मानव जातिको घमण्ड र अभिमान माथि प्रहार

  २०७७ वैशाख २० गते २२:०४     भावना पौडेल

कोरोना नामको महामारी सारा विश्वभरमा फैलियो ।
बल्ल प्रकृतिले मानव जातिको सामर्थ्यलाई तौलियो ।।
शक्तिको घमण्ड गर्ने देशको पनि होसहवासै उडी गयो ।
कालका लागि सबै श्रेणीका मानिस समान भएर गयो ।।

आणविक शक्ति भएका देशको पनि केही जोर लागेन ।
धनको धाक देखाउनेबाट पनि ऊ डराई कदापि भागेन ।।
दियो ठाडै चुनौती यस संसारमा मै हुँ भन्ने सबैलाई ।
बल्ल हार मान्ने बनाईदियो सबै वैज्ञानिक उपलब्धिलाई ।।


सारा मानव जातिलाई दियो यसले अति नै धेरै कष्ट ।
मानव अस्तित्वमा नै ल्यायो यसले नसोचेको संकट ।।
ठप्पै बनायो सबैको यसले त संसारभरको जनजीवन ।
आफ्नो शत्रुझै ठान्यो यसले सारा मानव जीवन ।।


सारा मानव जातिलाई दियो यसले अति नै धेरै कष्ट ।
मानव अस्तित्वमा नै ल्यायो यसले नसोचेको संकट ।।
ठप्पै बनायो सबैको यसले त संसारभरको जनजीवन ।
आफ्नो शत्रुझै ठान्यो यसले सारा मानव जीवन ।।

एउटा सिक्काको दुईवटा पाटा सँधै अवश्य हुन्छ ।
सुन्दर कमलको फूल सँधै हिलोमा नै फूल्दछ ।।
ढुङ्गाको काँप फोरेर नै पीपल सँधै फस्टाएर उम्रन्छ ।
मानिस चुप लागि घरमा बस्दा नै बाहिर प्रकृति रमाउँछ ।।

आज पनि फूलहरु हिजो झैँ ढकमक्क फूल्न फूलेका छन् ।
टुडिँँखेलको चउरमा चीलहरुले रमाई बस्न पाएका छन् ।।
वसन्त ऋतुमा कोईलीले वनमा सुमधुर गीत गाएका छन् ।
वनमा जीवजन्तु सबै निस्फिक्रीसँग रमाएका छन् ।।

भेला भई घरमा सबैजना बात मार्न पाएका छन् मस्त ।
सन्तानसबै नजिकहुँदा भुलेका छन् पहिलोपुस्ताले सबै चिन्ताकष्ट ।।
यन्त्रझै चलेको यो जीवनले केहीदिन बल्ल विश्राम पायो ।
चारैतिर वनमा फूल फूल्दा रमाईलो वसन्त ऋतु आयो ।।

यही हो समय साथी हो हामी सबै प्रकृति तिर फर्कने ।
हाम्रो पालक प्रकृतिलाई सदैब स्याहार संरक्षण गर्ने ।।
सबै जीवजन्तु वनस्पतिको महत्व र योगदानलाई बुझ्ने ।
वसुधैब कटुम्बकमको मन्त्रलाई संसारमा फिँजाउने ।।

