नेपालीकाे उत्कृष्ट माैलिकता, उल्टो मानो चल्ला भाेकमरी चल्दैन

  २०७७ जेठ १४ गते ७:२४     राजु पौडेल

काेराेना महामारीपछि बन्दाबन्दीकाे दृष्य । फाेटाेः द्वारिका काफ्ले

पृष्ठभूमि/परिचय

विश्वले अङ्ग्रेजी नयाँ वर्षको ब्यग्र प्रतीक्षा गरिरहेको थियो । नयाँ वर्षलाई थप उत्सवमय बनाउने तयारी कै अवस्थामा ‘कोरोना भाइरस’ ले आफ्नो असली रुप चीनको बुहान सहरबाट शुरु गर्यो । बुहान सहर विश्व व्यापारमा आफ्नो दर्बिलो उपस्थिति जनाउँदै आएको छिमेकी मित्रराष्ट्र चीनको मध्यभागमा अवस्थित व्यापार तथा पारवहनको अन्तर्राष्ट्रिय केन्द्र हो । मानिसबाट मानिसमा नै स्थानान्तरण हुने उक्त भाइरसलाई चीनमा, छिनछिनमा आवतजावत हुने मानिसको भीड अत्यन्तै अनुकूल बन्यो । कोरोनालाई अल्पकालीन साम्राज्य विश्वव्यापी फैँल्याँउन धेरै समय कुर्नु परेन ।

नयाँ वर्षको शुरुवातसँगै विश्ववासीमा पसेको कोरोना कहर यो आलेख तयार पार्दासम्म बढ्दो क्रममा छ । सन् २०१९ को अन्तिम दिन अर्थात ३१ डिसेम्बरमा पहिलोपटक परीक्षणबाट पुष्टि भएको भनिएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ औपचारिक नाम दिएको छ । उक्त भाइरसले अत्याधुनिक र प्रविधिसम्पन्न भनिँदै आएको गतिशील विश्व समाजलाई गम्भिर आघात पुर्याएको छ ।

विज्ञान–प्रविधि, सुशासन र समृद्वि त्यहीँ गतिशील समाजका चार स्तम्भ हुन् । विज्ञान प्रविधि विकासको, प्रविधि आर्थिक विकासको र आर्थिक विकास सुशासन र समृद्विका आधारशिला हुन् । यी चारै स्तम्भहरुको समूचित विकास भएको समाजलाई गतिशील समाज भनिन्छ । गतिशील समाजको दावा गर्ने धेरै राष्ट्रहरुको हबिगत पटकपटक घटेका दैवी वा प्राकृतिक घटनाले उदाङ्गो पार्दै आएका छन् । यसपटक वैश्विक महामारीको रुपमा प्रकट एउटा सानो अदृश्य जीव कोरोना भाइरसले विश्वव्यापी चर्चासँगै समाजको विद्यमान गतिमा धावा बोलेको छ ।

विश्वव्यापी अवस्था

जोन हप्किन्स विश्वविद्यालयका अनुसार बैशाख ७, बिहानसम्म विश्वका दुई सय दशभन्दा बढी राष्ट्रहरू कोभिड–१९ बाट प्रभावित बनेका छन् । विश्वभरी २३ लाख २९ हजार ५ सय ३९ जनालाई यो भाइरसले सङ्क्रमित तुल्याएको छ । सङ्क्रमित मध्ये १ लाख ६० हजार ७ सय १७ जनाको मृत्यू भइसकेको छ । ५ लाख ९५ हजार २ सय १७ जना निको भएका छन् । १५ लाख ७३ हजार ६ सय ५ विश्व नागरिक भाइरस विरुद्धको लडाइँमा अस्पतालकै शैयामा छन् । बाँकी विश्ववासी मनमा राप र सन्ताप दबाएर घर–घरमा कैदी जीवन व्यतीत गरिरहेका छन् ।

