मानवीय अस्तित्व विरुद्धकाे काँडेतार र नेपालले अबलम्बन गर्नुपर्ने बाटाे

  २०७७ जेठ २० गते ११:१८     काशीराम ओली

 

विषय प्रबेश

मानवीय अस्तित्वबिरुद्ध बल्झिएका अनेक काँडेतारहरुलाई ज्ञान, विज्ञान, वुद्धि र विवेकले सहजै पन्छाउँदै अगाडि बढिरहेको मानव समुदाय आज कोरोना महामारीको भयाभह असरबाट गुज्रिरहेको छ । कुनै पनि रोगव्याधी नियन्त्रणको दायराबाट बाहिर गई धेरै स्थानमा वा देशमा तीब्र रुपमा फैलिएर धेरै मानिसहरु नराम्ररी प्रभावित भएको वा धेरैको ज्यान गएको अवस्था नैं महामारी हो । पछिल्लो समयमा चीनको वुहान प्रान्तमा सन् २०१९ को अन्त्यतिर फेला परेको कोरोना भाइरसको नयाँ प्रजाति सार्स कोभ–२ को मानवीय आक्रमणबाट उत्पन्न भएको रोग कोभिड– १९ ले विश्वव्यापीकरणसँगै विश्वका लाखौं लाख मानिसहरुमा फैलिई थुप्रै मानिसहरुको ज्यान लिएर विश्वव्यापी महामारीको अवस्था सिर्जना गरेको छ, जसलाई नैं हामीले कोरोना महामारी भन्ने गरेका छौं । कुनै पनि महामारीले प्रभावित समुदायको पुनर्संरचना गर्ने भएकोले यस महामारी पश्चात् समस्त विश्व कसरी अगाडि बढ्ला भन्ने विषय यतिखेर विश्वभरका आम जनमानसमा चासो र चिन्ताको विषय बनेको सन्दर्भमा कमजोर अर्थतन्त्रसहित अतिकम विकसित मुलुकको रुपमा रहेको हाम्रो देश नेपालको भविष्य अब कस्तो होला र कस्तो बनाउन सकिएला भन्ने विषय हामी सम्पूर्ण नेपालीहरुको लागि महत्वपूर्ण विषय बन्न पुगेकोले हाम्रो भविष्यको रुपमा यहाँ नेपालको भविष्यलाई लिनु सान्दर्भिक देखिन्छ ।

विश्वको समग्र अवस्था

कोरोना महामारीले गर्दा आज विश्वभर सिङ्गो मानव समुदाय डगमगाएको छ । यस महामारीको कारण आज विश्वमा हरेक दिन हज्जारौं मानिसहरुले ज्यान गुमाउने गरेका छन् । लाखौं लाख मानिसहरु कोरोना भाइरसबाट संक्रमित बनेर आइसोलेसनमा छटपटाईरहेका छन् । सन् २०२० को अप्रिल १८ सम्म विश्वमा करिब तेइस लाख मानिसहरु कोरोनाबाट संक्रमित बनेको देखिन्छ भने तीमध्ये करिब एक लाख साठी हजारले ज्यान गुमाएको र करिब छ लाख मानिसहरु उपचारपछि निको भएको देखिन्छ ।
महामारीसँगै यतिखेर विश्वमा अरबौं/खरबौं रकमको लगानीमा स्थापित उद्योगधन्दाहरुको उत्पादन ठप्प भएको अवस्था छ । कैयौं मानिसहरुका आय आर्जनका बाटाहरु बन्द भएका छन् । व्यापारिक मार्ग साँघुरिएको छ । विश्वव्यापी आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ । सुनौलो भविष्य बोकेर विद्यालय जाने बालबालिकाहरुको अध्ययनमा व्यवधान खडा भएको छ । खेलकुद जगतको महाकुम्भ पर धकेलिएको छ । सम्पूर्ण मानिसहरु गुप्तबासको कोठरीमा धकेलिएका छन् । विज्ञान र प्रविधिको चमत्कार यतिखेर विवशताको मैदानमा तड्पिंदै छ ।

विश्वको अति वैभवशाली राष्ट्र अमेरिका आज कोरोना महामारीको कारण कठिनाई र चित्कारको भूमरीमा परेको छ । त्यहाँको अर्थतन्त्रमा ठूलो विचलन पैदा भएको छ । यूरोपका विकसित मुलुकहरु फ्रान्स, स्पेन, बेलायत, इटाली, जर्मनी, स्वीटजरल्याण्ड आदि समेत सोही अवस्थाबाट गुज्रिरहेका छन् । विश्वव्यापीकरणको वर्तमान अवस्थाले गर्दा लगभग विश्वका सबै देशहरुमा फैलिइसकेको कोरोना महामारीबाट आज हाम्रो देश नेपाल पनि नराम्रोसँग प्रभावित बन्न पुगेको छ ।

