उदाउँदा १० लेखकः जो विकासन्युज स्वतन्त्र लेखन प्रतियोगितामा विजयी भए

  २०७७ असार ३१ गते ११:४६     विकासन्युज

काठमाडाैं । विकासन्युज डटकमले आयोजना गरेको स्वतन्त्र लेखन प्रतियोगिताका उत्कृष्ट १० जना छनोट भइसकेका छन् । विकास मिडियाले सोमबार आयोजना गरेको विजेता घोषणा कार्यक्रम मार्फत् प्रतिष्पर्धामा उत्कृष्ट अर्थात् विजयी हुने १० जनाको नामावली समेत प्रकाशित गरिसकेकाे छ ।

तपाईं पाठक र आम नागरिकमा उत्कृष्ट हुने १० जना प्रतिष्पर्धी को हुन् भन्ने जिज्ञासा हुनु स्वभाविकै हो ।  हामीले उत्कृष्ट हुने १० जनाको विष्तृत जानकारी दिने प्रयास गरेका छौं ।

प्रतिष्पर्धाका लागि प्राप्त भएका सबै लेख तथा रचनाहरु उत्कृष्ट नै भएपनि प्रतिष्पर्धामा विजयी र पराजयी हुनु स्वभाविकै हो । तर पनि उत्कृष्ट भएका १० लेख तथा रचनाहरु लेख्ने लेखकहरु लेखन पेशामा अभ्यस्त भइसकेको उनीहरुका लेख/रचनाबाट प्रष्ट हुन्छ ।

को हुन् विजयी हुने १० प्रतिष्पर्धी ?

सुवास मल्ल

प्रथम पुरस्कार विजेता सुवास मल्लको स्थायी ठेगाना पुतलीबजार ३, स्याङ्जा हो । उनको पुरानो घर भने तनहुँ हो । तर उनी जन्मेको चाहिँ लम्जुङको बेसिसहरस्थित मामाघरमा हो । पोखरा विश्वविद्यालयबाट एमबीए गरेका मल्ल पोखरा विश्वविद्यालय स्नातक तहमा विकास अध्ययन विषयमा विश्वविद्यालय टपर पनि हुन् ।

विश्वविद्यालय टप गरेपछि उनले शिक्षा मन्त्रालयको स्कलरसिपमा जापानमा अध्ययन गर्ने मौका पाएका थिए भने यूरोपियन यूनियनको स्कलरसिपमा पोल्याण्डमा टुरिजम् म्यानेजमेन्ट विषय अध्ययन गर्ने मौका पाएका थिए ।

हाल उनी पोखराकै वेलनन एकेडेमीमा प्लस टुमा व्यवस्थापन विषय पढाउँछन् । उनी पोखरा विश्वविद्यालय साहित्य समाजको संस्थापक अध्यक्ष पनि हुन् । विभिन्न सामाजिक कार्यमा संलग्न ३१ वर्षिय मल्लले जटिल अवस्थामा विकासन्युजले सिर्जनात्मक कार्य गरेको बताए ।

‘आयोजकले स्वतन्त्र लेखन प्रतियोगितामा निकै मिहिनेत गरेको देखिन्छ । व्यवस्थापन राम्रो देखियो । निर्णायक मण्डलमा पनि प्रशिद्ध व्यक्तिहरु राखिएको रहेछ’ उनले भने- ‘प्रतियोगितामा अत्यन्तै सकारात्मक चेतनाले भरिएको लेख रचनाहरु प्रकाशित भएकोमा पनि म धेरै खुशी भएँ,’ उनले भने ।

अविन ओझा

दोस्रो पुरस्कार विजेता हुन् अविन ओझा । ओझाको जन्म तनहुँको दमौलीमा भएको हो । नेपालबाट ग्रामिण विकास विषयमा स्नातकोत्तर गरेका ओझाले लखनउबाट समाजशास्त्रमा विद्यावारिधि र अमेरिकाबाट अन्तर्राष्ट्रिय अध्ययन विषयमा दोस्रो मास्टर डिग्री गरेका छन् ।

सिटी युनिभर्सिटी अफ न्यूयोर्कको योर्क कलेजमा समाजशास्त्र विषयमा अध्यापन गर्ने ओझाले लेखेका लेख रचनाहरु सन् २०१० देखि विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशन हुँदै आएका छन् ।

