कुनै ठाउँमा दुःख पाउँछौं कि भन्ने हामीलाई डर छ…तर नबिल बैंक एक्लै हिड्छ- अध्यक्ष शम्भुप्रसाद पौडेल

२०७६ वैशाख १८ गते १४:०३ विकासन्युज

नबिल बैकका अध्यक्ष शम्भुप्रसाद पौडेल बैंकिङ क्षेत्रको सम्मानित नाम हो । उहाँसँग बैकिङ क्षेत्रको करिब ५ दशक लामो अनुभव छ । त्यसमा पनि राष्ट्र बैंकमा बसेर गरेको नियामकिय अनुभव, राष्ट्रिय बीमा संस्थानमा कार्यकारी अध्यक्ष भएर काम गरेको अनुभवदेखि नेपालको पहिलो संयुक्त लगानीको बैंक नविल बैंकमा शुरु देखि हालसम्म निरन्तर सञ्चालक भएर काम गरेको अनुभव छ । धेरै मापदण्डका आधारमा आजसम्म नबिल बैंक यो बजारको उदाहरणीय संस्था हो । जहाँ पौडेल ३५ वर्षदेखि निरन्तर सञ्चालक समितिमा हुनुहुन्छ । उहाँकै नजरमा बैकिङ क्षेत्रमा कति परिवर्तन आयो ? अबका चुनौति के हुन् ?  प्रस्तुत छ अध्यक्ष पाैडेलसँग  विकासन्युजका लागि  रामकृष्ण पौडेल र नविन पाेखरेलले गरेकाे विकास बहस ।

तपाईको जीवनकालमा बैङ्किङ क्षेत्रमा कस्तो विकास देखियो ?

यसमा प्रष्ट के छ भने बैंक भनेको विकास हो । मेरो आखाँले हेर्दाखेरी बैकिङ क्षेत्रमा धेरै विकास भयो । अरु क्षेत्रमा पनि धेरै विकास भएको छ । तर सिस्टमेटिक विकास कति भएको छ भन्ने प्रश्न आउँछ । विकास भएको छ तर सिस्टम विकास भएको छैन भने काम छैन । सो कुरा मान्छेले सोच्न आवश्यक भइसकेको छ । सिस्टमको विकास भएन भने भद्रगोलको ताँती हुन्छ ।

वाणिज्य बैकले जम्मा २ वटा काम गर्थे । एउटा डिपोजिट लिन्थ्यो, अर्को लोन दिन्थ्यो । अहिले हाम्रो बैकले सर्वसाधारणलाई १४/१५ प्रकारको सेवा उत्पादन गरेर उपयोग गर्न दिँदै आएको छ । यो विकास हो । म सानो छँदा बागबजारमा खेतै खेत थियो । अहिले सबै सिमेन्टका घरले भरिएका छन् । त्यो पनि विकास हो । तर त्यो विकास सहि तरिकाले भयो कि भएन ? उचित पूर्वाधार बने कि बनेनन् ? विकास सबैतिर भएको छ । तर सिस्टमेटिक विकासबारे सोच भएन ।

बैंकिङ क्षेत्रको विकास पनि सिस्टम्याटिक रुपमा भएको छैन भन्न खोज्नु भएको हो ?

बैकिङ क्षेत्रमा विकास भएको छ, राम्रो विकास भएको छ । तर, विकासको पनि परिधी हुँदो रहेछ । हाम्रो देश सानो छ । विकास पनि सुस्त छ । अरु ठूला देशमा विकास धेरै भईसक्यो । विकसित देशमा भएको विकासलाई हामीले कति ग्रहण गर्न सकेका छौं, त्यो पनि हेर्नुपर्छ । विदेशको विकास हामीभित्र छिर्न सक्नु पर्छ । त्यतिमात्र होइन, अब हाम्रो विकास विश्वका अरु बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने गरी हाम्रो क्षमताको विकास हुनुपर्छ । नेपालका बैकले अरु–अरु देशको बैकसँग लोन लिन पाउने सिस्टम आईसक्यो । अब विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्ने बैंक पछाडि पर्छ ।
नेपाल अरब बैंक सुरु हुने बेलामा वा तपाई राष्ट्र बैंकमा हुँदा गरेका परिकल्पना अुनसार काम भइरहेका छन् कि केही पृथक भएका छन त ?