नेपालको अवस्था

लेखक

नेपालमा सर्वप्रथम सन् २०२० को जनवरी २४ मा काठमाडौंमा एकजना व्यक्तिमा यो भाइरस देखिएको थियो । त्यसपछि तुरुन्तै नेपाल सरकारले अन्तराष्ट्रिय उडानलाई सीमित गर्दै छिमेकी मुलुक भारतसँगको सीमानाकामा कडाइ गरेर विदेशबाट आउने सबै मानिसहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्दै चेक जाँच गर्ने लगायतका प्रभावकारी कदम चालेको भए यहाँ शायद अहिलेको अवस्था आउने थिएन होला । तर त्यसो हुन नसकेपछि त्यसको करिब दुई महिनापछि अर्को व्यक्तिमा कोरोना पोजिटिभ देखियो र सरकारले त्यसपछि मात्र लकडाउन तथा अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगायतको कदम चाल्यो । तर त्यतिखेरसम्म विदेशबाट धेरै व्यक्तिहरु नेपालमा कोरोना लिएर आइसकेको अवस्था रहेछ ।

हाल नेपाल सरकारले मुलुकभर लकडाउन गरि कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत विदेशबाट नेपाल आएका तथा कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्दै ती व्यक्तिहरुलाई क्वारेन्टाइन तथा आइसोलेसनमा राख्दै मुलुकका विभिन्न स्थानमा प्रयोगशालाहरु स्थापना गरि कोरोना परीक्षणलाई तीब्र बनाएको छ । यस क्रममा वि.सं. २०७७ साल बैशाखको पहिलो सातासम्म नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ३१ पुगेको छ भने तीमध्ये ४ जना व्यक्ति संक्रमणबाट मुक्त भइसकेको देखिन्छ । छिमेकी मुलुक भारतसँगको सीमानाबाट अझैं पनि धेरै मानिसहरु लुकीछिपी नेपाल आउने गरेको हुँदा यस अवस्थाले थप जोखिम निम्त्याएको छ ।

कोरोना महामारीको कारण हाल नेपालमा जताततै त्रासमय वातावरण देखिएको छ । कोरोनाको आशंकामा ज्वरो तथा रुघाखोकीसहितका अन्य विरामीले पनि आइसोलेसनमा ज्यान गुमाएका छन् । स्कुल तथा क्याम्पसहरुमा पठनपाठन ठप्प भएको छ । मुलुकको अर्थतन्त्र निरन्तर ओरालो लागेको छ ।

मुलुकको आम्दानीको एक प्रमुख पक्ष पर्यटन व्यवसाय ठप्प छ । नेपाल भ्रमण वर्ष २०२० लाई रद्द गरिएको छ । मानिसको भविष्य कोर्ने विभिन्न प्रतियोगितात्मक परीक्षाहरु स्थगित गरिएका छन् । मुलुकको विकास निर्माणका कामहरु बन्द भएका छन् । मानिसहरुको दैनिकी फेरिएको छ । वैदेशिक रोजगारको लागि विदेशमा गएका नेपालीहरु उतै बेरोजगार बनेका छन्, जसले गर्दा मुलुकको अर्थतन्त्रको प्रमुख पक्ष विप्रेषण रोकिएको छ ।

गरीब तथा मजदूर वर्गहरु खान लाउन नपाएर भोक भोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । मानिसहरुको डर र त्राससँगै मानिस मानिसबीचको सामीप्यता हटेको छ । विभिन्न मेला पर्व समारोह आदिमा मानिस जम्मा भएर रमाईलो गर्ने चलनमा तुषारापात भएको छ । जसले गर्दा हाम्रो सामाजिक मूल्य मान्यतामा प्रतिकूल प्रभाव पर्दै मानवीय सम्बन्धमा समेत रुपान्तरण आउन थालेको छ । मानिसको पहिचान अब सामाजिक प्राणीबाट समेत रुपान्तरण हुन लागेको महसुस यतिखेर गर्न सकिन्छ ।

कैयौं मानिसहरुका आय आर्जनका बाटाहरु बन्द भएका छन् । व्यापारिक मार्ग साँघुरिएको छ । विश्वव्यापी आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ । सुनौलो भविष्य बोकेर विद्यालय जाने बालबालिकाहरुको अध्ययनमा व्यवधान खडा भएको छ । खेलकुद जगतको महाकुम्भ पर धकेलिएको छ । सम्पूर्ण मानिसहरु गुप्तबासको कोठरीमा धकेलिएका छन् । विज्ञान र प्रविधिको चमत्कार यतिखेर विवशताको मैदानमा तड्पिंदै छ ।

