क्रिकेटमा चीनलाई १० विकेटले हराउँदै नेपालकाे उत्कृष्ट विजयी शुरूवात

  २०७६ असार १८ गते १३:४२     विकासन्युज

काठमाडौं । एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा बुधबार भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चीनले नेपाललाई ५४ रनको सामान्य लक्ष्य दिएको थियो । ५४ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।

नेपालको लागि पवन सर्राफले सर्वाधिक ४६ रनको योगदान दिए । उनले २१ बलमा तीन छक्का र छ चौकाको मद्दतमा ४६ रन बनाएका हुन । त्यस्तै रित गौतमले अविजित १० रन जोडे । जीतसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पराजित चीन भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा दुई खेल खेलेको चीन दुवै खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा चीन सिङ्गापुरसँग पराजित भएको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको चीनले २३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ५३ रनमा समेटिएको थियो । चीनका लागि लियाङ चेन र गुओहाओले समान १३÷१३ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क बटुल्न सकेनन् ।

बलिङतर्फ नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिँदा तिलक भण्डारीले तीन तथा कमल सिंह ऐरीले एक विकेट झारे । नेपालले समूह चरणको अन्तिममा सिङ्गापुरसँग खेल्ने कार्यक्रम छ । उक्त खेल यही असार २० गते हुनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.