मानव जातिमा थपिएका चुनौति

  २०७७ जेठ १२ गते ९:१८     दुर्गा दंगाल (चाँदनी)


नोभल कोरोना भाइरस (काेभी)  एक नयाँ प्रजातिकाे भाइरस हो । यो भाइरस चीनको हवेइ प्रान्तको वुहानमा गत डिसेम्बर ३१ मा पहिलो चोटी पहिचान गरिएको थियो । यस रोगलाई हाल कोरोना भाइरस रोग २०१९ (कोभिड–१९ ) भनि नामाकरण गरिएको छ, जसमा ‘को’ ले कोरोना र ‘भि’ले भाइरस भन्ने बुझाउँछ । यो रोगलाई पहिले २०१९ नोभल कोरोना भाइरस वा २०१९ एन कोभि  भन्ने गरिएको थियो । यो भाईरस एक परिवर्तित स्वरुपको भाईरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम ( सार्स ) र सामान्य प्रकारका रुघाखोकीसँग पनि सम्बन्धित मानिएको छ ।

१०४ फरेन्हाईट भन्दा माथि ज्वरो आउनु , खोकी लाग्नु , तथा स्याँस्याँ हुनु यस रोगका प्रमुख लक्षणहरु हुन् । यो रोग जटिल हुदै गएको अवस्थामा यसको संक्रमणले निमोनियाँ हुनुको साथै सास फेर्न कठिन हुन्छ । कोभिड–१९ को नै लक्षण हो वा होइन भनि निक्रर्याेल गर्नको निम्ति परिक्षण नै गर्नु पर्ने हुन्छ । त्यसैले हामीले रुघाखोकी लागेको अवस्थामा पनि होसयारीपूर्वक आफ्नो स्वास्थ्यको परिक्षण गरि हाल्नु पर्ने आवश्यकता देखिन्छ । अहिले रोगले एउटा महामारीको रुप धारण गरिरहेको छ । पहिले चीनमा देखापरेको यो भाईरसले हाल २१५ वटा राष्ट्रमा आफ्नो प्रभुत्व जमाई सकेको अवस्था छ । आज यस भाईरसका कारण विश्व नै भयभित, त्रसित र स्तब्ध भएको छ ।
यस भाईरसको संक्रमणबाट बच्नका लागि आज विश्व भरि नै विभिन्न उपायहरु अपनाईरहेका छन् । ती उपायहरु हाम्रो देशले पनि अपनाएको छ । जस्तो कि नियमित रुपमा सावुन पानीले २० सेकेन्डसम्म मिचिमिचि हात धुने वा सत्तरी प्रतिशत भन्दा वढी अल्कोहल भएको जिवाणु नाशक पदार्थ (स्यानिटाईजर ) को प्रयोग गर्ने, खोक्दा वा हाच्छयूँ गर्दा कुहिनो वा कागजको रुमालले नाक, मुख, छोप्ने र प्रयोग पश्चात तत्काल त्यसलाई बन्द फोहोरदानीमा फाल्ने, रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढा बस्ने, आफू वा आफ्नो वालवालिका तथा वृद्धवृद्धामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिने, सामाजिक दुरी बढाउने कार्य गर्नु पर्दछ ।  यस भाईरसलाई फैलिन नदिनका लागि संक्रमित व्यक्तिले आफूलाई नियमपूर्वक क्वारेन्टिन वा आइसोलेसनमा बसी उपचार गर्नु पर्दछ । हाल यस भाईरसको निवारणका लागि कुनै औषधि खोपहरु पत्ता लागेको छैन । विभिन्न देशका वैज्ञानिक तथा विज्ञहरु यो भाईरस विरुद्धको खोप औषधिको अनुसन्धानमा दिनरात जुटिरहेको अवस्था छ । तैपनि यो भाईरस विरुद्धको औषधि खोप पत्ता लाग्न सकेको छैन । यो भाईरसको न्युनिकरणका लागि लकडाउन नै एउटा अचुक उपाय सावित भएको छ । तसर्थ अहिलेको अवस्थामा व्यक्ति स्वंयम आफै चिकित्सक हो । त्यसैले व्यक्ति आफै सचेत भई सरकारले जारी गरेका नियम निर्देशनहरु र  विश्व स्वास्थ्य संगठनले दिएका नियम तथा निर्देशनहरु पालन गरी घरभित्रै बस्नु पनु पर्दछ । त्यसकारण हाल यो भाईरस विरुद्धमा विश्वका धेरै देशहरुले लकडाउन गरिरहेको अवस्था छ ।

