ग्लोबल थिंकिङ र ग्लोबल गभर्नेन्सकाे आवश्यकता

  २०७७ जेठ २३ गते १०:४९     प्रकाश आचार्य

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो, कोरोना भाइरस । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि छ प्रकारको भाइरस मात्र मान्छेमा सङ्क्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । चीनको हुवेई प्रान्तको वुहान शहरको एउटा सामुन्द्रीक खाद्यान्न बिक्रीकेन्द्रमा सन् २०१९ डिसेम्बर २३ मा पहिलो पटक एक महिलामा देखिएको यो भाइरस समूहको “कोरोना” आजको मितिसम्म आइपुग्दा अपवादका केही देशबाहेक बिश्वका सम्पूर्ण देशहरुमा सङ्क्रमित भएको छ । ज्वरो आउनु, थकान महशुस हुनु, लगातार खोकी लाग्नु, श्वास–प्रश्वासमा समस्या आउनु नै कोरोना भाइरसका मुख्य लक्षणहरु हुन् भने यसबाट बच्ने उपायहरु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भीडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो । यसको अलवा नियमित रुपमा साबुन–पानीले मिचीमिची हात धुने, माक्सको नियमित प्रयोग गर्ने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख ढाक्ने, स्वास्थ्य सेवा लिने बेला बाहेक अन्य समयमा आफ्नो घर वा बासस्थानमै बस्ने, आफूमा देखापरेका लक्षणहरुको ख्याल गर्ने लगायतका क्रियाकलाप अप्नाउँदा यस भाइरसबाट सुरक्षित रहन सकिन्छ ।

कोरोना भाइरस आफैंमा जैविकतत्व नभएपनि र भाइरस परिवारको सबैभन्दा कमजोर भाइरस भएपनि यसले आफूलाई वातानुकुलित वातावरणमा परिवर्तन गर्नसक्यो भने मानवीय जीवनलाई कति घातक बनाउँदोरहेछ भन्ने कुरा विश्वव्यापीरूपमा यस भाइरसको सङ्क्रमणको दरलाई हेर्ने हो भनेपनि पुष्टि हुन्छ । यसैकारणले पनि हामी कोरोना भाइरसलाई कोरोना महामारीको रुपमा लिइरहेका छौँ । सन् २०२० अप्रिल १९ सम्म विश्वको कुल जनसङ्ख्या ७,७७,७९,३७,७६० (worldometers.info)_को २३,५९,३४६ (०.०३०५ प्रतिशत ) जनसङ्ख्या कोरोना भाइरसको कारण सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितहरुमध्ये ६,०६,७०५ (२५.७१५ प्रतिशत ) जना औषधि उपचारपछि निको भएका छन् भने १,६१,९५१ (६.८६५ प्रतिशत ) जना व्यक्तिहरुको कोरोना सङ्क्रमण्का कारण मृत्यु भएको छ । तसर्थ, माथि उल्लेखित तथ्याङ्ककै आधारमा भन्ने हो भने पनि यो भाइरस मानव जीवनका निम्ति कति घातक छ भन्ने यथार्थताको पुष्टि हुन्छ । याे लेख तयार गर्दासम्म नेपालमा कुल सङ्क्रमित ३१ जनामध्ये ४ जनाको पूर्ण उपचारपश्चात् घर फर्केका छन् भने बाँकी २७ जना देशका विभिन्न अस्पतालमा उपचाररत छन् । संक्रमितकाे संख्या दिनदिनै बढिरहेकाे छ ।

लेखक

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको सङ्क्रमण ट्रान्समिसनका चारवटा चरणलाई उल्लेख गरेको छ । संक्रमणको ट्रान्समिसन प्याटर्नलाई हरेर सोही अनुरुप राष्ट्रिय तथा स्थानीयस्तरमा तयारी गर्न विश्व स्वास्थ्य सङ्गठनले भनेको छ । चार चरणका आ–आफ्ना विशेषताहरु निम्न प्रकार छन् ः

