‘सकारात्मक’सँग त्रसित मान्छे

  २०७७ वैशाख २८ गते २२:५३     दिपेन्द्रबहादुर क्षेत्री

कोरोना भाइरस वर्तमान विश्वका लागि चुनौतिका रुपमा रहेको छ । विगतमा विश्वले बेहोरेको सार्स (सिभेयर आक्युट रेस्पिरेटरी सिन्ड्रम), मार्स (मिडल इष्ट आक्युट रेस्पिरेटरी सिन्ड्रम) लगायतका अन्य श्वास प्रश्वासका समस्यामा हताहतिको प्रतिशत कोरोना भाइरसको हालसम्म कम देखिए पनि भौगोलिक विस्तार व्यापक रहेकोले खतरा बढी देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा चित्रित गरी कोभिड–१९ नामाकरण गरुन्जेल चीनको उहानमा प्रकट भएको यस भाईरस नियन्त्रणमा लिन संयम बाहेक उपचार विधि नभएकोले संसार निरीहतामा चल्नु पर्ने स्थिति बन्यो । नेपाल, छिमेकी चीनसँग आर्थिक, सामाजिक सम्बन्ध बढ्दै गएको अवस्थामा विश्व स्वास्थ्य संगठनले ‘उच्च जोखिम’को क्षेत्र घोषणा गरिदिएपछि देशभित्र र बाहिर मानसिक खैलाबैला मच्चिएको स्थिति रह्यो ।

भौतिक आँखाले नदेखिने, सामान्य लसपसबाट पनि थाहै नपाई सर्ने यो भाइरसले आर्थिक रुपले पछि परेको मुलुकमात्र प्रभावित हुन्छन् भन्ने मान्यता नाघेको छ । विश्वका २ सय १० भन्दा बढी देशहरुमा फैलिएको यो भाइरसबाट यो लेख पाठक समक्ष पुगुन्जेल ३ लाखको हाराहारीमा मानवजातिको हताहति भैसकेको हुनेछ । विश्व भाइरसको वस्तुगत स्थिति र सोको प्रभावभन्दा आफ्नो विश्वासको आधार लिई के गर्ने, के नगर्ने भन्नेमा विभाजित छ । राजनीति जोडिएको छ । सामाजिकता त विगतको मान्यतालाई जीर्ण बनाउने गरी व्यवहारमा उत्रन बाध्य पारिएको छ । सुनिश्चित निदानको अभावमा यस्तो अन्यौल रहेको हो ।

लेखक

चीनबाट उत्पन्न भएको ठानिएको कारोना भाइरस सोअघि नै इटालिमा धेरै जनताको हताहति भैसकेको दावी पनि गरिन्छ । वास्तवमा लक्षणै नदेखिई प्रभावित गर्ने, रुघा खोकी (आँठे) को छद्ममा फोक्सोलाई नष्ट गरिदिने भएकाले कोरोना भन्ने एकिन हुन नसकेको मात्र हो, युरोप नै कोरोनाको उद्गमथलो भन्ने दावी पनि गरिँदै छ ।

हताहतिको दृष्टिले युरोप र उत्तर अमेरिका अग्रस्थानमा देखिएका छन् । मृत्यु हुनेको संख्या ५ अंक माथि हुनेमा बेलायत, फान्स, स्पेन, इटाली र सबैभन्दा बढी अमेरिकी ८० हजारभन्दा बढी पुगेको छ । हाल पनि चीनले मृत्युको तथ्याङ्क लुकायो भन्दा पनि ४ हजार ६ सय ३३ नाघेको छैन । युरो–अमेरिकाको बढ्दो हताहतिको संख्या बढी हुनुमा स्वास्थ्य सेवाप्रति विघ्नै विश्वास र ‘स्वतन्त्रमा’प्रतिको सैद्धान्तिक आस्था प्रमुख रुपले रहेको देखिन्छ ।

