काेराेना कहर र मान्छेकाे धरातल

  २०७७ वैशाख १७ गते १२:३६     नोदनाथ त्रिताल

कोरोना महामारी

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नामाकरण गरेको र कोरोना महामारी घोषणा गरेको यो एक प्रकारको नोवल सरुवा रोग हो । सन् २०१९ डिसेम्बरमा चीनको वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइरस संक्रमण तीव्र गतिमा विश्वव्यापी भएपछि यसले महामारीको रुप लिएको थियो । गत २०७६ मंसीर २७ गते चीनमा ४१ जना बिरामीमा अनौठो निमोनियाँ देखिएपछि त्यसको परिक्षण गर्दा नोबल कोरोना भाइरस संक्रमण भएको पौष १ गते अर्थात सन् २०१९ डिसेम्बर १७ तारिखमा पुष्टि भएको थियो ।

कोरोना भाइरस संक्रमणको सामान्य लक्षण भनेको सुख्खा खोकी लाग्नु, ज्वरो आउनु, सास फेर्न अप्ठेरो हुनु, टाउको दुख्नु, अलमल हुनु, घाँटी दुख्नु लगायत हुन् भने यो भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा मुख र नाकबाट निस्किएको पानीका ससाना थोपा तपाईका आँखा, नाक र मुखमा पुगेपछि अर्को व्यक्तिमा सर्दछ । बिरामीबाट निस्किएको र्याल टाँसिएको ढोकाका चुकुल, कलम, भर्याङ्जस्ता बस्तु छुँदा र हात मिलाउँदा पनि भाइरस फैलन सक्छ ।

कोरोना महामारीको विश्वयात्रा

पौष २८ गते चीनबाहिर थाइल्याण्डमा यसको पहिलो संक्रमण पुष्टि भएसंगै यसले विश्वयात्रा तय गरेको ठानिएको थियो । आजसम्म आइपुग्दा यो महामारीले दुई सय भन्दा बढी देशहरुमा प्रवेश पाइसकेको छ । यसै क्रममा नेपालमा पनि माघ १० गते चीनबाट आएका एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै माघ १२ गते चीनमा ७ सय ६९ जनामा कोरोना संक्रमण फेला पर्दा विश्वभरी दुई हजार ८ सय एक जनामा संक्रमण पुष्टि भइसकेको थियो । यता भारतमा माघ १६ गते पहिलो संक्रमण पुष्टि भएकै दिन विश्व स्वास्थ्य संगठनद्वारा जनस्वास्थ्य संकटकाल घोषणा गरेको थियो । माघ १९ गते चीनभन्दा बाहिर फिलिपिन्समा पनि कोरोनाबाट मानिसको मृत्यु भएको थियो । माघ २० गते अमेरिकामा पहिलो संक्रमण पुष्टि भएको थियो । फागुन ६ गतेसम्म आइपुग्दा कोरोना संक्रमण विश्वका एक दर्जन देशहरुमा फैलिसकेको थियो । फागुन ७ गते इरानमा र फागुन ९ गते इटालीमा कोरोना संक्रमणको आउटब्रेक भएको थियो । फागुन १४ गते पाकिस्तानमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो । फागुन १७ गते कोरोना संक्रमणका कारण अमेरिकामा पहिलो मृत्यु भएको थियो । फागुन १९ गते थप सात देशहरु इन्डोनेसिया, सेनेगल, पोर्चुगल, लात्भिया, जोर्डन, ट्युनिसिया र मोरक्कोमा पहिलो संक्रमण पुष्टि गरिएको थियो । फागुन २२ गते साउदी अरबमा र फागुन २५ गते बंगलादेशमा कोरोना संक्रमणको पहिलो केश फेला परेको थियो । फागुन २८ गते आएर विश्व स्वास्थ्य संगठनले कोरोना महामारी घोषणा गरेको थियो भने अमेरिकाद्वारा २६ युरोपेली देशलाई अमेरिका छिर्न प्रतिबन्ध लगाएको थियो । चैत्र १ गते भारतमा संक्रमितको संख्या ८२ र दुई जनाको मृत्यु भएको थियो । चैत्र ५ गते थप चार देशहरु किर्गिस्तान, जाम्बिया, एल साल्भाडोर, निकारागुवामा कोरोना संक्रमण फैलिएको पुष्टि भएको थियो । चैत्र ७ गतेसम्म आइपुग्दा विश्वभर दश हजारको ज्यान गइसकेको थियो । चैत्र १० गते भारतमा जनता कर्फ्यु घोषणा भएको थियो । चैत्र १४ गते बेलायती प्रधानमन्त्री बोरिस जोन्सनमा कोरोना संक्रमण पुष्टि भएको थियो । चैत्र १९ गतेसम्म ५० हजार मानिसको यो संक्रमणले मृत्यु भइसकेको थियो भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसद्वारा कोरोना महामारी दोस्रो विश्वयुद्धभन्दा पनि भयानक भएको टिप्पणी सञ्चारमाध्यमबाट सार्बजनिक भएको थियो ।
यो महामारीले यहि बैशाख ३ गतेसम्म विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर दुई सयभन्दा बढी देशहरुमा कुल २० लाखभन्दा बढी संक्रमित भएका छन् भने १ लाख २८ हजारभन्दा बढीको मृत्यु भइसकेको र ५ लाखभन्दा बढी संक्रमणमुक्त भएको तथ्याङ्क रहेको छ ।