महामारीको सकारात्मक प्रभाव

यो भयाभह अवस्थाले सम्पूर्ण मानवजातिलाई विभिन्न सन्देशहरु पनि दिएको छ । मानिसको जीवनशैलीमा हुने रुपान्तरणको एक प्रमुख कारक तत्वको रुपमा महामारीलाई लिने गरिन्छ । अहिलेको यो कोरोना महामारीले मानिसलाई सरसफाईमा विशेष ध्यान दिनुपर्ने कुरालाई सिकाएको छ । त्यसैगरी विश्व सबैको साझा घर भएकोले मानिसहरु सबै भावनात्मक रुपमा एकजुट हुनुपर्ने, मानवीय अस्तित्व बचाईराख्न मानिसहरु समय र अवस्था अनुसार संघर्ष गर्न सक्नुपर्ने, संसारभर रहेका मानिसहरु समान भएकोले एकले अर्काको राय, सल्लाह, सुझाव आदिलाई सकारात्मक तरिकाले अबलम्बन गर्दै मानिसले शक्ति तथा क्षमताको घमण्ड गर्न नहुने कुरा हामी सबैलाई यो महामारीले सिकाएको छ । यो महामारीको कारण सबै मानिसहरुले जीवन दर्शनलाई उचित तरिकाले बुझेका छन् । मानिसहरु देशप्रेमको भावनाले ओतप्रोत भएका छन् । महामारीलाई नियन्त्रणमा लिन विश्वका धेरै देशमा गरिएको लक डाउनको कारण वायुमण्डलीय प्रदूषणमा उल्लेख्य मात्रामा कमी आएको छ ।

विश्व समुदाय तथा नेपालका चुनौतिहरु

हाल कोरोना महामारी विश्वमा दिन प्रतिदिन झन झन तीब्र रुपमा फैलिइरहेको छ । यसको फैलावटको बढ्दो दर र यसको कारणबाट भएको मानवीय मृत्युदरलाई तलको ग्राफमा देखाइएको छ । यस चित्रलाई विश्लेषण गर्दा शुरुमा कछुवाको गतिमा बढिरहेको यो महामारी हाल खरायोको गतिभन्दा पनि बढी तीब्र गतिमा फैलिइरहेको महसुस गर्न सकिन्छ । जसले गर्दा यो महामारीविरुद्धको भ्याक्सिन पत्ता नलागेसम्म यसलाई रोकथाम गर्नु निकै कठिन हुने देखिन्छ । त्यसैले यस महामारीविरुद्धको भ्याक्सिन पत्ता लगाई जतिसक्यो चाँडो महामारीलाई रोकथाम गर्नु यतिखेरको विश्व समुदायमाझ ठूलो चुनौतिको रुपमा देखिएको छ । भ्याक्सिन पत्ता लाग्ने कुरो अहिले नैं ठोकुवा गरेर भन्न नसकिने भएकोले यतिखेर विश्वभरका आम मानव समुदायले विभिन्न प्रवर्वद्धनात्मक र निरोधात्मक उपायहरु अबलम्बन गरेर यो महामारीलाई थप फैलिन नदिनु नैैं यस महामारीलाई नियन्त्रण गर्ने एक प्रभावकारी उपाय हो । तर विभिन्न उपायहरु अबलम्बन गर्दा गर्दै पनि यो महामारीको गति झन झन तीब्र हुँदा यतिखेर समस्त विश्वले लक डाउन, कन्ट्याक्ट ट्रेसिङ र परीक्षण विधिलाई थप प्रभावकारी बनाई यो महामारीलाई नियन्त्रणमा राख्नु अर्को चुनौति बनेको छ ।

त्यसैगरि महामारीको कारण विश्वमा अर्थतन्त्र निरन्तर खस्कँदै गइराखेको हुँदा खस्किंदो अर्थव्यबस्थालाई माथि उकास्नु पनि समस्त विश्वका लागि अर्को चुनौति देखिएको छ । समस्त विश्वका चुनौतिहरु नैं यतिखेर नेपालका पनि चुनौतिहरु हुन् । यो महामारी छिट्टै नियन्त्रणमा आउने संकेत नदेखिएको यस परिवेशमा नेपालजस्ता गरीब देशहरुमा यस महामारीबाट गरीब तथा विपन्न वर्गहरु रोगले भन्दा भोकले मर्ने अवस्था आएकोले महामारी नियन्त्रणको लागि गरिएको लक डाउन सँगै यो महामारी नियन्त्रणमा नआउन्जेल गरीब तथा विपन्न वर्गलाई उचित राहत दिनु र जनताका लागि आधारभूत आवश्यकताहरु पूर्ति हुने वातावरण बनाउनु नेपालको लागि अर्को एक विषेश चुनौति बनेको छ ।

