उद्योगमा महिला: कागजमा बढी देखिए पनि व्यवहारमा न्यून

  २०७६ फागुन २७ गते १५:२१     सुनिता पुडासैनी

काठमाडौं । ‘एक कर्मचारी नबन्नुस्, बरु एक रोजगारदाता बन्नुहोस्, यसले नै परिवार, समाज र देशलाई नै आत्मनिर्भर बनाउँछ ।’ स्वरोजगार एवम् उद्योग क्षेत्रमा यो भनाई निकै चरितार्थ छ । पछिल्लो समयमा देशको राजनीतिक, सामाजिक र आर्थिक लगायत विविध पक्षमा आएको परिवर्तनले महिला उद्यमशिलतामा पनि टेवा पु¥याइरहेको छ ।

कुनै बेला चुल्हो–चौकोमा मात्रै सीमित रहेपनि पछिल्लो वर्षयता आर्थिक विकासका गतिविधिहरुमा पनि महिलाहरुको सक्रियता बढ्दो छ । घर गृहस्थदेखि व्यापार, व्यवसाय र उद्यमको क्षेत्रमा महिलाहरुको व्यवस्थापकीय क्षमता पनि अभिवृद्धि भइरहेको छ । औद्योगिक क्षेत्र तथा समग्र देश विकासका लागि महिलाहरुको सहभागीतामा वृद्धि हुनुपर्ने उद्यमीहरु बताउँछन् ।

घर व्यवस्थापनको लामो अभ्यास गरिरहेका महिलाहरुले व्यवसाय एवम् उद्योग क्षेत्रमा पनि अब्बल रुपमा व्यवस्थापकीय क्षमताको प्रदर्शन गरिरहेका छन् । अझ, समग्र उद्योग क्षेत्रको व्यवस्थापन एवम् विकासका लागि पुरुषको दाँजोमा महिलाहरु अब्बल रहने उद्यमीहरुको बुझाई छ ।

पछिल्लो समय उद्योग क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको महिला उद्यमी महासंघको भनाइ छ । कति महिला उद्योग क्षेत्रमा काम गरिहेकी छन् भन्ने एकिन तथ्याकं सरकारसँग नभएपनि महासंघमा भने ५ हजारभन्दा बढी महिला आवद्ध छन् । कुल महिलामध्ये ३३ प्रतिशत महिला सत्तामा, कृषि क्षेत्रमा करिब ५८ प्रतिशत महिला आवद्ध छन् भने घरेलु कामदारका रुपमा सबैभन्दा बढी ६६ प्रतिशत महिला छन् ।

महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ लामो समयदेखि महिला उद्यमी महासंघले महिला उद्यमीहरु उत्पादन गरिरहेको छ । नेपालमा करिब ५ प्रतिशत महिला उद्यमी रहेको महासंघले जनाएको छ । उद्यमीका लागि आर्थिक लेनदेनको विषयमा ठूलो समस्या भएसँगै सरकारले महिला उद्यमशिलता कोषबाट संस्थापनासँगै सहुलित कर्जा १५ लाख रुपैयाँ दिन थालेको छ ।

पछिल्लो समय व्यवसायिक रुपमा वस्तु उत्पादन गर्न महिला अघि सरिरहेका छन् । विशेष गरी कृषि, खाद्यवस्तु उत्पादन, हस्तकलादेखि पूननिर्माणको क्षेत्रमा महिलाको चासो तथा संक्रियता बढेको महासंघको भनाइ छ । आगामी दिनमा महिलाको आर्थिक जिवनस्तर उकास्न तथा क्षमता अभिवृद्धि कै लागि स्थानीय निकायसम्म सिपमुलक तालिम प्रदान गर्ने महासंघकी अध्यक्ष रिता सिंहले बताइन् ।

स–साना उद्योग क्षेत्रमा केही मात्रामा महिला आवद्ध भएपनि ठूला उद्योगमा संलग्न महिलाको संख्या अति न्यून रहेको उनको भनाइ छ ।
महासंघकी पूर्व अध्यक्ष शारदा रिजालले पनि उद्योग क्षेत्रमा महिलाको संक्रियता बढ्दै गएको बताइन् । सरकारले सहुलित कर्जा व्यवस्था ल्याएसँगै यस क्षेत्रमा महिलाको आकर्षण देखिएको उनको भनाइ छ ।

