापार मानिन्छ ।

लेखक

मानिस मात्र यस्तो प्राणी हो, जसले आफ्नो स्वादका लागि वन्य जन्तु, पशुपंक्षीको सिकार खेल्न र उनीहरुलाई सिध्याउन बाँकी राख्दैन । आफूलाई संसारकै एक मात्र चेतनशिल प्राणी ठान्ने मानिसले कहिल्यै वन्य जन्तु, पशुपंक्षीको भावना बुझ्ने कुरा त परै जाओस् उनीहरुमा पनि बदलाको भाव हुन्छ भन्ने कुराको हेक्का राखेन । कोभिड १९ फैलिनुअघि पनि सार्स, बर्ड फ्लु, बुबोनिक प्लेग जस्ता रोगहरु फैलिएकै हुन्, जुन पशुपंक्षीबाटै मानिसहरुका सरेका थिए । जिब्रोको स्वादका लागि जति पैसा पनि खर्चिने, नयाँ नयाँ परिकारहरुको स्वाद लिन रुचाउने मानिसको यही स्वाभाबले आज संसार आतंकित बनेको छ । यी हरफहरु कोरिरहँदा पनि राष्टिय निकुञ्ज र वन जंगलहरुमा वन्यजन्तु चोरी निकासीका समाचारहरु आइरहेका छन् । जंगली जनावरहरु मारेर त्यसको स्वाद चाख्ने रहर पालेकाहरु धमाधम पक्राउ परिरहेका छन् ।

चीनको वुहान लामो समयको लकडाउनपछि खुलिसकेको छ । त्यहाँको जनजीवन सामान्य अबस्थामा फर्किइसकेको छ । कडा अनुशासन, सरकारको आदेश, जनताको सहयोगका कारण जति ठूलो मात्रामा रोग फैलिन सक्थ्यो, त्यति फैलिन पाएन । त्यतिबेला लकडाउन गर्दा युरोपियन र अमेरिकन देशले मानवअधिकारको हनन् भयो भनेर टिप्पणी गरे । पछि आफ्नै देशमा लकडाउन गर्नुपर्ने स्थिति आयो ।

यूरोपियन मुलुकहरुमा कोरोनाकै कारण यति भयावह स्थिति आउला भनेर कल्पना समेत गरिएको थिएन । कोरोना संक्रमणले गर्दा अन्य देशमा मानिसहरु धमाधम मृत्युका खबरहरु आइरहेका थिए । इटाली, स्पेनहरु भने निर्धक्क डिस्को, डान्स र बारमा रमाइरहेका थिए । निर्बाध रुपमा हिंडिरहेका थिए । त्यही हेल्चेक्रेयाइका कारण पछि शवहरु उठाउने मानिससम्म पाउन गार्हो भयो ।

संसारभरी पहिले पनि ठूलाठूला महामारीहरु फैलिएका थिए । बिफरले संसारभरी करोडौं मानिसको ज्यान लिएको थियो । धनजनको क्षति पुर्याएको थियो । इतिहासतिर फर्केर हेरौं–राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लले बिफरकै कारण ज्यान गुमाएका थिए । चक्रवर्तेन्द्रको शोकमा रानी डुबिन् । तिनै रानीलाई खुसी बनाउन राजा प्रताप मल्लले बि सं १७२७ मा रानीपोखरी निमार्ण गरे । हरेक सय वर्षमा ठूला महामारी फैलिने गरेका तथ्यहरु छन् । यदि मानिस दूरदर्शी भएको भए यस्ता समस्यासँग जुध्न कुनै न कुनै बाटो उपाय अपनाउने थियो । तर मानिसले कहिल्यै चेतेन ।

डार्बिनले भनेका छन्– सक्नेहरु नै बाँच्ने हुन् ।

यतिखेर डार्बिनको भनाई ठ्याक्कै लागू भएको छ । बाँच्नकै लागि मानिसहरु संघर्ष गरिरहेका छन् । काठमाडौंमा कामका लागि ओइरिएका मानिसहरु धमाधम गाउ फर्किदै छन् । मानिसका लागि भोक सबैभन्दा ठूलो शत्रु रहेछ । कम्पनी बन्द भएपछि, ज्याला मजदूरी गर्नेहरु हिंडेरै गाउ फर्किरहेका छन् । एक छाक खान र कोठा भाडा तिर्ने अबस्था नभएपछि मजदुरहरु सयौं किलोमिटरको यात्रा गरेर घर फर्किन विवस छन् । रोग भन्दा पहिला भोकका लागी मानिसहरु लडिरहेका छन् । पछिल्लो समय मिडियामा आइरहेका समाचार र सामाजिक सञ्जालमा मजदुरहरु गर्नु परेको कष्टपूर्ण यात्राले धेरै कुरा संकेत गरेको छ । हुँदा खाने र हुने खानेको बीचको ठूलो खाडल गहिरिदै गइरहेको छ । यसले थप संकट ल्याउने प्रष्ट छ । गरिबीको ग्राफ उकालो लाग्दैछ । विश्वभर बढ्दै गएको बेरोजगारी र धरासाहि बन्दै गएको अर्थतन्त्रले ल्याउने कहाली लाग्दो अबस्थाको अहिले नै लेखाजोखा गर्न सकिदैन ।