चरण एकः ‘नो केस’ यस चरणमा देश वा क्षेत्रमा कुनै पनि केस पुष्टि नभएको अवस्थालाई जनाउँछ ।
चरण दुईः स्पोराडिक केस ‘छिटपुट घटना’ यो चरणमा एक वा एक भन्दा बढी केसहरु जुन ‘इम्पोर्टेड’ वा स्थानीय स्तरमा पत्ता लागेका हुन्छ । विशेष गरी सङ्क्रमित क्षेत्रबाट फर्किएका व्यक्तिहरुमा पुष्टि भएसँगै त्यस्तो क्षेत्रलाई विश्व स्वास्थ्य सङ्गठनले स्पोराडिक केसमा वर्गीकरण गरेको छ ।
चरण तीनः क्लस्टर केस (समूहगत घटना) त्यस्ता देश तथा क्षेत्र जहाँ केसहरु समूहगत रुपमा देखिँदै छन् र भूगोलमा एकसाथ एकै प्रकारले देखिँदै छ भने त्यस्तो क्षेत्रलाई विश्व स्वास्थ्य सङ्गठनले क्लस्टर केसमा राखेको छ ।
चरण चारः कम्युनिटी ट्रान्समिसन यस्तो अवस्था महामारीको रुप हो । यस्तो क्षेत्रमा अधिकमात्रामा सङ्क्रमितको सङ्ख्या स्थानीय रुपमा फैलिँदै जानु हो । सङ्क्रमणको ट्रान्समिसन चेन पनि जोडिएका हुँदैन । त्यस्तै, ल्याव परीक्षणबाटै मात्र सङ्क्रमित पुष्टि हुन सक्छ, लागेको शङ्का पनि हुँदैन । असम्बन्धित समूहगत केसहरु विभिन्न क्षेत्रमा फैलिन्छन् ।

अहिलेसम्म कोरोनाको विश्वव्यापी अवस्था हेर्दा विश्वका केही विकसित राष्ट्रहरु चौथो चरणमा गुज्रिरहेको देखिन्छ जसकारण महामारी व्यापक रुपमा फैलिरहेको हामी पाउँछौ । चार चरणमध्ये हाम्रो देश नेपाल बैशाख दाेस्राे सातासम्म दोस्राे चरणमा गुज्रिरहेको छ । मृतकको सङ्ख्या हालसम्म धेरै मात्रामा क्रमशः संयुक्त राज्य अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायतमा देखिएको छ । जर्मनी, चीन, बेल्जियम, दक्षिण कोरियामा सङ्क्रमित धेरै देखिएता पनि मृत्युदर कम देखिएको छ । चीनको सबैभन्दा बुद्धिमत्तापूर्ण निर्णय नै वुहानलाई लकडाउन गरेर सङ्क्रमणलाई फैलिन नदिनु हो । सङ्क्रमणको शुरुवाती चरणमै सङ्क्रमणको केन्द्रलाई यसरी घरबन्दी गरेर चीनले यसलाई आफ्नो देशमा र अन्यत्र भयावह रुपबाट फैलिन दिएन । यसो गर्दा चीनमा पूरै देशलाई नै घरबन्दी गर्नुपर्ने अवस्था पनि सृजना भएन । घरबन्दीमा रहेको जनसङ्ख्यासम्म दैनिक आवश्यकताका सामानहरुको आपूर्तिका लागि उत्कृष्ट वितरण प्रणालीको आफ्नो सक्षमता पनि चीनले संसारसामु पेस गर्यो । वुहान घरबन्दीमा गएकै बेला विश्व स्वास्थ्य सङ्गठन र विशेषज्ञहरुले कोरोना भाइरस संसारभरि फैलिन सक्ने र यसका लागि सबैले आवश्यक तयारी गर्नुपर्ने कुरा औंल्याएका थिए । तर धेरै देशहरुले यसलाई गम्भीर रुपमा लिएनन् । विश्वको महाशक्ति राष्ट्र अमेरिका र यूरोपका धेरै शक्तिराष्ट्रले यसलाई चीनको मात्रै समस्याका रुपमा लिए र कतिपय स्थितिमा ‘चिनियाँ भाइरस’ र ‘वुहान भाइरस’ नाम दिएर हाँसोको विषय बनाए । भाइरस रोकथामका निम्ति पर्याप्त पूर्वतयारीमा ध्यान दिएनन् जसकारण आज अवस्था भयावह भएको छ । दक्षिण कोरिया, ताइवान र जर्मनीजस्ता देशहरु शुरुबाटै कोरोनविरुद्धको तयारीमा लागे । कोरियाले शुरुदेखिनै व्यापक टेष्टिङ्गलाई जोड दियो, दिनमा दश हजारसम्म टेष्टहरु गरियो । सङ्क्रमित भेटिनेबित्तिकै आइसोलेसनमा राखेर उपचार गर्ने, कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने र क्वारेण्टाइनमा राख्ने कामलाई व्यापक बनाइयो । टेष्टिङ्ग सङ्क्रमणको लक्षण देखिएकामा मात्र होइन सम्भावना भएका सबैमा गरियो । यसैले कोरिया अहिलेसम्म अरु थुप्रै देशजस्तो पूर्ण घरबन्दीमा जानुपर्ने स्थिति आएको छैन । घरबन्दीमा नगएपनि कोरियाले भीड नियन्त्रण, सार्वजनिक स्थलमा भौतिक दूरी कायम राख्ने, अरु देशबाट प्रवेश गरेकाहरुलाई क्वारेण्टाइनमा राख्ने, विद्यालय बन्द गर्ने आदि जस्ता कदम भने चालेको छ ।

