अर्थत्रन्त्र चलायमान बनाउने र भोकमरीबाट बचाउने चुनौति

  २०७७ जेठ २३ गते २१:४६     मातृका शर्मा

महामारीको शाब्दिक अर्थ, ‘महा’ भन्नाले धेरै ठूलो, र ‘मारी’ भनेको मृत्यु वा घातक भन्ने हो । महामारी भनेको कुनै रोग वा रोगजन्य जीवाणु अथवा विषाणुले कुनै स्थानबाट उत्पति भई एक ठाउँबाट अर्को ठाउँमा विभिन्न माध्यमबाट एकैपटक फैलिएर सोचेभन्दा बढि जनसङ्ख्यामा असर पार्दछ भने त्यस्ता रोगलाई महामारी भनिन्छ । यदि उक्त रोग एक देशबाट अन्य देशहरुमा फैलिएर विश्वभर असर गर्दछ भने त्यसलाई ‘विश्वब्यापी महामारी’ (पाण्डेमिक डिजिज) भनिन्छ । अहिले विश्वभर फैलिएको ‘कोभिड –१९ नामक कोरोना भाईरस’ (विषाणु) को महामारी पाण्डेमिक खालको हो ।

सन् १९६० मा पत्ता लागेको भएतापनि यस कोरोना भाईरसको बारेमा गम्भिर रुपमा अनुसन्धान र रोकथामको उपायका बारेमा आधुनिक चिकित्सा जगतले खासै चासो देखाएन । सोहि कारण यस्तो प्राणघातक सरुवा रोग आज आएर मानव जगतको लागि गम्भिर चिन्ताको विषय बन्न पुग्यो । जनगणतन्त्र चीनको वुहान राज्यबाट उदाएको कोभिड १९ नामक कोरोना भाईरस (विषाणु) ले विश्वका २ सय १३ भन्दा बढि देशमा लाखौंको संख्यामा संक्रमण फैलाएर लाखौंको संख्यामा नै मानिसहरुले मृत्युवरण गरिरहेको स्थिति छ । अहिलेको स्थितिलाई नियन्त्रण लिन ढिला भए या कठीन भए मानव संहारको स्थिति भयाभह नहोला भन्न सकिन्न । महामारीको विश्वब्यापी फैलावट र स्थिति केलाउँदा हरेक पटक फैलिएका महामारीले विश्व परिवेश र मानचित्रमा सामाजिक, सामरिक, आर्थिक, मनोबैज्ञानिक तथा साँस्कृतिक मानकहरु परिवर्तन गरेको देखिन्छ । संसारमा विभिन्न समय र कालखण्डमा पित ज्वरो (एल्लो फिवर), स्पानिस फ्लू, अमेरिकन पोलियो, एसियन फ्लू, एड्स, सार्स, स्वाईन फ्लू, अफ्रिकन इबोला, जिका भाइरस, तथा विभिन्न जैविक रुप र चरणमा पटक पटक फैलिएको प्लेग रोग जस्ता महामारी रोगहरुले लाखौं मात्र नभएर करोडौंको संख्यामा मानिसको मृत्यु भएको पाईन्छ । कुनै समय क्षयरोग, कुष्ठरोग तथा बिफर जस्ता रोगको महामारीले समेत मानव जगतलार्ई सताएको देखिन्छ ।