लेखक

चीनबाट सुरु भएको कोरोना भाइरसले वर्तमान समयमा सारा विश्वलाई आक्रान्त र पीडित बनाएको छ । संसारका हरेक देश र समाज समयको विभिन्न कालखण्डमा महामारीको त्रासदीबाट गुज्रिएर आएका छन् । घुमन्ते–फिरन्ते जीवनशैलीबाट मानव समाज कृषि अर्थतन्त्रतर्फ फड्किएपछि महामारी अस्तित्वमा आएको पाईन्छ । कृषि अर्थतन्त्रसँगै स्थायी तथा घना बस्तीको विकास तथा जनावरहरुलाई घरपालुवा बनाउने चलनको थालनीसँगै महामारी अस्तित्वमा आएको पाईन्छ । बिफर,  क्षयरोग, औलो, प्लेग, दादुरा, हैजा, फ्लु , एचआईभी एड्सजस्ता सरुवा रोग मानिसले जनावरबाटै ग्रहण गरेका हुन् । पछिल्लो समय चीनको बुहानबाट फैलिएको कोरोना भाइरस पनि चमेराबाट मानिसमा सरेको बताईन्छ ।
कोरोना महामारीको विश्वव्यापी अवस्था भयावह रहेको पाईन्छ । दैनिक हजारौ व्यक्तिहरु यसको शिकार भई मृत्युवरण गरिरहेको समाचार निरन्तर रुपमा आईरहेको छ । युरोपीय देशहरु तथा अमेरिकालाई यसले बढी प्रताडित गरिरहेको पाईन्छ । विगतमा पनि यी देशहरुमा महामारीले विकराल रुप लिएको इतिहास रहेको हुँदा वर्तमान समयमा पनि यस कोरोना महामारीले पिरोलेको पाईन्छ । इतिहासमा विभिन्न समयमा फैलिएको प्लेग , इन्फ्लुऐन्जा तथा अन्य महमारीहरुले यस क्षेत्रमा बढी नै प्रभावित गरेको पाईन्छ । औषधीको आविष्कार तथा निर्माण अझै नभएको हुँदा यसको प्रभाव बढ्दै गईरहेको छ । मानिसहरुमा मनोवैज्ञानिक भय र त्रास दिनानुदिन वृद्धि भईरहेको छ । भय र भ्रम सिर्जना गर्ने मानिसहरुले मनोवैज्ञानिक त्रास फैलाउन खोजेको पनि पाईन्छ ।

संसारभरिको महामारी नियाल्ने हो भने यसले गाउँभन्दा बढ्ता सहरलाई तारो बनाउने गरेको पाईन्छ । पछिल्लो समय राज्य तथा जनता सबैको ध्यान शहरीकरणतर्फ केन्द्रित छ । महामारीको यस समयमा भौतिक पूर्वाधार लगायत सेवा सुविधा र अवसरको समुचित विकेन्द्रिकरण मार्फत गाँउलाई सुविधासम्पन्न तुल्याएर सहरको विकल्पको रुपमा प्रस्तुत गर्ने विकासको वैकल्पिक ढाँचाबारे बहस आरम्भ गर्नु पनि आवश्यक छ । नेपालमा विगतमा विफर, हैजा, लुतो, पिलो आदि तथा अन्य विभिन्न रोगहरुको महामारी फैलिई हजारौ मानिसहरुको ज्यान जाने गरेको इतिहास रहेको पाईन्छ । वर्तमान समयमा विभिन्न रोगहरुको औषधी पत्ता लागेर महामारी तथा मृत्युमा कमी आएता पनि विभिन्न समयमा रुघाखोकी तथा झाडापखालाको महामारी फैलिई मानिसहरुले ज्यान गुमाउन परेको समाचार विभिन्न समयमा आइ नै रहेको हुन्छ । महामारीसँग हामी पनि इतिहासदेखि नै परिचित रहँदै आएका छौँ । इतिहासमा हामीले महामरीको त्रासदीलाई बारम्बार बेहोर्यौ, जसको प्रभाव ऐतिहासिक दस्तावेज र हाम्रो सामाजिक मनोविज्ञानमा यत्रतत्र अभिलिखित छन् ।

विभिन्न ग्रहहरुको खोज तथा अनुसन्धान गरेपनि, अन्तरीक्षमा सयर गरेपनि,आखिर बस्ने त यस पृथ्वीमा नै हो । त्यसैले अन्तलोकको धेरै खोजबिन गर्नुभन्दा यस पृथ्वीको संरक्षण गर्नु र सम्पूर्ण मानव जातिको स्वास्थ्यका लागि लागीपर्नु आजको आवश्यकता र मुख्य चुनौती हो ।