नेपालमा देखिएका अधिकांश कोरोना सङ्क्रमितहरु भारतबाट आएका मानिसहरुमा देखिएको छ, त्यसैले यो अवस्थालाई मध्यनजर राख्दा हामी कुनै पनि समय तेस्रो सङ्क्रमणको अवस्थामा गुज्रिनु पर्ने देखिन्छ । जबसम्म भारतमा यसको नियन्त्रण हुँदैन, नेपाल माथिको खतरा सधैँ रहनेछ । तसर्थ, कम्तीमा भारतमा सङ्क्रमण नरोकिने समयसम्म नेपाल भारत सिमालाई पूर्ण नियन्त्रण गर्न टड्कारो आवश्यकता छ

अहिलेसम्मको अवस्थामा हाम्रो देश नेपाल दोश्रो चरणमा गुज्रिरहेको हुनाले हामी कोरोना महामारीबाट केही सुरक्षित छौँ भन्ने हो तर तत्कालै केही आधारभूत कदमहरु चालिएन भने हामी तेस्रो चरणमा प्रवेश गर्न सक्दैनौं भन्ने छैन । हाम्रो देश नेपालको लागि अब कोरोना महामारीलाई तेस्रो चरणमा प्रवेश हुन नदिनु नै मुख्य चुनौती बनेको छ जुन हामीले केही सावधानी अपनाएर पूरा गर्न सक्छौं । यो भाइरस नेपालमा उत्पति नभएर हामीले भ्रमणको क्रममा लिएर आएका हौँ । यसलाई नेपालको परिपेक्षमा हेर्दा दुई चरणमा विश्लेषण हुनु पर्ने देखिन्छ । पहिलो, भारत बाहेकबाट नेपालमा प्रवेश गरेको अवस्था । हामीले अन्य तेश्रो राष्ट्रहरुलाई नेपाल प्रवेश रोकेको अथवा अन्तर्राष्ट्रिय हवाई सेवा बन्द भएको झण्डै एक महिना नाघिसकेको छ । यो एक महिनाको अवधिलाई परीक्षणकाल राख्ने हो भने यो चरणबाट हामी सुरक्षित अवतरण हुदैछौं भन्न सकिने अवस्था छ । दोश्रो, भारतबाट प्रवेश भएकाबाट हुने सङ्क्रमणको अवस्था । अहिले हामी यही चरणमा लडिरहेका छौं र यो अवस्था कहिलेसम्म रहन्छ भन्न सक्ने स्थिति छैन किनकी नेपाल भारतको सिमाना खुल्ला छ र लुकिछिपी आउने क्रमलाई रोक्न सजिलो छैन । साथै अहिले नेपालमा देखिएका अधिकांश कोरोना सङ्क्रमितहरु भारतबाट आएका मानिसहरुमा देखिएको छ, त्यसैले यो अवस्थालाई मध्यनजर राख्दा हामी कुनै पनि समय तेस्रो सङ्क्रमणको अवस्थामा गुज्रिनु पर्ने देखिन्छ । जबसम्म भारतमा यसको नियन्त्रण हुँदैन, नेपाल माथिको खतरा सधैँ रहनेछ । तसर्थ, कम्तीमा भारतमा सङ्क्रमण नरोकिने समयसम्म नेपाल भारत सिमालाई पूर्ण नियन्त्रण गर्न टड्कारो आवश्यकता छ जसको लागि नेपाल सरकारले भारत सरकारसँग बुँदागत रुपमा छलफल गरी यथासिग्र आपसी समझदारी गर्नु जरुरी देखिन्छ जुन आजको दिनमा आम नेपाली नागरिकको चाहनाको विषय पनि हो । त्यस्तै गरी सम्भावित सङ्क्रमित व्यक्तिहरुको पहिचान गरेर कोरोना भाइरस (कोभिड–१९) को परिक्षण जतिसक्दो छिटो गर्नुपर्दछ, सँगै उनीहरु बसेको स्थानलाई आइसोलेट गरेर राख्नुपर्दछ र त्यो स्थानको वरिपरिको समुदायमा रहेकाहरुको पनि द्रुतगतिमा कोरोना भाइरस (कोभिड–१९) को परिक्षण गर्नुपर्दछ । हाम्रो देश नेपालमा अर्को चुनौती भनेको श्रमिक,मजदुर वर्गको उचित व्यवस्थापन गर्न नसक्नु पनि देखिएको छ । नेपाल सरकारले उनीहरुलाई पर्याप्त मात्रामा राहत सामग्री दिएर यथास्थानमा व्यवस्थापन गर्न सक्नुपर्छ, हैन भने उचित वातावरण मिलाएर उनीहरुको घरसम्म पुर्याइदिनुपर्छ । यदि यो विषयमा सरकारले वेलामै ध्यान पुर्याउन सकेन भने भोकमरीको समस्या जुन अर्को एउटा महामारी भएर देखापर्न सक्छ र स्थिति झन् जटिल बन्न सक्छ ।