विश्वको अवस्था

कोरोना भाईरसले आज विश्वलाई नै त्रासपूर्ण अवस्थामा बाच्न बाध्य बनाएको अवस्था छ । किनकी यो भाईरस विरुद्धको खोप औषधि अहिलेसम्म पत्ता नलाग्नु र यो भाईरस न्यून हुनुको सट्टा दिन प्रतिदिन भुसको आगो सल्के झै तीव्र गतिमा विश्वका २१० भन्दा वढी देशहरुमा फैलिदै महामारीको रुप लिईरहेकोछ । आज यो भाईरसको महामारीबाट सिंगो विश्व कै मानव समाज इतिहास कै सर्वाधिक कठिन मोडमा उभिएको छ । विश्वका धेरै जस्तो देशमा लकडाउन गरिए सँगसँगै मानिसहरु भयभित, त्रसित र स्तब्ध छन् । विश्वकै मानिसहरु आफ्नो सम्पूर्ण कामकाजलाई थाती राखि पिंजडाको सुंगा झै एउटा घरमा सीमित भएर बस्नु परेको अवस्था छ । तैपनि आज विश्व यो भाईरसको संक्रमणबाट आक्रान्त बनेको छ । मानिसहरु खाद्यन्नको आभाव भई दिनदिनै भोकभोकै मर्ने अवस्थाको सिर्जना हुँदैछ ।

लेखक

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेसंगै कोरोना भाइरसको महामारीको त्रास विश्व भरि फैलिदै जानेक्रममा यी पङ्क्ति लेख्दासम्म विश्वमा हालसम्म २३ लाख २८ हजार ६०० जना मानिसहरु कोरोना भाईरस संक्रमित भैसकेका छन् भने एक लाख ६० हजार ७०१ जनाको ज्यान गईसकेको छ । पाँच लाख ९५ हजार २१७ जना रिकभर भई सकेको अवस्था छ । नेपालको सन्दर्भमा ३१ जना संक्रमित मध्ये २८ जनाको उपचार जारी छ भने तीन जना उपचार पछि घर फर्किएका छन् । यता चीनले कोरोना भाईरसको महामारीलाई नियन्त्रणमा धेरै हदसम्म सफलता हासिल गरेकाे छ भने उता अमेरिका, इटाली, इरान, स्पेन, जर्मनी, फ्रान्स, वेलायत आदि देशहरुमा द्रुत गतिमा सङ्क्रमितको संख्या वृद्धि भईरहेको अवस्था छ । संक्रमितको संख्याका हिसावले उच्च दश मुलुकमा क्रमश अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, वेलायत, इरान, टर्की र वेल्जियम छन् भने संक्रमणको कारणले सबभन्दा वढी मृत्यूको घट्ना हुने मुलुकहरुमा क्रमश अमेरिका, इटाली, स्पेन, फ्रान्स, वेलायत, इरान, वेल्जियम, चीन, जर्मनी र नेदरल्यान्डहरु पर्दछन् । यस महामारीले विश्व भरका मानव जातीमा आर्थिक, सामाजिक र मनोवैज्ञानिक त्रास पैदा गरिदिएको अवस्था छ । आज यो भाईरसका कारण विश्वको अर्थतन्त्र, राजनीति र विद्यमान शक्ति सन्तुलन नै खलबलिन पुगेको अवस्था देखिन्छ । यो कोरोना भाईरस महामारीको विरुद्धमा चीन आक्रमक भएर लागेको देखिन्छ भने अमेरिका रक्षात्मक भएको अवस्था देखिन्छ ।

