आध्यात्मिक चेतना र स्थानीय स्रोतसाधनको प्रयोग

  २०७७ जेठ ६ गते १७:१८     डा. उमा भण्डारी

नेपाली क्यालेण्डर अनुसारको नयाँ वर्ष २०७७ सुनसानका बीच शुरू भएकाे छ । विगतमा पुरानो वर्ष विदाइ गरी नयां वर्षलाई स्वागत गर्ने धुमधाम हुन्थ्यो । काठमाण्डौको शिवपुरीजगलको बीचमा रहेको धार्मिकस्थल वागद्वार जानेको लर्को लाग्थ्यो । भक्तपुरमा विस्केटको लिङ्गो ढलाउने जात्राको तम्तयारी चल्थ्यो । नयाँ वर्षको चहलपहल बेग्लै हुन्थ्यो । तर यो वर्षको बैशाख पहिलो दिन त्यो सबै तामझाम हुने अवस्था रहेन । चैत्र ११ गतेदेखि शुरुभएको बन्दाबन्दीले सबैलाई घरभित्र सीमित गरेकाे छ ।  बैशाख ३ गतेसम्म थियो । बन्दाबन्दीको त्यो अवधि पुनः थपिएर बैशाख १५ गतेसम्म पुगेको छ । परिस्थिति हेरेर बैशाख १५ गतेपछि पनि बन्दाबन्दीको अवधि थपिन सक्छ किनकि कोभिड १९ महामारीबाट सुरक्षित रहने एकमात्र उपाय भनेको संक्रमित ब्यक्तिसंगको संसर्गबाट टाढा रहनु मात्रै रहेछ ।

कोभिड १९ को विश्वब्यापी सन्दर्भ

कोभिड १९ को विश्वब्यापी सन्दर्भ हेर्दा चीनको बुहानप्रान्तबाट सन् २०१९, डिसेम्बरको अन्त्यतिरबाट शुरु भएको यो महामारी बिस्तारै विस्तारै अन्य देशमा पनि सर्दै गएर विश्वको लगभग सबै देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य सगठनको अनुसार जनवरी २०, २०२० सम्म चीनमा संक्रमितको संख्या २७८ थियाे  भने चीन बाहिर थाइल्याण्ड, जापान, र कोरियामा जस्ता देशहरुमा संक्रमणको संख्या फाट्टफुट्ट देखिन थालेको थियाे । तर  अहिले कोभिड १९ बाट संक्रमित हुने देशमा अमेरिका उच्च स्थानमा छ । अमेरिका पछि कोभिड १९ बाट सबैभन्दा बढी आक्रान्त देशहरुमा इटाली, स्पेन, फ्रान्स र बेलायत आदि देशहरु पर्दछन् । विश्वभरिमा कोभिड १९ बाट संक्रमित हुनेको सख्या  र मृत्यु हुनेको संख्या काहाली लाग्दाे रूपमा बढ्दै गएकाे छ ।

लेखक

कोभिड १९ चीनमा शुरु भएको र संक्रमित ब्यक्तिको आवागमनसंगै विश्वभरी फैलियो । समाचार अनुसार कोभिड १९ को संक्रमण छिटो फैलिन बाह्य् संक्रमण भन्दा पनि स्थानीय संक्रमण जिम्मेवार रहेको पाइन्छ । बाहिरबाट आएको संक्रमणको दर हेर्ने हो भने हरेक देशमा शुरुमा दुई चार जनाबाट शुरु भएको देखिन्छ । तर तिनै दुईचारबाट स्थानीयमा सर्दै गएर लाखौंमा पुगेको पाइन्छ । यसले के देखाउँछ भने जुन देशले बाह्य संक्रमणलाई बेलैमा पहिचान गरेर स्थानीय संक्रमण बढ्न दिएनन् ती देशहरुमा यसको फैलावट कम भयो । अरु देशमा बढ्यो । सबै देशमा यो रोग चीनबाट आएकै ब्यक्तिहरुमार्फत आएको पनि होइन । जस्तैः नेपालकै स्थिति हेर्ने हो भने पनि नेपालमा चीनबाट भन्दा बढी अन्य देशबाट (फ्रान्स, बेलायत, भारतबाट) आदिबाट आएका ब्यक्तिहरुमा संक्रमण रहेको पाइएको छ । यो रोगको विषेशता नै संक्रमितलाई बेलैमा चिन्न नसकिने (तर संक्रमण सार्न सक्ने ) र सबै संक्रमितलाई एकैखालको लक्षण नदेखिने भएकोले संक्रमित र असंक्रमित छुट्याउन सकिएन । फलतः संक्रमितहरु असंक्रमितसंग जति धेरै मिसमास भए यो रोग उति धेरै फैलियो । चीन बाहिर यो रोगबाट यति धेरै ब्यक्तिमा संक्रमण फैलिएला र लाखौं ब्यक्ति चीन बाहिरमात्रै मर्लान् भनेर शायदै कसैले कल्पना गरेका थिए । यही अकल्पनीय कुरा सत्य भइदियो ।