लेखक

कोरोना संक्रमणको गति जुन अनुपातमा तीब्र छ त्यहि अनुपातमा मृत्यूदर तुलनात्मक रूपमा कम छ । अहिलेसम्मको आँकडा अनुसार, कोरोना सङ्क्रमितको मृत्यूदर ३ दशमलव ५ प्रतिशत मात्र छ । त्यस्तै प्रकृतिका अन्य सङ्क्रमण जस्तैः– सार्स र मर्सको मृत्यूदर क्रमशः १० र ३० प्रतिशतमा स्थिर भएको थियो । समकालीन विश्वलाई पिरोलिरहेको यो भाइरसको प्रकोप कहाँ पुगेर टुङ्गिन्छ एकिन छैन । यद्यपी, कोभिड– १९ प्रतिरोधी खोप प्रमाणित हुनासाथ यसबाट मुक्ति पाउने अपेक्षा गर्न सकिन्छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो लेख तयार पार्दासम्म नेपालमा कूल ८ हजार १७ जनामा कोरोना परीक्षण गरिएकोमा ३१ जनाको मात्र रिपोर्ट पोजेटिभ पाइएको छ । त्यसमा पनि २ जना निको भएर घर फर्किसकेका छन् भने मृत्यू हुनेको संख्या शून्य छ । नेपालको भूगोलभित्र मानवीय क्षति शून्य र सङ्क्रमितको सङ्ख्या नगण्य भएपनि नेपाल त्यो भाइरसको दुष्चक्रबाट अछुतो छैन । ‘अनिकालमा बीऊ र महामारीमा जीऊ’ जोगाउनु भन्ने ठेट नेपाली उखान यो पटक पनि चरितार्थ भएको छ । समग्र विश्वकै सुरक्षा के होला ? साझा चिन्ता एकातिर छँदैछ अर्कोतर्फ भाइरसको उद्गमस्थल चीनको निकट छिमेकी एवम् गतिशील समाजका चारै स्तम्भहरूको समेत संस्थागत विकास यथोचित ढंगले भइनसकेको मुलुक नेपालको सुरक्षा चिन्ताले हामीलाई झन बढी पिरलो थपिरहेको छ ।

सूरक्षा सतर्कता

हाम्रा पीतापूर्खाहरुले बजारबाट ल्याएको नयाँ बस्त्र तथा आभूषण निर्मलीकृत गरेर मात्र प्रयोग गर्न दिन्थे । नयाँ कपडालाई ‘माडी’ पछारेर मात्र लगाउनुपर्छ भन्थे । धारा वा कुवाको पानीमा छप्छप्पी आठ/दशपटक पछारेर घाममा सुकाएपछि मात्र दिन बार हेरेर ती कपडा लगाउनयोग्य मानिन्थ्यो । हामीले सोध्थ्यौं यो नयाँ कपडालाई किन यस्तो गरेको ? भन्थे ‘देशपरेशबाट आएका चीजमा किटाणु हुन्छन्, रोगब्याधी ल्याउँछन् । यसो गर्दा किटाणु नाश हुन्छन्’ ।

हाम्रा पीतापूर्खाहरुले बजारबाट ल्याएको नयाँ बस्त्र तथा आभूषण निर्मलीकृत गरेर मात्र प्रयोग गर्न दिन्थे । नयाँ कपडालाई ‘माडी’ पछारेर मात्र लगाउनुपर्छ भन्थे । धारा वा कुवाको पानीमा छप्छप्पी आठ/दशपटक पछारेर घाममा सुकाएपछि मात्र दिन बार हेरेर ती कपडा लगाउनयोग्य मानिन्थ्यो । हामीले सोध्थ्यौं यो नयाँ कपडालाई किन यस्तो गरेको ? भन्थे ‘देशपरेशबाट आएका चीजमा किटाणु हुन्छन्, रोगब्याधी ल्याउँछन् । यसो गर्दा किटाणु नाश हुन्छन्’ । यस्तो चुस्त सुरक्षा सतर्कता अपनाउने हाम्रो मौलिक पद्वतिलाई हामीले नै पुरातन सोच भन्ने आरोप लगायौं । त्यसो गर्न छाड्यौं । अहिले बजारबाट ल्याइएका हरेक बस्तुका प्याकेटलाई पखाल्ने, घाममा सुकाउने वा स्यानिटाइजर छर्किने वाध्यतामा हामी आफैँ आइपुगेका छौँ । गतिशील भनिएको अहिलेको समाज र पुरातन भनिएको पहिलाको समाजको सुरक्षा चाँसो एकपटक नियाल्दा हुन्छ को गतिशील को पुरातन ? भेद आफैँ प्रष्ट हुन्छ ।

