राष्ट्र बैंकमा चिन्तामणिका ३२ वर्षः अफिसमै ‘नजरबन्द’देखि खुल्लामञ्चमा जुत्ता पसलसम्म

  २०७६ चैत ४ गते १९:३०     शिव सत्याल

काठमाडौं । २०४४ साल चैत ६ गते नेपाल राष्ट्र बैंकको जागिर सुरु गरेका चिन्तामणि शिवाकोटीको सेवा अवधि ३२ पुगेको छ । यो बीचमा हुने जागिर जीवनको असाध्यै धेरै उतारचढावको सामना गरे ।

शिवाकोटी विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिसँग नजिक थिए । २०४६ सालमा प्रजातन्त्र पुनस्थापना भएपछि २०४८ सालमा आमनिर्वाचन भयो । सो निर्वाचनमा नेपाली काँग्रेसले सुविधाजनक बहुमतसहित सरकार बनायो ।

सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरे । कोइराला सरकार विरुद्ध तत्कालिन नेकपा एमाले निकट कर्मचारी आन्दोलित भए । सो आन्दोलनमा एमाले निकटसहित अन्य बामपन्थी विचारधारा निकट कर्मचारी पनि सहभागी थिए ।

यही सन्दर्भमा नेपाल राष्ट्र बैंकका कर्मचारी पनि आन्दोलित भए । कर्मचारी संघले नेपाल राष्ट्र बैंक व्यवस्थापनसँग केही माग राखेको थियो । तर, राष्ट्र बैंकले कर्मचारीका सबै माग पूरा गरिदियो ।

आफूहरुका माग पूरा भएपनि निजामती कर्मचारी आन्दोलित भइरहेकोले आन्दोलनमा ऐक्यबद्धता जनाउनु पर्ने परिस्थिति रहेको संघका तत्कालिन अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् ।

‘हामीले राखेका सबै माग व्यवस्थापनले पूरा गरेपछि हामीले थप आन्दोलन गरिरनु पर्ने औचित्य नै बाँकी रहेको थिएन, तर निजामती कर्मचारी आन्दोलन रोकिएको थिएन, सो आन्दोलनमा ऐक्यबद्धता जनाउन हामी खोजिरहेका थियौं,’ नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका संघका तत्कालिन अध्यक्ष क्षेत्रीले विकासन्युजसँग भने ।

निजामती कर्मचारीले आन्दोलनकै क्रममा भद्रकालीमा रिले अनसन गरे । सो अनसनमा नेपाल राष्ट्र बैंकका कर्मचारी पनि सहभागी भए । राष्ट्र बैंकबाट कर्मचारीको नेतृत्व संघका तत्कालिन अध्यक्ष क्षेत्री आए । युनियनका अन्य १५ जना सदस्य तथा पदाधिकारी पनि अनसनमा सहभागी भए । शिवाकोटी संघको सहसचिव थिए ।

आफूहरुले सबै माग पूरा गर्दा पनि कर्मचारीले आन्दोलन गरेको भन्दै राष्ट्र बैंक व्यवस्थापन रुष्ट भयो । अनि आन्दोलनमा सहभागी भएका कर्मचारीलाई सुर्खेत, जनकपुर जस्ता स्थानमा सरुवा गरियो ।

त्यो बेला राष्ट्र बैंक कर्मचारी नियमावलीमा युनियनका पदाधिकारीलाई सरुवा गर्न नपाइने व्यवस्था थियो । तर, व्यवस्थापनले सरुवा गरिदिएको थियो । यस्तैमा युनियनले तत्कालिन डेपुटी गभर्नर अच्युत प्रसाद पौडेलसँग युनियनका पदाधिकारीलाई सरुवा गर्न नपाइने नियम विपरित किन सरुवा गरियो भन्दै गम्भीर छलफल गरे ।

‘युनियनका पदाधिकारीलाई सरुवा गरिएको निर्णय आएपछि यो निर्णय नियमविपरित भयो भनेर हामीले राती ९ बजेसम्म उहाँकै कार्यकक्षमा बसेर डेपुटी गभर्नर अच्यूत प्रसाद पौडेलसँग छलफल गर्यौं, उहाँले यो निर्णय भोलि सच्याउँछौं भन्नुभयो,’ तत्कालिन अध्यक्ष क्षेत्रीले भने ।