यो रोगको विषेशता नै संक्रमितलाई बेलैमा चिन्न नसकिने (तर संक्रमण सार्न सक्ने ) र सबै संक्रमितलाई एकैखालको लक्षण नदेखिने भएकोले संक्रमित र असंक्रमित छुट्याउन सकिएन । फलतः संक्रमितहरु असंक्रमितसंग जति धेरै मिसमास भए यो रोग उति धेरै फैलियो ।

विभिन्न देशमा जब संक्रमण बढ्दै गयो, तब विश्वस्वास्थ्य संगठनले भन्यो यो महामारी हो, त्यसैले सोसियल डिस्टेन्स कायम गरौं भन्यो ।मानवशास्त्री डा. डम्बर चेम्जोङका अनुसार भनेकाे सोसियल डिस्टेन्स भनेकाे खास अर्थ फिजिकल डिस्टेन्स वा भौतिक दूरी हाे । भाैतिक दूरी कायम गर्ने सबैभन्दा सजिलो उपाय बन्दाबन्दी हो भनेर धेरै देशले बन्दाबन्दी गर्न शुरु गरे । सोसियल डिस्टेन्ससगै लकडाउन, आइसोलेसन, क्वारेन्टीन, भेन्टिलेटर, पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्टजस्ता शब्दहरुको प्रयोगमा आउन थाले ।

चीनमा संक्रमणको दर विस्तारै घट्दै गयो तर युरोपियन देशहरुमा बढ्दै गयो । इटालीमा अत्यसलाग्दो मृत्युदर देखियो, अस्पतालमा बिरामी राख्ने ठाउँ भएन, अन्तेष्टि गरिने परंपरागत स्थान सकियो । एम्बुलेन्स र शब बोक्ने ट्रककाे लाइन देखिन थाल्यो । स्पेनमा पनि त्यही स्थिति देखियो । यही बीच बेलायतका राजकुमार चाल्र्समा कोरोना भाइरसको संक्रमण देखियो । त्यसपछि प्रधानमन्त्री बोरिस जोन्सनमा । यसैबीच जर्मनीलगायतका देशहरुले बन्दाबन्दीलाई थप कडा पारे ।

संसारकै शक्तिशाली मानिएको अमेरिकाको सन्दर्भ युरोपको भन्दा अलि फरक देखिन्थ्यो । त्यहाँ सबभन्दा पहिले न्युयोर्क सिटिलाई गाज्यो । न्युयोर्कमा कोरोनाबाट मृत्यु हुनेलाई सामूहिक समाधिस्थल बनाएर अन्त्येष्टि गरियो । ट्रम्पले शुरुमै उद्घोष गरे १ देखि २ लाखसम्म मानिस मर्न सक्छन् । समयमै लकडाउन नगरेको भनेर उनको कठोर आलोचना पनि गरियो । कहिले चाइना भाइरस भनेर त कहिले चाइनाले सूचना लुकायो भनेका उनले अप्रिल १४, २०२० को भाषणमा विश्वस्वास्थ्य संगठनलाई दिदै आएको रकमसमेत रोक्का गरिदिने बताए । उनले बन्दाबन्दी गरे बेरोजगार बढने भएकाले बन्दाबन्दीलाई प्राथमिकतामा पारेनन् । अमेरिकामा मात्र पछिल्लो सप्ताहमा डेढ करोडसम्मले बेरोजगार भत्ताको लागि फर्म भरेको सूचनाले पनि के देखाउछ भने अमेरिकाको अर्थतन्त्र टिकाउने श्रम बजारमा बेरोजगार बढे भने त्यहाँको आर्थिक अवस्था चौपट हुन्छ ।
भारतको प्रसङ्ग बेग्लै छ । उसले पहिला एकदिने लकडाउनको रिहर्सल गर्न लगायो । त्यसपछि लकडाउन शुरु गर्यो । त्यो अझै जारी छ । इन्डियाका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनबाटै यो रोगलाई पन्छाउन सकिने विश्वास लिएका छन् जसको सिको (वाद्यता)नेपालले पनि गरेको छ ।