नेपालको अवस्था

विश्व जगत नै कोरोना भाइरसले ग्रस्त भैरहेको आजको अवस्थामा नेपाल पनि अछुतो रहेको छैन। विश्व जगतको लकडाउन संगै नेपालमा पनि लकडाउन भईरहेको अवस्था छ । नेपालमा पहिलो पटक चैत्र ११ गते देखि १८ गते सम्म भएको थियो । तर भाईरसको तिव्रतालाई ध्यान दिदै नेपाल सरकारले फेरी क्रमश १९ गते देखि २५ गते सम्म, २६ गते देखि वैशाख ३ गते सम्म र वैशाख ४ गते देखि १५ गते सम्म गरी पटक पटक लकडाउनको अवधि बढाइरहेको छ । जसको कारण नेपालमा पनि सामाजिक, आर्थिक, राजनीति लगायत पेशा व्यवसाय तथा जनजीवन नै ठप्प भएको अवस्था छ । विदेशी तथा स्वदेशी लगानी रोकिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले निश्चित समयका लागि मात्र काउन्टर खोलेका छन् भने बैंकका अन्य कारोवारहरु ठप्प छन् । शेयर कारोवार पनि ठप्प भएको अवस्था छ । नेपालको जी. डि.पी. मा ७३ प्रतिशत हिस्सा गैर कृषि क्षेत्र छ । देशभित्र ५० लाख भन्दा बढी नेपालीहरु वेरोजगार भएका छन् भने वैदेशिक रोजगारमा गएका ४० लाख भन्दा बढी नेपालीहरु रोजगार विहिन हुने अवस्था देखिन्छ । त्यस्तै गरि भारतमा पनि लाखौ नेपालीहरुले रोजगार गुमाएका छन् । रेमिट्यान्स घटेको छ भने अझ घट्ने क्रममा देखिन्छ । रेमिट्यान्सले धानेको हाम्रो मुलुकको अवस्था नाजुक बन्दै गईरहेको र नेपालीहरुको भविश्य अन्धकार हुदै गएको अनुभव गर्न सकिन्छ । भारतमा कार्यरत लाखौ नेपालीहरु घर फर्किएका छन् भने कति सीमानामा आएर अलपत्र परिरहेको अवस्था छ ।

नेपालमा किसानहरुले उत्पादन गरेका सामान बजारसम्म ल्याउन नसकि नष्ट भईरहेका छन् । बजारमा भने सागसब्जीको अभाव खडकिन थालेको अवस्था छ । मूल्य वृद्धि, कालोबजारी बढेको छ । सरकारले चालु आ. व. मा मुलुकको आर्थिक वृद्धिदर साढे आठ प्रतिशतको लक्ष्य लिएको भएता पनि लकडाउनका कारण चालु आ. व. मा मुलुकको आर्थिक वृद्धिदरमा गिरावट आउने तिव्र संम्भावना देखिन्छ । हालको अवस्थामा सरकारले राहतको व्यवस्था गरेको त छ तर सन्तोसजक भएको पाईने अवस्था छैन् । यस्तो महामारीको संकटको अवस्थामा पनि भ्रष्टचारले आफ्नो प्रभुत्व जमाएको समाचारहरु विभिन्न पत्रपत्रिका, सामाजिक संजाल तथा विभिन्न मिडियाहरुबाट सुन्न र पढन पाईएको अवस्था छ । मुलुकमा यस्तो अवस्थाको र्सिजना हुनु भनेको देश ठूलो संकटको भूमरीमा पर्नु हो ।

विश्व समुदायका चुनौती

विश्व आज तेश्रो विश्व युद्धमा होमिएको आभाष हुन्छ । किनकी यस भाईसले कुनै जात, धर्म, राष्ट, सानो, ठूलो, धनी, गरिव केही नहेरी बेजोड रुपमा हमला गरिरहेको छ ।  मानव जातीलाई बाच्नका लागि धेरै संघर्स गर्नु पर्ने छ ।

