काठमाडौंको व्यापारिक केन्द्र महाबौद्ध, असन, न्यूरोड र ठमेलको व्यापार चौपट

  २०७६ चैत ४ गते १२:४७     राजाराम न्यौपाने

काठमाडौं । व्यापारका लागि मुटु भनेर मानिने काठमाडौंको महाबौद्ध, न्यूरोड, असन र ठमेलको व्यापारमा विश्वव्यापी महामारी बनेको कोरोना संक्रमणको प्रत्यक्ष असर परेको छ ।

कोरोनाको त्रासकाे कारण चामल,दाललगायत दैनिक अत्यावश्यक वस्तुहरुको जोहोमा उपभोक्ता लाग्दा अन्य वस्तुमा भने बजार सुस्ताएको छ ।

लत्ताकपडा, जुत्ता, मोबाइल र कम्प्युटर लगायतका विभिन्न वस्तुको प्रमुख बजारको रुपमा रहेको महाबौद्ध, असन, न्यूरोड र ठमेलमा लगायतका क्षेत्रमा हुने सामान बिक्री र छहलपहल घटेको छ ।

धेरैजसो व्यस्त रहने काठमाडौंका व्यापारिक कम्प्लेक्स र व्यापारिक गल्लीहरु शून्य देखिन थालेका छन् । सिजन अनुसारको सामान आयात हुने देश चीनबाट आउने वस्तु नाकामै रोकिएको छ । स्टकमा रहेका सामानको पनि बिक्री ठप्प भएपछि व्यापारीहरु निराश भएका छन ।

२०७२ सालको भूकम्पमाभन्दा पनि चीनबाट फैलिएको कोरोना भाईरसका कारण व्यापारमा घाटा भरेको न्यूरोडका कम्प्युटर व्यापारी प्रशान्त श्रेष्ठले बताए ।

‘बरु २०७२ सालको भूकम्प जादा फाट्टफुट्ट व्यापार भईरहेको थियो, अहिले त विहानदेखि बेलुकासम्म पसलमा सामान खासै बिक्री हुदैन, प्रति दिन थोरैमा पनि ४ /५ लाखको व्यापार हुने गरेको थियो, अहिले ५० हजार देखि ८० हजारसम्म मात्रै व्यापार हुन्छ, महिनाको ३ लाख पसलको भाड छ कसरी तिर्ने हो भन्ने चिन्ताले राति निन्द्रा नै लाग्न छाडी सक्यो’ श्रेष्ठले भने ।

महाबौद्धमा कपडा र जुत्ता व्यापारी राम लामाको पनि चिन्ता घरभाडा तिर्न नै नसकिने हो कि भन्ने छ ।

‘विहान आएर पसल खोल्ने मात्रै हो, व्यापार नै छैन, पसलमा काम गर्ने ३ जनालाई बिदामा बस्नुस भनिसकँे, कपडाको र जुत्ता पसलको भाडाप्रति महिना ५ लाख छ, व्यापार ६ लाखबाट घटेर १ लाखमा झरिसक्यो, नेपालमा कोरोना नआउदा त यस्तो छ आयो भने के होला व्यापार भनेर सोचिरहेको छु,’ लामाले भने ।

न्यूरोडका भाडा पसले राजु शाक्यले पसल बन्द जस्तै भइसकेको बताए । उनले भने पसल खोलेर मात्रै बस्ने हो, व्यापार हुदैन ।

‘बजार नै सुनसान जस्तो भएको छ, भाडा किन्ने मान्छे नै पसलमा आउदैनन्, अरु बेलामा सामान बेचेर भ्याइदैन थियो, प्रतिदिन २ लाख जतिको व्यापार हुने गरेको थियो, अहिले बोहोनी कतिखेर हुन्छ भनेर बस्नु पर्ने अवस्था आएको छ,’ शाक्यले भने ।

ठमेलको खाजा होटलका सञ्चालक राधा बस्नेको पनि चिन्ता भाडाको नै छ, होटलको व्यापार नै बन्द जस्तो भइसक्यो व्यापार नभएपछि भाडा कसरी तिर्ने भन्ने चिन्ता भएको बताइन् ।

पछिल्लो समय व्यापार घटेपछि पसलको भाडा नै तिर्न गाह्रो हुने देखिएको व्यापारीहरु बताउँछन् । व्यापारीहरुका अनुसार पछिल्लो एक महिनादेखि व्यापार ठप्प छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.