नेपालको अवस्था

नेपालमा सर्वप्रथम चीनबाट आएका ब्यक्तिमा कोरोनको संक्रमण देखिएको थियो । २०७७ बैशाख ४ गतेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ थियो भने ५ गतेको दिन १४ जना थपिएर ३० जना पुगेको छ । याे लेख तयार गर्दासम्म काेराेना रोगबाट नेपालमा कसैको ज्यान गएको तथ्याङ्क बाहिर आएको छैन । तर एकैदिन १४ जना नया संक्रमित फेला पर्नुले नेपालमा पनि कोरोना रोग भूसको आगोजस्तै भित्रभित्रै सल्किदै जाने त हैन भन्ने त्रास बढेको देखिन्छ ।

बच्ने उपाय र नेपालमा अपनाइएका कदम

माथिनै उल्लेख गरियो कोभिड १९ बाट बच्ने उपायमा बन्दाबन्दीमा बस्ने, शारीरिक दूरी कायम राख्ने र साबुन पानीले हात धुने कुरा आइरहेका छन् । कतिपय देशले मास्कको प्रयोगलाई पनि प्राथमिकता दिएका छन् । अन्य देशको तुलनामा बैशाख ७ गतेसम्मको तथ्याङ्कलाई हेर्दा नेपालमा कोरोना संक्रमण छिटफुटरुपले फैलिएको देखिन्छ । यसका कारणहरु धेरै हुनसक्छन । बेलैमा बन्दाबन्दी गर्नु एउटा कारण हुनसक्छ । नेपालका नेता तथा जनताले चीनलगायतका देशमा कोरोना संक्रमणसंग जुध्नको लागि महासंघर्ष गरेको देखेका छन् । नेपाली नेता, जनता सबै  यदि नेपालमा काेराेटा भाइरस फैलियो भने चीनको तहको उपचार गर्न सकिदैन भन्ने तर्कमा सहमत देखिन्छन् । यसैले होला नेपालले २०७६ चैत्र ११ गते देखि पटकपटक गबन्दाबन्दीको अवधि बढाएको छ । यसमा भारतमा भइरहेको बन्दाबन्दीको पनि प्रत्यक्ष प्रभाव छ भन्ने देखिन्छ । यो बन्दाबन्दीबाट सबैभन्दा बढी प्रभावित हुने समुदाय वा वर्ग भनेको श्रमजीवि वर्ग हो जो विदेशमा छन् र स्वदेश फर्कन चाहन्छन्, जो काठमाण्डौमा छन् र गाउँ फर्कन चाहन्छन् वा भारतमा छन् र सिमानामा आएर अड्किएका छन् जो छिटोभन्दाछिटो घर पुग्न चाहन्छन् ।


कपनको स्थानीय तरकारी बजारमा बन्दाबन्दी सफल पार्न खटिएका सुरक्षाकर्मी र बन्द रहेका सटरहरु


इटाली तथा स्पेनलगायतका कतिपय युरोपेली देशमा सरकारले गरेको बन्दाबन्दीको आग्रहलाई जनताले अधिकतम पालना गर्न नसकेका खबरहरु आइरहेको सन्दर्भमा हेर्ने हो भने नेपालमा बन्दाबन्दीको अवस्था अलि संयमित भएको देखिन्छ । नेपालमा ग्यास, खाद्यान्न तथा तरकारीको ओसारपसार पनि सीमित मात्रामा भइरहेकै छ । खाद्यान्न जोहो गर्न सक्ने परिवारहरुले बन्दाबन्दी स्वीकार्न सहजभए पनि कामगरी खाने मजदुरवर्गलाई भने अफ्ठेरो परेको समाचार आइरहेका छन् । यति हँुदाहुदै पनि नेपालमा कोरोना भाइरस फैलियो भने चीन वा पश्चिमी मुलुकमा प्राप्त स्वास्थ्य सुविधा नेपालमा पाइदैन भन्ने मानसिकताले धेरै हदसम्म काम गरेको पाइन्छ । अझ स्वास्थ्य सामग्रीको खरीदमा भएको भनिएको भ्रष्टाचार प्रकरणपछि नेपाली जनता सरकारसंग थप निराश भएका छन् र आफ्नो सुरक्षा आफैले गर्नुपर्छ नत्र मरिन्छ भन्नेमा सचेत छन् । खाद्यसामग्री किन्न तथा अन्य अत्यावश्यक प्रयोजनका लागि निस्किएका सर्वसाधारण हुन् वा प्रहरी धेरैजसोले पाएसम्म मेडिकल मास्क लगाएका छन् भने त्यो नपाउने कतिपयले कपडाकै मास्क पनि प्रयोग गरेका छन् । कतिपय महिलाले त आफूले ओढ्ने सलले पनि नाकमुख छोपेर हिड्ने गर्छन् । मास्क लगाउने बाहेक अधिकतर ब्यक्तिले साबुनपानीले हात धुने, एकअर्काको नजिक नजाने जस्ता अभ्यासहरु पनि सकेसम्म अपनाएको देखिन्छ ।