भाइरसको महामारीपूर्ण गाडी तीव्र गतिमा कुदिरहेको छ । गाडी मोड्न समय र फराकिलो स्थान चाहिन्छ । यो आफैं आउने हैन, हामीले ल्याउने वा मिलाउने हो । व्यवस्थाका आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, साँस्कृतिक सबै पक्षमा कोरोना महामारीको बृहत् र दीर्घकालीन असर पर्नेछ भन्ने लाग्दैन किनभने वर्तमान विश्वका सबै देश, उत्पादन प्रणाली र राज्य व्यवस्थासमेत परस्परमा अत्यन्त अन्तरसम्बन्धित र अन्तरनिर्भर भैसकेका छन् । विश्व समाजको हरेक कुना, तह र तप्कामा मुद्रा र मार्केटको प्रभाव यति भित्रसम्म प्रवेश गरेको स्थिति छ कि यसबाट पछाडि फर्कन असम्भव छ । अहिले आर्थिक उत्पादन प्रणाली एक हदसम्म केही महिनालाई आंशिक रूपमा ठप्प वा निलम्बित भइरहेको स्थिति मात्र हो । साथै मुद्रा र मार्केटको हैसियत अहिले आंशिक रूपमा निलम्बित छ । केही समयपश्चात् हालको निलम्बित उत्पादन प्रणाली र प्रक्रिया सुचारु भएपछि संरचनाले आफ्नो पूर्वरूप लिनेछ । विश्व अर्थव्यवस्थामा कोरोना भाइरसको महामारीले ल्याएको आर्थिक मन्दीको परिणामको हिसाबकिताब त हुनेछ तर विश्व अर्थव्यवस्था पूर्वरूपमै फर्कनेछ किनभने सम्पूर्ण कुराहरूको पूर्वाधारमा क्षति पुगेको वा भत्केको स्थिति होइन । विकसित देशहरू र कामको अवसर प्राप्त खाडी देशबाट कामदारहरू फर्काइन्छन् होला भन्ने जो त्रास छ, त्यसरी त ती देश नै चल्ने छैनन् । बरु अहिलेको सङ्कटमा घरबाट टाढा रहनुपरेकाहरू कहिल्यै विदेश नजाने गरी फर्कने सम्भावना पनि उत्तिकै छ । यसर्थ नेपालजस्तो देशको निमित्त कृषि प्रणालीमा नयाँ खेती पद्धति सुरु गरेर आत्मनिर्भरताको पक्षमा हिँड्न सकिन्छ । स्थानीय समुदायलाई आत्मनिर्भर हुनेगरी विकास र समृद्धिको नयाँ मोडेलहरू लागू गर्न सकिन्छ । नेपालजस्तो परनिर्भर मुलुकका लागि अर्थव्यवस्थालाई नयाँ ढङ्गबाट सोच्ने र कार्यान्वयन गर्ने योभन्दा राम्रो अवसर अरू हुने छैन । विश्वभर नै आपूर्ति प्रणाली र मूल्य शृङ्खला (भ्यालु चेन) खलबलिएको छ । यो प्रणालीलाई पुरानै ढाँचामा फर्किन अवश्य नै केही समय लाग्नेछ । हामीले सामान आयात गर्ने देशहरूको प्राथमिकता आफ्नो आन्तरिक माग पूर्ति गर्नुमै हुनेछ । हामीले हाम्रा साना तथा मझौला उद्योगहरूलाई पूर्णरूपमा सञ्चालन गरेर आधारभूत आवश्यकतामा आत्मनिर्भर हुन सक्यौं भने आन्तरिक रोजगारी सिर्जनाका साथै आयात प्रतिस्थापन र निर्यातका नयाँ सम्भावना पहिचान गर्न सक्नेछौं । यसले नेपाली अर्थतन्त्रमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव देखाउनेछ । अब बन्ने नीति तथा योजनाहरूमा यो महामारीले सिकाएका पाठ अवश्य समावेश गरिनेछ, मानव जातिका आधारभूत प्राथिमकताहरू केके हुन्, तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय अबको दशकमा बन्ने आर्थिक नीतिहरूको प्राथमिकतामा पर्नुपर्छ । यो महामारीले सिकाएको ठूलो पाठ सायद यही नै हुनुपर्छ ।

