‘ओपन हार्ट सर्जरी सेवा’ धेरै अस्पतालले शुरु गरे, थोरैले मात्र टिकाएः डा. प्रेमराज बैद्य

<p>मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले चिकित्सा क्षेत्रमा ४० बर्ष बिताइसक्नु भएको छ । क्यान्सरको सर्जन बन्छु भनेर पढ्न जाने क्रममा उहाँको छोरीलाई जन्मिएको केही समय नै मुटुमा समस्या आयो र ओपन हार्ट सर्जरी गर्नु परेको थियो । आफ्नै छोरीको ओपन हार्ड सर्जरी गर्नु परेको घटनाले उहाँको सोच बदलियो र सोही विषय पढ्नु भयो । त्यतिबेला [&hellip;]</p>

मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले चिकित्सा क्षेत्रमा ४० बर्ष बिताइसक्नु भएको छ । क्यान्सरको सर्जन बन्छु भनेर पढ्न जाने क्रममा उहाँको छोरीलाई जन्मिएको केही समय नै मुटुमा समस्या आयो र ओपन हार्ट सर्जरी गर्नु परेको थियो । आफ्नै छोरीको ओपन हार्ड सर्जरी गर्नु परेको घटनाले उहाँको सोच बदलियो र सोही विषय पढ्नु भयो । त्यतिबेला ओपन हार्ट सर्जरीको पढाई नेपालमा थिएन, उहाँले भारतमा पढ्नु भयो । ओपन हार्ट सर्जरी र समग्र स्वास्थ्य क्षेत्रका बारेमा मुटुरोग विशेषज्ञ डा. बैद्यसँग विकासन्युजको लागि डोमी शेर्पाले गर्नु भएको कुराकानी:

के हो ओपन हार्ट सर्जरी ? कस्तो अवस्थामा यो उपचार विधि अपनाउनु पर्छ ?
शल्यक्रियाद्वारा मुटुमा रगतको आपूर्ति चालू राख्न वैकल्पिक बाटो बनाउने प्रक्रियालाई ‘ओपेन हार्ट सर्जरी’ भनिन्छ। एन्जियोप्लास्टीको प्रक्रियाबाट धमनीले रगत आपूर्ति जारी राख्ने सम्भावना नभएमा यो शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस प्रक्रियाअन्तर्गत बिना कुनै रोकावट मुटुमा रगतको प्रवाह होस् भनेर बन्द भएको धमनीको सट्टा अर्को वैकल्पिक बाटो बनाइन्छ, जसको लागि चाहिने नली बिरामीको शरीरबाट नै लिइन्छ । यो सर्जरी गर्नको लागि अब्बल जनशिक्ती सहितको अप्रेसन थिएटर चाहिन्छ । जन्मजात हुने ९९ प्रतिशत मुटुरोगमा ओपन हार्ट सर्जरी गर्नु पर्ने हुन्छ । मुटुको प्वाल यदी सजिलो ठाउँमा छ भने ओपन हार्ट सर्जरी गर्नुपर्दैन । यो मुटुको सबैभन्दा सजिलो सर्जरी हो, तर समयमा नगरे सबैभन्दा गार्हो भएर जान्छ।

यसको सुरुवात विश्वमा कहिले शुरु भयो र नेपालमा कहिले ?
ओपन हार्ट सर्जरी सबैभन्दा पहिला अमेरिकामा सन् १९५२ मा भएको थियो । दुर्घटनाका कारण एक बिरामीको मुटुमा प्वाल परेको र उनको मुटु खोलेर अप्रेसन गरिएको थियो । त्यसपछी दोस्रो पटक रसियामा १९५४ मानिसलाई बेहोस् नगरी पहिलो अप्रेसन गरिएको थियो । नेपालमा पहिलो पटक यो सर्जरी अष्ट्रेलियन समुहले वीर अस्पतालमा १९९८ मा शुरु गरेको हुन् । त्यस समयमा नेपालको पहिलो मुटुको शल्य चिकित्सक कार्डियो सर्जन दामोदर पोख्रेल हुनुहुन्थ्यो । त्यसपछि बल्ल टिचिङ अस्पतालमा १९९९ मा भगवान् कोइराला शुरु गर्नु भयो । त्यसपछी गंगालालमा पनि अप्रेसन शुरु भएको हो ।

नेपालमा ओपन हार्ट सर्जरीको अध्ययन गर्नुभएको डाक्टरहरु कति हुनुहुन्छ ?

