गर्मी बढेपछि आजदेखि मकवानपुर र चितवनका विद्यालय बन्द, तराईको जनजीवन प्रभावित

  २०७६ असार २ गते ९:०४     विकासन्युज

काठमाडौँ । अत्याधिक गर्मी बढेपछि आजदेखि मकवानपुर र चितवनका सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरिएको छ । अत्यधिक गर्मीका कारण हेटौँडा उपमहानगरपालिकाले पाँच दिनका लागि सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

गर्मी बढेपछि अभिभावकको अनुरोध गरेकाले असार २ गते देखि ६ गतेसम्म वर्षे बिदामा कट्टी हुनेगरी पाँच दिन सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिने निर्णय भएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ । हेटौँडामा अत्यधिक गर्मी बढेपछि कतिपय विद्यालयका कयौँ विद्यार्थी बेहोससमेत भएका थिए । देशैभरको तापक्रम उकालो लागि रहेको बेला भित्रि मधेस मध्येको सबैभन्दा चिसो शहर मानिने हेटौडाको समेत तापक्रम बढेको हो ।

अहिले हेटौँडाको तापक्रम ४० डिग्रि सेल्सियसको हाराहारीमा पुगेको छ भने अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण चहलपहल शुन्य भएको छ भने हेटौँडाका विभिन्न स्थानमा रहेका पौडी पोखरीहरुमा भिड बडेको छ । गर्मी छल्न भारत तथा नेपालका तराई क्षेत्रबाट आएकाले समेत पौडी पोखरीहरु भरिएका छन् । कतिपय व्यक्तिहरु गर्मी छल्न स्थानीय राप्ती, कुखुरेनी तथा सामारी खोलामा समेत पौडी खेल्न पुगेका छन् । यता, अत्याधिक गर्मी बढेसँगै भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । महानगरपालिकाभित्रका विद्यालय असार २ गतेदेखि तीन दिनका लागि बन्द गरिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार महानगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालय बन्द गरिएको हो । महानगरप्रमुख रेनु दाहालले बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । चितवनमा ३८ डिग्रीभन्दा माथि तापक्रम पुगेको छ । तापक्रम बढेसँगै विद्यालय बन्द गर्नु परेको उनको भनाइ छ । सरोकारवालाको सुझाव र विद्यालयको वस्तुगत अवस्थाको मूल्याङ्कन गरी बिदाको निर्णय लिइएको दाहालले बताउनुभयो । गर्मी बढेसँगै साना बालबालिका बिरामीसमेत पर्न थालेका छन् ।

यसैबीच, तराईका जिल्लामा अत्याधिक गर्मी बढेपछि धमाधम विद्यालय बिदा दिन थालिएको छ । अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् ।

जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ । “बढ्दै गएको घामको रापले स–साना बालबालिका विद्यालयमै आलसतालस पर्न थाले”, सोनमा गाउँपालिका अध्यक्ष राजकुमार यादवले भने, “यसले स्वास्थ्य समस्या बढाउन सक्ने हुनाले गाउँपालिकाभित्रका सबै विद्यालय छ दिन बन्द गर्ने निर्णय गर्यौँ ।”

लगत्तै जिल्लाको मनराशिशवा र बलवा नगरपालिकाले पनि आजैदेखि छ दिन विद्यालय बन्द गरिने जनाएका छन् । बिहान सूर्य उदयदेखि साँझ अस्तसम्म एकटङ्कारको घामको राप बढेकाले विद्यालय बन्द लागिएको मनराशिशवा नगरपालिकाका प्रमुख सञ्जयकुमार सिंहले बताए । जिल्लाका अन्य स्थानीय तहले पनि आज नै विद्यालय बन्द गरिनेबारे छलफल गरिने जनाएका छन् । मौसममा सुधार नआए आज नै विद्यालय बन्द गरिने मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहले गर्मी छल्न केही दिन विद्यालय बन्द गर्ने तयारी गरेका छन् ।

जिल्लामा पछिल्ला तीन दिनयता यसअघि कहिल्यै नखेपिएको प्रचण्ड घामको राप बढेको छ । बर्दिवासको भोलावसन्तचोकमा जडित तापमापन सूचना केन्द्रले हिजो शनिबार दिउँसो ३ बजे ४३ डिग्री सेल्सियस तापक्रम देखाएको थियो । अहिले यस भेगमा प्रचण्ड गर्मीको रापले सामान्य हिँडडुल पनि सकस बनेको छ । गर्मीले गर्दा हाटबजार र कार्यालयमा पनि चहलपहल देखिँदैन । गर्मीका कारण महोत्तरीका हाटबजारमा सर्वसाधारणको आवागमन निकै घटेको छ । प्रचण्ड घामको रापले विद्यालय पढ्न जाने स-साना नानी, वृद्धवृद्धा र कडा शारीरिक श्रम गर्ने मजदुर मारमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.