नेपालमा कोरोना कहर

यता नेपालमा भने माघ १० गते चीनबाट आएका एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारपछि निको भई घर फर्किएकोले सरकारले तत्काल कुनै कदम चालेको थिएन । यसैक्रममा फागुन १८ गते कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति गठन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १९ गते कोभिड १९ प्रभवित र यसको उच्च जोखिममा रहेका र तेस्रो देशबाट ती मुलुक हुँदै आउने नेपालीलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो । फागुन १० गते मुख्य सचिवको अध्यक्षतामा केन्द्रीय अनुगमन तथा मुल्याङ्कन समितिको बैठक बसी मास्क, सेनिटाइजर लगायत अत्यावश्यक वस्तुको मागलाई नियमित आपूर्ति गर्न आयात तथा उत्पादन वृद्धि गर्ने निर्णय लिएको थियो । यात्रुको ज्वरो मापनलाई प्रभावकारी बनाउने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल प्रवेश नाकामा उपकरणसहित स्वास्थ्यकर्मी परिचालनको निर्णय समेत गरेको थियो । यस्तै फागुन २८ गते कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सर्वदलीय बैठक बसेको थियो । चैत्र ५ गते आएर उच्चस्तरीय समन्वय समितिले सिनेमा हल, साँस्कृतिक केन्द्र, रंगशाला जस्ता भीड हुने स्थानहरु चैत्र मसान्तसम्म बन्द गर्ने र २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । साथै सरकारले चैत्र ७ गते मध्यरातीदेखि बैशाख ४ गतेसम्म अन्तर्राष्ट्रिय सबै उडानहरु बन्द गर्ने निर्णय गरेको थियो । चैत्र ११ गते काठमाडौमा १९ वर्षिया युवतीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसंगै नेपालमा दोस्रो केश फेला परेको थियो र सरकारले एक साताका लागि लकडाउनको घोषणा गरेको थियो । चैत्र १३ गते धादिङका व्यक्तिमा तेस्रो केस फेला परेको थियो । चैत्र १४ गते चौथो संक्रमण धनगढीमा देखिएको थियो भने बेल्जियमबाट कतार हुँदै आएकी बागलुङ्की युवतीमा चैत्र १५ गते पाँचौं संक्रमण पुष्टि भएको थियो । त्यसपछि चैत्र मसान्तसम्म करिब एक दर्जन संक्रमित भइसकेका छन् भने यो संक्रमण हुनेको संख्या बढ्दो रहेको छ । यसैबीच चैत्र १६ गते सरकारले लकडाउनलाई थप एक हप्ता अर्थात चैत्र २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो भने चैत्र २४ गते सरकारले लकडाउनलाई ८ दिन थप गर्दै बैशाख ३ गतेसम्म गर्ने निर्णय लिएको थियो । पुनः बैशाख २ गते सरकारले आगामी बैशाख १५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ । यो सम्पूर्ण सरकारी प्रयास कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासहरु हुन् । बैशाख २ गतेसम्म हाम्रो देशमा करिब डेढ दर्जन संक्रमित भेटिए पनि नेपालमा याे लेखत तयार गर्दासम्म कोरोना भाइरसका कारण मृत्यु भने कसैको भएको छैन । छिमेकी भारतमा भने दश हजार पाँच सयभन्दा बढी संक्रमित पुष्टि भइसकेकोमा करिब तीन सय साठी मानिसको मृत्यु भएको छ भने एक हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएको बताइएको छ ।