हाल नेपालमा ओपन हार्ट सर्जरीका डाक्टरहरु संख्या औंलामै गर्न हुनुहुन्छ । सर्जरीमा पुरै टिमको आवश्यक हुने भएकोले अझै पनि धेरै ठाउँहरुमा यो सेवा उपलब्ध रहेको छैन । संख्याको कुरा गर्नु पर्दा हाल नेपालमा यसबारे अध्ययन गरेका प्रोफेसनल डाक्टर मात्र २० जना छन् । त्यस्तै १०–१२ जना डाक्टरहरु नेपाल बाहिर काम गरिरहनु भएको छ ।

सरकारी अस्पतालको कुरा गर्नु पर्दा गंगलाल अस्पताल, टिचिङ, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यो सर्जरी हुन्छ । प्राइभेटको कुरा गर्नुपर्दा धेरै ठाउँमा यो सेवा शुरु भएर बन्द भएको छ ।

कुन कुन अस्पतालमा ओपन हार्ट सर्जरी हुन्छ ?
ओपन हार्ट सर्जरी यस्तो सर्जरी हो जसमा एउटा प्रोफेसनल टिमको आवश्यक हुन्छ । एकको अनुपस्थितिमा सर्जरी गर्न मुस्किल हुन्छ । धेरै अस्पतालमा सेवा शुरु भएपनि लामो समयसम्म टिकाउन सकेनन् । सरकारी अस्पतालको कुरा गर्नु पर्दा गंगलाल अस्पताल, टिचिङ, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यो सर्जरी हुन्छ । प्राइभेटको कुरा गर्नुपर्दा धेरै ठाउँमा यो सेवा शुरु भएर बन्द भएको छ । अहिले आएर मेडिसिटी अस्पतालमा थोरै मात्रामा अप्रेसन हुने गरेको छ। नेपालको पहिलो ओपन हार्ट सर्जरी हुने ठाउँ वीर अस्पतालमा भने अहिले डाक्टर र टिम नभएका कारण मेसिनहरु त्यसै थन्किएर बसेका छन् । मुटुको अप्रेसन गर्ने मेसिन नेपालमा १५ वटा छन्, जसमा ५ वटा मात्र प्रयोगमा छन् ।

कुन उमेर समूहले यो सर्जरी गर्न सक्छन् ?
रोग जन्मजात भएको खण्डमा सानैमा नै यो सर्जरी गर्नुपर्ने हुन्छ किनभने ठूलो हुँदै जाँदा यसले झनै समस्या निम्त्याउन सक्छ र अप्रेसन नै गर्न नमिल्ने सम्म हुनसक्छ । अन्य मानिसहरुमा मुटुमा प्वाल भएको अवस्थामा अप्रेशन गर्नुपर्ने हुन्छ । मुटुको ४ वटा भल्ब हुन्छ र यदी यी ४ मा कुनै एउटा बिग्रिए सामान्य औषधी प्रयोग गरेर पनि कम गर्न सकिन्छ।

मुटुको धमनीमा अवरोध भएको खण्डमा हार्ट अट्याक हुने गर्दछ । रगतको धमनी बन्द छ अथवा छैन भनेर एन्जियोग्राफी गरेर मात्र पत्ता लगाउन सकिन्छ ।  ईसीजीबाट पनि हार्टअट्याक कहिले काहीँ पत्ता लगाउन सकिन्छ । ७० प्रतिसत भन्दा माथि ब्लक भएको खण्डमा मात्र हामीले धमनी बन्द भएको थाहा पाउँछौ, जसकारण मुटुलाई खोल्नु पर्ने हुन्छ ।

मुटुको सर्जरी किन महँगो छ ? सरकारले यस उपचारको लागि के कस्तो सुविधा दिँदै आएको छ ?
मुटुको अप्रेसन महँगो हुनुको कारण हर्टलङ्स जोड्नको लागि एकपटक मात्र प्रयोग गर्ने सामानको मात्रै २५–३० हजार पर्छ जुन एकपटक प्रयोग गरिसकेपछी प्रयोग हुँदैन । अहिले ओपन हार्ट सर्जरी गर्न करिब २ लाखको हाराहारिमा खर्च हुने गर्दछ । सरकारले विपन्न नागरिकको लागि १ लाखसम्म अनुदान दिईरहेको छ, बिरामीले थप १ लाख रुपैंया जुटाउनु पर्ने हुन्छ ।७५ बर्ष पूरा भएका ज्येष्ठ नागरिकको उपचार निःशुल्क हुन्छ भने १५ बर्ष भन्दा मुनिका बालबालिकालाई पनि सबै निःशुल्क छ । त्यस्तै, हार्ट फाउन्डेसन र जयन्ती मेमोरियल ट्रस्टले प्रतिबिरामी १०-१० हजार सहयोग उपलब्ध गराउने गरेको छ ।

