प्याजको मूल्यमा मनोमानी, चीनबाट आयात गर्न व्यवसायी सक्रिय

  २०८० मंसिर २७ गते १०:४५     ऋतु

काठमाडौं । दक्षिणी छिमेकी भारतले तीन दिनअघि शनिबारबाट लागु हुने गरी प्याज निर्यातमा अचानक प्रतिबन्ध लगाइदियो । हरेक खाद्यान्नदेखि कृषि उपजमा छिमेकीकै भर गर्ने नेपालमा भारतको प्रतिबन्धनको फाइदा यहाँका व्यापारी र बिचौलियाले मजाले लुटिरहेका छन् ।

भारतले नेपालमात्र होइन, अन्य कुनै पनि देशमा प्याज निर्यात नगर्ने भन्दै सूचना जारी गरेपछि त्यसको सिधा असर नेपालीको भान्छासम्म पुगेको छ । नेपालीहरूको भान्छा एक्कासि महँगो हुन पुगेको छ, मात्र एउटा प्याजको भाउका कारण ।

भारत सरकारको निर्णयलगत्तै नेपाली बजारमा प्याजको भाउले आकास छोइसकेको छ । अहिले बजारमा प्याजको मूल्यमा मनपरी वृद्धि भएको छ । उपभोक्ताले महँगोमा प्याज खरिद गर्नुपरेको गुनासो गरिरहेका छन् । तर, सुनुवाइ कतैबाट हुने देखिँदैन ।

अहिले फाट्टफुट्ट केही पसलमा मात्रै प्याज पाइन्छ । तर, उनीहरूले किलोमै ७० देखि ८० रुपैयाँसम्म भाउ बढाएको र प्रतिकिलाे  १ सय ४० रूपैयाँसम्म बिक्री गरिरहेकाे उपभोक्ताको गुनासो छ ।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत बिहीबार एक राजपत्र प्रकाशित गर्दै चालू डिसेम्बर महिना अन्तिमसम्म प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै शनिबारबाट लागू हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको जनाएको थियो ।

भारतले आगामी सन् २०२४ मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ ।

त्यसको प्रत्यक्ष मार भने नेपालीको भान्छामा परेको छ । अहिले नेपाली बजारमा प्याजको हाकाकार देखिएको छ । काठमाडौंलगायत अन्य बजारमा व्यापारीले मनखुसी प्याजको मूल्य बढाएका छन् ।

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको हाहाकार देखिएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठ बताउँछन् ।

‘नेपालमा प्याज आउने भनेकै भारतबाट हो । त्यहाँबाट नआएपछि समस्या त हुने नै भयो,’ श्रेष्ठले विकासन्युजसँग भने, ‘नेपालमा सिजनमा मात्रै प्याज उत्पादन हुन्छ । प्रत्येक नेपालीको भान्छामा प्याजको प्रयोग हुन्छ । नेपालमा उत्पादित प्याजले २ प्रतिशत भान्छा पनि धान्दैन ।’

अलि–अलि कहीँ कतैबाट व्यवसायीले जोहो गरेर ल्याएको प्याज बजारमा बिक्री भइरहेको उनले बताए । ‘एक साता अगाडि १ सय देखि १ सय २० रुपैयाँ किलोमा बिक्री भएको प्याज आज मंगलबार १ सय ३५ देखि ४० रुपैयाँसम्ममा बिकिरहेको छ । बजारमा स्टक नै छैन । केही आएको बिक्री भएको हो ।’ अन्य सहरी क्षेत्रमा प्याजको मूल्य १ सय ५० रूपैयाँ नाघेको छ ।

‘केही व्यापारीले चीनबाट प्याज आयात गर्न लागेको भन्ने पनि सुन्नमा आएको छ,’ श्रेष्ठ भन्छन्, ‘नेपालको केसमा विशेष व्यापारिक सम्पर्क भनेको भारतीय व्यापारिक केन्द्र तथा व्यापारीसँग हो । र, नजिकको बजार पनि भारत हो । चीनबाट पनि प्याज आयात गर्न नसकिने त होइन । तर, प्याज आउनै समय लाग्छ । फेरि चीनमा व्यापारिक सम्बन्ध पनि स्थापना गर्नुपर्यो । कानुनी प्रक्रिया पनि छन् । अहिले नै भन्न सकिने अवस्था छैन ।’

श्रेष्ठले बजारमा आलुको अभाव भने नभएको बताए । गत शुक्रबार आन्तरिक राजस्व विभागले स्वदेशी प्याज तथा आलुमा भ्याट नलाग्ने स्पष्ट पारेसँगै अहिले आलुको आपूर्ति सहज भएको उनको भनाइ छ ।

नेपाल कृषि उपज आलु, प्याज तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेल भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि केही व्यापारीले व्यापारिक मित्रताका आधारमा पहल गरेर थोरै मात्रामा प्याज उपलब्ध भएको जस्तो देखिएको बताए ।

‘आउन नसक्ने सामानलाई बजार ल्याएर बेच्दा अलिकति महँगो त पर्ने नै भयो,’ उनले भने ‘राष्ट्रियस्तरबाट पनि केही पहल हुन्छ भन्नेमा हामी विश्वस्त छौं । एक–दुई दिनमा सरकारको निर्णय पनि आउला ।’

केही व्यवसायीले चीनबाट पनि प्याज निर्यात गर्न लागेको खबर सुन्नमा आएको उनले बताए । ‘सामान लोड भइसकेको भए पनि नेपाल भित्रिन १०–१२ दिन त लागिहाल्छ,’ उनले भने, ‘यता, व्यवसायीले चीनबाट अर्डर गर्ने र उता भारतको प्रतिबन्ध खुल्ने भयो भने नेपाली बजारमा चिनियाँ प्याज बिकाउन गाह्रो हुन्छ ।’

उपभोक्ता हितमा कसले बोल्छ ?