हाल पनि बन्दाबन्दी (लकडाउन), सामाजिक दुरी (सोसियल डिष्टान्सिङ), र एकान्तबास (आइसोलेसन) जस्ता व्यवहारबाट धेरै हदसम्म संक्रमण रोकिने गरेको मान्यता राखिएका देशमा प्रभाव कम हुँदै गएको मानिएको छ । तर, लामो समयसम्मको बन्दाबन्दीले आर्थिक स्थिति डामाडोल हुँदा राजनीतिक प्रतिकुलतालाई ख्याल गरी उक्त पद्धतिहरु रुढीबादी हुन् भन्न थालिएको छ । जनताको जीवन र क्षणिक आर्थिक गतिविधि कुन महत्वको भन्ने विषयमा विश्व विभाजित हुँदै गएको छ ।

अमेरिकी राष्ट्रपतिका समर्थक हतियारसहित विपक्षी–प्रजातन्त्रवादीको पकड भएको राज्यहरुमा चलनमा ल्याईएका भाइसर प्रतिरोधी अभियानको विरोध गरिरहेका छन् । दैनिक हताहतिको संख्यामा बढ्दै जाँदा र अन्य मुलुकमा प्रभावकारी भएका उक्त संयमयुक्त तीन विधि अव्यवहारिक हुन भनि प्रमाणित गर्न स्वयम् राष्ट्रपति उद्धत छन् ।

ब्राजिलमा राष्ट्रपति स्वयम् उक्त तीन विधिको विरोधीहरुको नेतृत्वमा सडकमा उत्रेका छन् । चुरो कुरो बन्दाबन्दी लगायतका प्रकृयाबाट रोजगारी, आपूर्ति लगायतका मानवीय दैनिक व्यवहारमा संकुचन आउने भएकाले मानवहक विरोधी धारणाका आधारमा अर्को अभियान मच्चिँदै छ । राजनीतिको मूल विषयमा केन्द्रित उक्त व्यवहारको अर्को उदाहरण भाइरस उत्पन्न गराईएको आरोपको दोहोरीबाट प्रष्ट हुन्छ ।

अमेरिकी राष्ट्रपतिले ‘कोभिड–१९’लाई ‘चिनियाँ भाइरस’ भनेपछि वैज्ञानिकहरुले पनि काम पाए । वास्तवमा चीनउपर भाइसर उत्पादन गरी गलत मनसायबाट अमेरिकी अर्थतन्त्रलाई तहसनहस पार्ने नियत थियो भन्ने आरोप अमेरिकी पक्षको थियो । यसै क्षेत्रमा कार्यरत वैज्ञानिकहरुले प्रयोगशालामा उत्पादन गरिएको वा गर्न सकिने ‘भाइरस’ नभएको विचार व्यक्त गरेका छन् ।

त्यस्तै, चीनले भने सैनिक अभ्यासमा हुने प्रान्तको उहानमा आएका अमेरिकी सैनिकहरुले छाडेर गएको ‘भाइरस’ भन्ने जवाफ दिएका छन् । यो राजतीतिक खेलको जुहारी मात्र हो भन्ने ठान्न त्यसपछिका घटना क्रमले दिँदैन । चिनियाँ नेताहरु विश्व समुदायको संयुक्त प्रयासले मात्र यो मानवजातिकै शत्रुको रुपमा रहेको महामारीमाथि विजय प्राप्त गर्न सकिन्छ भन्छन् । व्यवहारमा आफ्ना स्वास्थ्यकर्मीहरु, स्वास्थ्य सेवा सम्बन्धि औषधी उपकरणहरु भाइरसबाट प्रभावित युरोपलगायत उत्तर अमेरिकामा पठाएका पनि छन् ।

आफूले आंशिक रुपले प्राप्त गरेको सफलताको सिकाई आदान–प्रदान गर्न हातेमालो गरेका समाचार प्रकाशित भएका छन् । तर, अमेरिकी अहम् भने विश्व स्वास्थ्य संगठनले समयमा उचित काम गर्न नसकेकोले अमेरिकाले ठूलो क्षति व्यहोर्नु पर्यो भन्दै आफ्नो आर्थिक सहयोग बन्द गर्ने घोषणा गर्दैछ । बालकोष, जलवायु परिवर्तन सम्बन्धि सहयोग आदिबाट पहिल्यै हात झिकिसकेको अमेरिकाका लागि कोभिड–१९ महामारी राजनीति गर्ने विषय त बन्यो तर, त्यसको भयावह परिणामले पुर्याउने क्ष्यति हाल आकलन गर्न मुस्किल छ ।

