भात खाने अवसर र छाेराकाे खुशी

  २०७७ जेठ १४ गते २१:२१     विनोद देवकोटा

‘लकडाउन’का कारण समस्यामा परेका डोल्पा ठूलिभेरी नगरपालिका स्थानीयवासीलाई चामल, नुन र तेल लगायतका सामग्री वितरण गरिदै । तस्वीरः हेमन्त केसी/रासस

आज गोमाने छिटै घर फर्किए। हुन त उनको नाम गोमानसिंह हो। तर गाउँले सबैले गोमाने भन्छन्। उनी गोमानसिंहभन्दा गोमाने नामले बढी परिचित छन् गाउँमा। उमेरले साठी कटेका गोमानेका कपाल सरी दाह्री पनि सेताम्मे फुलेका छन्। गाला चाउरी परेका, हातमा ठेला उठेका र खुट्टाका कुर्कुच्चा खडेरीले फुटेको खेत जस्तै छन्। पहाडको फेदीमा छ उनीहरुको घर।

सँधैभन्दा मलिन अनुहार र रित्तो हात। घरबाट निस्केको दुई घण्टामै फर्किएको देखेपछि कार्कीनी अलमल्ल परिन्।
जेठो छोरो मुग्लान(भारत) पसेकाे , माइली छोरीको सानैमा बिहोवारी भएको, साइँलीछोरी चाहि गाउँतिर(खेल्न), सानो छोरा(६ वर्षको)लाई बोकेर कार्कीनी बसेकी छन्।
बाबा छिट्टै घर आएको देखेर काखको छोरो पनि उधुम खुसी थियो। उ बाबाका हाततिर हेर्दै थियो। सँधै केही न केही बोकेर आउने बाबाका हात रित्ता थिए। तर कुनै प्रतिक्रिया जनाएन। हेरिह्यो मात्रै।

कार्कीनी गोमानेको श्रीमती, उनको पनि नाम त जौमति हो। तर गाउँका कसैले नामले बोलाउँदैनन्। उनको नाम नै कार्कीनी भएको छ।

‘लौं बुढा चाडै आयौं त? साहु घरमा थिएनन् क्या? कि काम भएन ? अनुहार पनि निन्याउरो छ त ? के भयो र ? मैले त तिम्लाई खाना पनि पकाइन।’ गोमानेलाई सोधिन्।

खासमा गोमाने सँधै बिहानै साहुकोमा काम गर्न निस्कन्थे। गाउँकै बैदार (विष्ट थरका ती साहूलाई सबैले बैदार भनेर चिन्थे) कोमा उनी काम गर्थे।

गोमाने झर्किए। ‘तलाई किन चाहियो? म चाडै आऊ कि ढिला ?’

कार्कीनीका कुनै पनि प्रश्नको उत्तर उनले दिएनन्।

कार्कीनीको मनले मानेन। फेरि दोहोर्याइन् उही प्रश्न। ‘मैले भनेको सुनेनौं र ? किन बटारिन्छौं ? के भयो भनन ?’

अब भने नभनी सुखै भएन। तर सबै प्रश्नको उत्तर एकै वाक्यमा दिए गोमानेले।

लेखक

‘कामै नभए क्यार्नु त नि। गाउँ नै लकडाउन भयो रे।’ अघिपछि पनि कमै बोल्ने गोमानेको स्वभाव कार्कीनीलाई थाहा थियो। काम किन भएन सोध्न मन थियो। तर पनि सोध्ने कष्ट गरिनन्। कुरो बुझेझैं गरिन्। प्रश्न बाँकी थिएर र उत्तर पनि।

बरु कुरो अन्तै मोडिन्। ‘लौ अब के गर्ने त? बिहानलाई पकाएको ढिडो पनि सकियो। हाम्ले त खायौं। तिमी क्यार्छौं त ? लौ छोरो बोक। म केही पकाउँछु।’

गोमाने हच्किए। ‘पर्ख पर्ख। का छोरो बोक्नु। खरानी ले त बरु म हात धुन्छु।’

