सँधै रात हुँदैन, भाेलि उज्यालो अवश्य हुनेछ

  २०७७ जेठ ७ गते २१:१९     राजेश श्रेष्ठ

मानव इतिहासमा यो नै पहिलो पटक हुन सक्छ कि अधिकांश देशहरु एकै चोटि एउटै समस्याबाट गुज्रिरहनु परेको । हुन त पहिलाको इतिहास पल्टाएर हेर्यौं भने कोरोना भन्दा डरलाग्दो र करोडौं मानवजनको क्षति पुर्याई सकेको भाइरसहरुको बारेमा हामीले विभिन्न माध्यमबाट देख्न, सुन्न र पढ्न पाउन सक्छौं । प्लेग, फ्लु, ऐड्स् लगायत अन्य रोगहरुले पनि करोडौं मानवहरुलाई घाटको बाटो देखाएको थियो । फरक यति मात्र हो कि यो समयसम्म आइ पुग्दा प्राय जसो मनिसहरु शिक्षित र वैज्ञानिक, स्वास्थ्य अनि टेक्नोलोजी क्षेत्रमा पनि धेरै नै परिवर्तन आइसकेका छन् ।

अहिलेको सञ्चार माध्यम नभएको भए सोचौं त हाम्रो स्थिति कस्तो हुन्थ्यो भनेर । अवश्य निकै नै नाजुक र भयाभह हुन्थ्यो होला । हामीलाई रोगको बारेमा थाहा पनि नभई, सतर्कता पनि नअपनाई हाम्रो ज्यान जान्थ्याे होला । त्यति मात्र नभएर हामी आफु त मर्थ्याैं मर्थ्याैं अरुलाई पनि मार्थ्याैं  होला । धन्न अहिले यो युगसम्म आइपुग्दा हामीमा धेरै नै परिवर्तन आइसकेका छन् । यिनै स्वास्थ्य, टेक्नोलोजी र वैज्ञानिक क्षेत्रमा हामीले मार्न सकेको फड्कोको कारणहरुले गर्दा नै होला हामीमा अझै पनि विश्वास छ, हामी अवश्य पनि भोली आउने सुन्दर उज्यालो दिनहरुमा खुलेर रम्न बच्न पाउँछौ भनेर ।

चीनको वुहान शहरबाट शुरु भएको यो कोरोना भाइरस अहिले प्राय जसो देशहरुमा फैलिएर आफ्नो दब्दबा कायम गरिरहेको पाइन्छ । पहिले चीन हुँदै र अहिले ठूला र सक्षम कहलिएका देशहरु, इटाली, अमेरिका, स्पेन, फ्रान्स आदिमा कोरोना भाइरसले निकै नै क्षति पुर्याउँदै गइरहेको पाइन्छ । चौविसै घण्टा नसुत्ने भनिएको देशहरु आज त्यस्को विपरित स्थितिमा पुगेका छन् । सायद यो स्थितिमा यी देशहरु नपुग्थे होला, यदि उनीहरुले अलि अगाडिनै सतर्कता अपनाउन सकेको भए । कतिपय देशका प्रमुखहरुले कोरोना भाइरसलाई मामुली भाइरसको स्वरुप लिएका हुनाले नै यो भाइरसले आफु फैलिने मौका पायो । थाहा थियो यसकाे कुनै खालकाे औषधीहरु बनेको थिएन भनेर र यदि त्यतिखेर नै आ-आफ्ना देशहरुमा बाह्य लकडाउन गरेको भए अहिले मानव जनको यति धेरै क्षति हुने थिएन होला अनि नागरिकहरु पिजडामा राखेको चरा जस्तै पनि नहुनु पर्थ्याे होला सायद । बिडम्बना, जे गर्नु पर्ने थियो त्यो गरिएन र अहिले प्राय जसो देशले यसैको नतिजा भोग्दै छन् ।

