सत्ता-सम्बन्धमा दरारसँगै यति ग्रुप संकटमा: हिमालयको सेयर बेच्यो, बुटिक होटल खुलेन

२०७६ मंसिर ११ गते १६:१४ विकासन्युज

काठमाडौं । ‘व्यवसाय गर्न ठिक छैन । सरकारबाट सहयोग नै छैन’ यति एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पाले आफ्ना साथी सर्कलमा बारम्बार दोहोर्याउने भनाई हो यो ।

उनी अर्बौ सम्पत्तिका मालिक हुन् । उनी र उनको परिवार सदस्यहरुले एक दर्जनभन्दा बढी कम्पनीहरु सञ्चालन गरिरहेका छन् ।

एति एयरलाईन्स, तारा एयरलाईन्स, थामर्सेकु ट्रेकिङ, यति माउन्टेन होम उनको ठूला कम्पनी हुन् । पर्यटकीय क्षेत्र पोखरा, चितवन, सगरमाथा, अन्नपूर्णसहित हिमाली क्षेत्रमा थुप्रै पर्यटकीय होटल तथा लजहरु चलाउन्छन् । कसरा, केर एण्ड डोउनी लगायत रिसोर्टहरुमा पनि चलाएका छन् । निजीकरणको क्रममा गोकर्ण फरेष्ट रिसोर्ट यहि ग्रुपले लिजमा लिएको हो ।

घरजग्गादेखि होटलसेवा क्षेत्रमा समेत यति ग्रुपको ठूलो लगानी छ । विभिन्न क्षेत्रमा ठूलो लगानीका साथसाथै सेवा पनि विस्तार गर्दै आएको छ । पछिल्लो समय पर्यटकीय सेवा क्षेत्रबाहेक घरजग्गा व्यवसायमा पनि यति ग्रुपको ठूलो लगानी रहेको छ । थामसेर्कु डेभलपर्सको नाममा राजधानीको ठमेल, दरवार मार्गमा ठूला ठूला विजनेश कम्प्लेक्स बनाएका छन् ।

एउटै पुस्ताले विस्तार गरेको यति ठूलो विजनेश हुँदा हुँदै पनि सोनाम र उनको परिवार सन्तुष्टि छैनन्, बढो तनाव बोकेर हिडिरहेका छन् ।

फ्लाई यतिमार्फत अन्तराष्ट्रिय उडानमा उनीहरु असफल भए र अन्तराष्ट्रिय उडान बन्द गरे । ठूलै लगानीमा फ्लाई यति सञ्चालनमा आएको थियो । तर अन्तराष्ट्रिय उडानमा अन्य व्यवसाय जति फस्टाउन नसकेपछि त्यो व्यवसायबाट उनले हात धुनु पर्यो । बरु त्यसको सट्टामा अन्य व्यापार व्यवसाय सुरु गरे ।

फलाई यति बन्द भएपछि चिनियाँ लगानीकर्तासँगको साझेदारीमा हिमालय एयरलाइन्स चलाए । यसमा पनि यति एयरलाइन्सले ठूलो घाटा खायो । निरन्तर तीन वर्षसम्म कम्पनी घाटामा गएपछि र बजार विस्तारमा पनि असफलता भोगेपछि उसले आफ्नो १६ प्रतिशत सेयर बेचेर बहुमत सेयरसहित व्यवस्थापनकी जिम्मेवारी चिनियाँ लगानीकर्तालाई सुम्पिएको छ ।

हिमालय एयरलाइन्सकाे नयाँ सञ्चालक समिति

शुरुमा यति एयर कम्पनी अन्तरगतको यति वल्र्ड इन्भेष्टमेन्टको शेयर बाहुल्यता थियो । हिमालयमा यतिको ५१ दशमलव ०१ प्रतिशत र तिब्बत एयरलाइन्सको ४८ दशमलव ९९ प्रतिशत शेयर हिस्सा थियो । अहिले यतिको ३५ प्रतिशत छ भने ६५ प्रतिशत शेयर तिब्बत सिभिएल एभिएसन डेभलभमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले लिएको छ ।

