आइसीसी विश्वकप लिग दुई: कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान

  २०७६ माघ २५ गते १३:४१     विकासन्युज

काठमाडौं । नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गरेका छन् ।आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका विरुद्धको खेलमा शनिबार उक्त कीर्तिमान बनाएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते अलराउण्डर कुशलले ५१ बल खेल्दै ५० रन बनाएका थिए । यस क्रममा उनले तीन छक्का र चार चौकासमेत प्रहार गरे। कुशलले १५ वर्ष ३ सय ४० दिनको उमेरमा विश्व कीर्तिमान बनाएका हुन् ।

यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो । रोहितले युनाइटेड अरब इमिरेटस् (युएई) विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाउनुभएको थियो । त्यो बेला १६ वर्ष १ सय ४६ दिनको थिए ।

नेपाल संकटको घडीमा रहेको बेला कुशल ब्याटिङ गर्न आए । त्यो बेला नेपालले पाँच विकेट गुमाएर मात्र ४९ रन बनाएको थियो । उनले विनोद भण्डारीसँग मिलेर नेपालको इनिङ सम्हाले। कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोडेका छन् ।
यसअघि सचिनले टेस्टमा १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.