शनि विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार,हात पारे ५० लाख

  २०७६ कार्तिक ८ गते २०:४४     विकासन्युज

काठमाडौं । राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता बन्न सफल भएका छन् ।

शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । नेपाल लोक स्टारको विजेता भएसँगै विश्वकर्माले ५० लाख रुपैयाँको पुरस्कार हात पारेका हुन् ।

यसका साथै उनले २५ लाख रुपैयाँ बराबरकाे जीवन बीमा पनि हात पारेेेेका छन् ।

यस्तै चेतन गोतामे (स्याङ्जा) लोकस्टारको दोस्रो बन्न सफल भएका छन् । उनले २५ लाख रुपैयाँ पुरस्कार र १५ लाख बराबरकाे जीवन बीमा हात पारेका छन्।

विनोद दनुवार (उदयपुर) ले भने प्रतियोगितामा तेस्रो स्थान हात पारे । उनले १० लाख रुपैयाँ नगद पुरस्कारका साथै १० लाख रुपैयाँ बराबरकै जीवन बीमा प्राप्त गरेेेेका हुन् ।

यस्तै रामकुमार नेपाली इलेक्ट्रिफाइङ्ग पर्फर्मेन्स अवार्ड हात पार्न सफल भए। उनले लिट्मस केबलको तर्फबाट २ लाख रुपैयाँ हात पार्न सफल भए ।

फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) बीच प्रतिस्पर्धा भएको थियो ।

‘नेपाल लोक स्टार’का अनुसार गएको शनिबार दिउँसो १२ बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्म स्रोता तथा दर्शकले गरेको भोटको आधारमा विजेता घोषित भएका हुन् ।

नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेेेेका थिए ।

अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.