महासंघ पूर्वअध्यक्ष श्रेष्ठको प्रस्तावः चुनाव रोकौं, कालोबजारी नियन्त्रणमा जुटौं

  २०७६ चैत ३ गते १३:५७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलले महासंघको आसन्न साधारणसभा रोक्न प्रस्ताव गरेका छन् ।

महासंघले चैत २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको कारण विश्वव्यापी सन्त्रास फैलिएको र नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेकोले महासंघको साधारणसभा रोकेर सम्भावित संकट सामनाको तयारीमा लाग्नुपर्ने श्रेष्ठको भनाइ छ ।

‘कोरोना भाइरसबाट आउन सक्ने महामारीबाट बच्च हामीले पनि गम्भीर तयारी गर्नुपर्छ, यस्तो बेलामा निजी क्षेत्रले आफ्नो सम्पूर्ण ध्यान औद्योगिक व्यावसायिक जगतले खेल्न सक्ने भूमिका के कस्तो हुन सक्छ, त्यतातिर केन्द्रीत गर्नुपर्छ, निजी क्षेत्रको दायित्व के हुने भन्ने तय गरेर रचनात्मक काममा लाग्नु उचित हुन्छ,’ उनले भने ।

संकटको बेलामा कालोबजारी गर्नेहरुलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनले बताए । निजी क्षेत्रका संघ, संस्था र व्यक्तिगत रुपमा पनि कालोबजारी नियन्त्रण गर्नतिर लाग्नुपर्ने श्रेष्ठले बताए ।

कालोबजारी नियन्त्रणको लागि निजी क्षेत्रले सरकारलाई सहयोग गर्नु पर्ने र कोलोबजारी गर्नेहरुको सूचना पनि सरकारलाई निजी क्षेत्रले दिन सक्नु पर्ने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघको गत शुक्रबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको चुनाव सार्ने वा नसार्ने बारे १० दिनपछि मात्र तय हुने निर्णय गरेको थियो ।

महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठ सरकारले चुनाव अहिले गर वा नगर केही पनि भनेको कारण महासंघको चुनाव सार्ने सम्बन्धि भन्न नसकिने अवस्था नभएको बताउँछन् । उनले महासंघले सरकारले भने बमोजिम गर्नु पर्ने बताउँदै सरकारको निर्देशन बमोजिम महासंघले चल्नु पर्ने धारणा राखे । उनले आफु चुनाव सार्नु पर्ने पक्षमा भएको पनि बताए ।

विश्वमा यति ठूलो आतंक तथा संकट सिर्जना भइरहेको बेला देशकै ठूलो निजी क्षेत्र भने खासै सक्रिय देखिएको छैन ।

कोरोना भाइरसका कारण संसारभरि डरलाग्दो अवस्था सिर्जना भएको छ । आम जनमानसमा यसको त्रास कायम रहेको यो अवस्थामा निजी क्षेत्रले सरकारसँग सहकार्य गरेर रोग आउन नदिने र आइहाले पनि नियन्त्रण गर्ने, जनजीवन सहज बनाउन भूमिका खेल्नुपर्ने आवाज महासंघकै प्रतिनिधिले उठाउन थालेका छन् ।

अहिले विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएको छ । १ सय ५५ भन्दा बढी देशमा फैलिसकेको कोरोना भाइरसको नियन्त्रण तथा यसबाट बच्नका लागि विभिन्न देश र त्यसका निजी क्षेत्रहरु सर्तकता अपनाइरहेका छन् ।

चीनबाट सुरु भएको भनिएको यो भाइरससँग लड्न सरकार आफै र विभिन्न देशका निजी क्षेत्रहरु विविध रणनीति तथा कार्यक्रमहरु बनाइरहेका छन् ।

नेपालले पनि यो भाइरस नभित्रियोस भनेर सतर्कताका विभिन्न उपायहरु अवलम्बन गरिरहेको छ । तर, कोरोना भाइरसको संक्रमण नेपालमा भने अहिलेसम्म देखिएको छैन ।

विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको संज्ञा दिइसकेको छ । अमेरिकाले पनि संकटकाल घोषणा गरी आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा तल्लीन छ । नेपाल सरकार पनि कोरोना संक्रमण देखिएमा नियन्त्रणको तयारीमा जुटेको छ ।

नेपालले स्वास्थ्य सेवा विस्तारदेखि यात्रामा कडा निगरानी तथा चेकजाँच गरिरहेको छ । यसमा सरकार मात्र होइन, निजी संस्थाहरुको सहकार्य र समन्वय पनि उतिकै अपरिहार्य हुन्छ ।

विश्वभरका निजी क्षेत्रले कोरोनाको महामारी नियन्त्रण गर्न योगदान दिइरहेका छन् । बिलगेट्स फाउण्डेसन्, ज्याकमा फाउण्डेसन लगायतले यसको न्यूनिकरणमा ठूलो योगदान र समन्वय गरिरहेका छन् । तर, नेपालको सबैभन्दा ठूलो भनिएको निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघ भने यसप्रति त्यति गम्भीर देखिँदैन ।

हाल नेपालमा कोरोनाको त्रासकै कारण सर्जरी माक्स, स्यानिटाइजर लगायतका सामानहरुमा कालोबजारी मौलाएको छ । सरकारले भेला, सभा–सम्मेलन नगर्न भनेर औपचारिक रुपमै आग्रह गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.