कोरोनाबाट बच्ने उपाय

लेखक

विश्व स्वास्थ्य संगठनले नै कोरोना महामारीबाट बच्न रोकथामका ६ वटा उपायहरु सुझाएको छ । राम्ररी हात धुने, खोक्दा मुख छोप्ने, व्यक्तिगत सामान नबाँड्ने, आँखा, कान र नाक नछुने, भीडभाडमा नजाने र स्वास्थ्य सल्लाह लिने आधारभुत उपायहरु व्यक्तिले अवलम्बन गर्नुपर्ने बताइएको छ । कोरोना भाइरस फैलन सक्ने शंकास्पद दुषित भागमा छोएपछि साबुन पानीले राम्ररी हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने गर्नुपर्दछ । नियमित मास्कको प्रयोग गर्ने, खोकी लागेमा वा हाच्छिउँ आएमा डिस्पोज गर्न मिल्ने खालको टिस्यु पेपर प्रयोग गर्नुपर्दछ र तत्काल डस्टबिनमा फ्याँक्नुपर्दछ । व्यक्तिगत प्रयोग हुने कलम, माउस र डिजिटल उपकरणहरु अरुलाई बाँड्नु वा कुनै पनि प्रकारका बिरामीलाई दिनु हुँदैन । आफ्नै आँखा, कान र नाक छुनु हुँदैन । संक्रमण शरिरमा फैलिनसक्ने यी संवेदनशील अंगहरु हुन् । संक्रमित व्यक्ति हुन सक्ने स्थानहरुमा सकेसम्म धेरै मानिसको भीडभाडमा प्रवेश गर्नु, सभा सम्मलेनहरुमा जान हुँदैन । बिरामी हुने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य सल्लाह लिने गर्नुपर्दछ । समुदायमा सामाजिक दुरी कायम राख्दै सुरक्षित घरमै बस्नुपर्दछ ।

यो रोगको रोकथामको लागि विश्वमै एक मात्र उपाय भनेको लकडाउन हो र विभिन्न देशका सरकारहरुले कडाइका साथ लकडाउन जारी राखेका छन् । कोरोना भाइरस पुष्टि गर्न गरिने परीक्षण, सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन, सार्वजनिक रुपमा तयार पारिएका क्वारेन्टाइनहरुमा कम्तिमा दुई हप्तादेखि बढिमा तीन हप्तासम्म बसेर आफूमा कोभिड १९ को संक्रमण नभएको यकिन गर्न सकिन्छ । यो संक्रमणको लक्षण देखिएमा राज्यले नै आइसोलेशनमा राखेर उपचार गर्नको लागि वन्दोबस्त गरिरहेको अवस्था छ । नेपालमा अहिले सरकारले र्यापिड डायग्नोस्टि टेस्ट (आरडीटी) र पोलिमेरज चेन रिएक्सन (सिसिआर) विधिबाट कोरोना परीक्षण गरिरहेको छ । पहिलो विधिलाई विश्वभर आलोचना भएकोले त्यति विश्वासनीय नमानिने हुँदा पछिल्लो विधिबाट अन्तिम निर्णय लिने गरेको पाइन्छ । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने उपायहरु अपनाउनु नै बुद्धिमत्ता हुने हुँदा यसको संभावित जोखिम न्यूनीकरणको लागि राज्यले नै पुरै देशलाई लकडाउन गरी अत्यावश्यक सेवा प्रवाहबाहेकको अवस्थामा नागरिकहरुलाई घरमै बस्न आग्रह गरिरहेको छ ।

