१ लाख लगानीबाट १६ करोडकाे सम्पत्ति जाेडिन् सबिताले, अब ‘कीर्तिपुर होजियरी’काे ब्राण्डिङ गर्ने

२०७६ पुष २३ गते १६:३७ सुनिता पुडासैनी

काठमाडाैं । सफल व्यवसायी बिलगेट्सले भनेका छन्- ‘ठूलो सफलता प्राप्त गर्नका लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ ।’ हो, यो भनाई काठमाडौं कीर्तिपुरकी सबिता महर्जनसँग पनि ठ्याक्कै मिल्छ । संघर्षका पाटा र बाटाहरु पृथक किसिमका हुन्छन् । तिनै पाटा र बाटाहरुलाई आत्मसाथ गरी आफ्नो कामलाई निरन्तरता दिए सफल बन्न सकिन्छ भन्ने यो भनाई सबिताको जीवनमा पनि लागू हुन्छ ।

२०३६ सालमा काठमाडौंको कीर्तिपुरमा जन्मिएकी सबिताका संघर्षका भित्रिपाटाहरु अनगिन्ती छन् । अहिले सबिता ४० वर्षकी भइन्। तर, उनमा आफ्नो कामप्रतिको लगाव झुकाव भने निरन्तर बढ्दै गइरहेको छ । कामप्रति जति लगाव झुकाव छ त्यति नै शालिनता, भद्रता छ सबितामा ।

उनी आफ्नै व्यापार व्यवसाय गरेर जति उदाहरणीय बनेकी छिन् , त्यति नै गाउँलेहरुलाई सहयोग गरी नाम कमाउन सफल भएकी छिन् । हाल उनी कीर्तिपुर नगरपालिकाको महिला उद्यमी समितिकी उपाध्यक्षको रुपमा काम गरिरहेकी छिन् ।

सबिता महर्जनको जीवनमा समस्या, चुनौती र अवरोधहरु आए । तर, ती समस्या र चुनौतीहरुलाई उनले एउटा अवसर र सिकाईका रुपमा लिँदै अगाडि बढ्दै गइन् ।

डेढ लाखमा होजियरी उद्योग

समिता महर्जनले वि.सं २०६७ साल चैत महिनामा ‘कीर्तिपुर होजियरी इन्डस्ट्री’ शुरु गरिन् । त्यो समय सबिताको लागि निकै चुनौतिपूर्ण थियो । उनी भन्छिन् ‘म त्यो समय सम्झन पनि चाहँदैन, न घरपरिवारले साथ दिए, न बैंकले ऋण पत्यायो । तर, मैले आँट गरें र अहिले यो अवस्थामा पुगेँ ।’

उनले शुरुमा करिब डेढ लाख रुपैयाँ खर्च गरेर होजियरी उद्योग सञ्चालन गरिन् । अहिले उनले व्यवसाय गरेको पनि ९ वर्ष बितिसक्यो । हाल उनले त्यही व्यवसायबाट करौडौंको सम्पत्ति जोडेकी छिन् । मैले हालसम्म १६ करोड रुपैयाँ आम्दानी गरिसकेकी छु, गार्मेन्ट फ्याक्ट्रीमा ४० जना नियमित काम गर्ने कामदार छन्, घरमै बसेर बुनाइको काम गर्ने ३ सय जना छन्’ उनले भनिन् ।

भनिन्छ नि- ‘जो घोडा चढ्छ उही लड्छ ।’ हो, यस्तै सबिताले पनि आफ्नो जीवनमा धेरै हण्टर ठक्करहरु खाईन् । लामो समयको संघर्षपछि हाल उनी आफ्नो समाजमा एक सफल उद्यमीका रुपले चिनिएकी छिन् । उनी उद्योगमा उत्पादित सामाग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि पहल गरिरहेकी छिन् ।

उनी हाल विभिन्न ब्राण्डका कपडा उत्पादन गर्दै आएकी छन् । बजारमा चर्चित शेर्पा ब्राण्ड उनकै उद्योगबाट उत्पादित ब्राण्ड हो । आफ्नै ब्राण्ड बजारमा ल्याउनका लागि आर्थिक समस्याका कारण पछाडि परेकी सबितामा आजभोली एक किसिमको उत्साह थपिएको छ ।

कीर्तिपुर होजियरी ब्राण्ड ल्याउने योजनामा

गायक भक्तराज आचार्यले आफ्नो गीतमार्फत भनेका छन्- ‘हजार सपनाहरुको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरी भएर आउँछ ।’ कति सन्देश दिन खोजेको छ यी हरफहरुमा ।

यस्तै, उद्यमी सबिता महर्जनसँग पनि धेरै सपना छन् । जसलाई उनी पुरा गरेरै छोड्ने प्रतिज्ञा गर्छिन् । सबिताको एउटा ठूलो सपना छ । त्यो सपना हो कीर्तिपुर होजियरीको ब्राण्ड बजारमा ल्याउने । उनी आफ्नै होजियरीको ब्राण्ड बजारमा स्थापित गर्ने सोचमा छिन् ।