लेखक

आजको दिनसम्म आइपुग्दा विश्वमा हजारौं मनिसहरुले आफ्नो ज्यान गुमाई सकेका छन् । अनि विस्तारै विस्तारै गर्दै हाम्रो घर दैलोमा पनि कोरोना भाइरसको आगमन बढ्दै गईरहेको पाईन्छ । अहिले नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ पुगेको छ, निको हुने संख्या २ र मृत्यु संख्या शून्य नै छ । अझै पनि प्राथना गर्छु कि यो संख्या नबढाेस् भनेर । म लगायत अधिकांश नेपालीले पनि यहि चाहन्छन् । यो हाम्रो चाहाना साथसाथै हाम्रो वाध्यता पनि हामी सबैलाई थाहा नै भएको कुरा हो हाम्रो देश कत्तिको सक्षम छ भनेर । कथम कदाचित् यो संख्या बढ्यो भने हे प्रभु र कठै बर भन्ने शिवाय हामी अरु केहि पनि गर्न सक्दैनौ । न त हामीसँग प्रयाप्त दक्ष जनसंख्या छ न त उपचार गर्ने साधन नै । धन्न जति छन् त्यतिले हाम्रो सुरक्षा र उपचार सीमित साधन हुँदाहुँदै पनि आफ्नो स्वास्थ्यको ख्याल नगरी हाम्रो सेवा गर्न दिन रात खटिरहेका छन् । सलाम छ उहाँहरुलाई ।

चीनबाट शुरु भएको कोरोना भाईरस, नेपाल त पहिलेदेखि नै उच्च जोखिममा रहेको राष्ट्र थियो र पहिलो संक्रमित व्यक्ति पनि चीनबाट नै नेपाल प्रवेश गरेका थिए । सतर्कता अपनाएको हुनाले छिट्टै र बिना कसैलाई संक्रमित परेर निको पनि हुन सके । त्यसैगरी, फ्रान्सबाट नेपाल आएकी १९ वर्ष युवती पनि रोगबाट मुक्त भएकी छिन् । आफै, सेल्फ आसोलसनमा बसेको र सतर्कता अपनाएको हुनाले दुबै जनाले रोगलाई आफुमा मात्रै सीमित राख्न सफल भएका छन् । अनि यो प्रशंसा र उदाहरणीय जनक छ । यसबाट धेरै कुराहरु सिक्न र जान्न सकिन्छ । कथम कदाचित् आफु बिरामी भईयो भने पनि सतर्कता अपनाएर रोगलाई नफैलाईकन अस्पातल जानु नै एउटा मुल उद्देश्य हुनु पर्छ । रोगबाट ग्रसित हुनुभन्दा रोग लग्न नदिनु नै धेरै उत्तम हो । त्यसको लागि धेरै केहि गर्नु पनि पर्दैन, मात्र आफुलाई माया र समय दिनु पर्छ ।

यसको अर्थ सरकारले गरेको लकडाउनलाई राम्ररी पालना गर्ने, अत्यावश्यक परेको खण्डमा मात्र बाहिर निस्कने त्यो पनि पुरै सतर्कता अपनाएर, अनि घर फर्केपछि आफुले लगाएको लुगाहरु राम्ररी सफा गर्ने, हात नियमित रुपमा साबुन पानीले धुने घरमा बस्दा होस् या बाहिरबाट फर्किदा, जथाभावी जतासुकै नछुने र हातले बारम्बार आफ्नो नाक, मुख, र आँखा तिर पनि नछुने । छुन परे पनि कि त स्यानिटाइजर कि त हात मज्जाले धाेएपछि मात्र छुने । यदी रुगा खोकी, ज्वराे, सास फेर्न गाह्रो र पेट दुख्ने समस्याहरु देखिन थाल्यो भने तुरुन्तै अस्पतालमा मास्क लगाएर जाने । एकचोटि निश्चित हुनको लागि कुनै पनि अस्पतालमा कल पनि गर्दा राम्रो हुन्छ । अनि यदि लक्षण देखिएको खण्डमा बिरामीलाई एम्बुलेन्स मार्फत अस्पतालमा ल्याइन्छ अनि उपचार गरिन्छ । यो सुन्दा त सजिलो र गर्न सकिहालिन्छ नि जस्तो लाग्छ तर मान्छेको बानी नै भई सक्यो कि जे नगर भन्या हुन्छ त्यहि गर्ने त्यसैले अलि बढी नै ख्याल गर्नु होला यस विषयमा चाहि । यो बानीहरु अहिलेको समयलाई मात्र नभएर जीवन भरको लागि काम लग्ने कुरा हो । यहि बानीहरुलाई राम्ररी पालना गर्न जान्याैं भने सबै जसो सर्ने रोगहरुबाट हामी बच्न सक्छौं ।