नेपाल सरकारले चैत्र ११ गतेदेखि जारी राखेको लकडाउन निरन्तर जारी छ भने यो समयमा अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिक्लिन, भीडभाड वा बढी मानिसहरुको उपस्थिति हुने सम्पूर्ण कार्यक्रमहरु बन्द गर्न, कोराना भाइरस जहाँ र जुनसुकै अवस्थामा पनि हुन सक्ने भएकाले आफूलाई केहि हुँदैन, यो इलाका वा क्षेत्रमा आउँदैन भन्ने जस्ता सोचाई नराखी सजक र सतर्क भएर बस्न, जेष्ठ नागरिकहरुलाई बढी प्रभावित गरेको पाइएकोले घरमा रहनुहुने जेष्ठ नागरिकहरुको विषेश ख्याल गर्न, मास्क प्रयोग गर्न, कुनै चीज छोएपछि वा घर बाहिर गएपछि अनिवार्य साबुन पानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न र बैंकिङ्ग कारोवारका लागि एटिएम कार्ड वा विद्युतीय कारोवारमार्फत गर्न सरकारले सबैमा आग्रह गरेको छ । सरकारले यसको रोकथामको लागि पछिल्लो समय छ ‘टी’ को रणनीति लिएको बताएको छ । जसमा आउजाउ बन्द गर्ने (ट्राभल रेस्ट्रिक्सन), परीक्षणको दायरा बढाउने (टेस्टिङ्), संक्रमितको सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने (ट्रयाकिङ् तथा ट्रेसिङ्), उपचार गर्ने (ट्रिटमेन्ट) र सबै एकजुट हुने (टुगेदर) रणनीति अपनाएको बताइएको छ । पटक पटक गरेर अवधि थप गर्दै आएको लकडाउनलाई नेपाल सरकारले बैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ ।

कोरोना महामारीले विश्व समुदायमा ल्याएको चुनौती

मानव अस्तित्व संकटमा पार्ने खालको तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस विश्व समुदायको लागि गम्भीर चुनौतीको विषय बनेको छ । अमेरिका, स्पेन, इटली, फ्रान्स, जर्मनी, बेलायत, चीन, इरान लगायत शक्ति राष्ट्रहरु अहिले यो महामारीको सबैभन्दा बढी चपेटामा परेका छन् । संक्रमितको संख्या, मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ तर तत्काल यो रोकिने कुनै वैकल्पिक संकेतहरु मिलेको पाइन्दैन । विश्व अर्थतन्त्रमा नराम्रोसंग धक्का लागेको छ । हवाई उडान विश्वमै रोकिएका छन् । विश्व समुदाय अहिले लकडाउनको अवस्थामा गुज्रिरहेको छ । हरेक देशहरुमा लाखौं करोडौं श्रमिकहरु बेरोजगार हुने र भोकमरी फैलने संभावना बढेको छ । वैदेशिक रोजगारीमा विदेशी भुमिमा रहेका विभिन्न देशका लाखौं करोडौं मजदुरहरु अहिले संकटको अवस्थामा दिन गुजार्न बाध्य भइरहेका छन् । कोरोना भाइरस संक्रमण भइसकेपछि पनि लामो समय लक्षणहरु नदेखिने तर अन्य व्यक्तिहरुमा संक्रमण फैलिरहने अवस्था विश्वसामु सबैभन्दा खतरनाक चुनौती सावित भइसकेको छ । अहिलेसम्म यसको उपचार विधि र औषधि पत्ता नलागेको कारण सबैभन्दा चुनौती रहेको छ । विश्वयात्रामा रहेको यो भाइरसलाई यथास्थितिमा राख्न सक्नु पनि विश्वको चुनौती छ । जतिसुकै शक्तिशाली मानिएका राष्ट्रहरुले पनि यो भाइरस नियन्त्रणको ठोस उपलब्धी हासिल गर्न सकेका छैनन् । अहिलेको परिस्थितिमा विश्वको कुनै पनि ठाउँमा कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लगाउन सके र यसको रोकथामको उपाय निकाल्न सके यो महामारीको चुनौतीसामु सबैभन्दा ठूलो सफलता हात लाग्न सक्ने ठानिएको छ ।

नेपालमा अगाडि देखिएका चुनौतीहरु

नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा प्रवेश गरिसकेको अवस्था छ । विदेशबाट आएका व्यक्तिहरुलाई मात्र देखिएको भाइरस समुदायस्तरमा आफन्तलाई सरेको भेटिएपछि यसको जोखिम उच्च भएको हो । संक्रमितको यात्रा वृत्तान्त धेरै हुनु र सार्वजनिक यातायातका साधनको प्रयोग भएको अवस्थाले यो भाइरसले समुदायमा भुसको आगो झैं मानिसहरुलाई संक्रमित गरिरहेको हुनसक्ने देखिन्छ । यसको लागि सरकारले जतिसक्दो चाँडो धेरै भन्दा धेरै व्यक्तिहरुमा कोरोना संक्रमणको परीक्षणको दायरा र संख्या बढाउनु पर्ने देखिन्छ ।