नेपालमा सबै प्रदेश तथा स्थानीय स्तरमा स्वास्थ्यपूर्वाधार तथा परीक्षण कीटलगायत स्वास्थ्यसामग्रीको अपर्याप्तताले गर्दा कोभिड १९ बाट संक्रमितको पहिचान गर्ने परीक्षणको दायरा साँघुरो छ । काठमाण्डौमै पनि सबै निजी अस्पतालहरु कोरोना परीक्षणको लागि तयार हुननसकेको तथ्यहरु बाहिर आएका छन् । अझै पनि स्वास्थ्यसामग्रीको पर्याप्त ब्यवस्था हुन नसकेको गुनासो सुनिदै आएको छ । यी सबैको कारण संक्रमितहरु परीक्षणको दायरामा आउननसकेका कारण वास्तविक संक्रमितको संख्या कम देखिएको छ ।

आमसंचारको प्रयोग

नेपालीको चेतनाको स्तर बढाउन आमसंचार माध्यमको महत्वपूर्ण स्थान रहेको छ । बढ्दो इन्टरनेटको प्रयोग, खासगरी फेसबुक, मेसेन्जर, भाइवर, रेडियो, एफएम, ल्याण्डलाइन तथा मोबाइलफोनको रिगटोनमा बज्ने सूचनामूलक सन्देश, प्रहरी तथा प्रशासनद्वारा गरिने माइकिग आदिको ब्यवस्थाले नेपाली जनतालाई सुसूचित हुन ठूलो भूमिका खेलेको छ । यी माध्यमबाट नेपालीले विश्वमा फैलिरहेको कोरोनाको स्थिति र नेपालमा कोरोना संक्रमितको संख्या तथा अवस्था थाहा पाउन र सरकार, नागरिक समाज तथा स्थानीय प्रशासनले गरेका कामकारवाही थाहा पाउन, गाउँठाउँमा अपरिचित वा विदेशबाट कोही आएको छ कि निगरानी गर्ने, प्रहरी प्रशासनलाई खबर गर्ने जस्ता सुरक्षात्मक उपायहरु अपनाउन पनि यस्ता संचार माध्यमले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

नेपालीको चेतनाको स्तर बढाउन आमसंचार माध्यमको महत्वपूर्ण स्थान रहेको छ । बढ्दो इन्टरनेटको प्रयोग, खासगरी फेसबुक, मेसेन्जर, भाइवर, रेडियो, एफएम, ल्याण्डलाइन तथा मोबाइलफोनको रिगटोनमा बज्ने सूचनामूलक सन्देश, प्रहरी तथा प्रशासनद्वारा गरिने माइकिग आदिको ब्यवस्थाले नेपाली जनतालाई सुसूचित हुन ठूलो भूमिका खेलेको छ ।

सक्रिय स्थानीय तह
कोरोना भाइरसको महामारीसग जुध्नको लागि स्थानीय तहका जनप्रतिनिधिले खेलेको भूमिका अत्यन्तै प्रशसनीय छ । आआफ्नो निर्वाचन क्षेत्रमा कसरी कोरोना फैलिन नदिने, संक्रमित भेटिए तिनको ब्यवस्थापन कसरी गर्ने लगायत आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका बेरोजगार तथा शारीरिक रुपले अशक्तहरुको पहिचान गरी तिनलाई राहत दिने कार्यमा स्थानीय तहहरुले प्रसशनीय भूमिका खेलेका खबरहरु आइरहेका छन् । बैशाख ४, २०७७ को गोरखापत्र दैनिकले पनि आफ्नो सम्पादकीयमा सक्रिय स्थानीय तह भनी स्थानीय ब्यक्तिलाई क्वारेन्टीनमा राख्न, राहत वितरण गर्न र जनचेतना जगाउन अत्यन्तै सक्रिय भूभिका खेलेको भनी स्थानीय तहका कार्यको प्रसंशा गरेको छ ।