नेपालको अबको बाटो

यसरी कोरोना महामारीको भयाभह असर तथा सन्देशसँगै हाम्रो मुलुकको भविष्य कता जाने हो भन्ने कुरा अन्यौलमा परेको देखिन्छ । यो महामारीले कतिसम्म असर गर्ला अहिले नैं एकिन गरेर भन्न सकिने अवस्था छैन् । महामारीको अवस्था अन्त्य भएपछि अहिलेको महामारीबाट पाठ सिक्दै नयाँ ढंगबाट अगाडि बढ्नुको विकल्प छैन् । यतिखेर मुलुकको अवको मार्गबारे चर्चा गर्नुपर्दा सर्वप्रथम यो महामारीलाई जतिसक्यो चाँडो अन्त्य गर्न प्रयास गर्नु जरुरी देखिन्छ ।

हालसम्म कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लागि नसकेकोले यस अवस्थामा निरोधात्मक र प्रवर्द्धनात्मक उपायहरु अवलम्बन गरेर यो महामारीलाई थप फैलन नदिने र संक्रमित व्यक्तिको उचित उपचार र निगरानी राख्नु जरुरी हुन्छ । यसका लागि लकडाउन तथा अन्तराष्ट्रिय उडानमा केही समयको लागि प्रतिबन्ध लगाई कन्ट्याक्ट ट्रेसिङ अन्तर्गतका कार्यहरु गर्दै मुलुकभर विभिन्न स्थानमा प्रयोगशालाहरु तथा क्वारेन्टाइन र आइसोलेसन ब्लकको स्थापना गरेर मानिसमा कोरोना संक्रमणको परीक्षणलाई तीब्र बनाउनु जरुरी हुन्छ । परीक्षण कार्यमा विश्वसनीय परीक्षणको दायरालाई सकेसम्म बढाउनु जरुरी हुन्छ । यसमा मानिस आंफै पनि सचेत र सजग हुनु जरुरी हुन्छ । तोकिएको समयमा विदेशबाट आएको व्यक्ति आंफै क्वारेन्टाइनमा बसेर सरकारको सम्पर्कमा आउने, कोरोना परीक्षण गराउने गरेमा कोरोना संक्रमण थप फैलिन पाउँदैन् । यसका साथै सरसफाईमा उचित ध्यान दिई समय समयमा साबुन पानीले हात धुने, खोक्दा वा हाच्छ्यूँ गर्दा रुमालले मुख छोप्ने, अत्यावश्यक काम नभई घरबाहिर नजाने, जानैपरेमा वा अन्य व्यक्तिको नजिक पर्दा मास्क लगाउने र भीडभाड नगर्ने, सामाजिक दुरी कायम गर्ने लगायतका उपायहरु अवलम्बन गरेर हामीे कोरोना भाइरसको आक्रमणबाट जोगिन सक्दछौं ।

महामारी रोकथामका कार्यसँगै गर्नुपर्ने अन्य कार्यहरु

कोरोना महामारीको रोकथामका विभिन्न कार्यहरुसँगै नेपाल सरकारले गर्नैपर्ने अन्य कामहरुबारे अब चर्चा गरौं । लकडाउनको समय आम नागरिक तथा जनता आफू भएको स्थानबाट बाहिर जान नमिल्ने अवस्था भए पनि सरकारको लागि भने त्यस्तो अवस्था कायम हुनु हुँदैन् । नागरिकको लागि संकटको बेलाको एकमात्र प्रभावकारी साथी सरकार नैं हुने गर्दछ । त्यसैले यस अवस्थामा सरकार सुरक्षित तरिकाले जनताका घर दैलोमा जानु जरुरी हुन्छ । हाल नेपालका गरीब तथा मजदुर वर्गहरु भोक भोकै मर्नुपर्ने अवस्था आएको छ । यस अवस्थामा त्यस्ता वर्गहरुको लागि राहतका कार्यक्रमहरु गर्नु जरुरी हुन्छ । नेपाल सरकारले स्थानीय सरकारमार्फत राहत वितरण गर्दै आएको त छ, तर राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्न सकेको छैन। राहत वितरणका लागि मानिसहरुलाई एकै ठाउँमा बोलाएर एकै समयमा वितरण गर्दा झन भीडभाड बढेर कोरोना संक्रमणको थप त्रास सिर्जना भएको अवस्था यतिखेर देखिन्छ । स्थानीय सरकार जनताको नजिकको सरकार भएकोले यसलाई आफ्नो क्षेत्रका जनतामध्ये को को वास्तविक रुपमा गरिब र पिछडा वर्गमा पर्दछन्,थाहा हुने भएकोले त्यस्ता जनताको घर दैलोमै पुगेर स्थानीय सरकारले अत्यावश्यक राहत वितरण गर्नुपर्ने देखिन्छ, जसले गर्दा वास्तविक रुपमा गरिब र मजदूर वर्गका मानिसले राहत प्राप्त गर्दछन् ।