कोरोना महामारीका कारण मुलुक पूर्ण लकडाउनमा जाँदा देशको अर्थतन्त्र रोकिएको छ । शैक्षिक संस्थाहरु बन्द भएका छन् । होटल व्यवसाय, पर्यटन व्यवसाय, उद्योग कलकारखानाहरु बन्द भएका छन् । सरकारी निकायहरुले नियमित सेवाहरु प्रवाह गर्न पाएका छैनन् । सार्बजनिक सवारी साधनहरु ठप्प भएका छन् । यसबाट लाखौं मजदुरहरुको रोजगारी गुमिरहेको छ । लाखौं विद्यार्थीहरुको परीक्षाहरु रोकिएर शैक्षिक भविष्यमा संकट सिर्जना भएको छ । विकास निर्माणका कामहरु ठप्प हुँदा मुलुकको अर्थतन्त्र नै स्थिर भएको अवस्था छ । मुलुकले पछिल्लो एक महिनादेखि विषम परिस्थितिको सामना गरिरहनु परेको छ । यो अवस्था कहिलेसम्म लम्बिँदै जाने हो भनेर कसैले पनि लख काट्न सक्ने परिस्थिति रहेको देखिन्दैन ।

यति हुँदाहुँदै पनि अहिलेसम्म यो महामारीबाट कसैको पनि मृत्यु नभएको अवस्थामा नेपाललाई कोरोना विरुद्धको सुरक्षित जोन या कम खतरा क्षेत्र कायम राख्न, थप संक्रमण फैलन नदिने, संक्रमण फैलिएमा त्यसको व्यवस्थापन गर्न सरकारले सबै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार समेतलाई उच्च साबधानीका साथ हाईएलर्टमा राख्नुपर्ने परिस्थितिको सिर्जना भएको छ । यो संकटसंग जुध्न आवश्यक सुरक्षाका सम्पूर्ण उपायहरु अबलम्बन गर्नु गराउनु अहिले सरकारको पहिलो दायित्व हुन पुगेको छ ।

यसले विश्वलाई दिएको सन्देश

विश्व समुदाय नै यो महामारीविरुद्ध जुटिरहेको छ । महाशक्ति राष्ट्रहरु आणविक प्रतिष्पर्धा छोडेर भाइरसविरुद्ध लड्नु परिरहेको छ । मानव जीवनको रक्षार्थ सबै एकजुट हुनुको विकल्प छैन भन्ने सन्देश यो महामारीले दिइरहेको छ । स्वास्थ्यमाथि खेलवाड हुनु हुँदैन र संभावित महामारीविरुद्ध लड्न सक्ने क्षमताको पूर्वाधार निर्माणमा शासकहरुले पहिले नै राज्यभित्र लगानी गर्नुपर्ने रहेछ भन्ने सन्देश पनि यो प्रकोपले दिएको पाइन्छ । स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण र व्यवस्थापनमा अहिले सबै देशहरु चुकेको देख्न सकिन्छ । विश्वमै आणविक हतियारमा खरबौं खर्च गर्ने देशहरुले अस्पताल र स्वास्थ्य संस्थाहरुको पूर्वाधारमा लगानी नै नगरिरहेको अवस्था अहिले देखिएको छ । विश्वको धेरै देशहरुले यसको आवश्यकताको रियलाइजेशन पनि गरिसकेका देखिन्छ । यो महामारीले राजपरिवार, प्रधानमन्त्री, मन्त्री, नेता, कर्मचारी, डाक्टर कसैलाई पनि अछुतो नगरी सानो, ठूलो, धनी, गरीब, शक्तिशाली, कमजोर, उच्च पदस्थ वा सर्वसाधारण कोहि पनि नचिन्ने र सबैको लागि समान जोखिम हुने सन्देश पनि यसले दिएको छ ।

विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभाव

नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको छ । ठूला विकास आयोजनाहरु रोकिँदा लाखौं रोजगारीका अवसरहरु गुम्ने, आर्थिक वृद्धि प्रभावित हुने र ठूला कम्पनीहरुको नाफामा उच्च गिरावट आउने अवस्थाले सिँगो देशको अर्थतन्त्र धरासायी हुन सक्ने देखिन्छ । देशमा राष्ट्रिय महत्वका आयोजनाहरु रोकिँदा विकासको गति रोकिएको छ ।