परम्परागत अभ्यासहरु

नेपालमा कोरोना संक्रमण तीब्ररुपमा नफैलनुमा सामाजिक सांस्कृतिक कारणहरु छन् भनेर सामाजिक संजालका पानाहरु भरिएको देख्न पढ्न पाइन्छ । ती कारणमध्ये घरमा खाना पकाएर खाने चलन पनि पर्दछ । नेपालमा जस्तो घरैमा खाना पकाएरै खाने कार्य पश्चिमा देशमा आम प्रचलनको रुपमा छैन कि जस्तो देखिन्छ । उनीहरु घरमा चिया, कफी वा फाष्ट फुड खान्छन् । अरु खाना घरबाहिरै खान्छन् । अमेरिकामा बसोबास गर्ने मेरा केही नातेदारहरु पनि अनलाइन मार्फत खाना मगाएर खाने गरेको छु भन्छन् । नेपालमा भने अधिकांश परिवारले आफ्नै घरमा खाना पकाएर खाने गर्छन् । यो कार्य घरधनी हुन् वा डेराबासी हुन्, प्रायः सबैजसोले गर्ने गरेका छन् । घरमा खाना पकाएर खादा घरका सम्पूर्णप्रायः सदस्यलाई घरबाट बाहिर जानुपर्दैन र समय पनि राम्रोसंग ब्यतित हुन्छ । पानीको प्रयोग गरी सरसफाई गर्नेे (जस्तै चुठ्न पानीको प्रयोग, दिशा धुन, हात धुन, तरकारी पखाल्न इत्यादि) कारणहरु कोरोना संक्रमणलाई फैलिन नदिने कारणको रुपमा लिने गरिएको पाइन्छ । यसले गर्दा घरका बालबालिकाहरु, बृद्ध, अशक्त तथा बिरामी घरबाहिर गएर अपरिचितको संसर्गमा पर्नुपर्दैन । बिहानदेखि बेलुकासम्म पकाउने, खाने, घरधन्दा र सरसफाइ गर्ने गर्दा समय काटिएको पनि थाहा हुँदैन ।

अन्य परंपरागत चलनमा अभिवादन गर्दा ब्यक्ति ब्यक्ति नजोडिइकन परैबाट नमस्ते गर्ने चलन पनि पर्दछ । निश्चयपनि विश्वले नै ब्यक्ति ब्यक्ति बीचको दूरी कायम गरौ भनेको अवस्थामा नेपालजस्तो बिभिन्न जात र समूहमा वर्गीकृत समुदाय भएका देशमा परम्परागतरुपमै अगालिएका सांस्कृतिक पक्षले पनि कोरोना संक्रमण नियन्त्रणको लागि केहीमात्रामा भएपनि सहायकसिद्ध भएका तर्कहरु आइरहदा मानवशास्त्री शुरेश ढकालले बैशाख ५ गतेका कान्तिपुर अनलाइनमा भनेजस्तै यसैपनि जातिगत तथा वर्गगत उचोनीचो रहेको नेपालजस्तो मुलकमा कोरोनाबाट बच्नको लागि सामाजिक दूरी कायम गरौ भन्ने आह्वानले पछि गएर संक्रमित तथा असंक्रमित ब्यक्ति ब्यक्ति वा समुदाय समुदायबीच सामाजिक विद्वेष ल्याउने कारक बन्छ कि, डर त्यत्तिकै छ ।

इतिहासबाट सिकेको पाठ

नेपालीहरु किन प्रतिकूल अवस्थालाई पनि सहजै स्वीकार गर्छन् भन्न यसको अर्थराजनीतिक विगत हेर्नुपर्ने हुन्छ । धेरै टाढाको विगत हेर्नुपर्दैन, २०४६ सालयताका राजनीतिक उतारचढावले (माओवादी आन्दोलन, राजा बीरेन्द्रको बंश विनाश, मधेश आन्दोलन आदि) आम नेपाली जनतालाई त्राहिमाम पारिदिएको थियो । त्यसमाथि २०७२ सालको महाभूकम्पले नेपालीको बस्नेखाने अवस्था चौपट पारिदिएको छ । त्यो सन्त्रासबाट त्राण नपाउदै कोरोना महामारीले सताएको छ । बैदेशिक रोजगारीमा हुने दुर्घटना, सवारी दुर्घटना, बाढीपहिरो आदिबाट ज्यान गुमाएका समाचार सुनेका नेपालीले मृत्युलाई राम्रोसंग चिनेका छन् र टार्न सकिने मृत्यलाई सकेसम्म टारौं भन्ने मनसाय प्रभावी देखिन्छ ।