त्यसै गरि यतिखेर अधिकांश नेपाली कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफूलहरु बजार नपाएर त्यतिकै कुहिएर जाने गरेका छन् । यस अवस्थामा स्थानीय सरकारले कृषकको घर दैलोमै गएर कृषकहरुबाट उत्पादित सामाग्रीहरु आफैले खरिद तथा संकलन गर्ने र तिनलाई सुरक्षित तरिकाले निश्चित स्थानमा भण्डारणको ब्यवस्था गरेर उपभोक्ताहरुलाई फोन सम्पर्कको माध्ययमबाट अर्डर गर्न सकिने व्यवस्था मिलाई त्यसरी अर्डर आएपछि उपभोत्ताको घरदैलोमै कृषि उपज उपलब्ध गराईदिने प्रबन्ध गर्नु आवश्यक देखिन्छ । यसरी यतिखेर नेपालमै उत्पादित कृषि उपजको विक्री वितरण स्थानीय सरकारले गर्दा मुलुकको कूल गार्हस्थ उत्पादनमा अन्य क्षेत्रको योगदान कम भएपनि कृषि क्षेत्रले गरेको योगदानमा भने कुनै कमी आउँदैन् । झन यसबाट आम नागरिकको सरकारप्रतिकोे विश्वसनीयतामा अभिवृद्धि र संघीयताको समेत वास्तविक अभ्यास हुन जाने देखिन्छ ।

त्यसैगरि यस महामारीको समयमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा लिएर कुनै व्यवसायमा हालसालै मात्र आवद्ध भएका व्यक्तिको व्यवसाय पनि धरासायी हुने अवस्था आएको छ । यस अवस्थामा क्रणीहरुले तिर्नुपर्ने व्याज निश्चित समयसम्म छुट गरी उनीहरुलाई विस्तारै सुरक्षित तरिकाले व्यवसायमा संग्लग्न हुने वातावरण तयार गर्नु जरुरी हुन्छ । त्यसैगरि दूर सञ्चारका माध्यमहरुमध्ये टेलिफोन तथा मोबाइल फोन र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पनि ग्राहकको लागि सापटी वा निश्चित अवधिसम्मको निशुल्क फोन/इन्टरनेट सेवा उपलब्ध गराउनु आवश्यक हुन्छ । यी सबै कार्यका लागि सरकारले उचित कानूनी व्यवस्था गर्नु जरुरी हुन्छ ।

लक डाउनको समय लामो भएमा विद्यार्थीहरुको अध्ययनमा पनि व्यवधान खडा हुने भएकोले यसो हुन नदिन विभिन्न तहका विद्यार्थीहरुको अध्ययनलाई अनलाईनमा आधारित बनाउनु जरुरी छ । हाल नेपालमा करिब ५६ प्रतिशत जनतामा इन्टरनेटको पहुँच पुगेको हुँदा अनलाईन अध्ययनबाट धेरै विद्यार्थीहरु लाभान्वित हुने देखिन्छ । त्यसैगरी यतिखेर होम डेलिभरी सहितको अनलाईन व्यापारलाई पनि बढाउनु आवश्यक छ ।