अर्कोतर्फ, राजनीतिकै सेरोफेरोमा सरकारले असीमित अधिकार प्रयोग गर्ने गतिविधि पनि विश्वमा देखिएका छन् । अफ्रिकी मुलुकको राष्ट्रपति निर्वाचन रद्द गरी म्याद गुज्रिएको सत्ताभोग राष्ट्रपति गर्दैछन् । दक्षिण कोरियामा भने निर्वाचन विधिसम्मत सम्पन्न भएको खबर छ । कोरोनाको महामारीमा आर्थिक मनोमानीका अतिरिक्त विपक्षी राजनीतिज्ञहरु उपर विभेद चर्काउने काम पनि विभिन्न राष्ट्रहरुमा देखिएका छन् । कोरोनाको संक्रमण बढी रहेका बेला, असंगठित क्षेत्रमा काम गर्ने श्रमिकको अनिश्चिता रहेको अवस्था बन्दाबन्दीलाई न्युनाकलन गरी महामारीको परिणाम आफ्नै जहान परिवारसँग भोग्ने उदेश्यले १२÷१५ दिनसम्मको पैदल यात्रामा निस्केका नाङ्गाखुट्टा, भोका र गलित नेपालीको अवस्थाप्रति सरकार संवेदनशील हुन नसकेको आरोप सरकार माथि लागिरहेको छ ।

विदेशमा काम गर्न गएका नेपालीले घर फर्कन गरेका हरेक प्रयत्न ‘काम हुँदैछ’ भन्ने उधारो आश्वासनमा सीमित छ । यहि मौक छोपी राजनीतिक दलहरु भताभुंग पारि ‘शुन्य विरोध’को अवस्था सिर्जना गर्न अति छोटो बाटोबाट अध्यादेश जारी गरियो । संवैधानिक समितिको परम्परागत मान्यता समेत न्युनिकरण गरी ६ पदाधिकारी मध्ये प्रधानमन्त्री सहित अन्य दुई जनाको मतमा पदाधिकारी चयन गर्न सक्ने गरी विधि साघुर्याईयो । भलै चौतर्फि विरोधपछि यी दुबै प्रावधान फिर्ता लिइयो ।

जेठ १५ मा बजेट पेश गर्नु छ । संसदीय समितिहरुमा ‘पूर्व बजेट’ छलपल गर्ने परम्परा छ । अनि जटिल अवस्था त संक्रमितको संख्या बढ्दै गएको र सुदुर पश्चिम ‘इपिसेन्टर’ हुने प्रधानमन्त्रीकै भनाईलाई ख्याल गर्ने हो भने रोग पत्ता लगाउन, नियन्त्रण गर्न र निदान गर्न कुन परिमाणको श्रोत साधन आवश्यक पर्ने हो, एकिन गर्न सकिने अवस्था छैन । अर्थतन्त्र बन्दाबन्दीमा छ, निजी क्षेत्र प्रोत्साहन र राहतको अपेक्षामा छ । राजनीतिक स्थिरताको तालमा रहेको पानीमा ‘अध्यादेश’ले जवरजस्त आँधी ल्याई दियो । राजनीतिक वृत्त, पर्यवेक्षकका लागि नकारात्मक र कुबेला जचेको यो सरकारी रवैयाले आफ्नो पट्का भने बलियो बन्ने आँकलन सहित प्रस्तावकहरु विश्वस्त देखिए । अध्यादेश फिर्ता नभएको भए कोरोनाको प्रताडनाको भयले गाँजेको नेपाली समाजमा राजनीतिक आस्थिरताको पुनः विजारोपण हुने र अकाल्पनीय दिशामा मुलुक धकालिने थियो । अध्यादेश फिर्ता नभएको भए जिम्मेवार राजनीतिक दलहरुले सुझबुझका साथ उत्तरदायित्वपूर्ण तरिकाले संसदमा प्रस्तुत हुन आवश्यक थियो । अन्यथा आर्थिक जर्जरतामा गुज्रिरहेको मुलुकमा बेरोजगारी, वैदेशिक श्रोतबाट प्राप्त हुने आम्दानी घट्दै जाने स्थिति र आन्तरिक उत्पादनको ठिट लाग्दो अवस्थाले सार्वभौमिकता नै धर्मराउने अवस्था निम्त्याउने थियो ।

