कम्पनी रजिष्ट्रार कार्यालयः वर्षमा ६ काण्ड, बिदाका दिन पनि छोड्दैनन् घुस लिन

  २०७६ फागुन २८ गते १८:१७     राजाराम न्यौपाने

काठमाडौं । ‘सरकारी कार्यालयमा कुनै काम गराउन जानु पर्यो भने घुस बिना कामै हुँदैन’– सर्वसाधारण सेवाग्राहीबाट यस्तो गुनासो पटक–पटक आउने गरेको छ । सरकारी कुन कार्यालयमा बढी घुस लेनदेन हुन्छ भन्ने सम्झ्यो भने सबैभन्दा बढी भन्सार र मालपोत जस्ता कार्यालय पहिलो नम्बरमा आउँछन् ।

यी कार्यालयहरु घुस अड्डाका रुपमा परिचित हुँदै आएका छन् । यस्तै, घुस लेनदेन हुने कार्यालयका रुपमा कम्पनी रजिष्ट्रार कार्यालय प्रष्ट देखिन थालेको छ । पछिल्लो समय भ्रष्टाचारको आरोपमा सो कार्यालयका कर्मचारीहरु महिनैपिच्छे पक्राउ परेका सूचना तथा समाचारहरु पनि आइरहका छन् ।

बुधवार छुट्टी लिएर बसेका कम्पनी रजिष्ट्रार कार्यालयका सुब्बा डोरप्रसाद पन्थीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार घुस लिँदालिदै पक्राउ गर्यो । पन्थीले बुधबार छुट्टी लिएका थिए । बिदा लिएको दिन पनि कम्पनी रजिष्ट्रार कार्यालयको गेटबाट पैसा लिँदै गर्दा अख्तियारको टोलिले मुचुल्का उठाएर उनलाई नियन्त्रणमा लिए ।

अहिले उनी माथि आयोगले अनुसन्धान सुरु गरेको छ । आजै अख्तियारले उनी माथि अनुसन्धान सुरु गरेको पत्र कम्पनी रजिष्ट्रार कार्यालाई दिएको छ ।
कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोष दाहालले अख्तियारले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको विकासन्यूजलाई जानकारी दिए ।

पछिल्लो समय कार्यालयमा मौलाएको घुस प्रकरणले कम्पनी रजिष्ट्रार कार्यालय बदनामी हुनु परेको अवस्था छ । उक्त कार्यालयमा काम गर्छु भन्न पनि लाज लाग्ने अवस्था आएको सोही कार्यालयमा कार्यरत एक कर्मचारीले बताए ।

कम्पनीको यस्तो हालत देखेर आफै लाज लागेर आउँछ, कसैले सोध्यो भने म उद्योग मन्त्रालयमा काम गर्छु भन्छु,’ ती कर्मचारीले भने ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा घुस काण्डको श्रृंखला यस्तो

गत कार्तिकमा मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यालयका दुई जना सहायक रजिष्ट्रारलाई छलफलका लागि बोलायो र अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।

अख्तियारले उनीहरु माथि अनुसन्धान थालिएको पत्र कम्पनी रजिष्ट्रार कार्यालाई पठाएको थियो । अनुसन्धानका लागि अख्तियारले कम्पनी रजिष्ट्रार कार्यालयमै कार्यरत सहायक रजिष्ट्रार सीताराम खड्का र हाल उद्योग मन्त्रालयमा कार्यरत अर्का सहायक रजिष्ट्रार टंक भट्टराईलाई बोलाएको कार्यालयमा बोलाएको थियो ।
सहायक रजिष्ट्रार खड्काले आर्थिक चलखेल गर्दै १ महिनामा नै करिब १ हजार फाइलको काम गरेको स्रोतले बतायो ।

गत माघ १ गते रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी घुससहित पक्राउ परेकी थिइन् । उनले दर्ता रहेको स्कुलको कर तिर्न जाने सेवाग्राहीसँग राजस्व रकम कम गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएकी थिइन् ।

यसअघि गत २८ मंसिरमा सोही कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले पक्राउ गरेको थियो । उनले सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए ।

यसैगरी, गत ११ असोजमा अख्तियारले कार्यालयकै उप रजिष्ट्रारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको आरोपमा उनीहरूलाई अख्तियारले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.