चीनमा पहिलो पटक देखापरेको चार महिना वितिसक्दा पनि नोभल कोरोना भाईरस अझ तिव्र हुदै गइरहेको यो परिप्रिक्षमा यस भाईरसले आज सम्मको मानव जातिको अनुसन्धान, विकास तथा प्रविधिमा भईरहेको प्रगतिलाई ठाडो चुनौती दिएको छ । मानव सम्यता र आधुनिक विज्ञान माथि नै धावा वोलिरहेको आभाष गर्न सकिन्छ । यसले अत्यन्तै विकसित मुलुकहरुलाई पनि यसबाट सिर्जित चुनौतीहरुको समना गर्न बाध्य बनाएको छ । विश्व आज तेश्रो विश्व युद्धमा होमिएको आभाष हुन्छ । किनकी यस भाईसले कुनै जात, धर्म, राष्ट, सानो, ठूलो, धनी, गरिव केही नहेरी बेजोड रुपमा हमला गरिरहेको छ । जसको कारण विश्व नै लकडाउन गरिएको अवस्थामा यसले मानव जातीलाई ठूलो चुनौती दिएको छ । जस्तो की विश्वमा आर्थिक मन्दी हुने छ जसले मानव जातीलाई बाच्नका लागि धेरै संघर्स गर्नु पर्ने छ । विश्व व्यापार संगठनले पनि कोरोनाका कारण सन २००८ को भन्दा पनि खराव आर्थिक मन्दी हुन सक्ने खतरा औलाएको छ । त्यस्तै गरि माग र आपूर्तिमा निकै गिरावट आउनेछ । उत्पादन तथा व्यापार व्यवसायमा कमी आउने छ । रोजगारी तथा आयमा भारी गिराउट आउनेछ । सामाजिक, राजनीति तथा धर्मसंस्कृति धारासायी हुने देखिन्छ । मूल्य र वित्तीय बजारमा तिव्र मन्दीको अवस्था आउनेछ । पर्यटन क्षेत्र संकटमा पर्ने छ । मानव मानव बीचको सम्वन्ध नै विथोलि रहेकोछ । स्वास्थ्य क्षेत्रमा बढी लगानी बढाउनु पर्ने देखा परिरहेको छ । यी यावत चुनौतीहरुको सामना गर्न विश्वजगतले भारी मेहनत गर्नु पर्दछ ।

नेपाल समुदायका चुनौती

नेपालमा पनि कोरोना भाईरसले प्रवेश गरिसकेको छ । त्यसैले नेपालले पनि यो भाइरस विरुद्ध लकडाउन गरिरहेको छ । जसको कारण नेपालमा पनि विभिन्न चुनौतीहरु खडा हुने देखिन्छ । जुन चुनौतिहरुसँग सामना गर्नको निम्ति ठूलै मूल्य चुकाउनु पर्दछ । नेपालको लागि पहिलो चुनौती नै स्वास्थ्य क्षेत्र रहेको छ । नेपालले सबै काम छाडेर स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ सवल र सक्षम बनाउनु पर्ने आवश्यकता खडकिएको छ । त्यस्तै गरि सीमाको समस्याको कुरा तिव्र रुपमा उठनेछ । पर्यटन क्षेत्र सबै भन्दा बढी प्रभावित भएको देखिन्छ । उत्पादन व्यापार र वैदेशिक लगानीमा भारी कमि आउने छ । रोजगारी र आयमा अझै भारी गिरावट आई देशमा भोकमरीको अवस्था सिर्जना हुन सक्ने तिव्र सम्भावना देखिन्छ । वस्तु तथा सेवाको माग र आपूर्ति दुवैमा प्रकट हुने अवरोध र न्युनताका कारण नेपालको अर्थतन्त्रले इतिहास कै भारी मन्दीको सामना गर्नु पर्ने देखिन्छ । मूल्य र वित्तीय बजारमा भारी मन्दी आउने छ । विश्व अर्थतन्त्र नै चर्को मन्दीमा गुज्रको हुदाँ विदेशी सहायतमा पनि कमि आउने देखिन्छ । यी विविध कारणले गर्दा नेपालको आर्थिक वृद्धिदरमा उल्लेखनिय गिरावट आउन सक्ने छ । सामाजिक रुपमा व्यक्ति व्यक्ति बीचको सामाजिक सम्बन्ध खल्बलिने अवस्था देखिन्छ । नेपालको सामाजिक, राजनीतिक, आर्थिक, धर्मिक, संस्कृतिक पक्षहरू खलबलिने छन् । नेपालको शिक्षा क्षेत्र तथा न्याय क्षेत्र पनि कोरोना भाईरसका कारण प्रभावित भैरहेकोछ । नेपालले यी विविध चुनौतीहरुसँग सामना गरि नेपाललाई सक्षम र सवल बनाउनका निम्ति ठूलै संघर्ष गर्नु पर्ने देखिन्छ ।

