बाँझो जग्गा सदुपयोग गर्दै सूर्यमुखी खेतीमा व्यावसायीकरण

  २०७६ असार २२ गते १२:०४     विकासन्युज

गलकाेट। सूर्यमुखी फूलको खेती बागलुङ जिल्लामा व्यावसायिक रूपमा गर्न थालिएको छ । बागलुङ नगरपालिका–१० भुकण्डे गलुवास्थित एक वृद्धले जमीन बाँझो हुन थालेपछि व्यावसायिक रूपमा सूर्यमुखी खेती शुरु गरेका छनृ। नेपाली सेनाका पूर्व जमदार ७५ वर्षीय बमबहादुर खत्रीले जनशक्ति अभावका कारण बाली लगाउन नसक्दा जमीन बाँझो हुनलागेको भन्दै सूर्यमुखी खेती गरेका हुन् ।

खत्रीले पहिलोपटक झण्डै १५ रोपनी जग्गामा सूर्यमुखी खेती गरेका हुन् । गत वैशाख महिनामा छर्नुभएको सूर्यमुखी अहिले पाक्ने बेला भएको छ । समुद्री सतहदेखि करीब तीन हजार फिटको उचाइमा रहेको यस क्षेत्रमा खत्रीले अहिले पहिलोपटक परीक्षणका लागि सूर्यमुखी खेती गरिन्छन् । “उमेरले नेटो काट्यो, छोराबुहारीले गाउँ छाडे,” खत्रीले भने, “काम गर्ने मानिस पाइन छाडे, त्यसैले सजिलोका लागि सूर्यमुखीको व्यावसायिक खेतीमा लागेँ ।”

उनले प्रतिकेजी एक हजार २०० मा सूर्यमुखीको बीउ किनेर छरेको बताउँदै साउनमा सूर्यमुखी पाक्ने बताए । पहिलोपटक परीक्षणका लागि लगाएको सूर्यमुखी फूलेको देख्दा आफू यो व्यवसायमा सफल हुने खत्रीले जानकारी दिएका छन्। “पहिलो पटक सूर्यमुखी लगाउँदा कुनै प्राविधिकको सल्लाह नलिई शुरु गरेँ”, उनले भने “सूर्यमुखी खेती गर्न निकै सहज रहेछ, यसैपटक पाँच मुरी सूर्यमुखीका दाना उत्पादन गर्ने अनुमान गरेको छु ।”

सो उत्पादन अगावै २५ लिटरभन्दा बढी तेल र २० केजी बीउको माग भइसकेकाले बजारीकरणका लागि समस्या नहुने बताए । लगानी कम लाग्ने, उत्पादन छिटो दिने, तोरी पेल्ने मेसिनमा पेल्न मिल्ने र अन्य बालीको तुलनामा यसमा मेहनत कम लाग्ने भएकाले यसलाई विस्तार गर्दे लैजाने योजना खत्रीको छ । “अर्को वर्ष २५ रोपनी जग्गामै सूर्यमुखी खेती गर्छु”, उहाँले भन्नुभयो, “बागलुङका अन्य कृषकहरुलाई समेत सूर्यमुखी व्यवसायतर्फ आकर्षण गर्ने योजनामा छु ।” खत्रीका दुई छोराबुहारी जापानमा छन् । गाउँमा खत्री दम्पती मात्रै बस्दै आएका छन् ।

घरबारी धेरै भएपनि काम गर्ने मानिस नभएपछि मकै, कोदो लगाउन समस्या भएपछि सजिलो पेशामा लागेको खत्रीले बताए । मकै, गहुँ र कोदो जस्तो मेहनत गर्न नपरे पनि सिँचाइ, गोडमेल तथा प्रशस्त मल आवश्यक रहेको खत्रीको अनुभव छ । अहिलेसम्म उनले सूर्यमुखी खेतीका लागि जम्मा रु.४० हजार लगानी गरेका हुन् ।

स्वास्थ्यका हिसाबले पनि सूर्यमुखीबाट उत्पादन हुने तेल निकै फाइदाजनक मानिने चिकित्सकको भनाइ छ । कोलस्ट्रोल तथा मुटु रोगीलाई सूर्यमुखी तेल निकै हितकर मानिने हुँदा यसको माग निकै रहेको छ । तराईका जिल्लामा हुँदै आएको सूर्यमुखी खेती पहाडमा समेत गर्न सकिने भन्दै पहिलो पटक सूर्यमुखी खेतीको शुरुवात गरेका थिए। बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा समेत केही जग्गामा परीक्षणका लागि सूर्यमुखी खेती थालिएको छ ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.