पूर्वीय दर्शनको प्रत्यक्ष प्रभावमा परेका समाजमा कोरोना भाइरसको मात्र होइन इतिहास हेर्नुहोस् अन्य भाइरसजन्य प्रकोपको क्षति तुलनात्मक रुपमा कम छ । पूर्वीय दर्शनले उषाकालको पहिलो प्रहरमै उठ्नु भन्छ । उषाकालमै शौच एवम् ऋषिस्नान सम्पन्न गरि सेवा, सन्ध्या र ध्यान गर्नु भन्छ । जतिपटक शौचालय गइन्छ, त्यति नै पटक शुद्ध हुनुपर्दछ भन्छ । यसको अर्थ पानीसँग बढ्ता खेल्नुपर्छ भनेको हो । कोरोना भाइरसबाट बच्न मिचीमिची पटकपटक हात धुनुहोस्…..’ यस्तै सन्देश अहिले प्रकाशित/प्रसारित हुँदा हामीलाई आधुनिक लाग्ने हाम्रै मौलिक दर्शनले भन्दा पुरातन लाग्ने ? हाम्रै दर्शनमा छ सुरक्षा सतर्कता, अनुसरण गरौँ ।

हरेक भाइरसको साझा विशेषता हुन्छ, मानिसको रोगसँग लड्न सक्ने क्षमता कमजोर तुल्याइदिनु । नाशवान रोगप्रतिरोधात्मक क्षमता बृद्वि गर्ने उत्तम उपाय एकाग्र चिन्तन हो । ध्यान, जप र योग साधना एकाग्र चिन्तनका साधन हुन् । उदाउँदो सूर्यसँगै तुलसीको मठ र कुसको आसनको ध्यान र जपलाई विज्ञानले पनि अनुकरण गर्नु भन्छ । सूर्य बुद्विका स्वामी, देव हुन् । उदाउँदो सूर्यको राप र ताप दुवै लिनु भन्छ । घाममा पाइने भिटामिन ‘सी’ सम्भावित कोरोना सङ्क्रमणको प्रतिरोधी मानिएको छ । यस्तो पूर्वीय दर्शन दुर्भाग्य हामीलाई पुरातन लाग्छ, ‘इम्युन सिस्टम स्ट्रोङ्ग राख्न साँझ विहान योगा गर्नुहोस्’ भन्यो भने त्यो हामीलाई प्रीय लाग्छ । अहिले हामी अप्ठ्यारोमा छौँ जे प्रीय लाग्छ त्यहि अनुसरण गरौँ आखिर बच्नु त छँदै छ । जसो गर्दा पनि, घुमीफिरी हामी हाम्रै मौलिक दर्शनमा फर्किन्छौँ ।

नेपाललाई त्यसै वैदिक सभ्यताको शास्त्रीय मान्यता दिइएको होइन् । हाम्रा हरेक प्रचलनमा आधुनिकता र विज्ञान मात्र होइन, विवेक पनि छ । मात्र हामी विवेकले शासित हुने इच्छा राख्दैनौं । हिमालयको काखमा अवस्थित हाम्रो भूगोल ज्ञान, विज्ञान, दर्शन, कला, धर्म, संस्कृति, इतिहास र पारस्परिक भाइचारको बेजोड संगम हो ।
तपाईंको शरीरको प्रतिरक्षात्मक प्रणाली सुदृढ पार्न तपाईंले तपाईंकै शरीरलाई चलायमान तुल्याउने हो । आफ्नै शरीरलाई आलस्यमा पुर्याउने तपाईंकै खानपान र आनीबानीले हो, अर्कोले होइन । हामीलाई जन्माएको हुर्काएको दर्शनले तामसी चीजको सेवन नगर्नु भन्छ । राम्रोसँग पाक पुगेको सात्विक भोजन ग्रहण गर्नु भन्छ । आफ्नै माटोका अप्रसोधित उत्पादन रितपूर्वक उपभोग गर्नु भन्छ । गृहस्थीमा बढ्ता समय बितोस् भन्छ । भीडभाड कोलाहलमा गइ रमाउनुभन्दा शुद्ध मनसहित भगवानको आराधनामा प्रहर व्यतीत गर्नु उत्तम भन्छ । एकपटक फर्केर हेर्नुहोस् त कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य सङ्गठन, विज्ञ, चिकित्सक एवम् सरोकारवाला सबैले सुझाएका सुरक्षा सतर्कता योभन्दा पृथक कतै भेटिन्छन् कि ?