कृषिकार्य

नेपालमा जिवीकामुखी तथा निर्यातमुखी दुबैखाले कृषिकार्य चल्दैआएका छन् । धेरैजसो ग्रामीण जनता कृषिकार्यमा संम्बद्ध छन् जसले गर्दा ज्यालादारी श्रमिकको मात्रा कम छ । कृषिकार्यमा लाग्नेहरु प्रायः घरपरिवारसंगै हुनाले र बजारमा छरिएका ज्यालादारी श्रमिकलाई जस्तो राहत बाड्न नपर्ने हुनाले सरकारलाई अमेरिकामा जस्तो आर्थिक भार नपर्ने देखिन्छ । त्यसैले सरकारले बन्दाबन्दी थप्दै लैजान हिम्मत गरेको छ । अमेरिकामा जस्तो लाखौं बेरोजजगारहरु बजारमा निस्कने हो भने नेपालसरकारले पनि बन्दाबन्दी थप्ने हैन बरु घटाउनेतिर पो सोच्थ्यो कि ? काठमाण्डौमा असंगठित क्षेत्रमा काम गर्ने हजारौं श्रमिकहरु बन्दाबन्दी पछि खानेबस्ने समस्यामा परेको भन्दै रातारात काठमाण्डौ छोडेर घर फर्कदै गरेको लर्कोले पनि पुष्टि गर्छ श्रमिकवर्ग वास्तबमै अति संवेदनशील बर्ग रहेछ जसलाई पहिला भोकमरीबाट बच्नुछ अनि मात्रै कोरोनाबाट । बन्दाबन्दीको लागि आर्थिक तथा नैतिक चुनौती दिने कुनै बर्ग छ भने त्यो ज्यालादारी श्रमिक वर्ग नै रहेछ जो अनेकौं जोखिम मोलेर हप्तौंको बाटो हिडेर गाँउ फर्किरहेको छ । सरकारले श्रमिकहरुलाई खाद्यान्न दिने भने पनि त्यो पूर्ण सफल हुनसकेको देखिदैन । यस्तो अवस्थामा कृषिकार्यले ज्यालादारी श्रमिकको संख्या घटाएकोमा कुनै दुईमत छैन । यसैगरी स्थानीय श्रोतसाधनमा आधारित कृषिउन्मुख जीविकोपार्जन अरु खालको जीबिकोपार्जनभन्दा दिगो हुन्छ भन्ने पनि देखिन्छ ।

आफनै आगनचोकमा गमलालगायतमा तरकारी रोपेर फलाउदै


कोरोनाले निम्त्याएका चुनौती

कोरोना भाइरसले विश्वकै हुनेखानेदेखि आर्थिकरुपले विपन्न राष्ट्रहरुसमेतको आर्थिक, राजनीतिक तथा सामाजिक पद्धतिमाथि नराम्रोसग चुनौती थपिदिएको छ । कोरोना भाइरसको कारण चीनजस्तो शक्तिसम्पन्न राष्ट्रले सूचना लुकाएको आरोप ब्यहोर्नुपरेको छ भने अमेरिकाजस्तो शक्तिसम्पन्न देशका राष्ट्रपतिले बन्दाबन्दीलाई नअपनाई जनस्वास्थ्यमा संबेदनशील नभएको आरोप खप्नुपरेको छ । अमेरिकाले त विश्वस्वास्थ्य संगठनजस्तो संस्था पनि पूर्वाग्रही भयो भनेर उसलाई गरिआएको सहयोगसमेत रोक्का गरिदिने निर्णय ग¥यो जसको असर अमेरिकामा आउदै गरेको राष्ट्रपतिय निर्वाचनमासमेत देखिने निश्चित छ । कुनै राष्ट्रले कोरोनाको प्रभावकारी खोपको उत्पादन गर्नसक्यो भने त्यो बेचेर मात्रै पनि ऊ रातारात धनी हुनसक्छ । यस्तो अवस्थामा अहिले भइरहेको बैश्विक मानचित्रमा फेरबदल हुनसक्ने उत्तिकै संभावना छ ।

विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभाव

कोरोनाको बिश्वब्यापी महामारी कतिसम्म बढ्ने हो र यसले बिभिन्न राष्ट्रहरुको कुल गार्हस्थ उत्पादनमा कतिसम्म गिरावट ल्याउने हो त्यसको अड्कल गर्न शुरु गरिए पनि राष्ट्रिय अर्थतन्त्र यतिसम्म शिथिल हुन्छ भन्नसक्ने अवस्था छैन । अहिले बिकसित देशका सरकारले बेरोजगारलाई भत्ता बाड्ने र स्वास्थ्यसेवाको उपलब्ध गराउने र सकेसम्म प्राइभेट क्षेत्रलाई पनि मर्न नदिने कार्य गरिरहेको देखिन्छ । यसको लागि अर्बौ अर्ब लगानी भइरहेको छ । अर्कोतिर विकाशशील देशले पनि कोरोनासंग जुध्न भएनभएको खर्च निकाल्नुपरेको छ । उनीहरुले धनी देशबाट पाउने सहायता रकम आगामी दिनमा पाउने वा नपाउने निश्चित छैन भने उनीहरु आफूले लिएको ऋणको सावाब्याज तिर्न सक्ने स्थितिमा रहने छैनन् । कुन देशमा कोरोनाले कति क्षति गर्छ र त्यसको अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ त्यो हेर्न बाकी नै छ ।