ताइवान, दक्षिण कोरिया, सिंगापुर, भुटान, न्युजिल्याण्ड, जर्मन, क्यानाडा जस्ता देशहरुले कसरी संक्रमणबाट बच्ने भन्ने राम्रो उपाय अबलम्बन गरेका छन् । यी लगायत केही देशहरुले आफ्ना नागरिकहरु बचाउन, सुरक्षित राख्न एकदमै जिम्मेवारीपूर्बक भूमिका निभाईरहेका छन् । तुलनात्मक रुपमा यी देशहरुमा कोरोनाका कारण मृत्यु दर कम छ । यस्तै चीनले चालेको कदम, अपनाएको रणनीतिले कोरोनाको ठूलो क्षतिबाट बचायो । अहिले त चीनले उत्पादन गरेका स्वास्थ्य सामग्री किन्न अमेरिकन र युरोपियन देशबीच लुछाचुँडी नै भयो । विश्वभरको शासन प्रणाली, शासकहरुका व्यवहार, राजनीति, अर्थनीति, सबैको हैसियत पनि कोरोनाले राम्रैसँग देखाईदिएको छ । लहडको भरमा आफूलाई शक्तिशाली ठानेर जे पनि बोल्ने, जस्तोसुकै निर्णय लिने ट्रम्पदेखि शान्त, शालिन, कम बोल्ने चीनका राष्ट्रपति सि जिनपिङका व्यवहार, नीति र कार्यशैली नजिकबाट बुझ्न सघाएको छ ।

विश्वभरको शासन प्रणाली, शासकहरुका व्यवहार, राजनीति, अर्थनीति, सबैको हैसियत पनि कोरोनाले राम्रैसँग देखाईदिएको छ । लहडको भरमा आफूलाई शक्तिशाली ठानेर जे पनि बोल्ने, जस्तोसुकै निर्णय लिने ट्रम्पदेखि शान्त, शालिन, कम बोल्ने चीनका राष्ट्रपति सि जिनपिङका व्यवहार, नीति र कार्यशैली नजिकबाट बुझ्न सघाएको छ ।

अबका चुनौतीहरु
सन् २०१५ को महाभूकम्पले करिब ७ खर्ब रुपैंयाँ बराबर क्षति गरेको अनुमान छ । तर कोरोनाले कति क्षति पुर्याउँछ, अहिले नै अनुमान गर्न सक्ने अबस्था छैन । विप्रेषण आउने गिरावटले ठूलो असर पर्नेछ । कुल गार्हस्थ उत्पादनमा पहिले यति योगदान दिदै आएको थियो । अब भने त्यसको धक्का ब्योहोर्नु पर्नेछ । बेरोजगारी दर ११.४ प्रतिशत बढेर जाने अर्थविद्को अनुमान छ ।

उद्योग, कल कारखानाहरु ठप्प छन् । संसारभर मानिसको रोजगारी गुमेको छ । नेपाल बाहिर पनि झण्डै ५० लाख मानिसहरु रोजगारका लागी बाहिर छन् । खाडी र मलेसिया जस्ता देशमा कैयौंको रोजगारी गुम्ने खतरा बढ्दै गएको छ । कति देशहरुले आफ्ना नागरिकहरु फिर्ता लैजान खबरहरु मिडियामा आईरहेका छन् । फिर्ता नलगे श्रम सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । अहिले पनि कति नेपालीहरुलाई कम्पनिले तलब दिन बन्द गरिसकेका छन् । खाने र बस्ने समस्यामा परेका नेपालीहरु स्वदेश फर्किन चाहन्छन् । तर, यता नेपाल सरकार यसबारेमा कुनै गम्भिर कदम चालेका छैन । न त उनीहरुका लागि कुनै योजना बनाएको छ । प्रधानमन्त्री, राष्ट्रपति केवल औपचारिक जवाफ दिन्छन्, यो भाबुक हुने बेला होइन, सरकारको आदेश पालना गर्नुहोस् ।