बन्दाबन्दी, एकान्तवास, सामाजिक दुरी कायम राख्ने विषय प्रतिरोधात्मक उपचार विधि प्राप्त नहुन्जेल जतिसुकै स्वतन्त्रताको विगुल फुके पनि पण्डितले ‘कितावको माछा पो खान नहुने, खनेलाको त भैहाल्छ’ भने जस्तै हो । त्यसका अतिरिक्त राज्यले सबै जनताको परीक्षण गराउने व्यवस्था, स्वास्थ्यकर्मीहरको रक्षकवचको सुनिश्चित व्यवस्था गरिनु पर्दछ । सुरक्षा लगायत राहतका काममा संलग्न भएकाहरुको लागि जोखिम बीमाको व्यवस्था हुनुपर्छ ।

कोरोनाको प्रकृति हेर्दा निश्चित तापक्रमभन्दा बढीमा कम संक्रमण हुने, उमेर समूहमा पाका र वालवालिका बढी प्रभावित हुने, जमघट, भिडभाड र सामान्य सम्पर्कबाट पनि संक्रमण बढ्ने अनुभवका आधारमा बच्ने उपायहरु निर्क्यौल गर्न सकिन्छ । शीघ्र भएको उपचार विधिको अभाव र सो खोप (भ्याक्सीन) प्राप्त गर्न समय लाग्ने मान्यताका आधारमा आचार व्यवहारमा निश्चित समयसम्म संयममा रहनु नै असल उपाय हो भनी पूर्व र पश्चिममा सबै विज्ञहरुले सुझाएका छन् ।

माथि उल्लेख गरिएका बन्दाबन्दी, एकान्तवास, सामाजिक दुरी कायम राख्ने विषय प्रतिरोधात्मक उपचार विधि प्राप्त नहुन्जेल जतिसुकै स्वतन्त्रताको विगुल फुके पनि पण्डितले ‘कितावको माछा पो खान नहुने, खनेलाको त भैहाल्छ’ भने जस्तै हो । त्यसका अतिरिक्त राज्यले सबै जनताको परीक्षण गराउने व्यवस्था, स्वास्थ्यकर्मीहरको रक्षकवचको सुनिश्चित व्यवस्था गरिनु पर्दछ । सुरक्षा लगायत राहतका काममा संलग्न भएकाहरुको लागि जोखिम बीमाको व्यवस्था हुनुपर्छ ।

सुरक्षात्मक अवस्थामा रहन प्रचार, प्रसारमा निरन्तरता दिनु पर्छ । विषय वस्तु प्रस्तुत गर्ने पात्रहरुमा विषय विज्ञ, उपचारबाट निको भएका व्यक्तिहरुको अभिव्यक्ति प्रभावकारी हुन्छ । विविध क्षेत्रमा सामाजिक प्रतिष्ठा कमाएका व्यक्तिहरुको प्रवचनले सर्वसाधारलाई आश्वस्त पार्न सघाउँछ । सबैभन्दा बढी त तथ्य सत्य सूचनाको प्रवाह निरन्तर रहनु र मानवीय धर्म सम्झेर सरकारबाट चालिएका कदमहरु निष्पक्ष र समावेशी गर्न गराउन सक्नु पर्दछ । मनोवैज्ञानिक रुपले कमजोर बन्न पुगेको नेपालीको मानसिकता, खास गरी औद्योगिक राष्ट्रहरुमा घटित घटनाको परिणामबाट हतोत्साहित हुनबाट सरकारले रोक्न सक्नु पर्दछ । सुदृढ मनोवल भएको व्यक्तिले नै सकृय जीवनबाट कृयाशील जिम्मेवारी निर्वाह गर्न सक्छन् ।