हाल उनको उद्योगमा महिनाको कम्तिमा ५ हजार स्विटर उत्पादन हुन्छन् । धेरै युवाहरुलाई प्रत्यक्ष रोजगारी दिने उनको अर्को सपना छ । यसै होजियरीलाई ठूलो उद्योग बनाएर धेरै मानिसकाे माग अनुसारकाे ब्राण्ड नेपाली बजारमा ल्याउने उनकाे सपना छ ।

विभिन्न डिजाइनका कपडाको अर्डरअनुसार उत्पादन गर्दै आएको उक्त उद्योगमा हातले बुनेका सामानको माग बजारमा पनि बढ्दै गएको उनी बताउँछिन् ।

सिलाई बुनाइले फेरिएको जीवन

सबिता महर्जन घरकी पहिलो सन्तानका रुपमा जन्मिएकी थिइन् । मध्यम परिवारमा जन्मेकी उनी सानैदेखि केही गर्नु, आफ्नै खुट्टामा उभिन सक्नुपर्छ भन्ने भावनाकी थिइन् । कीर्तिपुरकै जनसेवा माद्यामिक विद्यालयबाट वि.स २०५० सालमा एसएलसी दिएकी उनले सानै उमेर देखिनै सिलाई बुनाइको काम गर्ने गर्थिन् ।

कक्षा ७ मा पढ्दै उनले घरमा सिलाइ बुनाइको काम गर्ने गरेको सुनाइन् । ‘म सानैदेखि केही सीप सिक्नुपर्छ भन्ने मानसिकतामा थिएँ, त्यति बेलै गाउँघरका दिदीबहिनीहरुलाई सिलाइ बुनाइ सिकाउँथेँ ’ उनले भनिन् । महर्जनले यो क्षेत्रमा काम गरेको २५ वर्ष भयो ।

त्यो समयमा छोरीलाई पढाउनुहुन्न, राम्रो घरकेटालाई रोजेर विवाह गराइदिने चलन थियो, त्यतिबेला म आफ्नो लागि खर्च आफै जुटाउने हुँदा घरबाट विवाहको दबाब नआएको उनले बताइन् । एसएलसी पास गरेलगत्तै उनले घरेलु तथा साना उद्योगबाट दिईने तालिम लिइन् । उनी काम गर्दै सिक्दै गइन् । उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट दक्ष श्रमिकको सम्मानसहित पाइन् ।

यो सम्मानले पनि उनको जीवनका एउटा इँटा थपियो । उनको कामप्रति लगाव झुकाव बढ्दै गयो । कामसँगै उनले पढाईमा पनि निरन्तरता दिइन् । उनले पद्मकन्या क्याम्पसमा आईए अध्ययन शुरु गरिन् । पढाईसँगसँगै उनले कलंकीको एक निट वयरमा काम शुरु गरिन् ।

२०५७ सालमा स्नातक तहको अन्तिम वर्षको परीक्षा सकिएसँगै उनको विवाह पनि भयो । जतिखेर उनी २१ वर्षको थिइन् । उनको जीवन अब कीर्तिपुरकै विकास महर्जनसँग जोडियो । हरेक महिलाले आफ्नो श्रीमान आफ्नो काममा साथ दिओस् । आफूलाई सहयोग गरोस् भन्ने नै हुन्छ । सबिताले पनि त्यस्तै सोचेकी थिइन् ।

तर उनलाई परिवारबाट सहयाेग भएन । घर परिवारको सहयोग विना नै उनले आफ्नो सिलाई, बुनाईको काममा निरन्तरता दिइन् । आफ्नो काम सँगसँगै उनले सामाजिक काममा पनि हात हालिन् । समाजमा असाय मानिसहरुलाई सहयोग गर्ने, सीप सिकाउने काम पनि गरिन् ।

महिलाले घर तथा खेतीपाती र घरलाई व्यवस्थित बनाउने हो भन्ने गलत मानसिकता बोकेको समाजमा महिलालाई आफूले चाहे बमोजिकको कार्य क्षेत्रमा स्थापित गर्न असाध्यै गाह्रो हुने उनको भनाइ छ । आफ्नो कामका साथै लक्ष्य चुम्नका लागि उनी निरन्तर लागि रहिन् ।  महिलालाई हरेक क्षेत्रमा आफूलाई स्थापित गर्नका लागि धेरै चुनौतीको सामना गर्नुपर्ने अवस्था छ ।

सानो रकमका लागि कर्जा लिन बैंक जाँदा पनि उद्यमी महिलाको मात्र नभई सहायको हस्ताक्षरको खोजी बैंकिङ्ग क्षेत्रमा नै हुँदा एकल महिला उद्यमीलाई कर्जा लिनका लागि गाह्रो भईरहेको उनको भनाई छ । अझै पनि महिलाले केहि गर्न सक्दैनन् भन्ने मानसिकता बोकेको समाजले असहज वातावरण सिर्जना गरेको छ ।