परिकल्पना भन्दा पनि भोग्ने कुरा हो । हामी लेखक, फिल्म प्रोडुसर होइनौँ । बैकर भएको नाताले हामीले परिकल्पना गर्ने भन्दापनि काम गर्ने हो । हामीले काम गर्दा कहीँ-कहीँ चुकेका पनि छौँ । जस्तै लाईसेन्स लिने काममा हामी चुकेका हौ । लाईसेन्स बढी दिइकोमा अहिले हामी (बैकिङ क्षेत्र)ले पश्चाताप गर्नुपरेको छ । हामी त्यसलाई कसरी मिलाउने भनेर समेत काम गरिरहेका छौँ । अहिले ग्रामिण क्षेत्रमा शाखा विस्तार गर्न सरकारले वाणिज्य बैंकहरुलाई फोर्स गरिरहेको छ । त्यसको रिजल्ट के आउँछ भनेर हेरिएको छैन ।

सरकारी नीतिले स्थानीय तहमा बाणिज्य बैंक जान फोर्स गर्नु गलत हो ? यसको प्रभाव कस्तो होला ?

यहाँ रेमिट्यान्सको खेल के हो ? त्यो बुझ्नुपर्छ । गाउँगाउँमा रेमिट्यान्स गएको छ । ग्रामिण क्षेत्रमा केही गरौँ भन्नेका लागि पनि बैंक आवश्यक छ । डिपोजिट गर्न, ऋण दिन विभिन्न कामको लागि बैंक आवश्यक हुन्छ । बैंकले पनि यसैबाट आर्जन गर्छ । थानकोटमा पैसा डिपोजिट भएको छ भने त्यो पैसा जनकपुरमा माछा पाल्ने काममा प्रयोगमा आउँन सक्छ । हिजो पनि त्यो पोलिसी थियो । राष्ट्र बैंकले शाखा विस्तार गर्नु पर्ने कुरामा निर्देशित गरेको थियो । वि.स. २०२६ रसुवामा र २०३३ सालमा मनाङमा नेपाल बैकको शाखा खोल्ने बेलामा मैले राष्ट्र बैंकबाट सर्वेक्षणको काम गरेको थिएँ ।

त्यतिबेला खोलिएका बैंकका शाखाहरु मध्ये बीचमा केही बन्द पनि भए । त्यस्तै अवस्था फेरी दोहोरिने सम्भावना छ ?

यो प्रश्न निकै मार्मिक छ । तर पहिले र अहिले हेर्दा अवस्था फेरीएको छ, आकाश र जमिनकै फरक भएको छ । त्यो बेला जनशक्ति निष्क्रिय थियो, विकास थिएन । अहिलेको अवस्थामा जनशक्ति कम छ तर पनि विकास भएको छ । अहिले विकास गर्न जनशक्ति र पैसा दुवै चाहिएको छ । पहिले बैंकहरु भएपनि विकास थिएन । त्यतिबेला विकासको ‘व’ नै थाहा नभएको अवस्था हो । उहिले विकास भनेको धान, चामल, मकै आदि थियो । अहिले जलविद्युत उर्जा, कृषि, पर्यटन क्षेत्रमा विकास भएको छ । साथै, अहिले रेमिट्यान्स आएको छ । त्यसलाई मिलाउन आवश्यक छ । स्थानीय नेता, बैंकका म्यानेजरहरु स्थानीय मानिसलाई बैंकिङ सेवाको बारेमा, यसबाट कसरी लाभ लिन सकिन्छ भनेर सिकाउने हो भने शाखा बन्द गर्नुपर्ने अवस्था आउँदैन ।

धान, मकै मात्र उत्पादन गर्ने तहको विकासबाट सिमेन्ट गर्ने, जलविद्युत उत्पादन गर्ने तहमा देश पुग्यो । तर वृहत अर्थतन्त्रमा वृहत समस्या छन् । घट्दो आन्तरिक उत्पादन र बढ्दो आयातले बैदेशिक व्यापार घाटा निकै बढेको छ । तपाईलाई लाग्छ अहिलेको विकास दिगो हुन्छ ?