यस महामारीले विश्व समुदायमा ल्याएको मुख्य चुनौती भनेकै विज्ञानको उपलब्धी भन्दा प्रकृतिको शक्ति तथा न्याय ठूलो भएकाले वैज्ञानिकहरुले आफूले आँफैलाई प्रमाणित गर्ने समय आएको छ । यस महामारीले नेपालको सामु पनि प्रशस्त चुनौतीहरु पेश गरेको छ । विप्रेषणमा आधारित रहेको नेपालको अर्थतन्त्र परनिर्भरतामा गईसकेको अवस्थामा अब केही सोच्नैपर्ने समय आएको छ । विभिन्न प्रकारका राजनैतिक चुनौती, सामाजिक चुनौति तथा आर्थिक चुनातीहरु यस महामारी सिर्जना गर्ने भएकाले त्यस विरुद्ध लड्न सारा विश्व एकजुट हुन आवश्यक रहेको छ । विभिन्न ग्रहहरुको खोज तथा अनुसन्धान गरेपनि, अन्तरीक्षमा सयर गरेपनि,आखिर बस्ने त यस पृथ्वीमा नै हो । त्यसैले अन्तलोकको धेरै खोजबिन गर्नुभन्दा यस पृथ्वीको संरक्षण गर्नु र सम्पूर्ण मानव जातिको स्वास्थ्यका लागि लागीपर्नु आजको आवश्यकता र मुख्य चुनौती हो । ठूलाठूला वैज्ञानिक उपलब्धिहरुको घमण्डमा मत्त भएको समग्र मानव जातिको निम्ति यो महामारी चुनौतीको रुपमा रहेको छ ।

साँढेको जुँधाई बाच्छालाई मिचाँई भनेझै ठूला तथा शक्तिसम्पन्न देशहरुको गल्तीको परिणाम आज सारा विश्वले भोग्नुपरेको छ । आज मानव अस्तित्व नै खतरामा परेको छ । प्रकृति भन्दा ठूलो र विद्वान यस विश्वमा कोही पनि छैन भनेर सबैले बुझ्न आवश्यक रहेको छ । आणविक शक्तिको प्रतिस्पर्धा र अत्याधुनिक हातहतियार निर्माणमा मात्र ध्यान दिदा शक्ति राष्ट्रहरु स्वास्थ्यको क्षेत्रमा पूर्णरुपले चुकेको देखिन्छ । यस महामारीले सारा विश्वमा आर्थिक हानी गरी आर्थिक मन्दी ल्याउने निश्चित रहेको छ । यसले नेपाली अर्थतन्त्रमा नराम्राे असर पार्ने निश्चित रहेको छ । विप्रेषणमा आधारित रहेको नेपाली समाज तथा अर्थतन्त्रमा यसले नराम्ररी प्रहार गर्ने निश्चित रहेको छ । विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग नगरी उपभोग क्षेत्रमा प्रयोग गर्ने प्रवृतिले गम्भिर असर पार्ने देखिन्छ । कुनैपनि देशको लागि विप्रेषण दिगो स्रोत होईन भनी बुझ्नुपर्ने समय आएको छ । यसको राम्रो उदाहरणको रुपमा हामीले दक्षिण कोरियालाई लिन सक्दछौ । दक्षिण कोरियाका जनता सन् १९६० को दशकसम्म खाडी देशमा काम गर्न जान्थे । तर पछि उनीहरुलाई विप्रेषणका बेफाईदाका बारेमा बोध भएपछि आफ्नो देशको आन्तरिक स्रोतहरुलाई परिचालन गरेर देशको विकास गरे । वर्तमान विश्वमा संसारका कुनै पनि देश सबै कुरामा आँफैमा आत्मनिर्भर छैन । अब सबै देशहरुले आआफ्नो आन्तरिक स्रोत साधनहरुको परिचालन गरेर सकेसम्म आत्मनिर्भर हुने समय आएको छ ।