अन्यदेशमा जस्तै नेपालमा पनि आर्थिक बृद्धिदर घट्ने प्रक्षेपणहरु आइरहेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा रेमिट्यान्स प्रत्यक्ष रुपले घट्ने बताएका छन् । त्यस्तै पर्यटन ब्यवसायबाट आउने कमाइ पनि प्रत्यक्षरुपले प्रभावित हुन्छ । तर पनि कृषि उत्पादबाट भने अर्थतन्त्रले केही राहत महसुस गर्नेछ । बैदेशिक रोजगारमा गएका नेपाली कामदारहरु फर्किएर आएमा उनहिरुको लागि रोजगारी सिर्जना गर्न सकिएमा नेपाली अर्थतन्त्रको लागि यो चुनौती मात्र नभई अवसर पनि हुने प्रसग उनले बताए । सर्सर्ती हेर्दा नेपालको अर्थतन्त्रमा देशमा रेमिट्यान्स बाहेक नेपालको अर्थतन्त्र धान्ने क्षेत्र भनेको क्षेत्र हो । नेपालमा अझै पनि निर्वाहमुखी, तथा निर्यातमुखी कृषिकार्य चलिरहेको पाइन्छ । डा. जीवनमणि पौडेल र टेकबहादुर कार्कीले गत बैशाख ३ मा लेखेको लेखमा “सरकारले समयमै सही निर्णय गरेमा अहिलेको महामारी नेपालको लागि खाद्य संकट होइन, खाद्यान्नको उत्पादन बढाउने अवसर हुनसक्ने छ ….नेपालको अर्थब्यवस्था मौलिकतामा आधारित भई आत्मनिर्भरताका लागि अगाडि बढ्ने अवसर हुनेछ” भनेका छन् । उनीहरुले भनेजस्तै बैदेशिक रोजगारबाट फर्किने नेपाली युवाले तत्काल गर्नसक्ने कार्य पनि कृषिजन्य कार्य नै हो । त्यसैगरी बिभिन्न तरिकाले चलिरहेका श्रमक्षेत्र जस्तै कृषि मजदुरी, यातायात मजदुरी बन्दाबन्दीको अवधिमा बन्द भएपनि यो खुलेपछि यथावत चल्ने आशा गर्न सकिन्छ ।

अनौपचारिकरुपले चलिरहेको घरेलु मजदुरीको कार्य बन्दाबन्दी पछि क्रमश सुचारु हुने देखिन्छ । यति भन्दाभन्दै पनि सुचारुरुपले चलिरहेको रेमिट्यान्सप्रधान अर्थतन्त्र र भिजिट नेपाल २०२० को लागि गरिसकिएको लगानीबाट बाञ्छित प्रतिफल नआउँदा आर्थिक बृद्धिदरमा ब्यापक गिरावट आउने निश्चितप्राय छ ।

मानवसभ्यता र संस्कृतिमा पार्ने असरहरु

हालको विश्वमानचित्रमा देखिएको मानवसभ्यता र संस्कृति केही दशक वा केहीसय वर्षमा निर्माण भएको जेथा हेइन् । यी सांस्कृतिक तत्वहरु हजारौ हजार बर्षहरुमा मानबमानबबीच बाँच्नको लागि भएको अन्तरसंघर्ष र सहकार्यको परिणामस्वरुप बनेका हुन् । यसैगरी वैज्ञानिक आविष्कार, औपनिवेषिक होडबाजी तथा विश्वयुद्धहरु, असमान शिक्षा तथा आर्थिक बिकास, भूमण्डलीकरण, आमसंचारको उपलब्धता एवं बसाईसराईको लागि भइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आवागमन लगायतका तत्वहरु अन्तरघुलन भएर अहिलेको मानवसभ्यता बनेको छ । अहिलेको विश्वसभ्यताले त स्थानीय सभ्यतालाई प्रभाव पारेकै (जस्तै अग्रेजी लेख्नेबोल्ने, नया वर्ष, भ्यालेन्टाइन, बातावरण, आप्रवासी, मजदुर, महिला दिवस मनाउने चलन आदि), छ तर स्थानीय घटनाले पनि विश्वसभ्यताको नक्सालाई हेरफेर गर्ने आंट राख्छ जस्तो देखिन्छ । उदाहरणको लागि कोरोना भाइरसलाई नै लिऊँ न । यो चीनको बुहानप्रान्तबाट शुरु भएर प्लेन चढ्दै विश्वब्यापी भयो । योग खासगरी भारतलगायतका देशमा चलिआएको परंपरा भनिए पनि अहिले यो विश्वब्यापी हुंदै गएको छ । यसैगरी नमस्कार गर्ने, शाकाहारी अभियान, बृक्षारोपण अभियान (जस्तै पाकिस्तानले अहिले लाखौं विरुवा रोप्ने अभियान चलाइरहेको छ), प्लाष्टिकको सट्टा नेपालीले प्रयोग गर्नेखालको पातको दुनाटपरी प्रयोग गरौ भन्ने दिन नआउला भन्न सकिन्न ।