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको संक्रमण अब अफ्रीकामा विस्तार हुने जानकारी दिएको छ । एउटा अध्ययनले समुन्द्री तटीय क्षेत्रमा अवस्थित शहरहरू कोभिड– १९ को प्रभावबाट बढ्ता प्रभावित बनेका उल्लेख गरेको छ । हामी यो त्रासबाट भने मुक्त छौँ । तर, दक्षिणी छिमेकी मित्रराष्ट्र भारतमा बढ्दो कोरोना भाइरस र उक्त राष्ट्रसँग नेपालको बाक्लो आवतजावत एवम् खुल्लमखुल्ला सिमानाका कारणले हामीले झनै बढी सुरक्षा सतर्कता अपनाउनुपर्ने नै देखिन्छ ।

प्राकृतिक असन्तुलन

सृष्टीको श्रेष्ठ जीव मानवले जे गर्नु हुँदैन त्यहि गर्न उद्वत् हुँदा प्राकृतिक असन्तुलन चुलिँदै जाने हो । कोरोना भाइरसको विश्वव्यापी चर्चा चूँलिनुभन्दा एकाध हप्ता पहिला अष्ट्रेलियाका जङ्गलमा लागेको भीषण आगालागीको लप्कामा लपेटिएर करोडौँ पशुपंक्षीको बाच्न पाउने अधिकार हठात् तोडियो । त्यो विभत्स घटनाबाट बाच्न सफल थप पशुपंक्षी समेत भयावह माननीय सङ्क्रमणको त्रासबाट उन्मुक्ति पाउने निहुँमा मारिए । त्यसै समयको आसपासमा पश्चिम नेपालमा समेत पशुबध भएका र गर्न ठिक्क पारिएका घटना सार्वजनिक भए ।

पृथ्वीको एउटा टुप्पो अष्ट्रेलिया र अर्को टुप्पो नेपाल–चीन । कोरोना भाइरससँग ती घटनाहरुको कुनै साइनो सम्बन्ध हुन वा नहुन पनि सक्दछ । तर, जीवजगत्को समान स्वार्थ राख्नुपर्ने गतिशील विश्व समाजले त्यस घटनामा त्यति ठूलो मानवीय समवेदना प्रकट गर्ने आवश्यकता ठानेन् । लोभलाग्दो जीवन चुडेर बाच्न पाउने अधिकारबाट बञ्चित भइन्छ कि भन्ने भय अहिले मानिसलाई छ । त्यसैले अदृश्य कोरोना भाइरसको चर्चा–परिचर्चाले विश्वमै साझा आकार ग्रहण गरेको छ ।

दुःखको कारण मानिसको आफनै स्वभाव हो । स्वभावलाई सुधार्नु बडा कठिन काम हो । मेरा निम्ति मेरो जीवन सर्वाधिक मायावी एवम् महत्त्वपूर्ण लाग्छ । त्यस्तै हुन्छ जीवन बोकेका हरेक प्राणीहरुको पनि । पूर्वीय दर्शनका अनुसार नभोगी नाश नहुने एउटा अप्रीय अनुभव हो ‘पाप’ । हामी सानै छँदा आफू अन्यायमा परियो भने ‘पाप’ धुरीबाट कराउँछ भन्थ्यौँ । यो कली हो, कलीमा पापको दुष्चक्र पनि रफ्तारमा फनफनी घुमिरहन्छ ।

मानव मात्रले गर्व गर्ने गतिशील समाजको निर्माणमा यहीँ सृष्टिका हरेक प्राणीहरुको उत्तिकै योगदान छ । मात्र उपभोगको अधिकार मानवले नियन्त्रणमा लिएको हो । एकापसको अस्तित्वलाई मेटाउँदै जाँदा प्राकृतिक असन्तुलन गहिरिन्छ । प्राकृतिक असन्तुलन नै दैवी, प्राकृतिक वा वैश्विक विपत्तीको मुख्य जड हो । यस्ता विपत्तीले लाखौँ करोडौँ अरु निर्दोषको जीवन चुड्छ, चुँडिरहेकै छ ।