विज्ञहरूले अप्रिल र मे महिनामा यो रोगको उच्च पिकटाइम हुन सक्छ भनिरहेका छन् । केहीले गर्मीको याममा यो रोगको प्रभाव कम हुँदै जान्छ भन्दैछन् भने अरूले गर्मीमा कम भएता पनि आउने हिउँदमा कोरोना फर्कन सक्छ भन्दै छन् । कोरोनाको औषधि तथा भ्याक्सिनका निम्ति अमेरिका तथा चीनलगायत अन्य मुलुकमा लगातार प्रयास भइरहेछ । तर, विज्ञहरूको भनाइअनुसार भ्याक्सिन सर्वसाधारणका निम्ति उपलब्ध हुन कमसेकम १ देखि २ वर्ष लाग्न सक्छ । केही गरी कोरोना भ्याक्सिन सर्वसाधारणलाई उपलब्ध हुन वर्षौं लागे महामारीका राजनीतिक, आर्थिक र सामाजिक प्रभाव लामो समयसम्म चलिरहनेछन् । मानिसको दैनिक जीवनमा धेरै किसिमका व्यावहारिक परीवर्तन आउनेछन् । अहिले कोरोना महामारीबाट जोगिन सामाजिक दूरी कायम गर्ने कुरा निकै सुनिएको छ तर केही विज्ञहरु यसलाई भौतिक दूरी भन्नु पर्दछ भनिरहेका छन् । यस्तो महामारीको बेलामा मानिसहरु भौतिक दूरी कायम राख्दै सामाजिक रुपमा भाइचाराको सम्बन्ध बढाउन एवं एक आपसमा सहयोगी बन्दै महामारीबिरुद्ध जित हाँसिल गर्न अग्रसर रहनुपर्दछ । सामाजिक दूरी अप्नाउँदै अघि बढिरहे भविष्यमा मानिस यसैमा अभ्यस्त हुँदै जानेछन् जसकारण मानिसको दैनिक जीवनको प्रक्रियालाई नै असर पार्न सक्छ । मानिसहरुमा एकान्तमा बसिरहने बानीको विकास हुँदै जानसक्छ, फलस्वरुप समाजमा हुने सामाजिक, साँस्कृतिक,राजनैतिक एवं विकासका विविध कार्यहरुमा उनीहरुको न्यून उपस्थिति रहन सक्छ । यसो हुँदा विभिन्न आयोजनाहरुको पूर्णतामा ढिलासुस्ती आउन सक्छ जसले अन्तत्वगोत्वा मानव समुदाय (उपोभक्ता) लाई असर पुर्याउने देखिन्छ ।

पर्यावरण, विश्वव्यापी आर्थिक मन्दी तथा महामारीजस्ता ग्लोबल समस्या समाधान गर्न संसारभरिका देश आ-आफ्नो राष्ट्रिय स्वार्थबाट माथि उठेर सहकार्य गर्नैपर्छ । महामारीविरुद्ध लड्न ग्लोबल गभर्नेन्सको कुनै न कुनै किसिमको स्वरूप बन्नुपर्छ  किनभने कुनै देशले एक्लै महामारीविरुद्ध लड्न सक्दैन ।