उपभोक्ता हितबारे सोच्ने र बोल्ने फुर्सद सायदै कसैलाई होला । उपभोक्ता अधिकारकर्मीबाहेक सरकारले पनि यसबारे बोलेको कमै सुनिन्छ । हाल भइरहेको प्याज हाहाकार र यसको अचाक्ली मूल्यवृद्धिप्रति उपभोक्ता अधिकारकर्मी के भन्छन् त ?

‘सरकारले भारतसँग कूटनीतिक पहल नगर्दा तस्करी भएर प्याज नेपाल भित्रिरहेको छ । नेपाल, बंगलादेश र भुटानका हकमा नेपालले भारतलाई चिठी लेख्यो भने भारतले निर्यात खुलाउने सम्भावना छ,’ उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ भन्छन्, ‘यसको मतलब नेपालमा प्याजको अभाव छैन भन्न खोजिएको हो । तर, बजारमा त प्याज छैन ।’

अझै विस्तृत बानियाँकै शब्दमाः

नेपाल र भारतबीच खुला सीमाना । २० वटा साइकलमा प्याज ल्याइयो भने पनि एक ट्रक भइहाल्ने रहेछ । साइकलमै ल्याउँदा पनि रोकतोक गर्ने कोही छैन । त्यसरी प्याज भित्रिँदा बजार अभाव हुँदैन । पछि व्यापारीले अभाव देखाएर आफूखुसी मूल्यवृद्धि गर्छन् । उपभोक्ताले महँगो पनि तिर्नुपर्ने अनि राजस्व पनि उठ्ने ।

यो त आलु र प्याजमा जहिलेसम्म मूल्य अभिवृद्धि कर (भ्याट) लाग्छ, त्यो बेलासम्म यही अवस्था आउँछ । नेपालमा उत्पादन भएको आलु र प्याजमा भ्याट हटाउने भने पनि नेपाली आलु हो कि भारतीय कसरी चिन्ने ? आलुमा ठाउँको नाम लेखेको हुँदैन । राति २० देखि २२ वटा साइकलमा प्याज आइरहेको छ । सम्बन्धित निकायले के हेरेर बसेको छ थाहा छैन । ९ देखि १४ प्रतिशत सरकारले कृषि प्यवसाय प्रवद्र्धन कर लगाउने गरेको थियो । अहिले त्यो पनि खुकुलो गरेको छ ।

चीनबाट प्याज आयात गर्ने कुरा जुन आइरहेको छ, अहिले त्यो सम्भव छैन । स्याउ, लसुनलगायत अन्य वस्तु चीनबाट आयात त हुन्छ । तर, प्याज आयात गर्ने कुरा भन्नासाथ सहज भने छैन । अब प्याज र आलुमा भ्याट फिर्ता नगर्दासम्म हालत यस्तै हुन्छ ।

भारतले उत्पादन गरेको प्याज र आलुमा भ्याट लगाउने भनेको कुरा सही हो त ? नेपालले उत्पादन गरेका वस्तुमा सरकारले भारतलाई भ्याट लगाउन दिन्छ त ? त्यसैले गर्दा नै प्याजमा भारतले प्रतिबन्ध लगाएको हो ।
०००
अब कुरा सुनौं सरकारको ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्र ठाकुर प्याजको समस्याका विषयमा के कसरी गर्ने भनेर छलफल भइरहेको बताउँछन् ।

‘भारत सरकारले आफैं प्याज बाहिरबाट आयात गरिरहेको अवस्था छ । भारतले नै अफ्रिकाबाट १० लाख टन प्याज आयात गरेको तथ्यांकले देखाएको छ,’ प्रवक्ता ठाकुर भन्छन्, ‘हामी पनि वैकल्पिक उपायहरू खोज्दै छौं । भारतलाई अनुरोध गर्ने एउटा बाटो छ । तर, उसले आयात गरेको प्याज मगाउँदा झनै महँगो पर्न जान्छ ।’

उनका अनुसार नेपालले पनि कुन वैकल्पिक माध्यमबाट ल्याउन सकिन्छ वा अफ्रिकाबाट लिएर आउने भन्ने योजना बनिरहेको छ । प्याज नाशवान वस्तु भएकाले ल्याइहाल्न पनि समस्या छ ।

‘हामीले गृहकार्य गरिहेका छौं । तर, अहिले नै यो हुन्छ भन्न सक्ने अवस्था छैन,’ ठाकुर भन्छन्, ‘हामीलाई चाहिने खाद्यान्नमा हामी आफैं आत्मनिर्भर हुन सक्नुपर्छ । त्यसका लागि कृषिमै जोड दिने हो ।’

चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा भारत र चीनबाट २ करोड २२ लाख ८२ हजार रुपैयाँको १ लाख २० हजार ७ सय ८४ किलो सुक्खा प्याज आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । त्यस्तै गत आर्थिक वर्ष २०७९/८० मा ११ करोड ७४ लाख ४ हजार रुपैयाँको १३ लाख २८ हजार ६ सय ११ किलो प्याज आयात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.