महामारी रोगको अध्ययन गर्दा यसका तीन कुरा अति महत्वपूर्ण हुन्छन् । १. रोगको उत्पति र बारम्बारता, २. रोगको फैलावट, ३. रोगको निर्धारक तत्व । कोरोनाको महामारीको अध्ययन गर्दा यसको उत्पति चीनको वुहान राज्य हो तर उत्पति या संक्रमणको श्रोत के हो ? अहिलेसम्मको अध्ययनले अनुमान मात्र गरेको छ तर यकिन गर्न सकेको छैन । कोरोनाको रोग पाक्ने अविधि औषत १४ दिन हुने भएकाले संक्रमण हुनासाथ लक्षण चिन्ह देखिन्दैन तर विस्तारै मानिसको स्वासप्रश्वास प्रणालीमा संक्रमण गरि उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने, घाँटी दुख्ने, ढाड दुख्ने तथा जीउ दुख्नेजस्ता लक्षण देखा पर्दछ र क्रमश सास फेर्न कठीन हुने, न्यूमोनिया र मृत्यु हुने गर्दछ । यो रोग सर्ने तरिका वा माध्यम भनेको थुकको छिटासंगको प्रत्यक्ष या अप्रत्यक्ष संसर्ग नै हो । तर त्यो थुकको छिटा (ड्रपलेट्स) संक्रमित ब्यक्तिले स्वास फेर्दा, बोल्दा, खोक्दा या हाच्छ्युँ गर्दा हावामा, ब्यक्तिको हातमा सम्पर्कमा आउँछन् । निरोगी ब्यक्तिले रोगी ब्यक्तिसंग सम्पर्कमा आउँदा, हात मिलाउँदा, अंकमाल गर्दा, जुठो खाँदा, वा कपडा, तौलिया, भाँडाकुँडा आदिको माध्यमबाट संक्रमण सर्दछ र फैलिन्छ । यो रोगको फैलावट दर, संक्रमणदर, र घातकतादर (मृत्युदर) अन्य सामान्य विषाणु वा रोगको भन्दा कयौं गुणा बढि देखिन्छ । रोग फैलिनका लागि निर्धारक तत्वहरुको भूमिका एकदम महत्वपूर्ण हुन्छ । रोगलाई श्रोतबाट बोकेर ल्याउने विभिन्न माध्यमहरु हुन्छन् । रोग सार्ने र फैलाउने कार्यमा जानाजान वा अन्जानवस ती निर्धारक तत्वहरुले कार्य गरिरहेका हुन्छन् । जस्तै, कोरोनाको महामारीका निर्धारक तत्वहरुमा सामूहिक खानपान, भोज, भिडभाडमा जानु, हात मिलाउनु, मास्क नलगाउनु, बाहिरी बस्तु वा ब्यक्तिको सम्पर्कपछि हात नधुनु, खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले मुख नछोप्नु, मानिसहरुले आन्तरिक तथा बाह्य आवतजावतमा सतर्कता नअपनाउनु, ब्यक्तिगत भौतिक दूरी कम्तीमा ३ कदम नराख्नु, रोगको लक्षण देखा पर्दा अस्पताल नजानु तथा क्वारेन्टाइनमा नबस्नु हो ।