‘यस्तो खालको प्रतियोगिता पहिला थिएन । निबन्ध वा कथा लेखन प्रतियोगिता भएका थिए, तर स्वतन्त्र लेखन प्रतियोगिता गर्ने र विधागत रुपमा उत्कृष्ट लेख रचनालाई पुरस्कृत गर्ने विकासन्युजको प्रयास पहिलो हो’ उनले भने ।

विकासन्युजले निर्णायकमण्डलमा राखेका पात्रहरु र उत्कृष्ट लेख रचना छनौट गर्न अपनाएको विधि धेरै राम्रो रहेको उनको बुझाई छ । यस्तो प्रतियोगिताले पुराना र नयाँ लेखकहरुलाई प्रोत्साहित गर्ने उनले बताए ।

धनप्रसाद पौडेल

प्रतियोेगितामा तृतिय भएका व्यक्ति हुन् धनप्रसाद पौडेल । पुतलीबजार ८, स्याङ्जामा वि.सं. २०४३ साल फागुन ६ गते जन्मेका पौडेलले माध्यमिक शिक्षा स्याङ्जामै पूरा गरे । उनले पाटन संयुक्त क्याम्पसबाट एमएस्सी गरी हाल सिन्धुपाल्चोकमा सरकारी जागिरमा कार्यरत छन् । उनी कानुनका विद्यार्थी समेत हुन् ।

समसामयिक विषयवस्तुमा लेख्न रुची राख्ने धनप्रसाद यो समयमा विकासन्युजले गरेको स्वतन्त्र लेखन प्रतियोगिताले थप लेख्न प्रोत्साहन मिलेको बताउँछन् ।

सञ्जिव पौडेल

सञ्जिव पौडेलको ‘आत्मनिर्भरताको बाटोमा’ लेख सबैभन्दा उत्कृट लेख भएको छ । उनको जन्म कास्कीको रुपा गाउँपालिकामा वि.सं. २०४२ मंसिर १९ गते भएको हो । नेपाली विषयमा स्नातकोत्तर गरेका उनी हाल पोखरा विश्वविद्यालयमै अध्यापन गराउँछन् ।

उनी हाल नेपाली लेखक संघ कास्कीका अध्यक्ष समेत रहेका छन् । समसामयिक विषयवस्तुमा लेख्न रुची राख्ने उनका लेख रचनाहरु विभिन्न पत्रपत्रिका तथा अनलाइन सञ्चार माध्यममा पनि प्रकाशन हुने गरेका छन् ।

तारा भट्टराई

‘आँखा अझै खुल्न बाँकी छ’ कविताकी रचनाकार तारा भट्टराईको कविता उत्कृष्ट कवितामा छनोट भएको छ । तारा भट्टराईको जन्म वि.सं. २०४३ साल बैशाख २ गते भएको हो । मोरङको सुन्दर हरैचा नगरपालिका-१२ मा जन्मिएकी तारा अहिले सरकारी सेवामा कार्यरत छिन् । उनी हाल मोरङकै बेलबारी नगरपालिकामा प्रशासन सेवा अधिकृत छैटौं तहमा सेवा गर्दै आएकी छिन् । ११ वर्षदेखि निरन्तर सरकारी जागिरमा भएपनि उनको रुचीको क्षेत्र भने पत्रकारिता र साहित्य हो ।

एमपीएमा स्नातकोत्तर गरेकी उनी कानुनकी विद्यार्थी पनि हुन् । उनी कोरोना भाइरसको कारण आफू धेरै तनाव र डरमा रहेको समयमा विकासन्युजले स्वतन्त्र लेखन प्रतियोगिताको आयोजना गरी लेखनमा व्यस्त बनाउने भूमिका खेलिदिएकोमा धन्यवाद प्रकट गर्छिन् ।

मन्दिरा मधुश्री

‘पाँचौं युग’ नामको कथा शीर्षक राखेकी मन्दिरा मधुश्रीको कथा उत्कृष्ट भएको छ । वि.सं. २०२९ बैशाख २८ गते जन्मिएकी मन्दिरा मधुश्रीको घर भोजपुर हो । मधुश्री भोजपुरको मुलाबारीमा जन्मिए पनि हाल उनी काठमाडौंमै बस्छिन् । भाषा साहित्यमा दख्खल राख्ने उनको रुचीको विषय नै साहित्य हो । उनले नेपाली साहित्यमै स्नातकोत्तर गरेकी छिन् ।

