उत्पादित स्याउले बजार नपाउँदा किसान चिन्तित

  २०७६ असोज ८ गते १३:२३     विकासन्युज

रुकुमपूर्व । रुकुमपूर्वको हिमाली क्षेत्रमा प्रशस्त मात्रामा स्याउ उत्पादन हुन्छ । पुथा उत्तरगङ्गावासीका अधिकांश घरमा र भूमे गाउँपालिकाको केही क्षेत्रमा स्याउका बोट छन् । बोटमा लटरम्म स्याउ फलेका छन् ।

स्याउ किसानलाई बोटबाट स्याउ टिप्ने चटारो छ । तर, यतिबेला किसान निकै चिन्तित देखिन्छन् । उनीहरुलाई चिन्ता छ, फलेको यो स्याउलाई अब के गर्ने ? जिल्लाको सदरमुकाम रहेको सिस्ने गाउँपालिका रुकुमकोटमा प्रतिकिलो स्याउको मूल्य रु २०० पर्छ ।

तर पुथा उत्तरगङ्गा गाउँपालिकामा उत्पादन भएको स्याउको मूल्य भने २०÷३० रुपैयाँ पर्ने गरेको छ । उत्पादन प्रशस्त मात्रामा हुने तर उत्पादनले बजार नपाउँदा किसान मर्कामा परेका हुन् । सडक पुगेको कतिपय ठाउँमा वर्षातका कारण अवरुद्ध सडक सुचारु भएको छैन भने अधिकांश ठाउँमा सडक सुविधा पुगेकै छैन ।

यातायातको सुविधा नहुँदा उत्पादित स्याउ ढुवानी हुन नसकेको स्थानीयवासीले बताएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका, पेल्माका स्याउ किसान वासु बुढामगरको घरमा एक हजार स्याउका बोट छन् । ती बोटले चार वर्षदेखि फल दिन थालेको उनले बताए ।

उनले लगाएका स्याउका प्रतिबोटले तीन सयदेखि पाँच सयसम्म स्याउका दाना लगाउने गरेका छन् । स्याउ बगैँचामा पुग्दा परिश्रमको फल हेरी निकै आनन्द महसुस गर्छु तर परिश्रम खेर जाने चिन्ताले निकै सताउने गरेको छ ।

उनले भने, “गाउँमा सडक पुगेको छैन, ढुवानी हुँदैन, घरमा कोही किन्न आयो भने महँगो पैसा तिर्दैनन्, प्रतिकेजी रु २०÷३० मा बेच्ने गरेको छु ।” घरमा फलेको थुप्रो स्याउ दुई तीन किलो बेचेर नसकिने भएकाले गाईभैँसी तथा भेडाबाख्रालाई खुवाउने गरेकोसमेत उनले बताएका छन् ।

सोही ठाउँका अर्का लजिम पुनले पनि आफूले उत्पादन गरेको स्याउ प्रतिकेजी रु ३० मा बेच्ने गरेको बताउँछन् । जैविक स्याउ उत्पादन गर्ने गरेको तर, भौगोलिक विकटताका कारण बजारसम्म पुर्याउन नसक्दा आफूहरुले लाभ लिन नसकेको उनको भनाइ छ ।

सोही ठाउँका अर्का किसान हर्कबहादुर कामीले भने, “यातायातको सुविधा छैन, घोडामार्फत ढुवानी गर्दा स्याउ बिग्रने र महङ्गो पर्न जान्छ ।” उत्पादनलाई भण्डारण गरौँ भने पनि शीतभण्डारको व्यवस्था नभएको उनले बताए ।

भूमे गाउँपालिका–१ लुकुमको मैजाकुङस्थित तीर्थबहादुर पुनको बारीमा लगाएको एउटा स्याउको बोटमा दुई सयभन्दा बढी स्याउका दाना फलेका छन् । उनको बारीमा ३३० वटा स्याउको बिरुवा छन् । उनको घरमाथिसम्म सडक पुगेको छ । वर्षाका कारण अवरुद्ध भएको सडक नखुल्दा स्याउ घरमै थुप्रिएको उनले बताउँछन् ।

अब छिट्टै सडक सुचारु नभए स्याउ कुहिएर जाने चिन्ताले उनलाई सताइरहेको छ । यतिबेला रुकुमपूर्वका स्याउ किसानले आफूकहाँ आएका पाहुनालाई डोकाभरि स्याउ दिएर फर्काउने गरेका छन् । उनीहरु भन्छन्, “स्याउ कुहिएर जानुभन्दा आफन्तलाई कोसेली दिएर पठाउने गरेका छौँ ।”

जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको पेल्मा, घुइवाङ, रल्तिजाङ, हुकाम, मयाङलगायतको क्षेत्र र भूमे गाउँपालिकाको लुकुम, गुणाम, काँक्री, कोर्जालगायतको क्षेत्र स्याउ फल्ने ठाउँ हुन् । रुकुमपूर्वको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न ठाउँका नागरिकले जुम्ला, रोल्पाबाट स्याउका बोट लिएर रोपेका हुन् । पछिल्लो चरणमा भने स्थानीयस्तरमै स्याउका बिरुवा उत्पादन गर्न थालिएको छ ।

अहिले पुथा उत्तरगङ्गा गाउँपालिकास्थित विभिन्न क्षेत्रका मानिसले दुई सयदेखि एक हजारसम्म स्याउका बोट लगाएका छन् । लगाएको छोटो समयमै स्याउको बोटले राम्रो फल दिन थालेपछि खुशी भएका किसान यतिबेला स्याउले बजार नपाउदा दुःखी बनेका छन् ।

अहिले जिल्लामा कति स्याउ उत्पादन हुन्छ भन्ने कुराको यकिन तथ्याङ्क भने छैन । गाउँपालिकामा कति स्याउ उत्पादन हुन्छ भन्ने कुरा पत्ता लगाउन पुथा उत्तरगङ्गा गाउँपालिकाले कृषि प्राविधिक खटाएको बताएको छ । गाउँपालिकाका कृषि प्राविधिक सन्तोष ओलीले स्याउ उत्पादन हुने क्षेत्रमा पुगेर गाउँपालिकाभरि कति स्याउ उत्पादन हुन्छ भनेर तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको बताएका छन् ।

त्यसैगरी, पुथा उत्तरगङ्गा गाउँपालिकामा कृषि उपज सङ्कलन केन्द्र निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारले रु आठ÷आठ गरी १६ लाख बजेट छुट्याएको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाथोकीले जानकारी दिए । भूमे गाउँपालिकाले भने भूमेलाई कृषि जैविक गाउँपालिका बनाउने लक्ष्यका साथ कृषिलाई प्राथमिकता दिएर अगाडि बढेको गाउँपालिका अध्यक्ष रामसुर बुढामगर बताउँछन् ।

जिल्लामा बिरुवा उत्पादन, खेती गर्ने तरिका र यस क्षेत्रको भौगोलिक अध्यनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने किसानको माग छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.