यस्तैगरी घरघरमा खाना बनाउने संस्कृति पश्चिमी देशबाट हराउँदै गएको संस्कृति हो र यस्तै महामारी आइरहे भने यो संस्कृति पुनर्जीवित हुनसक्छ (जस्तै कि बन्दाबन्दी हुनसक्छ भन्ने कुरा थाहा पाएपछि मैले गुन्द्रुक खाँदे, मुलाको चाना काटेर सुकाएँ जुन धेरै बर्षअघिदेखि मैले गर्न छोडिसकेको थिए) । यस्तै टिस्युपेपरको सट्टा पानीले दिशा धुने, स्यानिटाइजरको सट्टा साबुनपानीले हात धुने संस्कार पनि त आउनसक्छ । स्थानीय श्रोतसाधन तथा संस्कार संस्कृतिको अन्तर्राष्ट्रियकरण गर्ने अवसर कोरोना भाइरसले दिएको छ ।

मानवजातिको भविश्यमा थपिएका चुनौतीहरुः कोरोनाले मानवजातिको भविश्यमा निकै ठूलो चुनौती थपिदिएको छ । आर्थिक तथा प्राविधिकरुपले साम्राज्य कायम गरिरहेका पश्चिमा मुलुकको लागि कोरोना संक्रमणको फैलावट र यसले पुर्याएको जनधनको क्षति आफैंमा अकल्पनीय छ । यो संक्रमणले मानब जातिले स्वास्थ्य क्षेत्रमा अहिलेसम्म नसोचेको संकट ल्याइदिएको छ भने भविश्यको कुन समयमा कुन रोग कताबाट उब्जिन्छ र कता कता कसरी फैलिन्छ र कतिको ज्यान लिन्छ त्यसको यकिन गर्न नसक्ने अवस्थामा अहिले विश्व जगत पुगेको छ । खासगरी वातावरण प्रदूषण, हावापानी परिवर्तन अहिलेका जल्दाबल्दा समस्या हुन । हावापानीको परिवर्तनका कारण मानिसहरुले परंपरागत जीवीकाको माध्यम नै छोड्नुपरेका तथ्यहरु आइरहेका छन् । अहिले कोभिड १९ का कारण जब बन्दाबन्दी शुरु भयो तब आर्थिक क्षेत्र चौपट भए पनि वातावरणीय क्षेत्रमा सकारात्मक प्रभाव परेको छ । गोरखापत्र दैनिकले २०७७ बैशाख पहिलो हप्तामा छापेको समाचारमा त्रिशुली नदी चौधवर्ष अघिको जस्तै सफा भएको समाचार छापेको थियो । कल्पना गरौं बन्दाबन्दीले विश्वका लाखौं नदी सफा भए होलान् । अर्को कुरा, कोरोनाको संक्रमण जनावरबाट मानिसमा सरेको प्रसंगले मानिसलाई जुनसुकै जनावर जसरीसुकै खानबाट सतर्क गराउने देखिन्छ । यी लगायत हरेक स्थानविषेशमा देखा पर्नसक्ने कुनैपनि रोग त्यो स्थानको लागिमात्र नभई विश्वकैलागि चुनौतीपूर्ण हुनसक्छ ।

कक्षा पाँचको परीक्षा दिएर कक्षा ५ मा जान तम्सिएकी मेरी छाेरीले परीक्षाफलको पर्खाइमा पोखेको अभिब्यक्ति


यसैगरी बन्दाबन्दीको अवस्थामा महिला तथा बालबालिकामाथि अनेकप्रकारका घरेलु हिंसा भइरहेको खबर आएका छन् । बन्दाबन्दीका कारण घरभित्रै थन्किन बाद्य महिला तथा बालबालिका, अझ खासगरी औषधि सेवन गरिरहेका ब्यक्तिहरु, अशक्त तथा अपागता भएका ब्यक्तिहरुमा पर्नसक्ने शारीरिक एवं मानसिक प्रभावको अवस्था सोचेभन्दा कहालीलाग्दो हुनसक्छ, जुन मानवसमुदायकै लागि चुनौती बनेर उभिएको छ । तर कोरोना भाइरसको महामारीले मानिसलाई आर्थिक समृद्धिले मात्रै सुखी र खुशी हुन सकिन्न, आध्यात्मिक तथा मानवीय चेतना सहित स्थानीय स्रोत र साधनको समृचित प्रयोग गरी बाँच्ने उपायहरु प्रवर्धन गर्नसके अवसरको रुपमा पनि लिन सकिन्छ भन्ने सन्देश पनि यो महामारीले दिएको छ ।

उपप्राध्यापक (मानवशास्त्र)
रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X