शुरुमा हिमालय एयरलाइन्सको सम्पूर्ण व्यवस्थापन यति इन्भेष्टमेन्टले समालेको थियो । अध्यक्ष आङछिरिङ शेर्पा थिए भने कार्यकारी उपाध्यक्ष विजय श्रेष्ठ थिए ।
अहिले हिमालयको सम्पूर्ण व्यवस्थापन चिनियाँ लगानीकर्ताले लिएका छन् । ज्यु एनयोङ्ग अध्यक्ष र क्याप्टेन हाओ डी उपाध्यक्ष रहेको कम्पनी सञ्चालक समितिमा यति एयरका तर्फबाट विजय श्रेष्ठ मात्र रहेका छन् ।

हिमालयमा मात्र होइन, पछिल्लो समय यति ग्रुपले लगानी गरेको यति एयरलाइन्स, होटल, विजनेश कम्प्लेक्स, मिडिया लगायतको विजनेश संकटतर्फ धकेलिएको छ । यति ग्रुपले काठमाडौंको लैनचौरमा सात तारेस्तरको ‘बुटिक होटल’ गर्ने भनेर ठूलो भवन बनायो । तर होटल सञ्चालन गर्न असफल भयो । सँगै देखिएको विल्डिङ बुटिक होटल खोल्न भनेर बनाइएको हो ।

बीचमा यो भवन एनसेलले भाडामा लिने सहमति भएको थियो । उक्त सहमति एकाएक भाँडिएपछि एनसेल नयाँ भवनको खोजीमा गएको छ । एक अर्ब भन्दा बढी लगानीमा निर्मित यो भवन लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ ।

तीन दशकको सफलता

गत फागुन महिनामा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । सोहि दुर्घटनामा यति ग्रुपका तत्कालिन अध्यक्ष आङछिरिङ शेर्पाको समेत दुःखद निधन भयो ।

आङछिरिङको निधनपछि लाक्पा सोनामले यति ग्रुपको नेतृत्व गरेका छन् । आङछिरिङका छोरा नोर्बु शेपाले सोनामलाई व्यवसायमा सघाउँदै आएका छन् ।

थामशेर्खु ट्रेकिङ कम्पनीबाट शेर्पा परिवार विजनेशमा माथि आएको हो, जहाँ अहिले पनि करिव ७०० कर्मचारी छन् । पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भएपछि थामशेर्खु ट्रेकिङ कम्पनीले सफलता चुमेको थियो । सोही कम्पनीबाट भएको आर्जनबाट शेर्पाले यति एयरलाईन्स खोलेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

शक्ति केन्द्रसँग दरार

करिब तीन दशकको अवधिमा २० औं अर्बका मालिक बनेको शेर्पा परिवार सधैं शक्ति केन्द्रको नजिक हुन्थ्यो । राजाको पालामा पनि निजीकरणको क्रममा गोकर्ण फरेष्ट रिसोर्टको व्यवस्थापन हात पार्न सफल यो परिवारले गणतन्त्र आएपछि पनि नेपाल ट्रष्टसँग दरबार मार्गको जग्गा लिजमा लिन सफल भयो । शक्ति केन्द्रहरुको सहयोगमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि नेपालका धेरै डोमोस्टीएक एयरपोर्टको आन्तरिक व्यापारमा पनि उनले राम्रो होल्ड गरेका छन् ।

ठूलो होटल वा रिर्सोटमा आङछिरिङ शेर्पा प्राय शक्तिकेन्द्रका पात्रहरुसँगै भेटिन्थे । पर्यटन मन्त्रीदेखि यस क्षेत्रको प्रमुख राजनीतिक नियुक्तीमा बारम्बार शेर्पाको नाम जोडिएर आउने गरेको थियो । धुम्बराईस्थित नेपाल कम्यूनिष्ट पार्टीले प्रयोग गर्दै आएको भवन समेत शेर्पा परिवारले दिएकोले सत्ता र शेर्पा परिवारबीचको लेनदेन खुला आँखाले देखिने लेवलमा आएको थियो ।

तर पछिल्लो समय शेर्पा परिवार र सत्ताबीचको सम्बन्धमा दरार आएको छ । दरबारमार्गस्थित नेपाल ट्रष्टकाे जग्गामा थामसेर्कुले बनाएको भवन विवादमा आउनुलाई यहि दरारको रुपमा हेरिएको छ ।