यसरी अबेर रातिसम्म छलफल भएपछि कर्मचारीलाई घर जाने सवारी साधन पाउन गार्यो भयो । डेपुटी गभर्नर पौडेल गौशाला नजिक बस्थे । त्यसैले उनले त्यतातिर जाने कर्मचारीलाई आफ्नै गाडीमा हालेर लगे । अन्यत्र जाने कर्मचारीलाई राष्ट्र बैंकको गाडीले घर पठाइयो ।

तर, कर्मचारीसँग छलफलमा बसेका कर्मचारीले उनलाई घेराउ गरेर बन्दक बनाए, अनि हाइज्याक गरे भन्ने सन्देश सरकारी अधिकारी समक्ष पुगेछ । अनि पौडेललाई राति नै अर्थमन्त्रालयमा बोलाइयो । छलफलमा सहभागी कर्मचारीलाई डेपुटी गभर्नरलाई हाइज्याक गरेको तथा ढुकुटीमा हातपात गरेर असुरक्षा पुर्याएको अभियोगमा कारबाही थालियो ।

अन्य १५ जना कर्मचारीसँग शिवाकोटी पनि निलम्बनमा परे । करिब १५ दिनपछि शिवाकोटीसहित केही कर्मचारीको निलम्बन फुकुवा भयो । तर, कारबाही फुकुवा भएपनि शिवाकोटीलाई राष्ट्र बैंकको पुरानो भवनको ३ तलामाथि एउटा कोठामा एक्लै, पत्रपत्रिका पढ्न नपाउने, अफिसकै कर्मचारी वा अन्य आगन्तुकले पनि भेट्न नपाउने, टेलिफोन प्रयोग गर्न नपाउने गरी राखियो ।

‘कोरोना भाइरस लागेको व्यक्तिलाई अहिले जसरी राख्ने भनिएको छ, त्यतिबेला शिवाकोटीजीलाई पनि त्यसरी नै राखिएको थियो,’ क्षेत्रीले भने ।

तत्कालिन अध्यक्ष क्षेत्रसहित उपाध्यक्ष प्रेम पाण्डे, कोषाध्यक्ष, सदस्यहरु गरी ११ जनालाई राष्ट्र बैंकको जागिरबाट निकालियो । यसरी जागिर जानेहरुमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका नेपाल बैंक संचालक समितिका अहिलेका अध्यक्ष बासुदेव अधिकारी पनि थिए । कल्याणबन्धु अर्यालको पनि जागिर गयो । नागरिक लगानी कोषको अहिलेका कार्यकारी निर्देशक रमण नेपालको पनि जागिर गएको थियो ।

ढुकुटी लुट्न लागेको अभियोग लागेका क्षेत्री नेपाल राष्ट्र बैंकको गभर्नर भइसकेका छन् । ढुकुटी लुट्न लागेको अभियोग लागेका शिवाकोटी अहिले पनि राष्ट्र बैंकको बरिष्ठ डेपुटी गभर्नर छन् भने आगामी गभर्नरको लागि बलियो प्रत्यासी हुन् ।

शिवाकोटीलाई कोरोना भाइरस सक्रमितलाई आइसोलेसन वार्डमा राखिए जसरी करिब १५ दिन राखिएको थियो । उनलाई यसरी राखिएको विरोधमा कर्मचारी संघ नाराबाजी गर्ने गथ्र्याे भने अन्य कर्मचारीले पनि विरोध गरे । र, शिवाकोटीमाथिको कारबाही केही खुकुलो भएको थियो । तर, उनलाई काम गर्ने वातावरण दिइएको थिएन । मानसिक तनाब दिएर राखिएको थियो ।

शिवाकोटीको जागिर थामिए पनि क्षेत्रीलगायत ११ जनाको जागिर गएको थियो । जागिर जानेहरुले सर्वाेच्चमा मुद्दा दायर गरे । र, ‘भ्रष्टाचारीको गुणगान गाउनुभन्दा जनताको खुट्टा समाउनु बेस’ भन्दै सो समुहले खुल्लामञ्चमा जुत्ता पसल सुरु गर्यो ।

राष्ट्र बैंक व्यवस्थापनले कारबाही गरेका कर्मचारीहरुले संयुक्त लगानी गरेर सो जुत्ता पसल संचालन गरिएको थियो । अफिस समय सकिएपछि चिन्तामणि शिवाकोटी, राष्ट्र बैंकमै अझै कार्यरत राजेन्द्र रिमालहरु सो जुत्ता पसलमा जुत्ता बेच्न आउने गर्थे । रिमाललाई पनि व्यवस्थापनले निकै दुःख दिएको थियो । सो पसलको नाम ‘राष्ट्र बैंकबाट अन्यायपूर्ण रुपमा निकालिएका कर्मचारीहरुको दुकान’ नाम दिइएको थियो ।