यो त प्रष्ट छ । हिजोको दिनमा हाम्रो बाबु–आमाले खेतमा धान उत्पादन गर्थे । त्यहि बेचेर चारधाम घुम्न जान्थे । तर अहिलेको अवस्थामा हेर्दा खेतमा धान रोप्न छोडिदैछ । अहिले आफ्नो उत्पादनबाट पैसा आएको छैन । विदेशबाट रेमिट्यान्स आएको छ । विकास गर्ने भनेको आफूले खाएर बचेको कुरा परदेशमा समेत सप्लाई गर्न सक्नु पर्छ । विकासको मूल्याङ्कन आजको दिनमा हामीले मात्र खाएर हुँदैन ।

तेस्रो मुलुकबाट पैसा भित्र्याउने र तिनै देशबाट सामान पनि आयात गरेर विकास दिगो हुँदैन । हामीले निर्यात पनि गर्न सक्नुपर्यो । हामीले पनि जापान र कोरियाको जस्तो काम गर्न आवश्यक रहेको छ । हामीकोमा गफ भए, काम भएन । विदेशबाट रेमिट्यान्स आए, विदेश मै बनेका समान आए । यहाँ केही पनि उत्पादन भएन । यसले हामीलाई कमजोर बनाएको छ । त्यसैले हिसाब किताब राम्रोसँग हुनुपर्यो । गर्नु पर्ने विकासमा केन्द्रीत हुनुपर्यो ।

बैकिङ् क्षेत्रमा २ अर्ब चुक्तापूँजी भएका बैंक ८ अर्बमा पुगेका छन् । केही बैंकको कोर क्यापिटल २०/२२ अर्ब भन्दा माथि पुगेको छ । यस्तो अवस्थामा लगानीकर्ताले कस्तो प्रतिफल पाउलान् ?

अब गाह्रो छ । नबिल मात्र यस्तो बैंक हो जसले मर्जर नगरीकन, हकप्रद सेयर जारी नगरीकन बोनस सेयरबाटै चुक्तापूँजी ८ अर्ब रुपैयाँ पुर्याउन सक्यो । तर अब लगानीकर्तालाई हिजोको रेसियोमा बोनस दिन नसकिएला । हिजो नगद लाभांश मात्र दिएको भए सजिलो हुन्थ्यो तर त्यसरी चुक्ता पुँजी ८ अर्ब पुर्याउन कठिन हुन्थ्यो । अझै पनि लगानीकर्ताका लागि भने राम्रै हुने अवस्था रहेको कुरामा प्रकाश पार्न चाहान्छु ।

नबिल बैकले आर्थिक बर्ष २०७३/७४ को तुलनामा आर्थिक बर्ष २०७४/७५ मा झण्डै १० प्रतिशत कम लाभांश दियो । आगामी वर्ष घट्छ कि बढ्छ ?

कारण के हो भने त्यसबेला ८ अर्ब बनाउन आवश्यक थियो । पोलिसी मेकरले भनेको मान्नै पर्ने अवस्था भएकाले यस्तो भएको हो । अहिले हेर्दा लगानीकर्ताको नाफा घटेजस्तो देखिए पनि त्यसरी पूरै भने घटदैन ।

सोझो हिसाबमा भन्नुपर्दा अहिले नबिलले ३४ प्रतिशत लाभांश दियो । अर्को वर्ष ३०/२५ हुँदै घट्छ वा ४०/४५ हुँदै बढ्छ ?

हामीले सकेसम्म धेरै दिन प्रयास गर्ने हो । समय परिस्थितिले पनि समर्थन गर्नुपर्छ । बैंक नै बन्द गर्ने अवस्थामा त नाफा दिन सकिन्न । अहिलेको जस्तो अवस्था रहेमा भने लगानीकर्ताले पाउँने नाफा बढी हुन्छ ।

९/१० वर्षअघि नबिल बैंकले एक पटक १० स्थानमा शाखा खोल्दा कर्पोरेट क्षेत्रमा बिग न्यूज बनेको थियो । तर आज नबिल भन्दा पछि आएका बैंकको शाखा ३०० हुन लाग्दा नबिलको १०० भन्दा कम छ, किन यस्तो भयो ?