कोरोना महामारीका कारणले विश्वका अधिकांश उद्योग, कल–कारखानाहरु बन्द छन् । सडकमा अत्यावश्यक सवारी साधनहरु मात्र गुडेका छन् । तसर्थ यो समयमा वातावरणमा प्रदुषण साह्रै न्यून छ, वातावरण सफा छ । त्यस्तै उद्योग एवं कल–कारखानाहरुबाट निस्कने हरित गृह ग्याँसहरु जस्तै कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड लगायतका हानिकारक ग्याँसहरुको उत्पादनमा भारी गिरावट आएको छ, फलस्वरूप वायुमण्डलमा जलवायु परिवर्तनको जोखिम केही मात्रामा घटेको छ तर भविष्यमा कोरोना महामारीको अन्त्यपश्चात् खासगरी बिकसित राष्ट्रहरुले आर्थिक मन्दीलाई परास्त गर्नको खातिर उत्पादनमा व्यापक वृद्धि गर्ने हेतुसँगै अत्याधिक अनुपातमा उद्योग एवं कल–कारखानाहरु सञ्चालनमा ल्याएर पुनः हरित ग्याँसहरुको अधिकतम् वृद्धि गर्दै वायुमण्डलमा प्रदुषणका साथै जलवायु परिवर्तनको उच्च जोखिम निम्त्याउन सक्ने खतरा उत्तिकै बढेर गएको छ । घरपालुवा जनावरहरुको रेखदेखमा मानिसले समय अहिले पनि दिएका छन्, पछि पनि राम्रो हेरचाह हुनेनैछ किनभने तिनीहरु मानिसको समिपमै रहने प्राणी हुन् तर जङ्गली जीव–जन्तुको सवालमा परिवेश फरक हुन सक्छ । आजको परिप्रेक्षमा चिडियाखाना, निकुञ्जमा रहेका जनावरहरुलाई मानिसले चाहेर पनि राम्रोसँग हेरचाह गर्न सकिरहेका छैनन् परन्तु वन–जङ्गलमा निस्फिक्री जीवन बिताउने जनावरहरुको लागि भने अहिलेको महामारी र महामारीपश्चात्को अवस्थामा तात्विक भिन्नता होला जस्तो लाग्दैन । भविष्यमा मानव निर्मित परिधिभित्र रहेका जीव–जन्तुहरुको रक्षार्थ सुरुवाती चरणमा केही अप्ठ्यारो भएतापनि पछि समयानुकुल बिस्तारै मानिसहरुले उचित व्यवस्थापन गर्नेनै छन् भन्ने लाग्दछ ।

पर्यावरण, विश्वव्यापी आर्थिक मन्दी तथा महामारीजस्ता ग्लोबल समस्या समाधान गर्न संसारभरिका देश आ-आफ्नो राष्ट्रिय स्वार्थबाट माथि उठेर सहकार्य गर्नैपर्छ । महामारीविरुद्ध लड्न ग्लोबल गभर्नेन्सको कुनै न कुनै किसिमको स्वरूप बन्नुपर्छ  किनभने कुनै देशले एक्लै महामारीविरुद्ध लड्न सक्दैन । सङ्कटले जहिले पनि नयाँ अवसर सँगैसँगै लिएर आउँछ । निरङ्कुश बजार पनि हैन र निरङ्कुश राज्य पनि हैन । चाहिएको के हो त भन्दा सामाजिक दायित्वसहितको स्वतन्त्रता जसको प्राप्ति केवल आफ्नो सोचलाई न्यासनल थिंकिङबाट ग्लोबल थिंकिङमा रुपान्तरण गर्न सकेमा मात्र सम्भव छ । कोरोना महामारीले कठिन एवं विषम् परिस्थितिसँग जुध्न र त्यहाँबाट पार पाउनको निम्ति विश्वका सबै राष्ट्रहरु एकीकृत रुपमा योजनाबद्ध रुपमा अघि बढ्नुको विकल्प छैन भन्ने सन्देश दिएको छ । आउने दिनहरुमा पनि यस्ता महामारी आउन सक्छन्, त्यो अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्न सके मात्र महामारीबिरुद्धको लडाईंमा जित हाँसिल गर्न सकिन्छ भन्ने सत्यतालाई मनन गर्न जरुरी छ जहाँबाट विश्वमा रहेका आम मानव समुदाय एवं सारा जीवजगत्को सर्वोपरी हित हुनेछ ।

पोखरा–२१,कास्की
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X