नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालकाे उम्मेदवारी घाेषणा

  २०७६ पुष ११ गते १५:४८     विकासन्युज

काठमाडाैं ।  उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । गृहजिल्ला बाग्लुङ्गमा आजदेखि शुरु भएको वाग्लुङ्ग महोत्सवलाई सम्बोधन गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुन् । उनी महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भएका थिए ।

ढकाललाई महासंघकाे बरिष्ठ उपाध्यक्षकाे बलिया दावेदारकाे रूपमा हेरिएकाे छ । अहिले बरिष्ठ उपाध्यक्षमा विजयी हुने व्यक्ति तीन वर्षपछि स्वतः अध्यक्ष बन्ने बैधानिक व्यवस्था भएकाेले बरिष्ठ उपाध्यक्षकाे निर्वाचनलाई निकै महत्वका साथ लिइन्छ ।

शुक्रबार बागलुङ शुरू भएकाे महोत्सवको उद्घाटन समारोहमा  उद्योग वाणिज्य संघले बरिष्ठ उपाध्यक्षमा उठ्न गरेको प्रस्ताव स्वीकार गर्दै  उम्देवारी घाेषणा गरेकाे उनले जानकारी दिए । महासंघको उपाध्यक्षका साथै एकजना उद्यमीका रुपमा देशका विभिन्न जिल्ला तथा नगरमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुने क्रममा जिल्लाका उद्योग वाणिज्य संघहरु एवम् स्थानीय उद्यमी साथीहरुले आफूलाई महासंघको नेतृत्वमा आउन विशेष आग्रह गरेको उनले बताए ।

उक्त सम्बोधनका क्रममा उनले आफूले सानो व्यवसायदेखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको बताउँदै आगामी दिनमा साना तथा मझ्यौला एवम् समग्र उद्योगी व्यवसायीको समस्या बुझेर काम गर्ने बताए ।  उनले भने–’मेरो जीवन पनि तपाईँहरुजस्तै सानो तिनो पसल, उद्यम र सामान्य जागिरबाट शुरु भएर यहाँ पुगेको हुँ, त्यसैले साना व्यवसायीको पीरमर्का र अवस्थालाई अरुले भन्दा बढी महसुश गर्न सक्छु ।’

उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भने–‘तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु।’  उनले सरकारको सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न तथा सरकारले अघि सार्ने देश विकासका हरेक कार्यक्रममा सघाउन र सामाजिक न्याय सहितको तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन निजी क्षेत्रको अहम भूमिका रहने र यसका लागि आफूले पैरवी गर्ने प्रतिबद्धता गरे ।

बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकाल आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष छन् । उनी डिस होम मिडिया प्रालिका प्रवद्र्धक पनि हुन् । कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ ।

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष समेत छन् । ढकाल नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत भएका थिए । समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य तथा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.