साताको शेयर बजार : अर्ब पनि पुगेन कारोवार

  २०७६ कार्तिक २ गते १६:३६     विकासन्युज

काठमाडौं । दशैंको लामो बिदापछि खुलेको शेयरबजार उतार चढावपूर्ण अवस्थामा नै रही बन्द भयो । चालू आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम सातासम्म आइपुग्दा बजारले ओरालोको यात्रा नै तय गर्याे ।

धितोपत्र बजारमा यस साता कूल १ सय ६० कम्पनीको शेयर कारोवार भए । कूल ३२ लाख ८७ हजार ९ सय ६६ कित्ता शेयर ८० करोड ७५ लाख ५६ हजार ६ सय १२ रुपैयाँ मूल्यमा खरीदबिक्री भए । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका कारण साताको पहिलो दिन आइतबार सरकारले सार्वजनिक बिदा दिएका कारण बजार बन्द भयो । सोमबारदेखि बिहीबारसम्म खुलेको बजार उकालो लाग्ने अपेक्षा रहे पनि लय समात्न सकेन ।

सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १२.०५ विन्दुले घटेर एक हजार १३६.९६ विन्दुमा पुग्यो । कूल १ सय ५४ कम्पनीको आठ लाख ३३ हजार ७५३ कित्ता शेयर २१ करोड ८६ लाख ३५ हजार ६ सय ९१ रुपैयाँ मूल्यमा खरीदबिक्री भए ।

मङ्गलबार नेप्से परिसूचकमा सामान्य सुधार भयो । सो दिन नेप्से परिसूचक ३.६२ विन्दुले बढेर एक हजार १४०.५८ विन्दुमा पुग्यो । कूल १ सय ५० कम्पनीको सात लाख १९ हजार ३३० कित्ता शेयर २० करोड ९२ लाख ६ हजार ६३१ रुपैयाँ मूल्यमा कारोवार भयो ।

बुधबार नेप्से परिसूचक पाँच अङ्कले ओरालो लाग्यो । नेप्से ५.०१ अङ्कले घटेर एक हजार १३७.०३ मा पुग्यो । स्टकका अनुसार कूल १ सय ५९ कम्पनीका सात लाख ३६ हजार ८८३ कित्ता शेयर १९ करोड ६६ लाख १८ हजार ९ सय ३६ रुपैयाँमा खरीदबिक्री भए ।

साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा सामान्य वृद्धि भयो । सो दिन नेप्से परिसूचक ०.७१ अङकले बढेर एक हजार १३७.७५ मा पुग्यो । स्टकका अनुसार सो दिन कूल १ सय ६० कम्पनीका नौ लाख ९८ हजार कित्ता शेयर १८ करोड २९ लाख ९४ हजार ९ सय ५ रुपैयाँमा खरीदबिक्री भए । स्टकमा यस साता मिथिला लघुवित्त वित्तीय संस्थाको ६८ हजार ९४६ कित्ता शेयर लाभांश सूचीकृत भए ।

बजार पूँजीकरणका आधारमा पनि यस साता नेपाल दूरसञ्चार कम्पनी नै शीर्षस्थानमा रहेको छ । यस्तै नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्डट बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, कृषि विकास बैंक र एनएमबी बैंक शीर्ष दशमा रहेका छन् ।

८२ कम्पनीको कारोवार रोक्का

नेपाल स्टक एक्सचेञ्जले धितोपत्र सूचीकरण विनियमावलीअनुसार सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण ८२ कम्पनीको कारोवार स्थगित गरेको जनाएको छ । स्टकका सूचीकरणका शाखाका अनुसार लघुवित्त १९, व्यापार तीन, होटल दुई, अन्य दुई उत्पादन ११, विकास बैंक १८, बीमा दुई, वित्त ११ र जलविद्युत्का १३ कम्पनीको कारोवार स्थगित गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.