कोरोना महामारीको अहिलेको विश्वव्यापी अवस्था हेर्दा यो महामारी छिट्टै रोकिने सम्भावना नभएकोले यस अवस्थामा सरकारले सुरक्षित बनेर नागरिकका न्यूनतम आधारभूत आवश्यकताहरु पूर्ति हुने व्यवस्था गर्न आवश्यक वातावरण तयार गनुपर्ने देखिन्छ । यसका लागि सरकारले कृषकहरुलाई सुरक्षित तरिकाले कृषि कर्ममा संग्लग्न गराउन सक्छ । कृषकहरुलाई विभिन्न आधुनिक औजार तथा उपकरणहरुको व्यबस्था गरेमा थोरै जनशक्तिले सुरक्षित तरिकाबाट धेरै उत्पादन गर्न सक्दछन् ।
लक डाउनको समय लामो भएमा विद्यार्थीहरुको अध्ययनमा पनि व्यवधान खडा हुने भएकोले यसो हुन नदिन विभिन्न तहका विद्यार्थीहरुको अध्ययनलाई अनलाईनमा आधारित बनाउनु जरुरी छ । हाल नेपालमा करिब ५६ प्रतिशत जनतामा इन्टरनेटको पहुँच पुगेको हुँदा अनलाईन अध्ययनबाट धेरै विद्यार्थीहरु लाभान्वित हुने देखिन्छ । त्यसैगरी यतिखेर होम डेलिभरी सहितको अनलाईन व्यापारलाई पनि बढाउनु आवश्यक छ ।

महामारी पूर्णरुपमा नियन्त्रणमा आइसकेपछिको बाटो

यो महामारी पूर्णरुपमा नियन्त्रणमा आईसकेपछि सर्वप्रथम महामारीले तहसनहस पारेको अर्थव्यबस्थाको पुनर्संरचनातिर लाग्नु आवश्यक हुन्छ । वैदेशिक रोजगारीको सन्दर्भमा अहिले “अर्काको भर, उत्ताना पर” भन्ने नेपाली उखान चरितार्थ भएको हुँदा भावी दिनहरुमा जतिसक्यो चाँडो वैदेशिक रोजगारीको विडम्बनालाई अन्त्य गरेर स्वदेशमै रोजगारीका व्यापक अवसरहरु सिर्जना गर्नु अति आवश्यक छ । यसका लागि महामारी पूर्णरुपमा नियन्त्रणमा आईसकेपछि नागरिक तथा सरकार मिलेर हाम्रो मुलुकको भविष्यलाई देहायबमोजिमको बाटोमा लैजानु जरुरी देखिन्छ ।

१) कृषि क्षेत्रको विकास
बहुसंख्यक नेपालीहरु कृषि पेशामा आबद्ध छन्, तर विडम्बना, यो क्षेत्रको उत्पादकत्व अति न्यून भई यहींको उत्पादनले नपुगेर बार्षिक करिब १३ अरब बराबरको चामलमात्र तथा बार्षिक करिब २ खरब बराबरको कृषिजन्य बस्तुको आयात नेपालले गरिराखेकोले अवस्था छ । अधिकांश भागमा खेतीयोग्य जमिनहरु बाँझै छन् । तराइका थुप्रै खेतीयोग्य जमिनहरु बस्तीमा परिणत भइरहेका छन् । बहुसंख्यक नेपालीहरु आश्रित रहेको कृषि क्षेत्रको विविधीकरण, व्यावसायिकरण र आधुनिकीकरण गर्न सकियो भने कृषि पेशाको उत्पादकत्व बढ्न गई कृषिजन्य बस्तुको आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन हुने तथा कृषि पेशामा सबैको आकर्षण बढ्न जाने र रोजगारीको अवसरमा वृद्धि भई आर्थिक समृद्धिको ढोका खुल्ने देखिन्छ । यसका लागि हामीले मुलुकभर विभिन्न ठाउँको माटो परीक्षण गर्दै त्यस्तो ठाउँमा उब्जाउयोग्य विविध बालीको आधुनिक प्रविधि तथा यन्त्र उपकरणको प्रयोग गरेर खेती गर्नका लागि तथा कृषियोग्य जमिनमा बस्ती विकास नगरेर व्यावसायिक कृषि गर्नका लागि उचित कानुनी व्यबस्था गर्नु जरुरी छ । त्यसैगरी हामीले विकासको एक महत्वपूर्ण पक्ष कृषि कसरी हुन सक्छ भन्ने सम्बन्धमा विश्व बैंकले सन् २००८ मा प्रकाशित गरेकोे विश्व विकास प्रतिवेदनमा उल्लेख गरेको ढाँचालाई आधार लिंदै कृषि विकासको मार्गमा अगाडि बढ्न सक्छौं, जुन ढाँचालाई तलको चित्र २ मा देखाईएको छ ।

कृषि विकासको पोलिसी डाइमण्ड

 

यस चित्रलाई उक्त प्रतिवेदनले पोलिसी डाइमण्ड भनेर भनेको छ । यसको मुख्य आशय कृषिलाई विकासको प्रमुख माध्यम बनाउन कुनै पनि देशको सरकारले उचित आर्थिक, राजनीतिक तथा सामाजिक वातावरण तयार गरी कृषि विकासको कामलाई विभिन्न चार भागमा बाँडेर हरेक कामलाई सफल बनाउन उचित नीतिगत व्यबस्था गर्नुपर्ने रहेको छ ।