लेखक

कोरोना महामारीको विश्वब्यापी प्रकोपबाट बच्नका लागि विभिन्न उपायहरु छन् । ती रोकथाम र नियन्त्रणका उपाय या तरिकाहरुबाट रोगमाथिको विजय हाँसिल गर्न सकिन्छ । ती प्रयासहरु यस प्रकार छन् । १.संक्रमणको कारण र श्रोत पत्ता लगाउनुपर्दछ । २.चेन अफ इन्फेक्सन पत्ता लगाई रोगको सर्ने प्रकृयामा अवरोध गर्नुपर्दछ । ३.जनचेतना विस्तार एवम् रोगको संक्रमण, सर्ने तरिका, बच्ने उपाय तथा उपचारपद्धति, रोकथाम र नियन्त्रणबारे आम रुपमा सूचना सम्प्रेषण गर्नुपर्दछ । ४.समाज र राष्ट्रका सबै अंग तथा निकायहरु बीच सघन छलफल र सहकार्य एवं समन्वयन गर्नुपर्दछ । ५.रोगको प्राकृतिक र जैविक स्थिति पत्ता लगाई त्यस विरुद्धको बायोमेडिकल र उपचारात्मक पद्धतिबारे अनुसन्धान र प्रयोग तत्काल सुरु गर्नुपर्दछ । उपचार र रोकथाम अनुमानका आधारमा होईन अनुसन्धान र प्रयोगका आधारमा गरिनुपर्दछ । ६.रोग लागेका, रोगको लक्षण भएका तथा रोगको सम्भावित जोखिम क्षेत्रमा रहेकाहरु लाई जाँचपड्तालको पहिलो पंक्तिमा राखी क्वारेन्टाइन, आइसोलेसन तथा उपचारमा क्रमश लैजाने सुरक्षित विधि अपनाउनुपर्दछ । ७.रोगीलाई विशेष अस्पताल वा सघन उपचार सुविधायुक्त कक्षमा आईसोलेसनमा राखी अति उच्च सतर्कताका साथ उपचार गर्नुपर्दछ । ८.यो अति उच्च संक्रामक सरुवा रोग भएकाले उपचारमा संलग्न चिकित्सक तथा उपचारिकाहरुलाई समेत उच्च सतर्कताका साथ पर्सनल प्रोटेक्टिभ इक्यूप्मेन्टको उचित प्रयोग गर्ने ब्यवस्था मिलाईनुपर्दछ । ९.आवश्यक्ता अनुसार मानिसको अत्यधिक आवतजावत तथा भेटघाट रोक्न आंसिक वा पूर्ण रुपमा निषेधाज्ञा वा लकडाउन गरि आम जनतालाई घरमै क्वारेन्टाईनमा रहन निर्देशन वा अपिल जारी गर्नुपर्दछ । १०. योे विश्वब्यापी प्रकृतिको महामारी भएकाले अन्तर्राष्ट्रिय सीमा नाका, हवाई, जल, तथा स्थलगत आवागमनलाई रोक्नुपर्दछ । प्रकृयाको सुरुवात यसै विन्दुबाट गर्नुपर्दछ । महामारी रोक्न र नियन्त्रण गर्न सबै संघसंगठन, राजनीतिक दल, सुरक्षा निकाय, सरोकारवाला तथा देश बिदेशको आर्थिक, भौतिक, प्राविधिक तथा अन्य किसिमको सहयोग र समर्थन प्राप्त गर्ने कार्य गर्नुपर्दछ ।

विश्वब्यापी रुपमा हुने आर्थिक गतिविधि कत्तिको प्रभावित बन्छ र कुन हदसम्म मन्दि हुने हो भन्ने कुरो महामारीको अन्त्य कति छिटो गर्न सकिन्छ भन्ने कुरामा भर पर्दछ । कोरोना महामारीको अनियन्त्रित फैलावट हेर्दा यसले विश्वव्यापी आर्थिक संरचनामै ठूलै हलचल र परिर्वन गर्ने संकेत देखिएकोछ ।

महामारीले हाम्रो जस्तो विकासोन्मुख देशमा स्वास्थ्य जनिक समस्या र मानवीय संकटका अलावा अन्य धेरै कुरामा प्रभाव पार्दछ । यो मानव स्वास्थ्यसँग सम्वन्धित गम्भीर प्राकृतिक प्रकोप अन्तर्गत जैविक विपत्ती भए पनि यसको नियन्त्रणका लागि प्रयोग गरिने विधि तथा उपायहरुका कारण स्वास्थ्य लगायत सामाजिक, सामरिक र विश्व अर्थव्यवस्थामा गम्भिर पहिरो जाने चेष्टा देखिईसकेको छ । विश्वब्यापी रुपमा हुने आर्थिक गतिविधि कत्तिको प्रभावित बन्छ र कुन हदसम्म मन्दि हुने हो भन्ने कुरो महामारीको अन्त्य कति छिटो गर्न सकिन्छ भन्ने कुरामा भर पर्दछ । कोरोना महामारीको अनियन्त्रित फैलावट हेर्दा यसले विश्वव्यापी आर्थिक संरचनामै ठूलै हलचल र परिर्वन गर्ने संकेत देखिएकोछ । विश्वब्यापी रुपमा यस रोगको बिरामीदर र मृत्युदर बढ्दै जाँदा मुलुकहरुको साधारण तथा पूँजिगत खर्च कटौति भई रोगको निबारण र नियन्त्रणमा खर्च हुन्छ । पूँजीगत र उत्पादक खर्च घट्दा अनुत्पादक खर्च बढ्न जान्छ जसले उत्पादन र रोजगारीमा ह्रास ल्याउँदछ ।