कोरोनाको बढी असर शरीरमा प्रतिरोध क्षमताको अभावले पनि हुने गर्छ भन्ने मान्यता छ । पूर्वीय चिकित्सा पद्दतिले स्थापित गरेका जडीबुडी, कन्दमूल आदिको सेवन र शरीर खास गरी श्वास, प्रश्वाससँग सम्बन्धित अङ्गलाई न्यायो राख्नु जरुरी ठानिन्छ । दन्केर्तो (एक प्रकारको उनियो जात), अजिर्णका निम्ति अचुक औषधि गुर्जो विभिन्न शारीरिक विकार विरुद्ध उपचारयोग्य वस्तु र कालो हलेदो, यार्सागुम्बा प्रतिरोध क्षमता बढाउने वस्तुमा पर्दछन् । परम्परागत यस्ता जडीबुटी संकलन, प्रशोधन र प्रयोगमा ल्याउन सके अन्य चिकित्सकीय औषधीभन्दा अनपेक्षित र नकारात्मक असर शुन्य हुने र रोगीलाई फाइदा पुग्ने हुन्छ ।

प्रविधिको प्रयोग अर्को उपाय हो संक्रमण न्यूनीकरण गर्ने । चीनले नै संक्रमणको हुरिकाबीच परीक्षण गर्ने, संक्रमितको उपचारमा सेवा पुर्याउने जस्ता कार्यमा ‘कृतिम बौध्दिकता’को प्रयोग गरेको जानकारी सार्वजनिक भएको छ । त्यसैगरी, दक्षिण कोरियामा कोरोनाको महामारी चीनपछि लगत्तै शुरु भएपछि संक्रमित र हताहतिको संस्था कम हुनुमा ‘कृतिम बौध्दिकता’ सम्बन्धि उपकरण प्रयोगमा ल्याएको परिणाम दावी गरिएको छ । तर, सुनिश्चित परिणामका लागि संक्रमितको ‘रगतको प्लाज्मा’बाट खोप तयार गर्नुको विकल्प छैन ।

नेपालमा कोरोनाको आर्थिक प्रभावको आँकलन गर्नु समय नभएको ठानिँदै छ । तै पनि एशियाली विकास बैंकले कूल गार्हस्थ उत्पादनको एक तिहाई अंश घट्ने जनाएको छ । त्यस्तै, चालु आर्थिक वर्ष बढीमा २.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान विश्व बैंकको छ । पर्यटन र यातायात क्षेत्रमा बन्दाबन्दीका कारण २० लाखभन्दा बढीले रोजगारी गुमाउने अवस्था छ । चालु आर्थिक वर्षको ८ महिनासम्म ८ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा छ । गत वर्षको यसै अवधिको तुलनामा विप्रेषण १.८ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । चालु खाता (वस्तु व्यापार, सेवा र रकम ट्रान्सफरको योग) उक्त अवधिमा १ अर्ब २५ अर्ब रुपैयाँ बराबर घाटामा छ । विदेशी मुद्राको संचिति पौने ९ महिनाका लागि पर्याप्त हुने वस्तु र सेवा आयात गर्न सक्ने रकम छ । यी सबै अवस्था मौजुदा रहँदा अन्तर्राष्ट्रिय मुद्राकोषले अल्पविकासित देश (नेपालसहित) हरुको ऋण मिनाहा वा पछि तिर्ने व्यवस्था गरिरहेकै बेला नेपाल सरकारले सहयोगका शर्त खुकुलो बनाउन, रकम बढाउन अनुरोध गरेको छ । बहुउद्देश्यीय वित्तीय संस्थाहरु (विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक) बाटै सहायता मिलेपनि द्धिपक्षीय (मुलुकहरुबाट) थप सहायताको सम्भावना कोभिड–१९ ले कम गरिदिएको छ ।

