नेपाल भ्रमण वर्षको संघारमा देखिएको निराशा

  २०७६ पुष १३ गते १०:४३     सम्पादकीय

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन यसै साता अर्थात जनावरी १ तारिकमा हुँदैछ । उद्घाटनलाई भव्य बनाउने सरकारले राजनीतिक तवरबाट प्रयास गरिरहेको छ । तर व्यवसायिक क्षेत्रमा उत्साहको कुनै गुञ्जाएस छैन ।

पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको उद्घाटनलाई भव्य देखाउन दशरथ रंगशालामा मावन सागर प्रदर्शनको तयारी गरेका छन् । जहाँ सान्दर्भिक भन्दा असान्दर्भिक मानिसहरुको ठूलो भेला हुँदैछ ।

मन्त्री भट्टराईले मान्छेको उपस्थिति ठूलो बनाउने नेपाल कम्यूनिष्ट पार्टीको भातृ संस्थादेखि सरोकार नै नभएको संघसंस्थाका पदाधिकारी र सदस्यहरुलाई अनिवार्य सहभागि हुन निर्देशन जारी गरेका छन् । तर नेपाल पर्यटन वर्षका सारथीहरु, नेपाल आउने पर्यटकको वास्तविक सेवक अर्थात पर्यटन व्यवसायी रंगशाला जाने मूडमा पनि छैनन् ।

नेपाल भ्रमण वर्ष २०२० को संयोजक सुरज बैद्यलाई नियुक्त गरेदेखि नै पर्यटन व्यवसायीहरु निराश थिए । निराशाको मिटर चड्दो छ, घट्दो छैन । भ्रमण वर्षका कार्यक्रमहरुमा पर्यटन व्यवसायिहरुको सहभागिता घट्दो छ, बढ्दो छैन । यतिसम्म कि पर्यटन व्यवसायी के मा विश्वस्त भैसके भने नेपाल भ्रमण वर्ष लज्जापद रुपमा असफल हुँदैछ । २० लाख पर्यटक आउने कुनै गुञ्जाएस छैन । त्यति मात्र होइन, अघिल्ला वर्षहरुमा नेपाल आउने पर्यटकको संख्या वार्षिक रुपमा २०÷२५ प्रतिशतले वृद्धि भएकोमा यस वर्ष सोहि अनुपातमा पनि पर्यटकको वृद्धि हुने छाँटकाँट छैन ।

तालमेल नमिलेको विषयहरु धेरै छन् । पर्यटक प्रवद्र्धनको लागि विदेशमा प्रचार प्रसार नगन्य छ । नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकले २०१९ को तुलनामा कुनै अतिरिक्त सुविधा छैन । न एराईभल भिसाको प्रोसेसिङलाई सरल बनाइएको छ, न हवाई टिकटमा कुनै छुटको प्रबन्ध गरिएको छ । न होटल बसाईमा छुटको प्रबन्ध गरिएको छ, न हिमाल चड्दा वा निकुञ्ज छिर्दा तिर्नु पर्ने शुल्क वा रोयल्टीमा छुटको प्रबन्ध गरिएको छ । नेपाल भ्रमण वर्ष भनेर तारे होटलमा वहस गर्ने र कार्यकर्तालाई पाँच तारे होटलमा लञ्च र डिनर खुवाईने, त्यो भन्दा अलि बाहिर जाँदा कार्यकर्ता सहभागि गोष्टीमा खादा, खाना र भत्ताको लागि राज्यको रकम खर्चने वाहेक नेपाल भ्रमण वर्ष २०२० मा नयाँ कुनै काम हुने छाँटकाँट देखिदैन ।

नेपाल भ्रमण वर्षको औचित्य पर्यटकको नाममा भाषण गर्नु, वियर, ह्विस्की र वाइनका बोतल फोर्नु र खुखुराको सपेटा चपाउनु र यसैमा सरकारी बजेट सिध्याउनु मात्र होइन । नेपाल भ्रमण वर्षको अवसरमा विदेशीलाई नेपाल निम्त्याउने, भित्र्याउने, नेपाली पहिचान, संस्कार र संस्कृतिलाई जीवन्त तुल्याउने, नेपालको प्राकृतिक, सस्कृतिक, धार्मिक धरोहर देखाउने, प्रचार प्रसार गर्ने कार्य गर्नुपर्छ । उनीहरुलाई नेपालका संस्कृति, वेशभूषा, कला, रहनसहन र परिकार खाने, हेर्ने, बुझ्ने, सिक्ने थाहा पाउने मेलोमेसो मिलाउनुपर्छ । नेपाल आएका पर्यटकलाई विदेशी पहिचाहन बोकेका पिज्जा, चाउचाउ, बर्गर खुवाउनु तथा कोकाकोला, कार्जवर्ग वियर, आयाति ह्विस्की पिलाउनु कुनै पनि अर्थमा राम्रो हुन सक्दैन ।

उनीहरुलाई नेपालका मौलिक परिकारहरु कोदो, फापर, गुन्द्रुक वा नेपाली फलफूल वा नेपाली जनावरमा आधारित परिकार खुवाउन सके नेपालको समृद्धिमा योगदान पुग्नेछ । सरकारी पैसामा उनीहरुकै प्लेन चार्टर गराएर ल्याउने अनि उनीहरुकै खाना खुवाउने अनि उनीहरुकै देशमा बनेको खादा लगाएर पठाउने हो भने त्यसले नेपाल र नेपालीको समृद्धिमा कुनै योगदान गर्दैन । त्यो मात्र घाटाको व्यापार हुन्छ । राज्यकोषको दुरुपयोग हुन्छ ।