सिङ्गो मानव समाजले ढिला गरि बुझ्ने विषय सृष्टिको सम्बन्ध हो । सृष्टिका हरेक प्राणीको एकापसमा साइनो सम्बन्ध पक्कै छ, नत्र यो साझा पृथ्वीमा तिनको अस्तित्व र इतिहास दुवै किन भेटिन्छ ? मानव सम्भ्यता र संस्कृति जति विवेकले शासित हुन्छ त्यति नै समग्र वातावरण र जीवजगत्मा प्रभाव न्यून देखिने हो । मानव मात्रले गर्व गर्ने गतिशील समाजको निर्माणमा यहीँ सृष्टिका हरेक प्राणीहरुको उत्तिकै योगदान छ । मात्र उपभोगको अधिकार मानवले नियन्त्रणमा लिएको हो । एकापसको अस्तित्वलाई मेटाउँदै जाँदा प्राकृतिक असन्तुलन गहिरिन्छ । प्राकृतिक असन्तुलन नै दैवी, प्राकृतिक वा वैश्विक विपत्तीको मुख्य जड हो । यस्ता विपत्तीले लाखौँ करोडौँ अरु निर्दोषको जीवन चुड्छ, चुँडिरहेकै छ ।

लकडाउनले खुलेको स्वच्छ र निर्मल आकाश देखेर मात्र भएन् । मानिसले मानवीय उद्विकासका विभिन्न चरणहरुमा बिचित्र त्रुटीहरू गर्दै आइरहेको छ । हामीले सधैँ हेक्का राख्नुपर्दछ ‘होचो बलेसीमुनी बास भएको मानिस मुन्टो निहु¥यार मात्र भित्र पस्नु पर्छ ’ । प्रकृतिमाथिको अतिसय दोहन चुनौतीका प्रमुख कारक हुन् । एकले अर्काको अस्तित्व स्वीकार गर्न नखोज्ने स्वार्थलिप्त समकालीन गतिशील विश्व समुदायलाई कोभिड–१९ ले आफ्ना आगाडी थुप्रिएका चुनौतीका चाङ्गलाई एकपटक धैर्यतापूर्वक अवलोकन गर्न मानिसलाई दवाव सिर्जना गरेको छ ।

 चुनौती एवम् सन्देशहरू

कोरोना भाइरसको सङ्क्रमण एशिया, अमेरिका र युरोप लगायतका राष्ट्रहरूमा फैलिँन थालेयता विश्वका बहुसङ्ख्यक नागरिकहरुको दैनिकी फेरिएको छ । रोजगारी, पेशा–व्यवसाय र काम गुमाउनेको सङ्ख्या करोडौँ छ । विश्वको पहिलो चुनौती ती नागरिकहरुलाई विश्व विकासको मुलधारमा कसरी फर्काउने भन्ने नै हुनेछ । अन्यथा, त्यो मानवशक्ति विभिन्न समाजविरोधी क्रियाकलापहरू जस्तैः– हत्याहिँसा, चोरी–चाकरी, आपराधिक क्रियाकलाप आदिमा आकर्षित हुने प्रवल सम्भावना रहन्छ । अतः मानवीय श्रोतको व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण कार्य हो । जो नेपालको हकमा पनि लागु हुन्छ ।