विश्व अर्थतन्त्रमा ३ प्रतिशतको संकुचन आउने आकलन अन्तराष्ट्रिय मुद्रा कोषले गरेको छ । साथै, संसारका सरकारको कुल राजश्व २.५ ग्रार्हस्थ उत्पादनको २.५ प्रतिशत मात्र उठ्ने आँकलन गरिरहँदा खर्च भने प्रत्यक्ष बजेटबाट ३३ खर्ब डलर, जमानतबाट २.७ अर्ब डलर, स्वपुँजी र सार्वजनिक क्षेत्र ऋणबाट १ खर्ब ८० अर्ब र शर्तसहितको दायित्व २ खर्ब ७० अर्ब डलर खर्च गर्ने अनुमान गरेको छ ।

विश्वकै प्रख्यात ठानिएको वाल स्ट्रिट स्टक बजार सन् २००८ को आर्थिक मन्दीभन्दा पनि तल झरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य सन् १६९१ को खाडीयुद्धका बेलाको भन्दा पनि खस्किएको छ । उपभोक्तालाई सहुलियत हुने देखिए पनि दीर्घकालिन अवधिसम्म आपूर्ति निरन्तर हुने कुरामा लागत बढी, आम्दानी कम हुने कारणले शंका उत्पन्न भएको छ ।

रोजगारीमा प्रतिकूलता, व्यापार प्रवाहमा संकुचन जस्ता कारणहरुले अर्थतन्त्रलाई धान्न चुनौतिपूर्ण छ । कोरोनाको सामना गर्न अख्तियार गरिने रणनीतिमा राष्ट्रहरुबीच मतैक्य नभएका कारण सो भाईरसको अंक कुनै कुनामा रहेको महामारीको रुपमा संक्रमण हुने प्रवृत्तिलाई ध्यानमा राख्दा स्वास्थ्य क्षेत्र ज्यादै जोखिममा देखिन्छ । फेरि व्यक्ति र मुलुकहरु स्वकेन्द्रित हुने प्रवृतिले अन्ततः मानवजातिकै प्रलयको संकेत देखिन्छ । सुक्ष्म जीवाणुको औषधीको आविष्कार भए पनि अर्काथरी जीवाणुसँगको मिलनले नयाँ समस्या सिर्जना हुने सम्भावना रहन्छ ।

विश्वले यो चुनौती समस्त मानव जातिको (अझ–पशुमा पनि संक्रमण देखिँदा) र चराचर जगतको हितका लागि जलवायु परिवर्तन, प्राकृतिक प्रकोप आदिबाट पर्ने नकारात्मक प्रभावको समाधान खोज्न संयुक्त प्रयासमा लाग्न आवश्यक छ । सम्पन्न राष्ट्रहरु अन्तरिक्षयानको होडवाजीमा लागिरहेका बेला हिजोसम्म संयुक्त रुपमा संचालन गरिएका अन्तरिक्ष कार्यक्रम छुट्याई आ–आफ्नै पद्धतिबाट अघि बढे्ने प्रयासहरु बढिरहेका छन् ।

त्यसैले विश्वले यो चुनौती समस्त मानव जातिको (अझ–पशुमा पनि संक्रमण देखिँदा) र चराचर जगतको हितका लागि जलवायु परिवर्तन, प्राकृतिक प्रकोप आदिबाट पर्ने नकारात्मक प्रभावको समाधान खोज्न संयुक्त प्रयासमा लाग्न आवश्यक छ । सम्पन्न राष्ट्रहरु अन्तरिक्षयानको होडवाजीमा लागिरहेका बेला हिजोसम्म संयुक्त रुपमा संचालन गरिएका अन्तरिक्ष कार्यक्रम छुट्याई आ–आफ्नै पद्धतिबाट अघि बढे्ने प्रयासहरु बढिरहेका छन् ।