विश्व अर्थत्रन्त्र मुख्यतया निम्न कुरामा चलायमान छ । १.औधोगिक उत्पादन २.अन्तर्राष्ट्रिय ब्यापार ३.पर्यटन ४.ब्यवसाय ५.कृषिजन्य उत्पादन र ब्यापार ६.खनिज तथा तेल उत्खनन ७.शिक्षा तथा बिज्ञान प्रविधि ८. पूर्वाधार निर्माण तथा वैदेशिक रोजगार । यी सबै कुराको चलायमान गति कम वा ठप्प हुँदा अर्थतन्त्रको सूचकहरु क्रमश घट्दै जान्छन् । यस्तो बेला अर्थब्यवस्थाका प्रचलित विश्वब्यापी मान्यता र सिद्धान्तहरुले काम गर्ने छैनन् । यो महामारी स्वास्थ्य संकटमात्र नभई मानव जगतको अस्तित्व माथिको प्रश्न हो ? यो रोगले लिने आकारले र रोग निवारणमा लाग्ने समयावधिले नै मानवीय र आर्थिक क्षतिको गहिराई धेरथोर हुने आँकलन गर्न सकिन्छ । नेपालको सन्दर्भमा रोग वा महामारीले गर्ने मानवीय क्षतिका साथै आर्थिक गविविधि न्यून र सुन्य हुनाले, उत्पादन, व्यापार, ब्यवसाय, उद्योगधन्दा, कलकारखाना, रोजगार, बस्तुको उपभोग, माग र आपूर्तिमा कमी, मँहगी, खाद्यान्न अभाव, भोकमरी, विकास निर्माणमा असर, पर्यटन, कृषि, शिक्षा तथा सामान्य स्वास्थ्य क्षेत्र नै तहसनहस हुने स्थिति हुनसक्छ । सर्वप्रथम त यातायातमा प्रतिवन्धसंगै आपूर्ति र निर्यातमा समस्या हुन्छ । पर्यटन आवागमन र गतिविधि ठप्प हुन्छ । पर्यटन क्षेत्र र यसमा आश्रित प्रत्यक्ष र अप्रत्यक्ष गरि करीव १० लाख मानिसको रोजगार र आयआर्जनमा समस्या पर्छ । आपूर्ति र निर्यातमा हुने रोकावटले कृषिजन्य उत्पादन तथा उद्योगधन्दाको उत्पादन कटौति हुन्छ । त्यहाँ आश्रित लाखौं मानिस रोजगार विमुख हुन्छन् । तिनको क्रयशक्ति कमजोर हुन्छ र रोजिरोटीमा गम्भिर असर पर्दछ । उत्पादनमा हुने कटौती र कमीले खाद्यान्न अभाव र भोकमरीको संकट आईपर्छ । नेपालबाट बैदेशिक रोजगारमा जाने देशहरु समेत यो रोगको प्रकोपले थलिंदै गएका कारण ब्यापक रुपमा कामदारको कटौति र केहि महिना या वर्षसम्म नयाँ कामदारको मागमा कमी आउने हुँदा बैदेशिक रोजगारमा आश्रित जनता बेरोजगार बन्दछन् । विप्रेषण (रेमिट्यान्स) मा कमी भई बैदेशिक मुद्राको आर्जन रोकिने तथा सञ्चिती घट्ने र शोधानान्तर स्थिति नकरात्मक बन्ने स्थिति आउँछ । रोजगार खोसिँदा आयआर्जन र क्रयशक्ति मात्र घट्दैन, खाद्यान्न अभाव, गरिबी र मानसिक प्रताडनाको कारण राज्यमा चोरी, डकैति, लुटपात, हत्या, हिंसा जस्ता सामाजिक अपराधको उदय हुन्छ । त्यसैले हरेक महामारी पछिको दोश्रो चुनौति भोकमरी हो । सरकार वा राज्यले आफ्नो दायित्वको रुपमा ढुकुटी हुञ्जेलमात्र जनतालाई भोकमरीबाट बचाउन सक्छ तर जब ढुकुटी रितिदै जान्छ अनि भोकमरी पछि राष्ट्रिय अनिकाल सुरु हुन्छ । खेतबारीमा फसल छैन, ढुकुटीमा अन्न छैन भने पैसा, धनसम्पति या भौतिक जायजेथाले भोकमरी मेट्दैन । त्यसकारण अर्थब्यवस्था ढल्न नदिन तत्काल आवश्यक पहलकदमी लिनु पर्दछ ।

