व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन स्थगित

  २०७६ चैत २ गते १९:०४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको यही चैत १४ मा हुने भनिएको दोस्रो राष्ट्रिय महाधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । महासङ्घको आइतबार केन्द्रीय कार्यालय सुन्धारामा बसेको सचिवालय बैठकले विश्वभर फैलँदै गएको कोभिड-१९ (कोरोना भाइरस)लाई दृष्टिगत गर्दै महाधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति भने अर्को बैठकले तय गर्नेछ ।

कोरोना भाइरसको कारण देखाउँदै बजारमा उपभोग्य सामग्रीको अभाव हुँदै गएको भन्दै अभाव गराउने उद्योगी व्यवसायीलाई कारवाही गर्ने बैठकले निर्णय गरेको छ । बैठकले बजारमा माक्सको अभाव हुँदै गएको भन्दै सामान उत्पादन गर्ने गार्मेन्ट उद्योगलाई माक्सको समेत उत्पादन गरी आम उपभोक्तामाझ पुर्याउन आग्रह गरेको छ । व्यवसायीसँग प्रशस्त सामान भएकाले तत्कालका लागि सामग्रीको अभाव नहुने महासङ्घका अध्यक्ष नरेश कटुवाल बताउँछन् ।

बैठकले हात नमिलाई नमस्कार गर्न, माक्सको प्रयोग गर्न, राम्रोसँग साबुन पानीले हात धोएर मात्र खानेकुरा खान, सफा होटेलमा खानेकुरा खान, मासुजन्य पदार्थ राम्रोसँग पकाएरमात्र खान सबै उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । विसं २०७४ मा स्थापना भएको महासङ्घमा हाल देशभरका २० भन्दा बढी सङ्घ आबद्ध रहेका छन् । महासङ्घले उद्योगी व्यवसायीको हकहितका लागि विभिन्न कार्यक्रमको समेत आयोजना गर्दै आइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.