कतै शारीरिक दृष्टिले सुसंगठित केही दर्जन जोडीहरुलाई कोभिड–१९ बाट जोगाउन भनी अन्तरिक्षमा लामो अवधिका लागि पठाउँदै त छैनन् ? यदि त्यसो हो भने जसरी वैज्ञानिक उपलब्धिको उच्च तहमा पुगेको भनिएको देशहरु पनि कोरोनाको प्रतिकारमा असफल भएका छन् । त्यस्तै, नतिजा उक्त अभ्यासको पनि हुन सक्नेछ । समस्त मानव एवम् प्राणी जगतका लागि घातक ठहरिएको कोरोनाको प्रतिकारद्धारा दिगो समाधान खोज्ने उपाय अन्तर्राष्ट्रिय सहकार्य र सहयोग बढाउनु नै हुनेछ ।

कोरोना भाइरसका असरहरुको मूल्याङ्कन गर्दा केही सकारात्मक प्रभावहरु पनि देखिएका छन् । वातावरण प्रदुषणमा प्रत्यक्ष असर परेको दावी गरिएको छ । हुन पनि पेट्रोलियम पदार्थबाट चल्ने (गुड्ने, उड्ने) सबै प्रकारका साधनबाट उत्र्सजन हुने कार्बोन शुन्य हुँदा आकास सफा देखिने, नदीनाला प्रदुषणरहित भएका दृष्टान्तहरु प्रकाशमा आएका छन् । त्यस्तै, जंगली जनावर र मानव सम्बन्धमा पनि अन्तर आएको छ । अफ्रिकी मुलुकमा सिंहहरु दिन दहाडै सडकको बीचमा विचरण गर्न थालेका छन् । नेपालमै पनि पाटे बाघ जंगलबाट बस्तीतिर निर्भिकताका साथ ओहोर–दोहोर गरेका घटना प्रकाशमा आएका छन् । मानव र खास गरी सवारीका साधनको चहलपहलमा शुन्यता आएपछि त्रासको वातावरण न्यून हुन जाँदा जंगली जनावरमा आँट बढेको अनुमान गरिन्छ ।

कोरोनाका कारण मानवीय व्यवहारमा ठूलो परिवर्तन देखिएको छ । आत्मकेन्द्रित र आत्म सुरक्षाको प्रभूत्वले गर्दा अपनत्वमा ह्रास आई संवेदनहिनतामा व्यवहार परिणत हुँदै गएको छ । नेपालमा पहिलो संक्रमित भनी घोषित भएकी युवतीले विदेशबाट फर्केर आफैं परीक्षण, एकान्तवासमा प्रवन्ध मिलाईए पनि समुदायले अवाञ्छित तत्वका रुपमा व्यवहार गर्ने दुष्कार्यको शिकार भएको अनुभव पोखिन् । संक्रमित व्यक्तिलाई प्रविधिको माध्यमबाट खाद्य सामाग्री उपलब्ध गराउने, उपचार गराउने कार्यले सेवा पाउनेले गर्ने अनुभूति मानवीय सम्वेदनाभन्दा विल्कुलै फरक र निरस भएको हुनु पर्दछ ।

स्वास्थ्य परीक्षणको इतर क्षेत्रमा सोच सकारात्मक हुनुपर्ने, स्वभाव र व्यवहार सकारात्मक हुनुपर्छ भनी आत्मरुपमा उपदेश दिईएको हुन्छ । तर, कोरोनाको दुष्प्रभावले ‘नकारात्मक’ शब्दावलीलाई ‘प्रिय’को तहमा ल्याइदिएको छ । परीक्षणमा कसैको नतिजा ‘सकारात्मक’ निस्कियो भने सो व्यक्तिबाट सबै भागाभाग, सम्बन्ध छुटाउने कुरा आम भएको छ । भाइरसको उपचारका संलग्न स्वास्थ्यकर्मीले डेरा, वासस्थान नपाउनु, त्यति महान कार्यमा सरिक भएका व्यक्तिको पनि त्यो हाल हुन्छ भने मानवीय संवेदनशीलताको पतनको कसरी आँकलन गर्ने ? अतः कोरोनाको व्यापकताको आलोकमा स्वास्थ्य परीक्षणको नतिजा ‘नकारात्मक’ जस्तै आनन्ददायक हुन्छ, सदा स्वीकार्य ‘सकारात्मक’ त्यतिकै घातक मानिने भाष्य स्थापित हुन पुगेको छ ।