संक्रमण राेकथापकाे लागि सडकमा नराेधात्मक ग्यास छर्कदै

स्वास्थ्य क्षेत्रका जानकारहरुले प्रत्येक डेढ–दुई दशकको अन्तरालमा विद्यमान उपचार पद्वतिले थेग्न नसक्ने नविन र व्यापक रुपमा फैलिँने सङ्क्रामक रोगले विश्वलाई गाज्ने चेतावनी दिएको धेरै भयो । चालु कोरोना भाइरसको महामारीले स्वास्थ्य सेवा संरचनामा आमूल परिवर्तनको सन्देश दियो । हामी गतिशील राष्ट्र हौँ, सुविधा सम्पन्न अस्पतालले नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ भनेर घमण्ड गर्ने अस्पतालहरूको दुरावस्था समेत तेस्रो विश्वले देख्न पायो । २०७२ कै भूकम्पीय विनासको बेला घाइतेको उपचारमा कठिनाई भोगेर पहिलो चेत खुलेको नेपाललाई स्वास्थ्य क्षेत्रको उदार निजीकरण ठीक रहेनछ भन्ने नमिठो सन्देश यो घटनाले दोस्रो पटक प्रवाह गरेको छ ।
हरेक सरकारले स्वास्थ्य क्षेत्रमा बढी रकम बिनियोजन गर्नुपर्ने वाध्यता खेप्नेछन् । बजेटको सन्तुलन नमिल्दा अर्को क्षेत्र नराम्रोसँग प्रभावित हुने सम्भावनालाई नकार्न सकिँदैन । जवसम्म कोरोना विरुद्धको प्रामाणित खोप पत्ता लागेर सर्वशुलभ हुँदैन तवसम्म विश्वमा एउटा मात्र कोरोना सङ्क्रमित विरामी छ भने पनि विश्वका नागरिकहरुले हिँडडुल, भेटघाट र भोज भतेरमा स्वतस्फुर्त बन्देज लगाउनेछन् । अन्तरदेशीय सम्बन्धका आधारमा चलेका उद्याेग प्रतिष्ठानहरू जस्तैः पर्यटन, होटल, एयरलाइन्स र रेमिट्यान्स व्यवसाय यो कारणले अलि लामै समयसम्म प्रभावित हुनेछन् । नेपालको अर्थ प्रणालीमा यसले थप चुनौती निम्त्याउने छ ।

 ठप्प आर्थिक गतिविधि

कोरोना भाइरसको उद्गम चीनको बुहान शहर ७६ दिनपछि खुल्यो । विश्वका मुख्यमुख्य व्यापारिक नाका र शहरहरू महिनौँदेखि ठप्प प्रायः छन् । सेवा प्रदायक संघसंस्था, उत्पादनशील उद्याेग धन्दा कलकारखाना, ब्यापार–व्यावसाय सबै उल्टो मानो खाएर बसिरहेका छन् । नेपाल पनि किस्ताबन्दीमा लकडाउन थपिएसँगै सबै व्यवसाय ठप्प छ । बजारको यति लामो र यस्तो सत्राट्टा समकालीन विश्वले अनुभव गरेको थिएन, कामना भावी पुस्ताले पनि गर्नु नपरोस् । बजारको चहलपहल कुनै पनि देशको अर्थतन्त्रको आधारभूत मानाङ्क हो । अनि अर्थतन्त्र सुशासन र समृद्विको । सुशासन र समृद्वि गतिशील समाजको । अर्थतन्त्रको यो ठप्प चक्रीय प्रणालीले पूँजीवादी अर्थतन्त्र उन्मुख विश्वको गतिशील समाजलाई कुझ्ययाँउन धेरै समय लाग्दैन ।

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले विश्वको अर्थतन्त्र सन् १९३० को महामन्दीपछिकै जटिल अवस्थामा पुग्ने जनाउ दिएको छ । विश्व बैंकले एसियाली अर्थतन्त्र ४० वर्षयताकै सबैभन्दा कमजोर हुने जनाएको छ । विश्वभरका सरकार र सम्बन्धित सबैलाई उक्त प्रकोपको नियन्त्रण र व्यवस्थापन अहिले सबैभन्दा जटिल मुद्दा बनेको छ । विश्व अर्थतन्त्रको भावी स्वरुपमा प्रारम्भिक अड्कबाजी मात्र प्रस्तुत भएका छन् । क्षतिको एकिन तथ्याङ्क आउनै बाँकी छ । परिपूर्तिका उपायहरू पक्कै पनि आउने नै छन् ।
नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार साढे ३४ खर्ब रुपैयाँ बराबरको हो । चालु आर्थिक वर्षमा यो आकारलाई सात प्रतिशले बढाएर पुगनपुग ३७ खर्बमा उकाल्ने सरकारी लक्ष्य थियो । अन्य विश्वको तुलानामा कूल अर्थतन्त्रको आकार सानै भएपनि विप्रेषण आप्रवाह एवम् वैदेशिक रोगजारी, पर्यटन, साना तथा मझौला उद्योग र व्यापार तथा वित्तीय क्षेत्रले सरकारी राजश्व संकलनमा मुख्य योगदान पुर्याउँदै आएका थिए । आर्थिक वर्षको अन्तिम त्रैमासिक देख्न नपाउँदै यस क्षेत्रका ठप्प आर्थिक गतिविधिले अव सरकारी लक्ष्य अनुरुपको योगदान दिने सम्भावना शून्य छ । यसर्थ, घरयासी अर्थतन्त्रको संकुचित आकारमा समायोजन हुन हामी तत्काल तयार हुनुपर्दछ । यद्यपी, ढिलो नगरी नेपाली अर्थतन्त्रलाई खास लयमा फर्काउने प्रशस्तै मौका फेरि पनि हामीमा छ ।