अब उक्त उल्लेखित चार भागमा गर्नुपर्ने कामबारे चर्चा गरौं । कृषिलाई व्यावसायिक तवरले सफल बनाउन सर्वप्रथम कृषि उत्पादन गर्नेहरुको लागि बजार पँहुच बढाउनु जरुरी हुन्छ । कृषि कर्ममा संग्लग्न भयो, तर उत्पादित सामानको बजारमा पँहुच छैन् भने त्यसको केही अर्थ रहँदैन् । नेपालको सन्दर्भमा हेर्दा हुम्ला, जुम्ला लगायत विभिन्न ठाउँमा उत्पादन हुने फलफूल तथा तरकारीको सोझै बजार पँहुच छैन् । त्यसैले उत्पादित सामानको स्थानीय तहमै संकलन र भण्डारणको व्यबस्था गर्ने र आवश्यकताअनुसार स्थानीय मूल्य समेत तोक्न सरकारले उचित नीतिगत प्रबन्ध गर्नु जरुरी हुन्छ ।

त्यसैगरी यस प्रतिवेदनमा प्रभावकारी भ्याल्यू चेनको स्थापना गर्नुपर्ने कुरालाई औंल्याइएको छ । भ्याल्यू चेन भनेको एउटा पूर्ण बस्तु उत्पादनको लागि विभिन्न उप केन्द्रहरुमा उप उत्पादन गर्ने व्यबस्था गर्ने र सबैलाई एकै ठाउँमा ल्याई पूर्ण रुपको बस्तु बनाउने कुरासँग सम्बन्धित छ । आज विश्वका ठूला – ठूला बहुराष्ट्रिय कम्पनीहरुले यही तरिका अपनाएर न्यून मुल्यमा अधिकतम उत्पादन गर्ने गरेका छन् । कृषि प्रणालीमा पनि यो तरिकाको प्रयोग गर्दा उत्पादनमा राम्रो प्रभाव पर्दछ ।

प्रभावकारी भ्याल्यू चेनको व्यबस्थापछि साना–साना किसानहरुको काम न्यून लागतमा अधिकतम उत्पादनमुखी बनाउनमा सहजता आउँछ, जसलाई माथिको चित्रको दोस्रो भागमा देखाइएको छ । त्यसैगरी तेस्रो भागमा निर्वाहमुखी कृषि प्रणालीमा सुधार गरी जीवीका उकास्ने कुरालाई दर्शाइएको छ । यसका लागि कृषकहरुलाई विभिन्न उन्नत बींउ, बीजन, मल इत्यादिको व्यबस्था गर्ने र नयाँ नयाँ प्रविधिलाई कृषि क्षेत्रमा प्रयोग गर्न कृषकहरुलाई प्रोत्साहन गरी कृषिलाई व्यावसायिक बनाउनु जरुरी हुन्छ ।

त्यसैगरी चौंथो भाग रोजगारी बढाउने कुरासँग सम्बन्धित छ । कृषकहरुको सीप विकास गर्दै कृषिमा संग्लग्न परिवारका हरेक सदस्यको सीमान्त उत्पादकत्वलाई ध्यानमा राखि कृषिमा बढी भएको जनशक्तिलाई ग्रामीण कृषिसँग सम्बन्धित अन्य क्षेत्र जस्तै कृषिजन्य उद्योग, व्यापार आदिमा संग्लग्न गराई हरेक व्यक्तिको आयस्तरमा वृद्धि गर्न सकिने कुरा यस चरणमा पर्दछ । यी चारओटै चरणको सफलतापछि गरीबी विनाको व्यावसायिक कृषि तथा अन्य आम्दानीमुलक व्यवसायको बढोत्तरी भई मुलुकको चौतर्फी विकासको ढोका खुल्छ । त्यसैले नेपालको समग्र विकासको लागि शुरुमा गर्नुपर्ने काम भनेकै कृषि क्षेत्रको विविधीकरण, व्यावसायिकरण र आधुनिकीकरण हो । यसो गर्न सकियो भने नेपालको लागि देखिएकोे वैदेशिक रोजगारीको विडम्बनालाई समेत अन्त्य गर्न सकिन्छ ।