अघिपछि खाना खाँदा मात्रै हात चोख्याउने गोमानेको कुरा सुनेर कार्कीनी छक्कै परिन्। ‘हात धुने रे ? त्यो पनि खरानीले।’

कार्कीनीको कुरा नसकिँदै गोमाने बोले।

‘हो त । गाउँमा कुन चाहि भाइरस पसो रे। काउरोना(कोरोना) कि के नामको। हात त मिचिमिची धुनुपर्छ रे बुढी। त्यही कारणले त साहुको काम भएन। आज मात्रै होइन अब लामै समय काम हुँदैन रे साहुकोमा। कुन देशमा त कति हजार मान्छे मरे रे । हाम्रो गाउँमा पनि मर्छन् रे। देश त लकडाउन भयो रे। साहुले भनेको।’

कार्कीनीले अघिका आफ्ना प्रश्नको उत्तर पनि पाइन्। तर मनमा थप प्रश्न उब्जिए। गाउँमा भाइरस पसो रे। त्यो के हो ? कहाँबाट आयो ? कस्तो हुन्छ ? मान्छेलाई किन मार्छ। कसले पठायो ? तर सोधिनन्।

एक लोटा पानी र हातमा खरानी लिएर आइन्। बुढाले मितिमिची हात धोएर भित्र पसे।

चुलोमा झिँजा दाउरा ठोस्दै आगो बाल्न थालिन् कार्कीनी। टिनले छाएको गोठ जस्तो (एकै कोठा भएको) छाप्रो धुवाम्मे भयो। गोमाने छोरो समातेर बसे। कार्कीनीले भाडोमा पानी लगाइन् र पोको पुन्तुरो खोतल्न थालिन्। कुना काप्चामा हेर्न थालिन्।

‘के पकाउउँछस् त?’ गोमानेले सोथे। ‘के पकाउनु नि। खानामा सँधै ढिढो, आटो र मकैको रोटीत हो नि। भात खान त चाड आउनु पनि पर्यो नि। खोज्दै छु केही भेटे उमाल्छु।’ कार्कीनी बोलिन् ।

‘थोरै आटो (मकैको च्याख्ला) त थियो जस्तो लाग्छ। भेट्दिन त।’ कार्कीनी एक्लै बोलिन्। उनको मनमा भाइरस बारेको प्रश्न खेल्दै थियो। यहि मौकामा बुढालाई सोधिन्। ‘तिम्ले भन्या भाइरस के रै छ ?’

बुढाले झर्किर्दै भने, ‘जे सुकै होस् आफ्नो काम गर न।’ फेरि पनि कार्कीनीले उत्तर पाइनन्।

‘आफ्नो एउटा झुप्रो र आँगन मात्रै छ। थोरै जग्गा जमिन हाम्रो पनि भए खेती गर्न हुन्थ्यो नि। आपतमा खान हुन्थ्यो’ कार्कीनी एक्लै बोलिन्  । गोमानेले कुनै प्रतिक्रिया जनाएनन्।

छोराले बाबाको सेतै फुलेको जुँगातिर हेरेर भन्यो, ‘हामी भात खाने हो?’ गोमाने नाजवाफ भए। मनमनै सोचे भात खानलाई दशैं हो र ? तर छोरालाई सान्तवना दिन भए पनि भने,‘भोलि खाने नि त भात।’

माघी (माघे सक्रान्ती) मा खाएको भात छोराले बिर्सैको रहेनछ। ‘अस्ती जस्तै हैं बाबा’ चिची पनि, काखे छाेराेले भन्याे ।

गोमाने भक्कानिए। तर बोलेनन्। टाउको मात्रै हल्लाएर छोरालाई समर्थन जनाए।

बुढिले आटो पकाइन्। नुन मोलेर गोमानेले मिठो मानी मानी खाए।

खाने बित्तिकै हिडे गोमाने। ‘कता हिडेको ?’ काकीनीले सोधिन् तर जवाफ आएन।

कार्कीनीलाई भाइरसबारे थप कौतुहलता जाग्दै गयो। मेरो बुढाको कामै बन्द गर्ने भाइरस कुन चाहिले गाउँमा पठाएछ। मान्छे पनि मार्छ रे। कस्तो हुन्छ होला यो भाइरस? उनलाई उत्तर नखोजी भएन।

