मस्तिस्कघात भएको २४ घण्टासम्म न्युरो ईन्टरभेन्सन विधिबाट बिरामी बचाउन सकिन्छः डा. सुवास फुँयाल

  २०७६ साउन २४ गते ९:४५     डोमी शेर्पा

 

काठमाडौं । भारतको अल ईन्डिया ईन्स्टिच्युट अफ मेडिकल साईन्समा ३ बर्षको तालिम पछि डा. सुवास फुँयालले भर्खरै नेपालमा आफ्नो पेशालाई पूर्णता दिएका छन् । डा. फुयाल नेपालको पहिलो न्युरो ईन्टरभेन्सानिस्ट हुन् । करिब ४ महिनादेखी ग्राण्डी अस्पतालमा डा. फुँयाल फुल टाइम डाक्टरको रुपमा कार्यरत छन् ।

४ महिनाको अवधिमा उनले न्युरो ईन्टरभेन्सनको माध्यमाबाट ५८ जना व्यक्तीहरुको सफल उपचार गरिसकेका छन् । त्यसमा उनले ६ जना मस्तिसकघातको, ३० जनाको एन्युरिजमको , ६ जनाको ब्रेन एभिएम र १६ जनाको कारोटिड स्टेन्टिङ-बडी ईन्टरभेन्सनको माध्यमबाट उपचार गरेका हुन्।

शरीरको विभिन्न भागहरु जस्तै टाउको, खुटा, हातको नशाहरु एकअर्कामा जडित हुन्छन्, जसको कारण एकको मार्फत अर्कोको अवस्था बुझ्न सकिन्छ। न्युरो ईन्टरभेन्सन यस्तो उपचार विधि हो, जसमा दिमागमा रगत पुर्याउने नशा सम्बन्धीका रोगहरुको दिमाग नखोली उपचार गरिन्छ । उदाहरणको लागि जस्तै नशा बन्द हुनु अर्थात मस्तिष्क घात, नशा सुन्निएर र फुट्नु अर्थात एन्युरिजमको उपचार यस विधिबाट गरिन्छ । यो विधि मेडिकल साइन्सको क्षेत्रमा पछिल्लो समयको निकै नै प्रभावकारी उपचार विधि हो । धेरै जनशक्तीको आवश्यक रहेको यस उपचार विधी एकदमै महँगो पनि रहेको छ ।

कसरी सुरु भयो न्युरो ईन्टरभेन्सन ?
सन् १९६०/७० को समयमा दिमागको नशाको अध्ययनको लागि मात्र न्युरो ईन्टरभेन्सनको सुरुवात भएको थियो । जसरी सिटी स्क्यान प्रयोग गरेर दिमाग भित्र के भईरहेको छ भनेर थाहा पाईन्छ, त्यसरी नै दिमागको नशामा के भईरहेको छ भनेर थाहा पाउनको लागि अपनाइने विधि हो न्युरो ईन्टरभेन्सन । यस विधिमा सबैभन्दा पहिला खुट्टाको अथवा घाँटीका नशाहरुबाट गएर दिमागको नशामा के भईरहेको छ भन्ने थाहा पाउन सकिन्छ ।

बिस्तारै बिस्तारै यसका सामाग्रीहरुले दिमागको नशामा हेर्न सकिन्छ भने दिमागको नशामा भित्रैबाट उपचार पनि गर्न सकिन्छ भन्ने बिषय डाक्टरहरुले बुझे र बिस्तारै त्यसको लागि आवश्यक सामाग्रीहरु बनाउँदै गए ।

पछि सन् १९८० र १९९० को दशकमा आएर यस विधिबाट उपचार गर्न सकिन्छ भनेर उपचारका तरिकाहरु खोजिन थाले । अध्ययनको क्रममा सन् २००० को सुरुवाती समयमा यस विधिबाट नशा फुल्लिएका समस्याहरु उपचारपनि गर्न सकिन्छ भनेर विश्वब्यापी रुपमा यो विधि अपनाइयो । यस्तै २०१० मा आएर नशा बन्द भएकोलाई पनि उपचार गर्न सकिन्छ भनेर नयाँ पद्तीहरु सुरु हुँदै गए । अहिले २०१८ मा आएर अमेरिकी गाईडलाइन्सले यो पद्दतिलाई “highest level of evidence” भनेको छ । यस अर्थ यो पद्दती नै कुनै पनि ठूलो नशा बन्द भएको समस्याको लागि सबैभन्दा उपयुक्त र पहिलो उपचार हो।

