नुवाकोट गोल्डकप जारी, आइतबार पुलिस र सशस्त्र भिड्दै

  २०७६ जेठ २६ गते १५:३६     विकासन्युज


विदुर । नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लवमाथि संकटा क्लबले जित हासिल गरेकोछ । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा शनिवार सम्पन्न खेलमा आर्मीमाथि २ गोल हानी २–० गोलको जित निकाल्दै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा पाएको मौकाको सदुपयोग गर्न नसक्दा आर्मी पहिलो खेलबाटै बाहिरिनु परेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलमा आर्मीले आफ्नो दवाब कायम गरेपनि गोल गर्न भने सकेन । संकटाको लागि जर्सी नं १९ का लक्ष्मण रुचालले खेलको मध्यान्तर पछि गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि लगातार संकटाको पोष्टमा आक्रमण गरेको आर्मीको प्रयास असफल भएको थियो । थप समयको तेस्रो मिनेटमा संकटाको लागि पुन रुचालले गोल गर्दै संकटाको जित निश्चित पारे । खेलमा २ गोल गरेका रुचाल नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार र ट्रफी हात पारे ।

सेमिफाईनल प्रवेश गरेको संकटाले फाईनल प्रवेशको लागि मनाङ र च्यासल क्लबबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत आइतबार दुई विभागिय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ । जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटवल संघको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन । प्रतियोगिता आगामी जेठ ३१ गतेसम्म सन्चालन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.