उनी पनि निस्किन् छाप्रोमा द्वार (स्याउला र काठले बनाइएको ढोका) लाएर। नजिकै थियो मास्टर(शिक्षक)को घर। उनले सोचिन् यसबारे तिनलाई त कसो थाहा नहोला।
मास्टरको घर पुगिन्। मास्टरनी मात्रै भेटिन्। नमस्कारपछि सोधिन, ‘मास्साप कता जानु भएछ त आज ?’ मास्टरर्नीले जवाफ दिइन्, ‘के पढ्न आयौं नि आज?’ मास्टरनीले जिस्काउँदै सोधिन्। उनी बेलाबेलामा अनेक कुरा सोधि रहन्थिन् मास्टरलाई।

‘के जाति भाइरस पसो रेन्त गाउँमा । मान्छे पनि मार्छ रे। मेरो बुढाको त कामै बन्द गरिदियो’ कार्कीनी बोलिन्।

भाइरसबारे सबै कुरा थाहा पाएझैं गरी मास्टरनीले भनिन्, ‘कोरोना भाइरस आयो रे गाउँमा। मेरो बुढाले पनि यही कुरा गर्छन्। स्कूल पनि बन्द छन् । टिभीमा यही मात्रै सम्चार आउँछ।’

कार्कीनी ढुक्क भइन्। अब कोरोनाबारेको जिज्ञासा मेट्न पाइने भयो।

मास्टरनी कुरा नसकिदै प्रश्न गरिन्। ‘यस्तो ज्यानमारा भाइरस कसले पठाएछ गाउँमा ?’

घरको बारदलीबाट मास्टरनी बोलिन्, ‘हाम्रो गाउँमै आइसक्या त होइन क्या। आउँछ भनेर मानिसहरु तर्सेका। पख म तलै आउँछु।’

उनी तल झरिन्। ‘धेरै कुरा त मलाई पनि के थाहा। बुढाले भनेको र टिभीमा देखेको । भएन यति भने।’ तल पुग्ने बित्तिकै जवाफ दिइन्।

‘अ साच्चै टिभीमा चाहि कहिले आउँछ त?’ उत्सुकताका साथ कार्कीनीले सोधिन्।

‘पख न अब १ बजेको सम्चारमा आउँला। अघिपछि पनि आइराकै हुन्छ। टिभीले आजकाल कोरोना मात्रै भन्छ।’ कार्कीनीले मास्टरनीको घरको चित्तामा हेरिन्। दिउँसोको साढे १२ बजेको रहेछ।

पढे लेखेका नभएनि घडी हेरेर समय भने छुट्याउँछिन् कार्कीनी।

‘अब आधा घण्टा त बाँकी रहेछ १ बज्न। १ बजेपछि त पक्कै भन्छ नि टिभीले। लौं आज त नहेरी भएन।’ कार्कीनी एकोहोरो बोलिन्। मास्टर्नीले जवाफ दिइनन्। टाउको मात्रै हल्लाइन् र समर्थन जनाइन्।

मस्टर्नी घरधन्दामा लागिन्। कार्कीनीले भने भित्ताको घडी हेर्दै आधा घण्टा बिताइन्। एक बज्नै आट्दा फेरि बोलिन्। ‘मास्टरनी एक बज्न आट्यो त।’ काखमा छोरो पनि करायो, ‘मम्मी (आमा) पानी खाने।’ मास्टरनीले कुनै नसुनी भनिन्, ‘लौ छोरालाई पानी देऊ। यता बसेर हेर। म टिभी खोल्दिन्छु। मेरो त अझैं कति काम छ।’