विभिन्न कालखण्डमा देखापर्ने विभिन्न प्रकारका महामारीहरुले मानव सभ्यता र संस्कृतिमा अलग अलग असरहरु पार्दछन् । वर्तमान समयमा देखा परेको कोरोना महामारीले मानव अस्तित्व माथि नै प्रहार गरेको पाईन्छ । आणविक शक्ति तथा अत्याधुनिक हातहतियारमा प्रतिस्पर्धा गर्ने देशहरुलाई कोरोनाले गतिलो पाठ सिकाएको छ । यस महामारीले मानव जातिको भविष्य तथा अस्तित्व माथि नै चुनौती तथा प्रश्न चिह्न खडा गरेको छ । मानव जातिको घमण्ड र अभिमान माथि प्रहार गरेको छ । आणविक शक्ति र अत्याधुनिक हातहतियारको धाक दिने मानिसलाई एउटा भाइरसले फतक्कै गलाएको छ । सम्पूर्ण मानव सभ्यताको निम्ति यस महामारीको निर्मूल आवश्यक रहेको छ । मानव जातिको भविष्यमा पनि चुनौती थपिएको छ । वर्तमान पुस्ता स्वस्थ्य भएमात्रै भविष्यका पुस्ता स्वस्थ्य हुन्छ भाि आजै बुझ्न आवश्यक रहेको छ ।

हरेक सिक्काको दुईवटा पाटाहरु भएजस्तै यस कोरोना महामारीको नकारात्मक पाटा मात्र छैन । यसका धेरै सकारात्मक पाटाहरु पनि छन् । जसकाबारे चर्चा गर्नु आवश्यक रहेको छ । वातावरण कोलाहल मुक्त भएको छ । हावापानी स्वच्छ भएका छन् । काठमाण्डौँ सहरको मध्य भागमा अवस्थित टुँडिखेलमा चील आएर बस्नु सुखद लक्षण हो । अन्धाधुन्ध सहर विस्तारका क्रममा हामीले जीवजन्तुहरुको वासस्थान नाश कुन हदसम्म गरेका रहेछौँ भन्ने कुरा आज जीवजन्तुहरु खाली सडकमा आएर डुलेपछि थाहा पायौँ । सबै उद्योगधन्दा तथा कलकारखाना बन्द भएका कारण प्रदूषण पनि बन्द भएको छ । यो विश्व भनेको केवल मानव जातिको मात्र होईन । सम्पूर्ण प्राणी तथा वनस्पतिको पनि हो । विकासका नाममा हामीले नाश गरेका वनजंगललाई फेरी ब्युँताउने समय यही नै हो । हामी नाशेका वरपीपलका चौतारीलाई फेरी स्याहार्ने समय यही नै हो । मानिसहरु सबै घरभित्र बस्न बाध्य भएको यस समयमा बाहिर प्रकृति रमाएको छ । वायु प्रदूषण बन्द भएपछि हावा, पानी, माटो, आकाश सबै स्वच्छ र सफा भएको हामीले देख्न र भोग्न पाएका छौँ । यसबाट हामी सबैले यो अवश्य थाहा पायौ कि हामीले प्रकृतिको कति दोहन गरेर अत्याचार गरेका रहेछौ । जीवजन्तु, पशुपंक्षी आदिको बासस्थानको विनाश गरेर आफ्ना लागि मानवले जुन भौतिक निर्माणको कार्य गरेको छ त्यसमा मानवको उपस्थिति नभएपछि पुन उनीहरुले विचरण गर्नु स्वाभाविक नै हो । भारतको पञ्जावबाट दुईसय पचास किलोमिटर टाढा रहेको हिमाञ्चल प्रदेशमा अवस्थित हिमाल देखिन छाडेको ३० वर्ष भईसकेको रहेछ । कोरोनाको महामारीका कारण लकडाउन सुरु भएपछी प्रदूषण पनि बन्द भयो । जसका कारणले हिमाल प्रष्ट देखिन थाल्यो । यो कोराना महामारीको सकरात्मक पाटो हो ।