 विकल्पको बाटो

यो महामारीले नेपाल र नेपालीलाई भोकमारी जस्तो दयनीय अवस्थामा पुर्याउँदैन । लकडाउन अवधिमा देश विदेशबाट घर फर्केकाले केहि न केहि पसिना त आफ्ना खेतबारीमा चुहाएकै छन् । भएकाले नभएकालाई दिने, एैँचो–पैँचो विनिमयका धेरै माध्यम हाम्रो मौलिक अर्थप्रणालीले सिकाएकै छ । त्यसैमा नेपाली समुदायको पारस्परिक सद्भाव अहिलेसम्म कतै चुकेको छैन । उन्नती प्रगतिको बाँकी मुद्दा पहिला बाचौं र बचाउँ संसारमा अरू विकल्पका बाटा भेटिन्छन् ।

नेपालीमा एउटा उखान प्रचलित छ, ‘जोगीको कुटीमा सन्यासी पाहुँना’ । हरेक संकटमा हामी हात थाप्छौँ, संयोग अहिले कस्तो छ भने हामी जस्तै संकटमा अरु राष्ट्रहरु पनि धकेलिएका छन् । अव हामीलाई हातमाथि पार्न अप्ठ्यारो छ । अहिलेसम्म प्रयोग गरि नहेरिएको स्वदेशी श्रम, सीप, श्रोत र साधनको समुचित उपयोगको सजिलो विकल्प बाँकी छ । जसले दिगो आर्थिक विकासको अनुपम नमुना विश्वलाई प्रस्तुत गर्ने क्षमता राख्दछ ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा १५–५९ वर्षसम्मको जनसङ्ख्या ५७ प्रतिशत छ । यसको अर्थ नेपालले जनसांख्यिक संक्रमण पार गरि लाभको अवस्थामा प्रवेश गरेको भन्ने बुझिन आउँछ । यसलाई अंग्रेजीमा ‘बोनस पपुलेशन’ भनिन्छ । नेपालीमा भन्दा पाखुरी बजारेर ज्यान पाल्न सक्ने जनसङ्ख्या भनेर बुझ्दा उत्तम हुन्छ । त्यो के भनेको भने, १५ वर्षको नागरिक ५९ वर्ष नपुग्दासम्म अर्थात चार दशकभन्दा बढी त्यो जनसङ्ख्याले मनग्य उत्पादन पनि गर्न सक्छ र उत्पादित वस्तु खपत गर्न सक्ने क्षमता पनि राख्दछ । घरयासी दिगो आर्थिक विकासका लागि यो अत्यन्तै अनुकूल अवस्था हो । नेपालमा त्यो अवस्था अझै ३ दशक बाँकी छ । तर, दुर्भाग्य के भयो भने त्यो जनसङ्ख्याको अधिक हिस्सा घरपरिवार चलाउने सानो उद्देश्य लिएर सस्तोमा श्रम बेच्न अन्तर्राष्ट्रिय श्रम बजारमा क्रियाशील छ । त्यो जनसङ्ख्यालाई आफ्नै देशको सिमाभित्र फर्काउनुपर्छ भन्ने बहस राष्ट्रिय मुद्दा हो, हामी धेरै बोल्नु पनि अनर्थ होला ।