नेपाली संस्कार आज विश्व सामु नै सुपरिचित भईरहेको छ । जब हामी हाम्रो आफन्तजन अथवा मित्र वा आफु भन्दा ठुला व्यक्तिहरुलाई भेट्ने गर्छौ हामी हाम्रो दुई हात जोडेर सम्बोधन गर्ने गर्छौ । यही हाम्रो संस्कृति आज संसारमै पालना गरिँदै छ । पश्चिमी संस्कृतिमा जब दुई व्यक्तिको भेट हुन्छ उनीहरु आफ्नो हात मिलाएर एक अर्कालाई सम्बोधन गर्छन् । पहिलेसम्म त ठिकै नै मान्निथियो तर जब कोरोनाको दब्दबा सुरु हुन थल्यो । अनि हात मिलाउँदा पनि कोरोनाबाट संक्रमित भईन्छ भनेर मानिसले थाहा पाउन थाले तब हाम्रो सम्बोधन गर्ने शैलीले हात मिलाउँ संस्कारलाई प्रतिस्थापन गर्न थल्यो । यो हाम्रो संस्कृतिको प्रचार प्रसार जस्तै हो । यदि हामी नेपालीहरुले कतै आफ्नो संस्कारलाई भुलेर पश्चिमी संस्कृतिलाई पालना गर्दै आइ रहेका छौं भने आफ्नै संस्कृतिलाई फेरी पालना गर्ने यो भन्दा राम्रो समय कहिले पनि आउँदैन र कथम कदाचित् त्यहि हात मिलाउ सम्बोधन नै गर्न थाल्यौं भने पछि हामी कोरोना संक्रमण तथा कुनै सरुवा रोगको शिकार नहोलौं भन्न सक्दैनौं ।

विगत दुई दशकलाई नियालेर हेर्याैं भने नेपालमा धेरै नै परिवर्तन आएका छन् । जनआन्दोलन २ ले शताब्दीदेखि चलिआइरहेको राजशासन नै हटाएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालम ल्यायो ।अब चाहि देशमा विकासको बाटोले नयाँ मोड लिन्छ होला भनेर नेपालीहरु खुशी देखिन्थे । समय बित्दै गयो परिवर्तन आयो तर मात्र प्रधानमन्त्री  र मन्त्रीहरुको अनुहारमा मात्र, देशमा भने देखिएन । देखियो होला तर जति देखिनु पर्थ्यो त्यति देखिएन । वर्षौं लाग्यो देशको संविधान बन्न पनि । कतिले लेख्ने कलमको मसी सिद्धियाे भने कतिले कपी नै छैन पनि भने । आखिर भ्रष्टचारको चपेटामा परेको देश त हो मसी र कपी किन्नको लागि बजेट कहाँ पुग्थ्याे र । आफ्नो गोजी बढ्दैमा देशको ढुकुटी रितिन्नथ्याे । अन्त्यमा जसो तसो भए पनि महाभूकम्प पश्चात देशलाई चाहिएको संविधानको जन्म भयो । दुःखको समयमा भए पनि यो एतिहासिक क्षणले नेपाली नागरिकहरुको मनमा खुसीकाे लहर ल्याएको थियो । खै किन हो ? भारतलाई यो खुसी नपचेर होला नेपालीहरु नाकबन्दीको चपेटा पनि परे । विस्तारै दिनहरु बित्दै गए भात्किएको नेपाल पनि बन्दै गयो । आर्थिक अवस्था पनि विस्तारै सुदृढ हुँदै आईरहेको थियो र खुसीको खबर राजनितिक क्षेत्रमा पनि स्थीरता पनि हुन थालि रहेको थियो । अब चाहि भ्रष्टचारलाई हटाउन सके विकासको बाटोले नयाँ मोड अवश्य पनि लिन सक्थ्याे । यो चुनौती त आफ्नो ठाउँमा छँदै छ अहिले फेरी नयाँ चुनौतिको सामना गर्नु पर्ने अवस्थामा पुगेकाे छ ।