हरेक महामारी पछिको दोश्रो चुनौति भोकमरी हो । सरकार वा राज्यले आफ्नो दायित्वको रुपमा ढुकुटी हुञ्जेलमात्र जनतालाई भोकमरीबाट बचाउन सक्छ तर जब ढुकुटी रितिदै जान्छ अनि भोकमरी पछि राष्ट्रिय अनिकाल सुरु हुन्छ । खेतबारीमा फसल छैन, ढुकुटीमा अन्न छैन भने पैसा, धनसम्पति या भौतिक जायजेथाले भोकमरी मेट्दैन । त्यसकारण अर्थब्यवस्था ढल्न नदिन तत्काल आवश्यक पहलकदमी लिनु पर्दछ ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक लगायतले विश्व अर्थतन्त्रमा १५० वर्ष यताकै गम्भिर क्षति हुने र आर्थिक बृद्धिदर नकरात्मक विन्दुमा जाने आँकलन गरिरहेका छन् । हाम्रो जस्तो परनिर्भर अर्थतन्त्र भएको मुलुक तासको घर जस्तै हो, जो सानोतिनो हावाको झोक्काले सजिलै लडाउन सक्छ । नेपालको अर्थब्यवस्था र विकास निर्माणलाई आर्थिक, भौतिक लगायत हरतरहले सहयोग गर्ने दातृराष्ट्रहरु समेत यस विश्वव्यापी संकटको चपेटामा पिल्सिरहेकाले हामीलाई पहिले झैं ऋण, दान, अनुदान सहयोग गर्न सक्ने अवस्थामा रहनेछैनन् त्यसो भएकाले हामीले आफ्नै बुतामा आधारित आत्मनिर्भर अर्थतन्त्रको लागि आवश्यक योजना र ब्यापक तयारी गर्नुपर्दछ ।

अब के के गर्नुपर्छ नेपालले ?

१.सन् १९९० मा प्रजातन्त्रको पुनरोदय संगै सरकार मातहतका कलकारखाना र उद्योगहरुलाई आर्थिक उदारीकरण र नीजिकरणका नाममा बेचबिखन गरि तिनको नामो निसान मेटाइदिने काम भयो । यसले औद्योगिक विकासको अधोगति र आत्मनिर्भर उन्मुख विकासको गतिक्रमलाई उल्टो दिशामा धकेलिदयो । त्यसर्थ सर्वप्रथम, कृषिमा आधारित उद्योगधन्दालाई पुनर्जीवन दिनुपर्दछ । तत्काल अत्यावश्यकीय वस्तुहरुको उत्पादन गर्ने उद्योग कलकारखानालाई अति उच्च सतर्कताका र सुरक्षाको भरपर्दो ब्यवस्था मिलाई खोल्न र चल्ने ब्यवस्था मिलाउन सकिन्छ । काम गर्ने कामदारको खानपान र बसोबास लाई अस्थाई रुपमा भएपनि घर जान नपर्ने गरि बन्दोबस्त गर्ने तथा उत्पादित बस्तुको बजारीकरण र सुरक्षित उपभोगका लागि आवश्यक प्रवन्ध मिलाउनुपर्दछ । लकडाउनका कारण बन्द भएका साना तथा घरेलु उद्योग, निजी तथा सरकारी मझौला तथा ठूला उद्योगहरुको ब्यवसायिक कर्जालाई ब्याज मिनाह, कर छुट र ऋणको व्याजमा सहुलियत दिने जस्ता ब्यवस्था गरिनुपर्दछ । उद्योगहरुको दीर्घकालिन अस्तित्व तथा क्षमता बृद्धिका लागि प्रोत्साहन दिई रोजगार क्षमता र उत्पादन क्षमतामा बृद्धि हुने वातावरण निर्माण गर्नुपर्दछ ।