चर्चाचल्ने गर्छ–मानव विकासको यो शिखरमा पुर्याउन योगदान दिने सबै बुज्रुकलाई अदृश्य रुपमा सकृय रहेको जिवाणुले लल्कारिरहेको छ । मानव सभ्यता नै जोखिममा पारिदिने आभास प्राप्त हुँदैछ । दरबार र घरानीयालाई कम, झुपडी र घनावस्तीमा बस्नेलाई बढी प्रभावित गर्ने देखिए पनि आम रुपमा वर्ग, लिङ्ग, ओहोदाको विभेद नराख्ने कोरोनालाई ठेगान लगाउन सामूहिक प्रयासको संस्कृति आवश्यकताको बोध भएको छ । यस्तो मानवजातिको संकटमा परेको अनुभूति हुँदाहुँदै पनि नितान्त निहित स्वार्थका निम्ति विभिन्न उपलब्धिको अहंकार गर्नु मानव जातिको हितमा पिठ्यु फर्काउनु हो । विकसित मुलुकमा पनि दैनिक प्रयोग गर्ने औषधी पाउन घण्टौं पंक्तिमा उभिनु परेका चित्रहरु छापिने गरेका छन् । अल्प विकासीत देशमा बन्दाबन्दीको कारणमा अनिश्चित रोजगारीले थप संवेदनशीलता विद्यमान भए पनि अन्तिम नतिजा ‘इहलिला’ त्याग गर्नु नै हो । संख्या नियाल्ने हो भने स्वतन्त्रताको दुहाई दिने देशहरु तुलनात्मक रुपले ‘संयम’ धारण गर्ने देशको भन्दा हताहतिको दर धेरै बढी देखिएको छ ।

विगतका संक्रमणभन्दा नौलो पाइएको कोरोना प्रमाणित उपचारको अभावमा मानवजातिकै विनासको कारक बनेकोमा विश्वका सबै महादेशका २ सय १० भन्दा बढी देश प्रभावित भएका छन् । तीन हप्ता जति सकृय रहने सो भाइरस चुनौतिका रुपमा उपस्थित छ । सहभागिता, सहकार्यमा सकृयता राखिने प्रकृयामा एकान्तवास, सामाजिक दूरी कायम राख्ने, बन्दाबन्दी जस्ता कार्यबाट कोरोनाको प्रभाव न्यूनिकरण गर्न प्रभावकारी ठहरेपछि विश्वव्यापी प्रयोगमा रहेको पद्धति केही राष्ट्रमा विरोध भएको पाइएको छ । मानवजाति माथि चुनौतिपूर्ण रुपमा खडा भएको कोरोना आर्थिक विकास, रोजगारी जस्ता कारकमा प्रतिकुल सावित भएको छ । राजनीतिसँग पनि साइनो जोड्न साँघुको रुपमा रहेको कोरोनाको चित्त बुझ्दो समाधान प्राप्त भैनसकेको अवस्थामा परम्परागत जडीबुटीको प्रयोगले प्रतिरोध क्षमता बढाउन सक्ने देखिए पनि अन्य जीवाणुसँगको मिश्रणबाट थप चुनौतीका रुपमा देखिन सक्ने संभाव्यता भएकाले सम्पूर्ण मानवजाति संयुक्त रुपले उभिनु आवश्यक छ ।

(लेखक राष्ट्रिय याेजना आयोगको पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट बैंकको पूर्व गभर्नर हुनुहुन्छ । विकासन्युजको विशेष अनुरोधमा प्राप्त यो लेख अप्रतिस्प्रधीको रुपमा प्रकाशन गरिएको छ ।)- सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X