विश्वको अर्थतन्त्रमा यो महामारीले नराम्रो असर गरेको छ । ठूलो संख्यामा मानवीय क्षति व्यहोरिरहेको विश्वले अर्थतन्त्र चलायमान बनाउन पाएको छैन । विश्व नै लकडाउनको अवस्था छ अहिले । विश्व बैंकले आर्थिक वृद्धि दर नराम्रोसंग तल झर्ने प्रक्षेपण गरिसकेको छ । चाँडोभन्दा चाँडो यो महामारी नियन्त्रण हुन सके थला परेको अर्थतन्त्र उकास्न पुनः सबै देशहरुले लाग्न सक्ने संभाव्यता भने बाँकी रहेको छ ।

यस्तै नेपालमा पनि अर्थतन्त्रमा ठुलो असर परेको छ । विकास निर्माणको पुँजीगत बजेट खर्च हुन नसक्दा राजश्व संकलनमा असर गरिरहेको छ भने आयात निर्यात ठप्प हुँदा अर्थतन्त्रमा ठुलो प्रभाव पर्ने देखिएको छ । आर्थिक वृद्धिदर पाँच प्रतिशतबाट झरेर दुई प्रतिशतको हाराहारीमा आउने प्रक्षेपण गरिएको छ । यसले नेपालको अर्थतन्त्र दशकौं पछाडि धकेलिने आँकलन हुने गरेको पाइन्छ । नेपाल सरकारले तयारी गरेको भिजिट नेपाल २०२० स्थगन भएको छ । यसले गर्दा नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का लागेको छ । ठूला विकास आयोजनाहरु रोकिँदा लाखौं रोजगारीका अवसरहरु गुम्ने, आर्थिक वृद्धि प्रभावित हुने र ठूला कम्पनीहरुको नाफामा उच्च गिरावट आउने अवस्थाले सिँगो देशको अर्थतन्त्र धरासायी हुन सक्ने देखिन्छ । देशमा राष्ट्रिय महत्वका आयोजनाहरु रोकिँदा विकासको गति रोकिएको छ । ठूला पूर्वाधारका परियोजनाहरु जस्तै जनविद्युत आयोजनाहरु, सडक निर्माण आयोजनाहरु, व्यापारमा आयात निर्यातको अवस्था, उद्योग, पर्यटन व्यवसाय आदिमा प्रतिकुलता आउँदा अर्थतन्त्रलाई नराम्रोसंग धक्का पुग्ने देखिन्छ । अहिले देशको सम्पूर्ण बजेट, दातृ निकायहरुको सहयोग समेत कोरोना संक्रमणबाट देश र जनतालाई बचाउन लगानी गर्नुपर्ने अवस्थाले गर्दा अन्य अर्थतन्त्रका सूचकहरुमा लगानी गर्न सक्ने अवस्था रहँदैन । यो महामारीले भविष्यमा कहिलेसम्म कस्तो रुप लिने हो भनेर कसैले पनि भविष्यवाणी गर्न नसक्ने हुँदा यसको असर र प्रभाव अर्थतन्त्रमा सबैभन्दा ठूलो रुपमा पर्न सक्ने आँकलन गर्न सकिन्छ ।