विदेशमा बस्ने नेपालीहरुले पठाएको रेमिट्यान्सले चलेको छ देश । तिनै मजदुरहरु आज समस्यामा पर्दा सरकारले उनीहरुको समस्या, मर्का बुझेन । परराष्ट्र मन्त्री केवल युरोपियन मुलुकमा बस्ने राजदूतसँग कुराकानी गरेर ‘त्यहाँका नेपालीहरुको अबस्था ठिकठाक छ’ भन्दै ब्रिफिङ गर्छन् । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरु स्वदेश फर्किए विकराल रुप लिनेछ । तत्कालै स्वदेशमा रोजगारी वातावरण सिर्जना हुने छैन । न त सरकारले कुनै विशेष प्याकेजकै तयारी गरिएको छ ।
बरु ठूलो संख्या स्वदेश फर्किए नेपालमा नयाँ राजनीतिक मोड आउँनेछ । बेराजगारी, गरिबी बढ्दै गए त्यसले बिकराल रुप लिनेछ । हत्या, हिंसा, चोरी, लुट्पाटका घटनाहरु बढ्नेछन् । कति विप्लब माओवादीमा प्रबेश गर्ने छन् ।

‘सरकारले मितव्ययी शासन अपनाउनु पर्छ । सबैलाई भत्ता दिने काम बन्द गर्नुपर्छ । अर्थशास्त्री डा.विश्व पौडेल भन्छन्, ‘नेतृत्वले कसरी योजना ल्याउँछ, कर्मचारीलाई कसरी परिचालन गर्छ भन्ने मुख्य कुरा हो । धेरै आत्तिनु पर्ने बेला छैन ।’ ‘एक महिना यो लकडाउन कायम भयो भने नेपालमा चार प्रतिशतका दरले बढ्छ ।’ यस्तै आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी भन्छन्, ‘खाद्य असुरक्षा पनि बढ्दै जान्छ ।’

गाउँ फर्क अभियान
कमाउँने आधार शहर र विदेश भए पनि अब निर्बिकल्प मानिसहरु गाउँ फर्किनु पर्नेछ । ठूलो संख्यामा गाउँ फर्किए केही सकारात्मक कामहरु हुनेछन् । गाउँमा फेरी क्लबहरु खुल्नेछन् । स्थानीय क्लबले समाज सुधारकाम काम मात्र गर्ने छैनन् । स्थानीय परम्परा, कला, संस्कति, साहित्य, संगीतको पनि प्रबद्र्धन हुनेछ । शुन्य हुँदै गएका हाम्रा, गाउ बस्तिमा फेरी देउडा, मारुनी, सेलोहरु घन्किनेछन् । हाम्रा बाँझा खेतबारीहरुमा बगेको पसिनाले अर्गानिक खानेकुरा उत्पादन गर्नेछ । ठूलो मात्रामा उत्पादन गर्न सके त्यसलाई विदेश निर्यात गर्ने सकेर थप आर्जन सकिनेछ । सरकारले दीर्घकालिन योजनाहरु बनाएर युवा शक्तिलाई स्वदेशमै रोजगारी दिलाउँन ढिलाई गर्नु हुँदैन ।

कतार, मलेसिया, दुबइ, जापान बनाउने नेपालीहरुका पसिना यही देशमा बगे नेपाल अर्कै मुलुक बन्ने छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस मुलुकमा अथाहा सम्भाबना र अबसरहरु छन् । जिविकोपार्जनका लागि कोही नेपाली विदेसिनु पर्ने छैन । बरु काम गर्नका लागि अन्य देशका नागरिकहरु यहा आउनेछन् । तर, त्यसका लागि सरकार, योजनाविद् र स्वंय जनताहरु तात्नु पर्नेछ । मनैदेखि एउटा अठोट बोकेर अघि बढ्नु पर्नेछ ।

स्थानीय परम्परा, कला, संस्कति, साहित्य, संगीतको पनि प्रबद्र्धन हुनेछ । शुन्य हुँदै गएका हाम्रा, गाउ बस्तिमा फेरी देउडा, मारुनी, सेलोहरु घन्किनेछन् । हाम्रा बाँझा खेतबारीहरुमा बगेको पसिनाले अर्गानिक खानेकुरा उत्पादन गर्नेछ ।