२. पर्यटनमा आधारित व्यवसाय, होटल, रेष्टुराँ, टुरिष्ट एजेन्सी तथा ट्रेकिङ एजेन्सी, तथा बजारको पुनर्जीवन दिन तत्काल समय लाग्ने भएकाले उनिहरुको व्यवसायिक ऋणमा सहुलियत, ब्याजमा मिनाह, करमा छुट, विद्युत महशुल छुट जस्ता कुरामा नीतिगत निर्णय गरिनुपर्दछ । तथापी हस्तकला, पस्मिना जस्ता पर्यटनजन्य बस्तुको उत्पादनमा निरन्तरता दिन प्रेरित गर्नुपर्दछ ।

३. गरिवीको रेखामुनि रहेका, रोजगार गुमाएका श्रमिक, मजदुर, सिमान्तकृत, असमान सामाजिक तथा आर्थिक संरचनामा परेका, लैंगिक, भाषिक तथा जातिय विभेदमा परेका निम्न आर्थिक स्थितीका घर परिवारको उद्धार र जिविकोपार्जनका लागि सरकारले आर्थिक राहतका प्याकेजलाई स्थानीय निकाय मार्फत पारदर्शी ढंगले वितरण गर्ने ब्यवस्था यथासीघ्र मिलाउनुपर्दछ ।

५. महामारी, दैवि तथा प्राकृतिक बिपत्ति तथा प्रकोपहरुमा काम गर्न सक्ने क्षमतावान र्यापिड रेस्पोन्स टीम बनाउनका लागि सेना, प्रहरी, स्वास्थ्यकर्मी तथा नागरिक समेतलाई (स्काउट सहितको टीम बनाई) तालिम दिई, उपकरण र अत्याधुनिक प्रविधिका स्रोत साधनहरु जुटाई हरबखत तयारी हालतमा राख्नुपर्दछ । यी सम्पूर्ण अंगहरुलाई आपशी समन्वयनको वातावरण बनाइनुपर्दछ । हेलिकप्टर, दमकल तथा एम्बुलेन्स समेतको पर्याप्त उपलब्धता हुने ब्यवस्था मिलाउनुपर्दछ ।

६. अर्थतन्त्रलाई पुनर्जीवन दिनका लागि लगानीमैत्री मौद्रिक नीति, वित्तीय नीति सहितको वातावरणको सिर्जना गर्नुपर्दछ । पूर्वाधारमा बृहत लगानी, कृषिजन्य उत्पादनमा बृद्धि, साना तथा घरेलु उद्योगको ब्यापक बिस्तार विकास गरिनुपर्दछ । स्वास्थ्य, शिक्षामा लगानी, बैदेशिक रोजगारमा गएका युवाहरुलाई त्यहाँको शीप र प्रविधिको विस्तार गरि स्वदेशमै उद्यम, उत्पादन र सेवामा काम गर्न प्रेरित गर्नुपर्दछ ।

७. कृषि उत्पादनलाई निर्वाहमुखी होईन व्यवसायमुखी बनाउन कृषि कम्पनीहरु स्थापना गरि सहकारीमार्फत सामूहिक रुपमा मौसमी तथा बेमौसमी र बहु-प्रजातीय खेती प्रणालीलाई आधुनिक कृषि औजार र उन्नत वीऊ-वीजन तथा शीप र क्षमतावान कृषि बैज्ञानिक सहितको तालिमप्राप्त युवाशक्तिलाई कृषिमा आकर्षित गराई उत्पादनमा बृृद्धि गरि आत्मनिर्भर मात्र होईन निर्यात समेत गर्न सक्ने बनाउनु पर्दछ ।

८. औषधिजन्य सामग्रीको उत्पादन, मेडिकल तथा सर्जिकल उपकरण निमार्ण तथा मर्मत, व्यक्तिगत सुरक्षा कवचहरुको उत्पादन गर्नका लागि उद्योग खोल्ने तथा बजारीकरणका लागि सहजिकरण गर्नुपर्दछ । साथै बायोमेडिकल इञ्जिनियरिङको जनशक्ति उत्पादन गरिनुपर्दछ । मेडिकल रिसर्च तथा ल्याबोरेटोरीको क्षेत्र र क्षमता बिस्तार गरि अन्तर्राष्ट्रिय स्तर र मापदण्डको बनाईनुपर्दछ ।