सो दुकानको नाममा राजनीति गरिएको भन्दै प्रहरी प्रशासनले दुःख दिएको क्षेत्री सम्झन्छन् ।

कर्मचारीमाथि २०४९ सालको साउनमा कारबाही गरिएको थियो । भदौमा पसल सुरु गरिएको थियो । पसल राख्न ५ वटा जति फलमको डण्डी भोटाहिटीबाट ल्याउनु पर्ने र बेलुका फेरि त्यही लगेर लानु पथ्र्याे । जाडोको समयमा फलामको डण्डी बोकेर हिड्नुपर्ने, दिनभरी धुवा धुलो भएको ठाउँमा बस्नुपर्ने भएको कारण सबै कर्मचारी विरामी पर्न थाले । अनि पसल बन्द गरियो ।

अनि फेरि के गर्ने भन्ने समस्या आयो । केही कर्मचारीले फाइनान्स कम्पनी खोल्ने विकल्प सुझाए । तर, राष्ट्र बैंकले नै जागिरबाट निकालिएका कर्मचारीलाई राष्ट्र बैंकले नै लाइसेन्स दिएर फाइनान्स कम्पनी संचालन गर्न दिदैन भन्ने तर्क आयो । त्यो योजना पनि गर्भमै तुहियो ।

अनि कर्मचारीले आफूहरुको व्यानर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुर्याउने भन्दै बससेवा संचालन गर्ने योजना योजना बन्यो । अनि नेपाल बैंकबाट ऋण लिएर पूर्व पश्चिम चल्ने बससेवा सुरु भयो । कर्मचारीले २ वटाबाट सुरु गरेको बस ५ वटासम्म पुगिसकेको थियो । बसमा कर्मचारीको पनि सेयर लगानी थियो । शिवाकोटी पनि सेयरधनी थिए । बस सेवा संचालन गर्ने कम्पनीको नाम ‘स्वाभिमान परिवन सेवा’ थियो । कम्पनी दर्ता नै गरिएको थियो ।

तर, दुर्भाग्य सो वर्ष सबैभन्दा पहिला उनीहरुले संचालन गरेको बस नै त्रिसुलीमा खस्ने बस भयो । सो वसमा रहेका राष्ट्र बैंकका कर्मचारी बद्री अधिकारीको सो घटनामा निधन भयो । अधिकारी बसको कन्डक्टर थिए ।

त्यही वर्ष २ दिन अगाडि थाइ इन्टरनेसनलको जहाज ललितपुरको घोप्टेभीमा ठोकियो । त्यो बेलाका डेपुटी गभर्नर हिरन्यलाल बज्राचार्य पनि बैंककबाट काठमाडौं फर्कदै थिए । उनी पनि सोही जहाजमा थिए कि भन्ने हल्ला फैलियो । के भएछ भनेर बुझ्न बीरगञ्जबाट काठमाडौंमा आउँदा अधिकारीको निधन भएको थियो । तर, डेपुटी गभर्नर बज्राचार्य सो जहाजमा आएका थिएनन् ।

पछि बसमा बेइमानी हुन थाल्यो । सबै ठाउँमा कर्मचारी बस्न सकेनन् । अनि कर्मचारीहरु ड्राइभरको नजिक क्याविनमा बस्न थाले । अनि बसका ड्राइभरले सो बस जथाभावी ठोक्न थाले । अनि ज्यान बचाउन भन्दै कर्मचारीहरुले संचालन गरेको बस सेवा बन्द भयो ।

पछि क्षेत्रीसहित सबैले सफाइ पाए । उनीहरुको जागिर जोडियो । यसरी अन्यायपूर्वक जागिरबाट निकालिएका क्षेत्री, रमण नेपाल, बासु अधिकारीसहित सबैको जागिर पुनस्थापना भयो । यसमध्ये क्षेत्री नेपाल राष्ट्र बैंकको गभर्नर भइसकेका छन् भने सो सबै प्रकरणमा सहभागी भएका चिन्तामणि शिवाकोटी अहिले बरिष्ठ डेपुटी गभर्नर छन् । र, ५ चैतदेखि खाली हुने आगामी कार्यकालको गभर्नरको लागि बलियो प्रत्यासी बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.