यो सूचना प्रविधि र हतारको युगमा कसैले कसैलाई दिने समय हुदैँनथ्यो । यो कोरोना महामारीले सबैलाई घरमै बस्न बाध्य बनाएपछी परिवारका सबै सदस्य घरमै हुने समय हो । एक अर्कालाई बुझ्ने र मायाप्रेम बाँड्ने समयको रुपमा यसलाई सदुपयोग गर्न सकिन्छ । एक पुस्ता र अर्को पुस्ता बिच हुने मत र विचार भेदलाई मेटाउन सकिन्छ । यान्त्रिकीकरण भईसकेको हाम्रो जीवनमा फेरी मानवीय मूल्य मान्यतालाई जगाँउन सकिन्छ । अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा ज्ञान र जीवनउपयोगी सिप सार्ने समय पनि यही नै हो ।

अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाबाट बच्ने मुख्य उपाय भनेकै प्राकृतिक जीवनशैली तिर फर्कनु हो । धुम्रपान , मध्यपान आदि जस्ता कुलतहरुलाई त्यागेर शाकाहार तथा सात्विक भोजन गर्नु नै उत्तम उपाय हो । वनजंगल तथा वातावरणको संरक्षण गर्नु आजको आवश्यकता हो । शुद्ध सात्विक भोजन , नियमित व्यायाम , योगाभ्यास , प्राणायाम , ध्यान आदिलै नै स्वस्थ्य जीवन जीउन सहयोग पुग्दछ । यसका साथै पारिवारिक तथा सामुदायिक सरसफाईमा पनि आवश्यक ध्यान पुर्याएमा कुनै पनि रोगव्याधिले मानिसहरुलाई सजिलै आक्रमण गर्न सक्दैन । जङ्क फुड (तयारी खाना)लाई आजैदेखि त्यागेर अघि बढ्न सक्नुपर्दछ । स्वस्थ खानपान तथा स्वस्थ रहनसहनले नै शरीरलाई स्वस्थ बनाउन सहयोग पुर्याउँदछ ।

 

ढिँडो, गुन्द्रुक, भुटेको मकै, भट्मास, सिस्नोको साग, गहत आदि जस्ता खाद्यपदार्थलाई विगतमा हेय दृष्टिले हेरिन्थ्यो । यसलाई विपन्न वर्गको भोजनको रुपमा लिईन्थ्यो । तर आज अवस्था फेरिएको छ । यी खाद्यपदार्थहरुको महत्व बुझेपछि सम्पन्नहरुको भान्सा तथा भोजनमा यिनीहरुले प्रवेश पाएका छन् ।

ढिँडो, गुन्द्रुक, भुटेको मकै, भट्मास, सिस्नोको साग, गहत आदि जस्ता खाद्यपदार्थलाई विगतमा हेय दृष्टिले हेरिन्थ्यो । यसलाई विपन्न वर्गको भोजनको रुपमा लिईन्थ्यो । तर आज अवस्था फेरिएको छ । यी खाद्यपदार्थहरुको महत्व बुझेपछि सम्पन्नहरुको भान्सा तथा भोजनमा यिनीहरुले प्रवेश पाएका छन् । घरमा मकै भुटेर खाँदा लज्जाको अनुभव गर्ने तर बाहिर भुटेको मकै पप्कर्नको नाममा किनेर खाने प्रवृति भएका व्यक्ति पनि छन् हाम्रो समाजमा । परिश्रम के्ही नगर्नाले मानिसहरुमा रोग प्रतिरोधको क्षमता दिनानुदिन घटिरहेको छ । विषादी मिश्रित दूषित खाद्यपदार्थले मानिसहरुको शरीर कमजोर बनाईरहेको छ । यही समय हो प्राकृतिक भोजन मात्र खान सुरु गर्ने ।