९. हरेक देश र भूगोलभीत्र रहेको स्थानीय रहनसहन रीतिथिती, सामाजिक परम्परा, साँस्कृतिक प्रतिष्ठान तथा मौलिक शीप र जीवनशैलीहरुलाई जीवीतै राख्न मानवता र सहिष्णुता, सामाजिक जीवन र परम्परागत उपचार विधि तथा जडीबुटि उपचार पद्धतिलाई समयानुकुल र परिष्कृत गर्दै प्रयोगमा ल्याउन आवश्यक प्रकृया र विश्वसनीय वाताबरण बनाउनुपर्दछ ।

मानव सभ्यतामा प्रभाव र मानव जातिको भविष्य ।

भनिन्छ, ब्रम्हाण्डको उत्पति पछि यस धर्तीमा उदाएका सात जीवमध्ये मानिस मात्र एउटा जीव हो, जो अहिलेसम्म जीवित छ वा अस्तित्वमा छ । अहिले ब्रम्हाण्डमा भएका अन्य जीवहरु समयक्रम संगै जीव विकासको क्रममा उत्पति भएका हुन् । विभिन्न समयक्रमसंगै आउने परिवर्तन, प्रकोप, महामारी वा जैविक संकटले कतै मानव जगतको अस्तित्व नै डायनोसरको जस्तो वा अन्य जीवहरुको जस्तो त हुने होईन भन्ने आशंका समेत कतिपय बैज्ञानिक, विश्लेषक तथा मानवशाष्त्री चिन्तकहरुले गर्न थालेका छन् । यद्यपी आधुनिक चिकित्सापद्दति र औषधीय अनुसन्धानको तीब्रता र सफलता हेर्दा यो रोगको महामारी माथि विजय हाँसिल गर्न २१ औं सताब्दीको मानव जगत असफल होला भनिहाल्न सकिंदैन । ‘ब्ल्याक डेथ’ नाम दिईएको प्लेग रोग सवैभन्दा लामो समयसम्म फैलिएर विश्वभरमा करीव २० करोड मानिस मारिएको इतिहास छ । त्यस्तो अवस्थाबाट समेत आफ्नो अस्तित्व जोगाएर आएको मानव जगतले अहिलेको महामारी थेग्न र त्यसलाई पराजित गर्न सक्नेमा विस्वस्त रहन सकिन्छ ।

यसले हामीलाई सिकाएको पाठ

कोरोना संक्रमणको रोकथामका लागि ब्यक्तिगत सुरक्षाकवच

यो महामारीले विश्वमानचीत्रमा रहेका देशहरुको हैसियत र भौतिकताबादी चिन्तन र दम्भलाई चकनाचुर बनाईदिएको छ । विकास, समृद्दि, सरकार, युद्ध, वैभव, शक्ति, सामर्थ्य सबै अप्राकृतिक र क्षणिक हुन् भन्ने कुराको पाठ हामीलाई सिकाएको छ । हामीले प्रकृतिलाई आफ्नो नियन्त्रणमा राख्ने दुष्चेष्टा गर्यौं, आफूलाई प्राकृतिक दुनियाँ भन्दा अलग र माथिल्लो हो भन्ठान्यौं । प्राकृतिक अवयवहरुलाई जथाभावी रुपमा चलाउँदै, उपभोग गर्दै र बिनास गर्दै गयौं तर सापेक्षित संरक्षण र सम्वद्धनमा ध्यान दिएनौं । पारिस्थितिक पद्धति र पर्याबरणको ख्यालै नगरि भौतिक विकासका नाममा प्रकृतिको बिनास गर्दै गयौं । यस ब्रम्हाण्डमा मानिस बाहेक अन्य चराचर जगत पनि छ, उनीहरुको पनि जीवन छ, अस्तित्व छ र आवश्यक्ता छ भन्ने कुराको हेक्का राखेनौं त्यसर्थ प्रकृति भित्रै रहेका स–साना माइक्रोसकोपिक जीवहरुले आफ्नो अस्तित्व बचाउन विभिन्न जैविक गुणलाई परिवर्तन गर्दै जाँदा कोरोना जस्तो शुक्ष्म जीवले भयंकर र संक्रामक रुपमा आफूलाई फैलाई मानव जगतको अस्तित्व र पृथ्वीमा उस्को स्थायीत्वका लागि गम्भिर व्यवसाधन खडा गरिदिएको छ यो नै विश्वब्यापी चुनौतिको विषय हो ।