उनका दुई वटा साहित्यिक कृति ‘बुधनको घोडी’ कथा संग्रह र ‘मधुराग’ गजल संग्रह प्रकाशित भइसकेका छन् भने अझै केही कृतिहरु प्रकाशनको चरणमा रहेको उनी बताउँछिन् ।

रमेश भट्टराई

सामाजिक सञ्जालमा सबैभन्दा बढी कमेन्ट आएर छनोट भएको ‘हजुरबा, म र छोरी’ नाम रहेको निबन्धका लेखक रमेश भट्टराई हुन् । ताप्लेजुङको फुङलिङ नगरपालिका-२ मा वि.सं. २०४४ साल जेठ २५ गते जन्मेका भट्टराई समसामयिक लेखनका साथै भाषा साहित्यमा रुची राख्छन् । नेपाली विषयमा पीएचडी स्कलर उनी आदर्श बहुमुखी क्याम्पसमा उप-प्राध्यापकका रुपमा कार्यरत छन् ।

गोपाल खनाल

गोपाल खनालको ‘प्रकृति माथि न्याय गरौं, जित मान्छेकै हुनेछ’ निवन्ध विधामा उत्कृष्ट भएको छ । लेखन साहित्य र पत्रकारितामा रुची भएका खनालको ज्नम वि.सं. २०४५ असार ९ गते भएको हो ।

विभिन्न सञ्चार माध्यममा संलग्न भएर काम गरिरहेका उनी हाल पोखराको टप्स माध्यमिक विद्यालयमा अध्यापक छन् । नुवाकोटको तारकेश्वर गाउँपालिका-१, दाङसिङ घर भएका उनी विगत १५ वर्षदेखि पोखरामै छन् । उनले नेपाली विषयमा स्नातकोत्तर गरेका छन् भने स्नातकमा पत्रकारिता विषय लिएर पत्रकारितामा आवद्ध भएका हुन् ।

दिपेश घिमिरे

दिपेश घिमिरेको लेख सम्पादकको उत्कृष्ट छनोटमा परेको छ । रामेछापको बबियाखर्कमा जन्मेका दिपेश घिमिरे त्रिभुवन विश्वविद्यालयका समाजशास्त्र विषयका उप-प्राध्यापक हुन् । समाजशास्त्र विषयमै एमफिल गरेका दिपेश हाल थप अध्ययनका लागि अमेरिकामा छन् ।

समसामयिक विषयवस्तु, भ्रष्टाचार न्युनिकरण र सुशासन अभिवृद्धिमा कलम चलाउने उनका लेख रचना विभिन्न पत्रपत्रिका तथा अनलाइन सञ्चार माध्यममा समेत नियमित प्रकाशन हुने गरेका छन् ।

सन्तोष तिमल्सिना
लेख सामाजिक सञ्जालमा सबैभन्दा बढी सेयर भएर उत्कृष्ट हुने व्यक्ति हुन् सन्तोष तिमल्सिना । काभ्रेको बेथानचोक गाउँपालिका-२, ढुंखर्कमा वि.सं. २०४४ पुस २ गते उनको जन्म भएको हो ।

शिक्षाशास्त्रमा स्नातक गरेका उनी हाल विभिन्न सामाजिक सञ्जाल, पत्रकारिता र सहकारीमा पनि आवद्ध छन् । वि.सं. २०६५ सालदेखि नै पत्रकारिता सुरु गरेका उनी हाल काभ्रेकै ‘काभ्रे सन्देश’ साप्ताहिक पत्रिकामा सह-सम्पादकको भूमिकामा कार्यरत छन् । उनले काभ्रेको पार्वती क्याम्पसबाटै स्नातक गरेका हुन् ।

 

विजेता घाेषणा कार्यक्रमकाे भिडियाे हेर्नुस्:

One comment on "उदाउँदा १० लेखकः जो विकासन्युज स्वतन्त्र लेखन प्रतियोगितामा विजयी भए"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X