तर, जति आकर्षण छ त्यति स्थापित भने कमै भएको उनको भनाइ छ । पछिल्लो समय उद्यमशिलता नै आर्थिक विकासको आधार मान्दै महिला यस क्षेत्रमा आवद्ध हुने क्रम बढ्दै गएको हो । घरेलु उत्पादनमा महिलाको संक्रियता बढेपनि प्रविधिक तथा पुननिर्माणको क्षेत्रमा महिलाको उपस्थिति अति नै न्यून छ ।

वी बिल्ड कम्पनीको संचालक सुकीर्ति शर्माले  पुनर्निर्माण क्षेत्रमा महिलाको उपस्थिति अति नै न्यून रहेको बताइन् । महिला यस क्षेत्रमा स्थापित हुनु एक प्रकारले चुनौती नै रहेको उनको भनाइ छ । आर्थिक समृद्धि प्राप्तिका लागि पहिलो चरण भनेकै स्वदेशी उत्पादनको वृद्धि नै हो र निर्यातमुखी अर्थ प्रणालीको विकास गरिनु नै हो ।

तर, कुल जनसंख्याको आधाभन्दा बढि रहेका महिलाहरु आज पनि घरगृहस्थमै आफ्नो जीवन गुजरा गरिरहेका छन् । यहा“सम्म कि, शिक्षित र सक्षम महिलाहरु समेत घरायसी कामकाजमै आफ्नो समय व्यतीत गर्न बाध्य छन् । आफुसँग जे जति छ, आफूले चाहेको क्षेत्रमा नवीन तरिकाले काम सुरु गर्नुपर्ने तर सधैं सरकारलाई दोष मात्रै दिन नहुने उनीहरुको भनाइ छ ।

औद्योगिक क्षेत्र तथा समग्र देश विकासका लागि महिलाहरुको सहभागीतामा वृद्धि हुनुपर्ने उद्यमीहरु बताउँछन् । घर व्यवस्थापनको लामो अभ्यास गरिरहेका महिलाहरुले व्यवसाय एवम् उद्योग क्षेत्रमा पनि अब्बल रुपमा व्यवस्थापकीय क्षमताको प्रदर्शन गरिरहेका छन् ।
नेपालको कुल जनसंख्या मध्ये आधा भन्दा बढी महिला छन् । तर आर्थिक पक्षमा उपस्थिति न्यून हुँदा सामाजिक रुपमा उनीहरु अगाडि बढ्न समस्या छ ।

महिलाको अत्यधिक सहभागिता रहेको भनिएको साना, मझौला तथा घरेलु उद्योग हुन् । घरेलु तथा साथा उद्योगका क्षेत्रमा बल्ल महिला सहभागिता ३५ प्रतिशत पुगेको छ । महिलाहरुको नाममा उद्योग दर्ता गर्दा हुने छुटका कारणले पनि उनीहरुको नाममा उद्योग दर्ता भएका हुन् । सरकारले घरेलु उद्योग दर्तामा महिलाहरुलाई विशेष छुट दिएको छ ।

नेपाल सरकार गत वर्षदेखि महिला, दलित समुदाय तथा विपन्न वर्गको व्यक्तिको उद्योग दर्ता गर्दा अति न्यून मात्र शुल्क लिने गरेको छ । एक करोडदेखि ५ करोडसम्म पुँजी भएको उद्योग दर्ता गर्न ५० प्रतिशत दर्ता शूल्क छुट हुने व्यवस्था छ । तर यति ठूलो लगानी गरेर महिला नाममा उद्योग दर्ता गर्नुहरुको संख्या अझै धेरै कम छ । अझ  महिलकाे नाममा उद्याेग दर्ता गर्ने संख्या अलि बढी भएपनि व्यवहारमा भने न्यून देखिन्छन् । आर्थिक लोभमा नै भए पनि महिलाका नाममा उद्योग दर्ता हुनु भनेको सशक्तीकरणको नमुना मान्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.