अबको विश्व प्रकृतिमैत्री विकास सहित थलचर, जलचर सवैको सामूहिक सहअस्तित्वको विश्व हो । एकले अर्कालाई नासेर होईन सवैले स्वतन्त्रतापूर्वक बाँचेर प्राकृतिक श्रृष्टिलाई बचाईराख्नुपर्दछ । महामारी र विपत्तिले राजनीतिक सीमा, भूगोल, धर्म, सम्प्रदाय, संस्कार र संस्कृतिमा भेद गर्दैन । यो जहाँपनि र जहिलेपनि आउन सक्छ र प्रभावित गर्न सक्दछ । आधुनिकताको नाममा हाम्रा कतिपय गतिविधि फेरिंदा जीवनशैली तडकभडक हुँदै जाँदा सामान्य विषाणुले महामारीको रुपमा विश्वमा थुप्रै पटक धेरै जनधनको क्षति गरेको इतिहास छ ।

पूर्वीय सभ्यतामा नमस्कारले शिष्टाचार अभिब्यक्ति दिन्थ्यो पाश्चात्य संस्कारमा हात मिलाउने, अंकमाल तथा चुम्बन गर्ने शिष्टाचार । अहिले पश्चिमा भन्दा पूर्वीय संस्कार नै बढि बैज्ञानिक र स्वथकर रहेछ भन्ने तथ्य प्रमाणित भएकोछ । नेपाल, भुटान तथा भारतवर्षका देशहरुमा रहेको यो संस्कार अव विश्वब्यापी स्वस्थकर शिष्टाचारको सभ्यता भएको छ । हामीलाई काँटा चम्चाको प्रचलनले हात धुने बानी विर्साइदियो, टिस्युपेपरको प्रयोगले शौच पछि पानीको प्रयोग अनावश्यक बनायो, ब्यस्तताले रेडिमेड खानालाई प्रश्रय दियो र घरबाहिरी खानपिनले घरमा पाक्ने ताजा खाना हरायो । हाम्रो जीवनशैली नै अस्वस्थकर बनाईदियो । धुँवा, धुलो र प्रदुषणले नयाँ नयाँ रोगको उत्पति र विस्तारमा सहयोग पुर्यायो । यी सबै कुराले मानिसको स्वास्थ्य र अस्तित्वमाथि नै खतराको घण्टी बजायो । मानवजतिको भविष्य मानिसकै हातमा हुनुपथ्र्यो तर अव प्रकृतिको हातमा छ भन्ने अवस्था देखा पर्यो । आफ्नो अस्तित्व रक्षार्थ विश्व मानव जगत सजग र संवेदनशिल हुनुपर्यो । यस महामारीलाई पराजित गर्दै मानव जीवनलाई श्रृष्टिको उन्नत जीवनको रुपमा स्थापित गर्दै अस्तित्व रक्षाको लडाईंमा विजय प्राप्त गर्न सक्नु नै हाम्रो लागि आज ठूलो चूनौति र संगसंगै मानव भविष्यको स्थायीत्व लागि कार्य गर्ने अवसर समेत प्राप्त भएको छ । आजको यो विद्यमान दुर्दसाबाट मुक्ति पाउन हामीले जुन विधिहरु अपनाएका छौं त्यसैलाई निरन्तरता दिई संक्रमितको सफल उपचार र नियन्त्रणका उपायहरुलाई अवलम्वन गर्दै आगामी दिनमा जीवनशैलीमा आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ ।

बिराटचौक, मोरङ
matrikas45@gmail.com

2 comments on "अर्थत्रन्त्र चलायमान बनाउने र भोकमरीबाट बचाउने चुनौति"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.