मास्टरनी फेरि हराइन् काममा। कार्कीनीले चाख लाएर हेरिन् टिभीतिरै। छोरो पनि खुसी भयो। ‘आमा अब फिलम हेर्ने हो।’ पहिले पनि कहिलेकाही मास्टरकै टिभीमा फिलम हेरको थियो छोराले। कार्कीनीले ‘हो’ भन्दै छोरालाई चुप लाग्न भनिन्।

घडीको टिकटिक सँगै एक बज्यो। टिभीमा समाचार आयो। मुख्य समाचारमै कोरोना। उनले ध्यान अझैं केन्द्रीत गरिन्।

‘नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो’ देशभर लकडाउन ।
पाच हजार क्वारेन्टाइनमा, साटी जना आइसोलेसनमा
भारतमा मृतकको संख्या बढ्यो
अमेरिकामा सबैभन्दा धेरैको मृत्यु
हालसम्म डेढ लाखको ज्यान गयो
मजदुरलाई राहत वितरण
कोरोनाबाट बच्न बारम्बार हात धुने र मास्क लगाउने
संक्रमितको संख्या २५ लाख नजिक।

यस्तै यस्तै सुनिन् उनले मुख्य समाचारमा।

समाचार चाख मानेरै सुनिन्। तर आफ्ना सबै प्रश्नको जवाफ पाइनन्। बरु मनमा थप केही प्रश्न उठे। समाचार सकिनै लाग्दा मास्टरर्नीले टिभी बन्द गरिन्। बारीमा काम गर्न जानु छ हिड ढोका बन्द गर्छु भन्दै उठेर हिँडिन्। कार्कीनी पनि घर फर्किइन्।

यति र उति मरे। बारम्बार हात धुने र मास्क लगाउने बाहेकका कुनै कुरा बुझिनन्। बाटोमा घोत्लिदै सोच्न थालिन्।

संक्रमित, कोभिड-१९, क्वारेन्टाइन, आइसोलेसन, पोजेटिभ, नेगेटिभ, राहत। एकएक शब्द सम्झिइन् तर कुरोको छेउटुप्पोसम्म थाहा पाइनन्।

घर पुग्दा पनि उनलाई तिनै कुराले पीरोल्यो। अब कहाँ गएर जान्नु? कसलाई सोध्नु? मनमनै कुरा गरिन्।

दिन बित्यो उनले जवाफ पाइनन्।

साँझ पर्यो। बुढा पर्किए। उही निन्याउरो अनुहार लिएर । दिनभरि कता डुल्यौं, साँझलाई खाने कुरा के ल्यायौं ? यो भाइरस के रहेछ ? धेरै कुरा सोध्न मन थियो। तर सोधिनन्। चुलोचौकोमा लागिन्। आगो फुक्ने र धुवा मडारिने बाहेक उपलब्धी केही भएन।

छोरो चिच्याइरहेको थियो। साइँली छोरी पनि घर फर्किसकेकी थिइन्। खानलाई आतुर थिए दुबै जना। सानो छोराले घरि चुलोतिर हेर्छ घरि भाडामा। छोरी त अलि बुझ्ने भैसकेकी छिन्। भोक लागेकै भए पनि बालेकी थिइनन्। भोक नलागेको त बुढाबुढीलाई पनि कहाँ छ र ? बिहानको ढिडो बोहक दिनभर कसैले केही खाएका छैनन्।
निकै बेरसम्म गोमाने बोलेनन्। सोची रहे। घोत्ली रहे। तनाव, पीडा कार्कीनीलाई पनि थाहा छ तर समाधान कसैसँग छैन। निकै बेर सोचेपछि गोमाने बोले, ‘लौ केही जोहो गर।’

यति सुन्न नपाउँदै कार्कीनी बोली हालिन्। ‘के चाहि पकाउनु हौं। घरमा केही भए पो। बाँकी अलिकति मकैको पीठो छ। रोटी बनाउँदा एकै दिन पुग्दैन। ढिडो बनाउँछु। दुई तीन दिनलाई होला।’ गोमानेले नबोली सहमति जनाए। छोराले ‘ढिडो पो’ बाहेक कसैले केही बोलेनन्।