हामीले महाभारत महाकाव्यका पात्रहरुमध्ये एक पात्र अश्वत्थामाका बारेमा सुनेकै छौ । आफ्नो शक्तिको उन्मादमा उनले अभिमन्युकी पत्नी उत्तराको गर्भमा रहेको सन्तानको हत्या गर्न ब्रम्हास्त्र प्रहार गरे । जुन घोर पाप थियो । जसको परिणामस्वरुप उनको निधारमा रहेको दिव्य मणि छिनियो र अमर भए पनि सँधै पिप जमिरहने घाऊ सहित उनले जीवन बिताउनु पर्यो । यसप्रकारको अश्वत्थामा प्रवृति वर्तमान समयमा हाबी भएकाले नै कोरोना महामारीबाट सारा विश्व प्रताडित हुनुपरेको छ । आणविक शक्ति तथा अत्याधुनिक हतियारको फूर्ति गर्ने र धम्की दिने तर मानव स्वास्थ्यबारे अध्ययन अनुसन्धान नगर्ने शक्तिसम्पन्न देशहरुको गल्ती सारा संसारले भोग्नुपरेको छ ।

प्रकृति माथिको हस्तक्षेप र आक्रमण अब बन्द गरौँ
यो पृथ्वी हामी मानव जातिको मात्र नभई सारा जीवजन्तु , चराचुरुङ्गी , कीटपतङ्ग आदिकोको साझा सम्पत्ति हो । जलचर , थलचर, नभचर सबैको । जबसम्म हामी मानव जातिले आफ्नो कर्तव्यबोध गरेर यस पृथ्वीको संरक्षण गर्ने कार्यमा लाग्दैनौ तबसम्म हामीलाई आफूले आफैँलाई विवेकशील र सर्वश्रेष्ठ प्राणी भन्ने कुनै अधिकार पनि राख्दैनौ । आणविक शक्ति प्रदर्शन र घमण्ड गरेर मात्र भोक र रोगबाट मुक्ति कदापि पाईदैन भनेर बुझ्न आवश्यक रहेको छ । आजैदेखि प्रकृति संरक्षणमा नजुटे सबैको भविष्य अन्धकार रहेको छ । आफ्नो विभिन्न आविष्कार माथि घमण्ड गर्ने मानवमाथि प्रकृतिले व्यङ्ग गरेको छ । प्राकृतिक जीवनयापन गर्ने र प्रकृतिकोे सम्मान र संरक्षण गर्नु नै आजको आवश्यकता हो । अनावश्यक डर र त्रासलाई त्यागेर उच्च मनोबलको साथ रोग र महामारी विरुद्ध सबै एकजुट भई लड्नु वर्तमान समयको माग पनि हो । प्रकृतिलाई प्राथमिकतामा राखेर विकास निर्माण गर्नु नै आजको आवश्यकता हो । यो पृथ्वी सबै प्राणीको साझा यो भनि बुझ्न आवश्यक रहेको छ ।

यस महामारीले एकता र भाइचाराको सन्देश पनि दिएको छ । वसुधैव कुटुम्बकमको । प्रकृतिको शक्ति र न्याय भन्दा ठूलो केही छैन भनि सन्देश दिएको छ । वैश्विक एकता नै वर्तमान समयको आवश्यकता हो । स्वस्थ भावी सन्तति हुन स्वस्थ वर्तमान पुस्ता हुन अत्यावश्यक छ भन्ने सन्देश यस महामारीले दिएको छ । यस्ता महामारी त समयसमयमा आउछन् जान्छन् तर हाम्रो आत्मविश्वास र मनोबललाई सदैब बलियो र अडिग राख्न सक्नुपर्दछ । समयको विभिन्न कालखण्डमा विभिन्न प्राकृतिक प्रकोप तथा युद्धहरुले मानिसको विनाश गरेकै हो तर पनि यसबाट नडराई मानव जाति अघि बढेकै हुन् । त्यसैले सँधै जीत मानव जातिकै हुनेछ । हामीले महामारी समय समयमा आउँछ र गुज्रिएर जान्छ भनि बुझ्नुपर्दछ । महामारीले मानवीय क्षति गराए पनि मानव जातिको समग्र अस्तित्व माथि नै धावा बोल्न चाँही सक्दैन भनेर बुझ्नुपर्दछ । महामारीको अन्त्यपछि सुनौलो भविष्य हाम्रो अगाडी अवश्य खडा हुनेछ ।

बालकोट, भक्तपुर
poudelbhawana010@gmail.com

22 comments on "मानव जातिको घमण्ड र अभिमान माथि प्रहार"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.