कोरोनाले सिकाएको पाठ
भनिन्छ, हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ । विश्वव्यापी रुपमा मानव जातीलाई आतंकित पारेको कोरोनाले गहिरो पाठ सिकाएको छ । ‘मै हुँ’ भन्ने शक्तिशाली देश, र व्यक्तिहरुलाई एउटा भाइरसका अगाडी कसैको केही लाग्दैन भन्ने राम्रै छाप छोडेको छ । पैसा र पावरकै बोलवाला हुने भए अमेरिका र चीनको आज यो हालत हुने थिएन । विश्वमा जतिसूकै ठूला आविष्कारहरु भए पनि, चमत्कार भए पनि त्यसले मानव समुदायलाई फाइदा पुर्याएन भने कुनै अर्थ छैन भन्ने कुरा पनि यस कोरोना कहरले सिकाएको छ ।

यस पृथ्वीमा आफ्नो खुसीका लागि मानिसले कुनै पनि हर्कत बाँकी राखेको छैन । मानिसले मानिसको हत्या गर्नेदेखि, वन्यजन्तु, पशु पंक्षीको सिकार गर्न छाडेको छैन । प्राकृतिक सम्पदाहरुको विनास र दोहन गर्न छाडेको छैन । हत्या, हिंसा, लडाई, अपराध, युद्ध जस्ता क्रियाकलाप गर्न पनि मानिसले छाडेको छैन । कोरोनाले खबरदारी गरिसकेको छ, तिमीहरुका अणु र परमाणु बमहरुको कुनै काम छैन । चाह्यो भने एउटा भाइरसले हतियार, अणु, परमाणु भन्दा कैयौं बढी असर गर्न सक्छ । युद्ध भन्दा बढी क्षति पुर्याउँन सक्छ ।

मानिसले यो सिंगो प्रकृति, जीव, वनस्पति, पशु पंक्षीको रक्षा गर्नुपर्छ । प्रकृतिमाथिको अत्याचार बढ्दै गए कालान्तरमा त्यसले कती भयावह स्थिति ल्याउँछ ? मानव जातीको कतिको बिचल्ली हुन्छ ? कस्तो संकट आईलाग्छ ? यी र यस्तै तमाम प्रश्नहरुको एकैसाथ जवाफ दिईसकेको छ । मानवता बचाई राख्न हामीले मानविय कर्मलाई मध्यनजर गर्नुपर्छ । हाम्रो जस्तै पृथ्वीका अन्य प्राणीहरुको यहा हक लाग्छ । मानिसले सबैभन्दा ख्याल गर्नुपर्ने कुरा यही हो । मेसिन जसरी दौडिरहेको मानिससँग यस्ता कुरामा घोत्लिन हिजो समय थिएन । आज कोरोनाले सोच्ने प्रशस्त समय दिएको छ । सोचोस् बेलैमा ।

मानिसहरुमा एक प्रकारको छट्पटि र बेचैनी बढेको छ । यसको अन्त्य कहिले हुन्छ ? यसको जवाफ छैन । ‘कोभिड आजभोली नै संसारबाट हराउँछ भनेर सोच्नु ठूलो भ्रम हो ।’ वैज्ञानिक डाक्टर समीरमणि दिक्षित भन्छन्, ‘अब यो भाइरस अन्य भाइरस परीवार (जस्तै इन्फ्लुएन्जा) सरह हामीमाझ लामो समयसम्म बस्नेछ । समय बित्दै जाँदा हाम्रोप्रति प्रतिरोधात्मक प्रणालीले यसको शक्ति कम गर्नेछ । जोखिम समुहलाई बचाउँदै सामान्य जीवनमा फर्किनु वाहेक बिकल्प छैन ।’

एउटा चिनियाँ उखान नै छ–संकटले मौका ल्याउँछ । हामीले पहिल्याउन सक्यौं भने प्रशस्त मौका र अबसरहरु हाम्रा अघि छन् । अन्य देशमाथि सियोदेखी सुन, धनिया“देखी लसुनसम्म हामी अरुमाथि भर परिरहेका छौं । अबका दिनमा यस प्रकारको परनिर्भरता हटाउनका लागि सरकारले तयारी गर्न ढिलाइ गर्नु हुन्न । परदेसिने लाखौंलाख नेपालीहरुले यही रोजगारी पाउनेछन् । सडक, हाइड्रो, पुनः निमार्णका कार्यहरुमा आबश्यक पर्ने जनशक्ति नेपालमै भए समयमै योजनाहरु सम्पन्न हुनेछन् ।

यतिखेर सिंगो विश्व कोरोना निर्मूल पार्ने औषधिको प्रतिक्षामा छ । जुन दिन कोरोनाको औषधि पत्ता लाग्ला मानिसहरु त्यसबेला खुसीयाली मनाउँनेछन् । त्यस निम्ति वैज्ञानिक, अनुसन्धाकर्मीहरु एकजुट भएर जुटुन् । हामी एउटा सुखद बिहानीको पर्खाईमा छौं ।

naren.raule@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.