भुकम्पले दिएको पीडा अझै नि आलै छ र अहिले नयाँ पीडा नेपालीहरुको माझ थपिँदै छ, कोरोनाको पीडा । यो रोगलाई नियन्त्रणमा ल्याउन सरकारले अलिक ढिलो त गरिएन कि जस्तो लाग्छ । छिमेकी देशबाट नै सुरु भएको थाहा हुँदाहुँदै पनि आजसम्म आउँदा हाम्रोमा लकडाउन भएको दुइ महिना हुन लागेकाे छ । बाह्य लकडाउन दुईदेखि तीन महिना अघि नै भएको भए, सायद आज पुरै देश ठप्प हुन नि पर्दैन थियो होला । लकडाउन नगरे तापनि हरेक विदेशबाट आएका यात्रुहरुलाई नेपाल प्रस्थान गर्ने बखत राम्ररी जाँच गरेर फिल्टर गरिएको भए पनि धेरै नै राम्रो हुन जान्थ्याे होला सबै क्षेत्रमा । यो त निश्चित नै छ कि लकडाउनले देशको अर्थतन्त्रमा नकारात्मक परिणाम ल्याउँछ भनेर । अझ हाम्रो जस्तो देशमा त झन बढि नै आउन सक्ला । जुन देशको आयात, निर्यात भन्दा धेरै कम छ त्यस देशलाई त झन बढि नै हुन्छ भन्दा नि फरक चाहिँ पर्दैन । हामीलाई भुकम्पले त मज्जाले सिकाएको थियो । जब आफ्नो देशमा उत्पादन हुँदैन देशलाई कत्तिको कठिन हुन्छ भनेर । यसबाट हामीहरुले अलिकति मात्र सिकेको भए हामीलाई आउने दिनहरुमा धेरै गह्रो हुने थिएन होला । सरकारलाई यसमा पनि ध्यान जाओस् कि देशमा बेरोजगार युवाहरुको संख्या ११.४ प्रतिशत छ र गरिबी संख्या २१ प्रतिशत छ भनेर । रोगलाई त सरकार र नगरिकहरु मिलेर जसो तसो बेअसर गर्लान तर आउने दिनहरु परिस्थितिले बेग्लै मोड लिन सक्छ । डर छ कि कति जना नेपालीहरु भोकभोकै मर्ने हुन आउने दिनहरुमा । यदि सरकारले राम्रो चाल चलेन भने अवश्य त्यो दिन नआउला चाहि भन्न सकिन्न ।

आउने दिनहरुमा नेपाल जस्तो अल्पविकसित देशलाई चाहि धेरै नै कठिनाई भोगेर अगाडी जानु पर्ने हुन सक्छ । यो भन्न चाहेको चाहि पक्कै पनि होइन कि विकसित देशहरुलाई चाहि कोरोना नियन्त्रणमा आए पछि कुनै कठिनाई भोग्नु पर्दैन भनेर । विकसित देशहरुलाई पनि त्यतिकै समस्या आउन सक्छ यदि त्यहाँको नेताहरुले राम्रो निर्णय लिन सकेनन् भने । यो त संसार सामू एउटा नयाँ चुनौती हो । जुन देश धेरैसम्म टिक्न र चुनौतीसँग जुध्न सक्छन् त्यही देशहरु अगाडि बढ्न सफल हुन्छन् । अहिलेको स्थिती हेर्ने हो भने चीन आउने दिनहरुमा झन शक्तिशाली हुन सक्छ । कोभिड-१९ को दब्दबा नभएको भए अहिले नेपाल ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाइरहेको हुन्थ्याे । बिडम्बना कोभिड-१९ ले गर्दा हाम्रो देशको योजनालाई असफल पारिदिएको छ र हालको लागि रद्द गरिदिएको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई प्रचार प्रसार गर्दा खेरी लागेको खर्च पनि नेपालले यो वर्ष उठाउन नसक्ने भएको छ र आउने वर्षमा पनि विदेशिक पर्यटकहरुको संख्या निकै कम हुनेछ यदि भाइरस संक्रमण अझै फैलिरह्यो भने । यसले नेपालको पर्यटकीय क्षेत्रलाई मात्र नभएर विश्वकै पर्यटकीय क्षेत्रलाई तछाड मछाड पारी दिईएको छ र यसबाट माथि उठ्न अधिकांश देशको होटेलहरुलाई निकै गाह्रो हुने स्थिती पनि देखिएको छ ।