२) गैर कृषि क्षेत्रको विकास

माथि उल्लेख गरिएझैं हामीले कृषि क्षेत्रको विकास गरिसकेपछि नागरिकको आयस्तरमा उल्लेख्य मात्रामा सुधार भएमा उनीहरुले विस्तारै आफ्नो आम्दानीको स्तरअनुसार अन्य क्षेत्रहरु जस्तै मझौला तथा ठूला उद्योग आदिमा लगानी गरेर त्यसबाट थप आय आर्जन तथा ज्ञान हासिल गर्दछन् । त्यसपछि मुलुकको राजस्वमा समेत वृद्धि हुँदै क्रमिक रुपमा विकासका गतिविधिहरु बढ्दै जान्छन् । यस क्रममा सरकारले विभिन्न पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्दै नागरिकलाई पनि त्यस्ता क्षेत्रमा लगानी गर्न उचित प्रोत्साहन गर्नु जरुरी हुन्छ । गैर कृषि क्षेत्रको विकास अन्तर्गत मुख्य रुपमा जलविद्युत क्षेत्रको विकासमा सरकारको पहिलो प्राथमिकता हुनु जरुरी देखिन्छ । हाल प्रस्तावित ठूला जलविद्युत आयोजनालाई जतिसक्यो चाँडो शुरु गरेर सम्पन्न गर्न सकेमा विद्युत व्यापार गरी मुलुकको अर्थतन्त्र समृद्ध हुन जाने देखिन्छ । त्यसैगरि सरकारले पर्या पर्यटन, साहसिक पर्यटन जस्ता पर्यटकीय सम्भावनालाई भरपूर उपयोग गर्दै विभिन्न उद्योगधन्दाहरुमा स्वदेशी तथा विदेशी लगानीलाई उचित स्थान दिनु जरुरी हुन्छ जसले

नेपालको समग्र विकासको सम्भावित चेन

गर्दा अहिले तहसनहस भएको अर्थतन्त्रको उचित विकास हुन सक्छ र अर्थतन्त्र नैं समग्र विकासको आधारशीला भएकोले अर्थतन्त्रको विकास भएमा सहज रुपमा सार्वजनिक सेवामा प्रभावकारीता आई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, यातायात, सञ्चार, प्रविधि लगायतका क्षेत्रको विकास भई मुलुकको सर्वाङ्गीन विकासमा उल्लेख्य योगदन हुन्छ, जसलाई सँगैको चित्रमा देखाइएको छ ।

निष्कर्ष 
भनिन्छ, विपत्ति बाजा बजाएर आउँदैन् । अब भविष्यमा अहिलेको जस्तो महामारी फेरि जतिखेर पनि आउनसक्ने सम्भावनालाई ध्यान दिंदै अव सरकारले मुलुकमा इमेल, इन्टरनेटको पँहुच सम्पूर्ण भू–भागमा पु¥याएर शिक्षा प्रणालीलाई अनलाइनमा आधारित बनाउँदै जान र अनलाइन व्यापारको विकास र विस्तार गर्न उचित कानुनी तथा नीतिगत व्यबस्था गर्नु आवश्यक छ । त्यसैगरी सूचना तथा सञ्चार प्रविधिको उचित विकास गर्दै विद्युतिय शासनको मान्यताअनुरुप सार्वजनिक सेवाहरुलाई अनलाईनमा आधारित बनाउँदै जानु जरुरी छ । यसो गर्न सकियो भने भविष्यमा यस्तै खालको महामारी आएमा जीवन निर्वाहलाई सहज बनाउन सकिन्छ । यो सँगै अवको भविष्यको समृद्धिको ढोकाको रुपमा रहेको कृषि क्षेत्रको विकास र समृद्ध नेपाली अर्थतन्त्रको मार्गको रुपमा रहेको जलविद्युतको विकास गर्दै मुलुकको सर्वाङ्गीन विकास गर्न सकिने भएकोले यसतर्फ अगाडि बढ्नु अपरिहार्य देखिन्छ ।

nepali.saput@gmail.com

3 comments on "मानवीय अस्तित्व विरुद्धकाे काँडेतार र नेपालले अबलम्बन गर्नुपर्ने बाटाे"

  • Kashi Ram Oli says:

    बार्षिक करिब रु.१३ अरब मुल्य बराबरको चामलमात्र तथा बार्षिक करिब रु.२ खरब मुल्य बराबरको कृषिजन्य बस्तुको आयात नेपालले गरिराखेको अवस्था छ ।

  • Puspa Dhakal says:

    धेरै राम्रो अत्यन्त समय शान्दर्भिक लेख । आगामि दिनमा अझै निखारता आओस । शुभकामना

  • Kashiram Oli says:

    बार्षिक करिब रु.१३ अरब मुल्य बराबरको चामलमात्र तथा बार्षिक करिब रु.२ खरब मुल्य बराबरको कृषिजन्य बस्तुको आयात नेपालले गरिराखेकोले अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.