विश्व अर्थतन्त्रमा परेको प्रभाव
विश्व अहिले कोरोना भाइरसको संक्रमणले आक्रन्त बनिरहेको र मानव जातीहरुले त्रासपूर्ण जिन्दगी विताईरहेको अवस्थामा छ । त्यसकारण धेरै मुलुकहरु भाईरसलाई फैलिन नदिनका लागि लकडाउनमा छन् । जसको कारण विश्व अर्थतन्त्रको शुक्ष्म र समष्टिगत दुवै आयममा नकारात्मक प्रभाव परिरहेकोछ । संक्रमणको अस्थिर र अनिश्चित प्रकृतिका कारण अर्थशास्त्रीहरुलाई यसको आर्थिक असरबारे खास अनुमान गर्न कठिन भएको छ । तर पनि कोरोना महामारीको यस्तै गरि समय लम्विदै गएको खण्डमा बस्तु तथा सेवा र आपूर्ति दुवैमा सिर्जना हुने अवरोध र न्यूनताका कारण विश्व अर्थतन्त्रमा नराम्रोसँग मन्दीको सामना गर्नु पर्ने अवस्था भएको छ ।

प्रभावित मुलुकमा संक्रमण नियन्त्रणका कारण क्वारेन्टिन तथा सेल्फ आइसोलेसन वा लकडाउनमा छन् । यात्रा प्रतिवन्ध, व्यापारिक महल, साना व्यवसाय, होटल, रेस्टुरेन्ट, अन्य मनोरञ्जन स्थल जस्ता सार्वजनिक स्थल बन्द गर्ने नीतिका कारण आर्थिक गतिविधिमा उल्लेखनिय कमि आई आगामी दिनमा यस्ता क्षेत्रका रोजगारी र आयमा कटौती हुनेछ जसले मागमा कमि आई रोजगारी र आयमा गिरावट आउँदछ । उत्पादन, व्यापार र वैदेशिक लगानीमा कमि हुनेछ । पर्यटन क्षेत्र, शैक्षिक क्षेत्र, न्याय क्षेत्र प्रभावित भएका छन् । मूल्य र वित्तिय बजारमा कमि आउछ । सरकारी बजेट घाटामा गईरहेको अनुभव गर्न सकिन्छ । यी विविध कारणबाट बस्तु र सेवाको उत्पादन र वितरणको गतिविधि ठप्प हुदाँ विश्वको आर्थिक वृद्धिदरमा भारी गिरावट आउनेछ । एशियाली विकास बैंकले गत मार्च पहिलो साता गरेको अनुमान अनुसार कोरोनाका कारणले सन २०२० मा विश्व अर्थतन्त्रको आकार (कुल गाह्रस्थ उत्पादन ) मा पूर्वानुमानको तुलनामा आधारभूत अवस्थामा ०.१ प्रतिशत विन्दु (अर्थात ७७ विलियन डलर ) र अति खराव अवस्थामा ०.४ प्रतिशत विन्दु (अर्थात ३४७ विलियन डलर) ले संकुचन आउने छ । मध्यम प्रभावको स्थितिमा भने यो ०.२ प्रतिशत विन्दु (अर्थात १५६ विलियन डलर )ले खुम्चनेछ । आकलनको सन्दर्भमा आधारभूत, मध्यम र अति खराव स्थितिलाई कोरोना महामारी क्रमश २ महिना, ३ महिना र ६ महिना रहने अवस्थालाई मानिएकोछ । विश्वमा पर्ने कोरोनाको प्रभावको दुई तिहाई भार पर्ने मानिएको छ । चीनको सन्दर्भमा भने तीन वटा परिस्थितिमा पूर्वानुमानित अर्थतन्त्रको आकार क्रमश ०.३ प्रतिशत, ०.८ प्रतिशत र १.७ प्रतिशत विन्दुका दरले घट्ने आकलन गरेकोछ । अर्थतन्त्रमा आउने गिरावटले चीन निकट जापान, कोरिया,पूर्वी र दक्षिण पूर्वी एसिया लगायत केही अर्थतन्त्र, बस्तु निर्यातकर्ता मुलुक र यूरापियन क्षेत्रलाई बढी प्रभाव पार्नेछ । अर्थशास्त्रीहरुको विश्लेषण अनुसार विश्व अर्थतन्त्र सन २०२१ मा भने क्रमश सुधारोन्मुख हुनेछ । तर यस्तो सुधारोन्मुख हुनका लागि महामारीले लिने समय र पार्ने प्रभावमा भर पर्दछ । त्यसको नियन्त्रणका लागि लिने नीति कति प्रभावकारी र उपलब्धिमुलक हुन्छन् भन्नेमा भर पर्दछ ।