ढिडो पाक्यो। खाए पनि। साँझमा बुढाबुढीको गफगाफ भयो। गोमानेले गाउँकै चौतारीमा दिन बिताएका रहेछन्। त्यहाँ स्वास्थ्य चौकीका डाक्टर (अहेव,गाउँमा सबैले डाक्टर भन्छन्) पनि आएका रहेछन्। त्यहाँ उनले कोरोना बारे सबै कुरा जान्ने अवसर पाएछन्। सबै कुरा बुढीलाई सुनाए। कार्कीनीको दिनभरिको खुलदुली भेटियो। क्वारेन्टाइन, लकडाउन, आइसोलेसन, पोजेटिभ नेगेटिभलगायत सबै कुराको जवाफ पाइन्। आफ्नो गाउँमा उक्त भाइरस आइनपुगेको पनि पत्तो पाइन्। गाउँमा आइहाल्छ कि भनेर सतर्कता अपनाइएको पनि कुरा बुझिन्।

गोमानेले सम्झाए। ‘साबुन पानीले हात धोइरहनु पर्दो रहेछ। हामीसँग त छैन। खरानीले धुँदा पनि हुन्छ होला। भिडभाडमा जानु हुँदैन रे। मान्छेबाट मान्छेमा सर्छ रे। मुखमा मास्क लगाउनु भन्थे । त्यो हामीसँग छैन।’

तर अझैं एउटा प्रश्न भने अनुत्तरित नै रह्यो। जसको जवाफ गोमानेले चौतारीमा पनि सुनेनन्। यो भाइरस कहिलेसम्म रहन्छ ? यही कुरा मनमा खेलाउँदै उनीहरु सुते।

०००

दिन बित्यो, रात बित्यो। अवस्था फेरिएन। एक हप्ता भैसक्यो बुढाबुढीले राम्ररी खान नपाएको। केही दिन मागेर पनि कट्यो। एक छाकको तीन छाक बनाएर पनि खाए। खाली पेटमा पटुका बाँधेर पनि बसे। तर छोराछोरीलाई मनाउन सकेनन्। भोको पेट हिँडुल गर्न पनि गाह्रो हुनथाल्यो।

करिब ८ दिनपछि गाउँमा राहत बाँडियो। २० किलो चामल, दुई किलो दाल, नुन, तुल आदि आदि। हातमा राहतको सामग्री बोकेर गोमाने घर फर्किए। कपडा उही भएपनि थोपडा(अनुहार) बदलिएको थियो। सँधैको मलिन् अनुहारमा चमक थियो। भोकले गलेका गोमाने जोसिला जस्ता देखिन्थे।

गोमानेले उत्तर दिन नपाउँदै छोरो बोल्यो। ‘यो भाइरस त राम्रो रहेछ। सँधैं आइरहे हुने। भाइरस नआए सरकारले राहत दिँदैन। आए भात खान पाइदो रहेछ।’ छोराको कुरा सुनेपछि गोमानेले ‘होइन’ मात्रै भने। धेरै बोलेनन्। सायद उनलाई पनि भाइरसका कारण भात खान पाएकोमा खुसी थियो। कार्कीनी मुसुक्क हाँसिन् मात्रै। सायद मौन समर्थन जनाइन्। छोरी बोलिनन्।

घर पुग्नेबित्तिकै चुल्हो बाल्न भने। कार्कीनीले सोधिनन् चामल कहाँबाट ल्यायौं। कसले दियो। हतारहतार चुल्हो बालिन्। घरमा भात दाल पाक्यो। माघीमा भात खाएको छोराले बैशाखको खडेरीमा फेरि भात खान पाउने भयो। छोरी र बुढाबुढीले पनि। केही दिनदेखिको भोको पेटमा भात पस्ने भयो।

