पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

  २०७६ साउन ६ गते १४:१२     विकासन्युज

कास्की । पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा  उक्त प्रतियोगिता गर्न लागेकाे हाे ।

कम्युनिष्ट पार्टी (नेकपा) कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा पोखरा–८ बगालेटोलस्थित सोंपाल समाज भवनमा ‘प्रथम पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ गर्न लागिएको सङ्घका अध्यक्ष सञ्जीबहादुर कोइरालाले बताएका छन् ।

विगतका वर्षमा प्रदेश तथा जिल्लास्तरीय प्रतियोगिता गरिएकामा यसवर्षदेखि राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको र यसबाट सङ्घीय सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० तथा प्रदेश सरकारको आन्तरिक पर्यटन वर्षलाई सफल बनाउन टेवा पुग्ने विश्वास आयोजकको छ ।

गत वर्षसम्म खुला र भेट्रान्सतर्फ गरी चार इभेण्टमा प्रतिस्पर्धा गराइएकामा यस वर्षदेखि पुरुष डबल्स राष्ट्रिय इभेण्ट पनि थपिएको छ । राष्ट्रियतर्फ ४५ प्लस भेट्रान्स तथा ५५ प्लस खुला र गण्डकी प्रदेशस्तरीय पुरुष डबल खुल्ला तथा पुरुष डबल्स खुला कास्की जिल्लास्तरीय गरी पाँच इभेण्टमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

राष्ट्रिय खुल्लामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः रु ५० हजार, ३० हजार तथा रु १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्नेछन् भने खुल्ला गण्डकीस्तरीय ४५ प्लसमाथि प्रथम, द्वितिय र तृतीय हुने समूहले क्रमशः नगद रु ३० हजार, २० हजार, १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसैगरी, ५५ प्लस भेट्रान्स खुल्लातर्फ प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः नगद २० हजार, १५ हजार र १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक लक्ष्मण न्यौपानेले जानकारी दिएका छन् । प्रतियोगितामा २६० खेलाडीले भाग लिने अनुमान गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.