मानव जातिको भविष्यमा पारेको चुनौती

कोभिड १९ महामारी र कोरोना भाइरस संक्रमण मानव जातीको अस्तित्व कायम राख्नको लागि एउटा ठूलो चुनौती भएको छ । बीसौं लाख मानिस संक्रमित भएको, अझै कति हुने हुन् यकिन नभएको, लाखौं मानिसहरुको मृत्यु भइसकेको, संक्रमित व्यक्ति निको भएर फर्किएपछि पनि पुनः यो भाइरसको लक्षण फकिएको आदि कारणले विश्वमा नै मानव जीवनको अस्तित्वमा खतराको घण्टी बजेको मान्न सकिन्छ । मानव जीवनको रक्षार्थ विश्वभरका देशहरुले आम जनतालाई घरभित्रै बन्दाबन्दीमा राखेर लकडाउन गर्नुको एकमात्र उद्देश्य कोरोना भाइरस संक्रमणको तीव्र फैलावटलाई नियन्त्रण र रोकथाम गर्नु नै रहेको छ । यो महामारीबाट जोगाउन खोज्दा अर्को भोकमरी फैलने चिन्ता विश्व समुदायमा भइसकेको छ । लामो समय लकडाउनका कारण लाखौं व्यक्तिहरुको दैनिकी गुजारामा जोखिम थपिएको छ । रोजगारी गुम्दा लाखौं परिवारहरुमा भोकमरी फैलने अवस्था सिर्जना हुँदैछ । अझ भोलिका दिन कति जटिल बन्दै जाने हो भनेर मानिसले अहिले कल्पना पनि गर्न सकेको छैन । यस्तो विषम परिस्थिति वर्तमान पुस्ताको मानव जीवनमा विगतमा पनि भएको थाहा थिएन र भविष्यमा पनि यस्तो अवस्था नआओस् भनेर कामना गरिरहेको अवस्था छ । यो महामारीको फैलावट अति नै तीव्र गतिमा भइसकेको हुँदा यसलाई रोक्न देशहरुले कडाभन्दा कडा कदम चाल्न पछि पर्नु हुँदैन अन्यथा यसले मानव जातीको अस्तित्वमाथि धावा बोल्न सक्ने देखिन्छ । विश्वका शक्तिशाली राष्ट्रहरुमा अकल्पनीय मानवीय क्षति भइरहँदा यो महामारीको चुनौतीलाई सामना गर्न सक्ने क्षमता विश्वका मानिसमा छ कि छैन भनेर हेर्न भने बाँकी नै छ ।

वातावरण र जीवन जगतमा पर्ने असर

सार्वजनिक सवारीका साधनहरु बन्द हुँदा वातावरण प्रदुषणको मात्रा भने विश्वमै घटेको पाइएको छ । सधैं कालो बादल मडारिने आकाश नीलो देखिन थालेको छ । वातावरण प्रदुषणको मात्रा इतिहासमै न्यून भइरहेको अवस्था छ । यसले मानव स्वास्थ्यमा भविष्यमा पार्ने वातावरणीय जोखिम भने कम हुन सक्छ ।

यो महामारीले विश्वकै वातावरणीय चक्रलाई असन्तुलित बनाइरहेको छ । मावन जीवनकै अस्तित्व समाप्त पार्ने गरी फैलिइरहेको यो भाइरसका कारण मृतकको दाहसंस्कारमा समस्या सिर्जना भइरहेको छ । प्रकृति र मानवबीचको घनिष्ट सम्बन्धमा यसले पूर्णविराम लगाइरहेको छ । सम्पूर्ण मानिसहरु लकडाउनको कारण घरभित्र बस्दा चोरी शिकारी गर्ने तस्करहरुलाई वातावरण बिगार्न उपयुक्त समय हुन सक्छ । बदमासी गर्ने मानिसले यहि बन्दाबन्दीको मौका छोपेर वातावरण विनासमा लागेको अवस्थालाई रोक्न जरुरी छ । वन जंगलमा डढेलोको प्रकोप, वन्यजन्तु चोरी शिकारीबाट वातावरणमा नराम्रो असर पर्न सक्दछ । सार्वजनिक सवारीका साधनहरु बन्द हुँदा वातावरण प्रदुषणको मात्रा भने विश्वमै घटेको पाइएको छ । सधैं कालो बादल मडारिने आकाश नीलो देखिन थालेको छ । वातावरण प्रदुषणको मात्रा इतिहासमै न्यून भइरहेको अवस्था छ । यसले मानव स्वास्थ्यमा भविष्यमा पार्ने वातावरणीय जोखिम भने कम हुन सक्छ तर विश्वका सबै राष्ट्रहरुले प्रमुख प्राथमिकतामा वर्तमान महामारीको त्रासबाट आफ्ना देशका आम मानिसलाई मुक्त गर्नुछ । कोरोनामुक्त देश बनाउनु छ, कोरोनामुक्त विश्व बनाउनु छ ।