कसरी हुन्छ मस्तिष्क पक्षघात
मस्तिष्क घात अथवा ब्रेन स्ट्रोक मानिसको दिमागमा रगत सञ्चारको कमीले हुने गर्दछ । दिमागको नशामा रगत सञ्चारमा कमी भएमा दिमागमा २ मिनटमा २० लाख कोषिकाहरु मर्ने गर्दछ । मस्तिष्क घात हुने बित्तिकै मानिसको मृत्‍यु भने हुँदैन । एउटा आँखाले धमिलो देख्ने, मानिसको हिँडाई लड्बडिने, हाँस्दा एकतर्फको मुख बाङो हुने, हात खुटा कमजोर भएर एउटा खुटा अथवा हात बिस्तारै झर्ने, बोली लरबराउने यसका लक्षण हुन् ।

विश्वव्यापी रुपमा मानिसमा भएको अपाङ्गताको पहिलो र मृत्‍युको चौथो कारण मस्तिस्कघात रहेको छ । यस्तै नेपालमा भने अपांगताको पहिलो र मृत्‍यु हुनुको तेस्रो ठूलो कारण मस्तिस्कघात हो । यसमा समयले निकै नै महत्वपूर्ण भूमिका खेल्छ, त्यसैले यदी बिरामीलाई यस्तो कुनै पनि लक्षण देखिएमा समयमा नै अस्पताल ल्याउन सक्नुपर्छ। मानिसहरुलाई समयमा ल्याउन सकियो भने मानिसहरु जिन्दगीभर हात खुटा नचलेर बस्नुपर्ने अवस्था आउँदैन ।

मस्तिस्कघात भएको २४ घण्टामा पनि बचाउन सकिन्छ
जति सक्दो मस्तिस्क घातका बिरामीलाई समयमा अस्पताल पुर्याए बिरामीलाई मृत्‍युको मुखबाट बचाउन सकिने भनिन्छ यधापी न्युरो ईन्टरभेन्सन सेवा भएको अस्पतालमा २४ घण्टा सम्म पुर्याउन सकेको अवस्थामा बिरामीलाई बचाउन सक्ने फुँयाल बताउँछन् ।

२००४ सम्म पुरानो विधिबाट गरिने मस्तिस्क पक्षघातको उपचार पद्दती अनुसार बिरामीलाई पक्षघात भएको ४–५ घण्टामा अस्पताल आएको अवस्थामा बिरामीलाई बन्द भएको नशा खोल्नलाई रगतको ढिक्का पगाल्ने औषधी दिइन्थ्यो । जसले बिरामी अपांग हुनबाट बन्चित हुन्छ वा हुँदैन भन्ने कुराको ग्यारेन्टी दिदैन थियो । तर पछि गएर २०१४ पछि अपनाईएको न्युरो ईन्टरभेन्सनले बिरामीलाई पक्षघात भएको २४ घण्टा पछी ल्याउँदा पनि उपचार गरी सफल भएको संख्या धेरै रहेको छ।

सफल तर महँगो उपचार विधि
न्युरो ईन्टरभेन्सन एउटा निकै सफल उपचार विधि भएता पनि यो निकै नै महँगो रहेको छ । यसको उपचारको लागि कम्तिमा पनि पाँच लाख देखी दश लाखसम्म लाग्न सक्ने डा. फुँयाल बताउँछन् । फुयाल भन्छन्– नेपाल आउँदा सबैभन्दा पहिला मलाई यसको उपचार खर्चमा लाग्ने खर्चको बिषयलाई लिएर निकै नै तनाव भएको थियो ।

यसका सामाग्रीहरु अमेरिका तथा युरोपियन देशहरुबाट बनेर नेपालमा आयत हुने भएकोले यसको उपचार खर्च महँगो भएको फुँयाल बताउँछन् । यस विधिबाट बन्द भएको नशा खोल्नको लागि मात्र लगभग दुई लाख देखी पाँचलाख सम्मको खर्च लाग्ने गर्छ ।

त्यस्तैगरी नशा सुन्निएर फुटेको उपचार गर्नको लागि कसैमा दुई देखी तीन लाखमा उपचार हुन्छ भने कुनैमा भने आठ लाख देखी दश लाखसम्म उपचार खर्च लाग्ने गरेको छ। यधपि यो “highest level of treatment” भएता पनि कतिपय बिरामीहरुले यसको खर्च बेहोर्न सक्दैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.