अहिलेको महामारीले त्यस्तै कम्तीमा पनि १५ लाख श्रमिकको वैदेशिक रोजगारी संकटमा पुगेको छ । पर्यटन उद्योगबाट ११ लाख श्रमिक विस्थापित हुँदै छन् । हवाई क्षेत्रको अरु थपिन्छ । विदेश जान ठिक्क परेका पनि यतै रोकिन्छन् । अब त्यो श्रम शक्तिलाई राज्यले कृषि औजार, बीऊ–बिजन, मल आदि अनुदानमा उपलब्ध गराएर तपाईंहरुले छाडेपछि बाँझिएका जमिन फोर्नुहोस् । परम्परागत कृषिलाई आधुनिक कृषिमा रुपान्तरण गर्नुहोस् भन्न निसंकोच सक्नुपर्छ ।

पटकपटकको नेपाली अनुभवले यो भन्छ, यसो फेरि पनि हुँदैन । एक त राज्यले त्यो संयन्त्र तयार गर्नै भरपुर समय लगाउँछ । अर्को हामी पनि झट्ट तयार हुँदै हुँदैनौँ । ‘भोकाएकाले भन्छ डाँडा वारी खाउँ, अघाएकोले भन्छ डाँडा पारी खाऊला’ भने जस्तै हुन्छ । राज्यले भन्नेछ पख्नुहोस् काम हुँदै छ, श्रमिकलाई परिवार कसरी पाल्ने पिरलोले च्याप्दै लग्छ । फेरि उही चक्र रोहोरिन्छ, अलिक मुनासिव आम्दानी हुने वैदेशिक रोजगार । ख्याल गर्नुपर्ने अर्को कुरा के छ भने वैदेशिक रोजगारीको विकल्प यो महामारीले सदाका लागि निमिट्यान्न पार्दैन । महामारीको क्षतिपूर्तिका लागि द्रुत आर्थिक विकास हाम्रा दाजुभाइलाई सस्तैमा भएपनि रोजगारी दिने हरेक रोजगारदाता मुलुकहरुको उच्च प्राथमिकता हुनेछ । नेपालीको लगन र उच्च इमान्दारिता नेपाल वाहेकका अरु देशमा बेच्न अप्ठ्यारो छैन् ।

सबै विकल्प बन्दै भएपनि हामी ढुक्क भए हुन्छ, यो महामारीले नेपाल र नेपालीलाई भोकमारी जस्तो दयनीय अवस्थामा पुर्याउँदैन । लकडाउन अवधिमा देश विदेशबाट घर फर्केकाले केहि न केहि पसिना त आफ्ना खेतबारीमा चुहाएकै छन् । त्यो योगदानको प्रतिफल स्वरुप मौसमले साथ दियो भने यसपटकको कृषि उत्पादन बढ्नेछ । भएकाले नभएकालाई दिने, एैँचो–पैँचो विनिमयका धेरै माध्यम हाम्रो मौलिक अर्थप्रणालीले सिकाएकै छ । त्यसैमा नेपाली समुदायको पारस्परिक सद्भाव अहिलेसम्म कतै चुकेको छैन । उन्नती प्रगतिको बाँकी मुद्दा पहिला बाचौं र बचाउँ संसारमा अरू विकल्पका बाटा भेटिन्छन् ।

सन्दर्भ सामग्रीहरूः
१) पूर्वीय दर्शनको पुनर्व्याख्या– डा. प्रमोद ढकाल
२) कोरोनाबिरुद्व वैश्यिक लडाइँ– डा. रवीन्द्र पाण्डे, गोरखापत्र वैशाख ६
३) Joshn Hopkins University & Medicine https://coronavirus.jhu.edu/
४) नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय https://covid19.mohp.gov.np/#/
५) श्रीमद्भागवत रहस्य– अनुवादक ढुण्डीराज कोइराला
६) कोरोना संकट र सहर– डा. पीताम्बर शर्मा, नयाँ पत्रिका वैशाख ६
७) International Monetary Fund https://www.imf.org/external/index.htm 
८) The world Bank https://www.worldbank.org/
९) प्रकृतिमाथि मानव जातिले मच्चाएको महामारी, यादव देवकोटा कान्तिपुर वैशाख ६
१०) World Health Organization https://www.who.int/
११) National Population & Housing Census 2011- National Report

टिव्टरः@rajupaudel44
जैमिनी नगरपालिका– ९,  बागलुङ्
हाल– टोखा–काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.