अबको बाटो

अहिलेको विषय परिस्थितिमा विश्व समुदाय एक भएर कोरोनाविरुद्धको लडाईं लड्न जरुरी छ । शक्तिसम्पन्न राष्ट्रहरुको समूहले आणविक हातहतियार उत्पादन कारखानाहरु पूर्ण रुपमा बन्द गरेर महामारी रोकथामका लागि पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने आवश्यकता देखिन्छ । कोरोना अति प्रभावित देशहरुमा राहत प्याकेजको लागि विश्वले नै एकताबद्ध भएर अविकसित र विकाशोन्मुख देशहरुलाई सहायता गर्नुपर्ने अवस्था छ । विकासित देशहरुले पनि आफ्नो सम्पूर्ण अर्थतन्त्र कोरोनाविरुद्धको अभियानमा लगाउन ढिला गर्नु हुुँदैन । जुन देशमा यो महामारीविरुद्ध खोप पत्ता लाग्न सक्छ, त्यो खोपलाई पत्ता लाग्ने वित्तिकै विश्वभर नै आम मानिसहरुसम्म पुहँचमा पुर्याउन विश्व स्वास्थ्य संगठनजस्ता निकायहरुले पहल कदमी उठाउनै पर्दछ ।

अहिले सत्तामा बस्नेहरुले पनि राज्यसत्ताको शक्ति प्रदर्शन गर्ने होइन, आम नागरिकहरुको मन जितेर काम गर्ने बेला आएको छ । तानाशाही सरकारहरुले पनि जनतासंग संयम र सचेतनाका लागि घरैमा बसिदिन याचना गर्नुपर्ने बेला आएको छ ।

अहिले सत्तामा बस्नेहरुले पनि राज्यसत्ताको शक्ति प्रदर्शन गर्ने होइन, आम नागरिकहरुको मन जितेर काम गर्ने बेला आएको छ । तानाशाही सरकारहरुले पनि जनतासंग संयम र सचेतनाका लागि घरैमा बसिदिन याचना गर्नुपर्ने बेला आएको छ । आणविक शक्ति सम्पन्न राष्ट्रहरुले पनि हतियार बिसाएर स्वास्थ्यकर्मीहरुको उच्च मनोवल बढाउन र सुरक्षाकर्मीहरुको सकर्तकतापूर्वक परिचालनमा ध्यान दिनुपर्ने परिस्थिति बनेको छ । यसरी विश्वभरका राष्ट्रहरु चाहे ठूला हुन्, चाहे साना सबै देशहरुमा समान संकट सिर्जना गर्ने यो कोभिड १९ को महामारी र यसको संक्रमण गर्ने कोरोना भाइरस निर्मूल पार्ने अभियानमा हरेक व्यक्ति व्यक्तिको भूमिका रहन्छ भन्ने हेक्का सबैले राखौं ।

हामी हरेक व्यक्तिले सामाजिक दुरी कायम राखेर संयमित भई घरैमा बसौं । यदि हामी घर बाहिर गएका छौं भने राम्रोसंग हात धोएर बस्ने बानी गरौं । हाम्रो समाजमा कोहि पनि बिदेशबाट फर्केको वा लामो समय घरबाहिर गएर आएको अवस्था छ भने आफैं क्वारेन्टाइनमा बस्ने, संभावित लक्षण देखिएमा सेल्फ आइसोलेशनमा बस्ने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सम्पर्क गरी स्वास्थ्य संस्थामा चेकजाँचको लागि जाने, शंका लागेमा चेक गराउने गर्नुपर्दछ । हामीले लकडाउनको अवधि तीन साता पुरा गरिसकेको अवस्थामा हामीमा कोरोना संक्रमण अहिलेसम्म भएको छैन, कुनै पनि लक्षण छैन भनेर ढुक्क अवस्था छ भने आफूले जानेको र घरभित्रबाट गर्न सकिने प्रविधियुक्त काम कारवाही गरौं । निरन्तर अध्ययन वा पारिवारिक घुलमिलबाट एक्लोपन महशुष हुन नदिने वातावरण आफैं सिर्जना गरौं । यसबाट आत्मबल बलियो भई रोगप्रतिरोधात्मक क्षमता विकास हुने र समयको समेत सदुपयोग हुन जान्छ । जसरी पनि हामीले कोरोना भाइरसको संक्रमण देश र समुदायस्तरमा फैलिनबाट रोक्नु पर्दछ । अन्त्यमा, यो महामारीबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं । अहिले नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने ? भनेझैं हामी सबै यो महामारीबाट सुरक्षित हुन एकजुट भएर लागौं ।
इति !

२०७७ बैशाख ३ गते
nntggc@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.