छोराछोरीमा उत्साह छायो। छोराले सोध्यो, ‘आज कुन तिहार हो बाबा? ‘तिहार होइन। कोरोनाका कारण सरकारले राहत बाँडेको रहेछ। हामी जस्तै खान नपाएकाहरुलाई। त्यहीबाट ल्याएको चामल।’ गोमानेले जवाफ दिए। कार्कीनीले पनि सुनिरहिन्। तर केही बोलिनन्।

भात पाक्यो। कार्की परिवारलाई दशैं आयो। टन्न भात खाएपछि कार्कीनीले सोधिन्। ‘यो राहत कति दिनलाई पुग्ला? बाह्र, पन्ध्र दिन। त्यसपछि फेरि दिन्छ रे ? दिए त राम्रै हैं।’
गोमानेले उत्तर दिन नपाउँदै छोरो बोल्यो। ‘यो भाइरस त राम्रो रहेछ। सँधै. आइरहे हुने हैं। भात खान पाइदो रहेछ।’ छोराको कुरा सुनेपछि गोमाने बोले, त धेरै होइन। ‘होइन होइन।’ कुरा प्रष्ट्याएनन्। सायद उनलाई पनि भाइरसका कारण भात खान पाएकोमा खुसी थियो होला। कार्कीकनी मुसुक्क हासिन मात्रै। छोरी बोलिनन्।

०००
राहतको भात खान थालेको पनि हप्ता बित्यो। अब थोरै दिनलाई पुग्ने चामल मात्रै बाँकी थियो। लकडाउन खुलेन। फेरि राहत दिन पनि कोही आएन। अब फेरि के हुने हो ? के खाने हो भन्ने चिन्ताले सताउन थालिसक्यो गोमाने र कार्कीनीलाई। यो भाइरस कहिलेसम्म रहन्छ भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास पनि दुबै जनाले धेरै गरे। मास्टर, मास्टरनी, मुखिया, चोक, चौतारो वा डाक्टर सकैले जवाफ दिएनन्।

‘भाइरस आइहाले पनि गाउँमा कसलाई लाग्ला हैं। साहुलाई त नलागे नि हुने। राहत दिने सरकारलाई त नलागे नि हुने।’ कार्कीनी बिचैमा बोलिन्। ‘साहु त नमर्नु पर्ने। मरे हामीलाई कसले काम दिन्छ। अनि के खाएर बाच्नु?’

गोमाने सोच्थे। भाइरस सकिए काम गर्न पाइन्थ्यो। काम गरे खानलाई समस्या थिएन। गाउँमा अझैं पनि कसैलाई केही भएको छैन।

‘किन लकडाउन भनेका होलान्। काम त गर्न दिए पनि हुने नि।’ कार्कीनीले बोलिन। सहमति जनाउँदै गोमानेले थपे। ‘साहुकोमा गएर पनि सोधेको, घर नजिकै नआइजा भन्छन्। काम त के दिन्थे।’

‘भाइरस आइहाले पनि गाउँमा कसलाई लाग्ला हैं। साहुलाई त नलागे नि हुने। राहत दिने सरकारलाई त नलागे नि हुने।’ कार्कीनी बिचैमा बोलिन्। ‘साहु त नमर्नु पर्ने। मरे हामीलाई कसले काम दिन्छ। अनि के खाएर बाच्नु?’

सानो छोरो बिचैमा बोल्यो, ‘भाइरस त सँधै रहे हुन्छ। भात खान पाइन्छ।’ बुढाबुढीले कुनै प्रतिक्रिया जनाएनन्।

भाइरस र ज्यानकोभन्दा उनीहरुलाई खानको पीरलो छ। फेरि काम गर्न पाइएला कि नपाइएला? सरकारले दोस्रोपल्ट राहत देला कि नदेला भन्ने पीर छ। सारा संसार ध्वस्त होस् वा गाउँमै भाइरस पसोस्। चिन्ता छैन उनीहरुलाई। राहत दिने सरकार नमरोस्। साहुलाई कोरोना नलागोस्। बस उनीहरु यही प्राथना गरिहे।….

[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.