नेपालको अर्थतन्त्रमा पर्ने प्रभाव
कोरोना भाईरसका कारण नेपाली अर्थतन्त्रमा भारी प्रभाव परिहेको छ । जसले गर्दा आर्थिक मन्दी विकराल हुनेछ । जसले गर्दा कैयौ वित्तीय संस्थाहरु टाट पल्टने अवस्थामा पुग्ने छन् । वेरोजगार समस्याले अझ उग्ररुप लिने देखिन्छ । रेमिट्यान्स अर्थतन्त्र करिव करिव समाप्त हुने आँकलन गर्न सकिन्छ । विदेशी ऋण सहायतामा कमि आउनेछ । विभिन्न उद्योगधन्दाहरु बन्द हुने अवस्थामा पुग्नेछन् । पर्यटन व्यवसाय र सोसँग सम्बन्धित उद्योगधन्दाहरु धारासायी हुनेछन् । सरकारले चालु आ. व. मा मुलुकको आर्थिक वृद्धिदर साढे आठ प्रतिशतको लक्ष्य लिएको भएता पनि लकडाउनका कारण चालु आ. व. मा मुलुकको आर्थिक वृद्धिदरमा गिरावट आउने तिव्र संम्भावना देखिन्छ । यि विविध कारणले गर्दा हाम्रो भविश्य कठिन र अन्धकार हुने सक्नेछ ।

मानव सभ्यता र संस्कृतिमा पर्ने असर

विश्व मानव समुदाय सम्पूर्ण जगत नै कोरोनाको महामारीसँग जुझ्दै गरेको यो विषम घडीमा मानब सम्यता र संस्कृतिमा नकारात्मक असर परेको छ । कोरोना नियन्त्रणका निम्ति विश्वभर लकडाउन भएका कारण आज मानव जाती एउटा घर भित्र बन्दी भई बस्न बाध्य भएको छ । जसको कारण मानव जातिको कामकाज चालचलन, रितिरिवाज, धर्म, पेशा, आनीवानी, भेषभूषा सवैमा प्रतिवन्ध लागेकोछ । त्यसैले हाल मानव जाति अहिले त्रासपूर्ण जीवन ज्यून बाध्य भएको तितो अनुभवले भोलीको अवस्थालाई गिज्याई रहेकोछ । यस्तो हुनु भनेको मानव जातिको स्वतन्त्रताको हक खोसिनु हो । सवै कामकाज ठप्प भएको यो अवस्थामा दिनदिनै मानिसहरु भोकभोकै मर्न सक्ने अवस्थाको र्सिजना हुदै गएको छ । त्यस्तै गरि मानव विभिन्न धर्मसंस्कृति चाडपर्वबाट पनि वन्चित हुन पुगेको छ । तर कोरोना महामारीले पूविर्य संस्कृति व्यताएको महसुस गर्न सकिन्छ । आज सारा विश्वले पश्चिमा संस्कृति हात मिलाउने, अंकमाल गर्ने संस्कृतिलाई छाडेर पूर्विय सस्कृतिको खाना खाने वेलामा बाहिर पानी राखि दिने , कपडा फेरेर खाना खाने , मानिसको मृत्यू भएको वेलामा मलामी गएर घर आउदा घर भित्र पस्नु भन्दा अगाडि आगो छुएर र नुहानु पर्ने प्रचलन रहेको छ । जसलाई विश्वले आज अनुसरण गर्दै हात धुने र नमस्कारलाई अंगालेको छ । यो पूर्वीय दर्शनका लागि राम्रो पक्ष हो भन्न सकिन्छ ।

मानव जातीमा थपिएका चुनौति

पितृसत्ताद्धारा पीडित महिलाहरुले रोजगारी गुमाउनु पर्दा झन संकटमा पर्ने देन्खिछ । महिलाहरु माथि यौनिक हिंसा अझ बढेर जानेछ । नियोजनका सेवा र सुविधाबाट बञ्चित भएको यो अवस्था पछि महिलाको यौन स्वास्थ्य र अधिकारमा भारी असर पर्ने छ ।

