सागको ओलम्पिक टर्च र्याली आजबाट शुरू, सातै प्रदेशमा हुने

  २०७६ मंसिर ६ गते १५:१२     विकासन्युज

काठमाडौं । १३औं दक्षिण एशियाली खेलकूद (साग) को ओलम्पिक टर्च र्याली स्वयम्भूबाट शुरु भएको छ ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आज स्वयम्भूमा ओलम्पिक टर्च प्रज्वलन गरी ओलम्पियन समूहलाई हस्तान्तरण गरेका हुन् । सागको महत्वबारे देश भरी फैल्याउने उद्देश्यले टर्च र्यालीलाई सातै प्रदेशको मुख्य शहरमा पुर्याउने कार्यक्रम रहेको छ ।

ओलम्पिक टर्च काठमाडौँबाट आजै प्रदेश नं १ को राजधानी विराटनगरमा पुर्याइने कार्यक्रम रहेको छ । त्यसैगरी दोस्रो दिन प्रदेश नं २ को जनकपुर, तेस्रो दिन प्रदेश नं ३ को हेटौँडा र चितवन, चौथो दिन प्रदेश नं ५ को लुम्बिनी र बुटवल, पाँचौँ दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं ५ को नेपालगञ्ज, छैटौँ दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौँ दिन गण्डकी प्रदेशको पोखरा लगिने कार्यक्रम छ ।

आठौँ दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ । सोही दिन पोखराबाट टर्चलाई काठमाडौँ ल्याइने छ । नवौँ दिन काठमाडौँको विभिन्न स्थान परिक्रमा गराइ त्यसै दिन साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दीप प्रज्वलन गरिने कार्यक्रम छ ।

र्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका बैकुण्ठ मान्नधर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी सङ्घका अध्यक्ष एवं करातेका दीपक श्रेष्ठ सहभागी छन् ।

साग यही मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा हुँदैछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.