कोभिड-१९ माहामारीले विश्वलाई नै ठुलो पाठ सिकाएको छ । यदि चाह्याैं भने हामी मानव जातिले पृथ्वीलाई बस्न योग्य बनाउन सक्दो रहेछौं । हेर्ने नै भए अहिलेको हाम्रो वरिपरिको वातावरण निकै नै सफा हुँदै गई रहेको छ र यसलाई हामीले निरन्तर्ता  दियौं भने पक्कै पनि हाम्रो आफ्नै स्वास्थ्य र अन्य पशुपन्छिको जीवनमा पनि सकरात्मक परिणाम ल्याउन मद्दत हुनेछ ।

यो महामारीले सिकाएको अर्को ठुलो पाठ के हो भने हामीले अन्य पशुपन्छीहरुलाई धेरै नै अन्याय गरेका रहेछौं । हामी एक दुई महिना घरमा बस्दा हामी कसरी दिन बिताउने भनेर सोच्छौं । यता पल्ट्यो, उता पल्ट्यो दिन ढल्ने नाम नै लिँदैन । एकछिन सोचौं त ती पशुपन्छीहरु हाम्रो मनोरञ्जनको लागि जीवन भर त्यो सानो पिँजडामा बस्दा उनीहरुको हालत कस्तो हुन्छ होला भनेर । सोच्दा नै ठुलो पाप भई रहेको जस्तो लाग्छ । यसमा नि सबै सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण होस् भन्न चाहन्छु ।

अर्को पाठ हामीले सिक्ने भनेको अनलाईन माध्यमबाट गरेको व्यापार, पढाई, समाचार हेराई, सुनाई आदि क्रियाकलापहरुले मानव जनलाई मात्र नभएर यसले प्रकृतिलाई पनि फाइदा पुर्याउन सक्दो रहेछ भनेर हो । प्रकृतिमा थोरै असर त पर्ला । अनलाईन माध्यमहरुको प्रयोग गर्याैं भने दैनिक पत्रपत्रिकाको लागि चाहिने रुख बिरुवा काटिनबाट बञ्चित चाहिं अवश्य हुन्छ । विस्तारै विस्तारै यहि माध्यमहरु प्रयोगमा आई रह्यो भने आउने दिनहरुमा कपी, पैसा र किताबहरु बनाउनको लागि चाहिने रुख बिरुवा पनि काटिन छोडिन्छ र प्रकृतिको लागि पनि राम्रो हुनेछ ।

अनि अर्को पाठ जुन सँधै सुन्दै आएको तर व्यवहारमा कमैले मात्र उतारेको ‘रोकथाम उपचार भन्दा राम्रो हुन्छ’ भन्ने हो । कोरोनाले हामीलाई फेरी मनन गर्न सिकाएको छ कि यदि हामीले राम्ररी हात धुएर खानपिन, बेला बखतमा नुहाई, जन्क फुड अथवा बाहिरको खाना खान छोड्याैं भने हामीलाई रोग कमै मात्रामा लाग्ला या लाग्दै नलाग्ला पनि । रोगी भएर जिउनु भन्दा निरोगी भएर बाच्नु नै धेरै राम्रो हुन्छ । त्यसैले, सधै राम्रो बानीको पालना गर्नु पर्छ ।

आजको दिनसम्म आईपुग्दा विश्वको हरेक कुनाकुनामा कथाहरु कोरिरहेका छन् । कति कथाहरु त दुःखद क्षणमा परिवर्तन पनि भइसके होलान् तर हामीले हार खानु हुन्न सबै मिलेर यो महामारीको सामना गरेर हल गर्नुपर्छ । मनलाई दरो बनाएर र अगाडी बढ्नु पर्छ । सधै रात त पक्कै पनि हुँदैन, भोलि उज्यालो दिन त अवश्य नै आउने छ ।