कोरोना महामारीले विश्व मुलुक र मानव जातिलाई ठाडो चुनौति दिईरहेकोछ । कोरोनाको कहरपछि सबभन्दा बढी अर्थतन्त्र संकटमा पर्नेछ । अर्थव्यवस्थामा देखापर्ने संकटको पहिलो सिकार कमजोर आर्थिक अवस्था भएका मानिस र मुलुकहरु हुनेछन् । जसको कारण मुलुकमा वेरोगार समस्या अझ वढेर जानेछ । यसको पहिलो र सबभन्दा वढी सिकार असंगठित क्षेत्रका मजदुरहरु तथा महिलाहरु हुनेछन् । पितृसत्ताद्धारा पीडित महिलाहरुले रोजगारी गुमाउनु पर्दा झन संकटमा पर्ने देन्खिछ । महिलाहरु माथि यौनिक हिंसा अझ बढेर जानेछ । नियोजनका सेवा र सुविधाबाट बञ्चित भएको यो अवस्था पछि महिलाको यौन स्वास्थ्य र अधिकारमा भारी असर पर्ने छ ।
विश्व संसार अहिले भन्दा कम खुल्ला, कम समृद्ध र कम स्वतन्त्र हुनेछ । खुल्ला सीमा भएका मुलुकहरुमा खुल्ला सिमाको विरुद्ध तिब्र रुपमा आवाज उठ्नेछ । विश्व व्यापारमा कमि आउनेछ । विदेशी ऋण सहायता अनुदानमा कमि हुनेछ । शिक्षा क्षेत्र, पर्यटन क्षेत्र, कृषि क्षेत्र, सामाजिक, आर्थिक राजनिती , धर्मसंस्कृति क्षेत्र प्रभावित हुनेछन् । हाल स्वास्थ्य व्यवस्था गम्भीर संकटमा परेको हुनाले कोरोनाको कहर पछि सरकारले सवभन्दा पहिले स्वास्थ्य माथि पूर्नविचार गरी गरीवी निवारणको कोष स्वास्थ्य व्यवस्थामा नै लगानी वढाउनु पर्ने हुन्छ । यी विविध कारणले मुलुकमा गरिवी संकट पर्न गई मुलुक नै ठुलो संकटको भुमरीमा फस्नेछ । जसको कारण मुलुकमा भोकमरी भई धेरैले ज्यान गुमाउनेछन् । त्यसैले हरेक मुलुकले अहिले नै सजग र समवेदनशिल भई यी विविध समस्याका समाधानका वाटोहरु केलाउनु पर्ने जरुरी भईसकेको देखिन्छ ।

वाताबरण र जीव जगतमा पर्ने असर


कोरोना महामारीले मानव जगतमा मात्र नभएर वातावरण र विभिन्न जीवहरुमा असर गरिरहेको छ । कैयन जीवजन्तुहरु मानिसहरुले छरेका र दिएका अन्न खाएर बाँचेका थिए । तर अहिले मानव कोरोनाको कहरलाई नियन्त्रण गर्नका लागि विश्व मुलुक नै लकडाउनमा रहेको अवस्था छ । मानिसहरुले बन्दी जीवन बिताईरहेकाछन् । त्यसैले मानिसहरुले घर वरीपरि र मन्दीरहरुमा जान सकेका छैनन् । अन्न छर्न र दिन नसकेका कारण जीवजन्तु चराचुङ्गीहरुको जीवन धाराशायी बन्दै गएकोछ । यता मानिसहरु लकडाउनमा परेका हुनाले कलकारखाना उद्योगधन्दा संचालन गरेका छैनन् । जसले गर्दा बायुमण्डली वातावरण सफा भएकोछ । बाटोहरुमा मानिसहरुको भीडभाड छैन । त्यसैले बाटोहरु सफा छन् ।

तर यसो भन्दै गर्दा पनि मानव जगत गम्भीर संकटमा परेको छ । कोरोना जस्ता अन्य महामारी यसभन्दा अघि पनि वेला वेला आउने गरेका थिए । यस्ता संकटहरु स्वयम मानव जातिले विवेक गुमाएर वनजंगल विनाश तथा वन्यजन्तुहरुको विनास गरेको कारणले नै निम्तेको पाईन्छ । यस्ताे महामारीको कुनै राजनीति, जैविक वा प्राकृतिक सीमा हुदैन । महामारीले मान्छेको न आर्थिक अवस्था हेर्छ न त सामाजिक र राजनीति हैसियत केही हेर्दैन । कोरोना जस्ता भाइरस वन्यजन्तुको कोषमा बसुन्जेल मानिसका लागि हानिकारक हुदैन । जव मानिसले वातावरण विनास गर्छ तव यस्ता रोगहरुले वन्यजन्तुबाट मानिसमा सरेर प्रकोपको रुप लिन्छन् । यस्ता महामारी र प्रकोपबाट बच्नका लागि मानिसले वेलैमा सोचेर अघि वढ्नु आवश्यक छ । नत्र भने भविश्यमा झनै ठूलाे महामारीको चपेटामा पर्न सक्नेछ । यस्ता महामारी रोक्न विकसित तथा अल्पविकसित समाजले वेलैमा सोच्न पर्ने जरुरी देखिन्छ । विकसित राष्ट्रहरुले आर्थिक उन्नतिका लागि प्राकृतिक श्रोतको विनास कम गर्नुपर्छ । अविकसित समाजले पनि वन्यजन्तुको सिकार गरि जीवन चलाउने कामलाई न्यून गरि पर्यावरणलाई जोगाउनु अत्यन्त आवश्यक देखिन्छ ।