सर्जरी पछि निको हुन कति समय लाग्छ ?
अप्रेशन गरेको १ हप्ता देखि १० दिन जति आरामा गर्नु पर्छ । यो अप्रेसनको पहिलो ३ महिना पछि बिरामीले मज्जाले कुनै पनि अवरोध बिना काम गर्न सक्छन् । कुन अवस्थामा के कारण सर्जरी गरिएको हो, त्यो कारणले के कस्तो सावधानी अपनाउनु पर्ने हो भन्ने तय गर्छ । यदी मुटुको प्वालको बन्द गराइएको हो भने त्यसको लागि कुनैपनि सावधानी अप्नाउनु पर्दैन तर मुटुको भल्ब फेरेको मान्छेले मुटुको भल्ब फेरिसकेपछी जिन्दगीभर रगत पातलो गर्ने औषधी खानुपर्छ र त्यस्तै रगत पनि जाँच गराइराख्नु पर्छ । रगत पातलो भएको अवस्थामा औषधी घटाउनु पर्ने हुन्छ। ती बिरामीले सामान्य मानिसले जस्तो काम गर्न सक्दैनन् । बल गरेर ज्यादा काम गरेको अवस्थामा उसको भल्ब फेरी बिग्रन सक्छ । मुटुको धमनीको बाईपासको अप्रेसन गरेको मानिसले पनि सावधानी अपआउनु जरुरी छ । बाइपास गरेको नशा फेरी बन्द हुन सक्छ, त्यसैले कोलेस्ट्रोल, सुगर र ब्लड प्रेसर ब्यालेन्समा राख्नुपर्ने हुन्छ । साथै उसले नियमित व्याम गर्ने, मानसिक तनाब नलिने र जिन्दगीभर औषधी खानुपर्छ । औषधी छोडेको अवस्थामा बिरामीको फेरी पनि मुटुको धमनी बन्द हुने सम्भावना हुन्छ । मुटुको धड्कन गडवड भइरहेमा एउटा पेशमेकर नामको मेसिन जोड्न सकिन्छ । यसले मुटुको धड्कनलाई कन्ट्रोल गर्छ ।

ओपन हार्ट सर्जरी गर्न करिब २ लाखको हाराहारिमा खर्च हुने गर्दछ । सरकारले विपन्न नागरिकको लागि १ लाखसम्म अनुदान दिईरहेको छ, बिरामीले थप १ लाख रुपैंया जुटाउनु पर्ने हुन्छ ।

नेपालमा मुटु रोगीको अवस्था के कस्तो छ ?
नेपालमा जनचेतनाको कमी छ । देशको राजधानीमै रहेका मानिसहरु पनि अझै मुटुरोगबारे अनभिज्ञ छन् । हामीले भर्खरै पाटनमा हेल्थ क्याम्प सञ्चालन गर्दा एकजना युवकलाई भेट्टाएका थियौँ । उनको मुटुको भल्ब बिग्रिसकेको थियो, तर अहिलेसम्म उनी अस्पताल पुगेका छैनन् । नेपाल हार्ट फाउन्डेसनले जाजरकोटमा हेल्थ क्याम्प गर्दा त्यहाँ धेरै मुटुका बिरामी भेट्यौँ ।

नेपालमा मुटुरोगका बिरामी कति छन् ?
नेपालमा कति जना मुटुरोगी छन् भन्ने तथ्याङ्क अहिलेसम्म छैन, त्यसैले तथ्यांक संकलन काम हुँदैछ । विश्वको तथ्याङ्क हेर्ने हो भने ८० प्रतिशत विकासउन्मुख राष्ट्रका मानिसको मृत्‍युको मुख्य कारण मुटुरोग बनेको छ । नेपालमा कति जना मुटुरोगी छन् भन्न नसकिए पनि शहिद गंगालाल र मनमोहन अस्पतालको रिपोर्ट अनुसार मुटुको भल्ब बिग्रिने रोगीको संख्या  सबैभन्दा बढी छ। गंगालाल अस्पतालमा मात्र मुटुरोगको हरेक दिन २–४ वटा अप्रेसन हुने गर्दछ । मुटुको धमनीको रोगीहरु नेपालमा धेरै छन् र समयमै अस्पताल नपुग्ने कारण मानिसहरुको सानो उमेरमै मृत्‍यु हुने गरेको छ ।

मुटुरोग लाग्नुको कारण के के हुन ? मुटुलाई कसरी स्वस्थ राख्न सकिन्छ ?

मुटुरोग लाग्नुको कारणहरु धेरै छन्, हाम्रो जीवनशैली पनि एउटा कारण हो । अस्वस्थ खानेकुरा खाँदा, शारीरिक व्यायामको कमीले मुटुको धमनीको रोग लाग्ने गर्दछ । यस बाहेक वंशानुगत कारणले पनि मुटुरोग लाग्ने गर्दछ । मुटुलाई स्वस्थ राख्न हामीहरुले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी छ । धुम्रपान, सुर्तीजन्य पदार्थबाट टाढा बस्ने, नियमित व्यायाम गर्ने, हरियो सागसब्जी खाने, भुटेको–तारेको खानेकुरा नखाने, समय समयमा आफ्नो मुटु चेक गराएर मुटुलाई स्वस्थ राख्न सकिन्छ ।

Share News