सन्देश

नोभेल कोरोना भाइरसले विश्वभर महामारीको रुप लिदै गर्दा यो रोगले विश्व जगतलाई केही सन्देश पनि दिईरहेकोछ । जस्तो की सिंगो विश्व जगत एक हो । विश्वका सवै मानिसहरु एकै हुन् । मानिसहरुलाई खालि भूगोलको राजनितिक विभाजनले मात्र टाढा वनाएको हो । त्यसैले एक विवेकशिल राष्ट्र तथा व्यक्तिले सवै सँग असल भाईचाराको सम्बन्धको विकास गरि आ–आफ्नो विचको दुरी कम गर्नु पर्दछ । यहाँ सवै प्राणी जगतको समान अधिकार हुन्छ । कुनै धनी, गरिव, जातवर्ण, कालोगोरी उचनिच आदिको आधारमा विभेद गरिनु हुदैन । यो संसारमा धनी, गरिव, उचनिच कोही छैन सवै समान छन् । त्यसैले प्रत्येक मानिसहरुले जात, धर्म,राजनिती, आर्थिक अवस्था सबै भुलेर एकिकृत हुनुको कुनै अर्को विकल्प नै छैन भन्ने सन्देश दिएको आभास हुन्छ । कोरोनाको कहरले आफ्नो मातृभूमिको महत्वलाई प्रष्ट अगाडि देखाईदिएकोछ । प्रत्येक मानवले आफ्नो गाँउघर शहर पुरै राष्ट्रलाई सफा राख्नु जरुरी हुन्छ । सरसफाईमा सबैले ध्यान दिनु नै मानव जगतको लागी बुद्धिमता हुने देखिन्छ । पैसा र धनसम्पतिले मात्र मानवलाई बचाउन सक्दैन त्यसैले विकाशलाई भौतिक र यान्त्रिक उन्नतिमा मात्र केन्द्रित नगरी मानवको स्वास्थ्यलाई केन्द्रमा राख्नु पर्ने आवश्यकता छर्लङ्ग पारिदिएको छ । वातावरण र अन्य जीवको पनि संरक्षण गर्नु पर्ने सन्देश दिएको छ ।

अन्तमा
हाल विश्वभर कोरोना महामारीको त्रास छाएकोे छ । कोरोनाको कहरलाई नियन्त्रण गर्नका लागि विश्व भरी लकडाउन गरिएको छ । विश्व जगतसँगै नेपाल पनि लकडाउनमा छ । जसले गर्दा देशको अर्थतन्त्र, शिक्षाक्षेत्र, न्यायक्षेत्र, पर्यटनक्षेत्र कृषि क्षेत्र आदि सबै क्षेत्रहरु प्रभावित हुन पुगेका छन् । मुलुकमा बरोजगार समस्या अझ बढेर गएको छ । हरेक तह र तप्काका मानिसहरु संकटमा परेका छन् । मानव जातिको भविश्य अन्धकारमय भएको छ । त्यस कारण सरकारले अहिले दुरदर्शी भई समस्याको समाधान गर्दै जानु पर्ने आवश्यकता देखिएको छ । दीर्घकालिन योजना ल्याउनु पर्ने देखिन्छ । नागरिकहरुले भने सरकारद्धारा जारी गरिएका नीति नियममा बसी सरकारलाई सहयोग गर्नु पर्दछ ।

(सुनसरी निवासी लेखक समाजशास्त्री तथा मेलमिलापकर्ता हुन्)
ddangal26@gmail.com