हो, यो कुरा हामीलाई समेत महशुस भएको कुरा हो । तर तपाईलाई थाहै छ जतिबेला हामीले एकैपटक १० वटा शाखा खोलेका थियौँ हामी २०/२२ वटा वाणिज्य बैंक मध्ये ६/७ नम्बरमा थियौ । अहिले २८ वटा बैंकमा हामी १ नम्बरमा छौं ।

सामसुङ र नोकिया मोबाइल बीचको प्रतिस्पर्धामा ‘नोकिया’ हराएको जस्तो ‘नबिल बैक’लाई कठिन भएको हो ?

हामी हाम्रो हिसाबमा ठिक ट्रयाकमा छौँ । कुनै कुनै सुचाङक तलमाथि हुन सक्छ । यो विश्वमा नै हुने कुरा हो । बैंकको एउटा सूचाङकलाई मात्र आधार बनाएर समग्रमा मुल्याङक गर्न पनि मिल्दैन । मूल्याङकन गर्ने ३०/३५ वटा आधारमा हुन्छन् । हामी पनि १/२ वटा आधारमा चुकेका हुन सक्छौ ।

तपाईले ९/१० वर्षअघिको नबिल बैंकको अवस्थाबारे प्रशंग उठाउनु भयो । त्यतिबेला नबिल बैंक छैटौँ/सातौँ नम्बरमा थियो । अहिले एक नम्बरमा आएका छौं । हामीले भन्दा अरुले राम्रो गरेको भए हामी कसरी एक नम्बरमा आयौँ ? त्यो पनि विश्लेषण गरिनुपर्छ ।

नबिल बैंकले विगतमा जे पोलिसी लियो त्यहि पोलिसीमा हिड्छ । हामी एक्लै हिड्छौं । हामी सकेसम्म साइज बढाउँदै जान्छौं । भएन भने, मर्ज गर्नु पर्ने बाध्यता आयो भने त्यतिबेला सोचौँला ।

कतियप बैंकहरु मर्जरमा गएका छन् । हामी एक्लै अगाडि बढेका छौं । हामीलाई मर्जरमा जानु पर्ने अवस्था पनि छैन । अरु बैकहरु छिटो हिडदा हामी ढिलो जस्तो देखिएका हौला तर त्यही हिडाइले आज हामीलाई यहाँ पुर्याएको छ । हाम्रो भित्रको जग बलियो भएकाले आज हामी १ नम्बरमा आउँन सकेका छौँ।

धेरैले नबिल बैंकलाई उदाहरणीय बैंकको रुपमा प्रस्तुत गरेको हामीले सुनेका छौं । तर आज बजारमा नबिलको भन्दा अरु बैंकको नाम अगाडि आउन थालेको छ । कतै नबिललाई पुरानो हैसियत जोगाउन गाह्रो भएको हो कि ?

बजारमा काम भन्दा विज्ञापन बढी भएको छ । हरेक बैंकको ब्यालेन्सीट हेर्दा आफैँ थाहा हुन्छ । हामीले गरेको काम हेर्नेले हेरेका छन्, बुझ्नेले बुझेका छन् । कुनै बैंकको शाखा धेरै होलान्, कुनै बैंकको चुक्ता पुँजी धेरै होला, कुनै बैंकले निक्षेप धेरै लिएका होलान्, कुनै बैंकले कर्जा लगानी बढी गरेका होलान् । कुनै बैंकको नाफा अलि बढी होला । तिनै बैंकको ब्यालेन्सीट नबिल बैंकसँग तुलना गरेर हेर्नुहोस् त । सबै सूचकलाई एकै ठाउँमा राखेर हेर्दा नबिल बैंक नै किन अगाडि आउँछ ? अन्य बैक हामी भन्दा पछाडि किन परे ?

हामीले आफ्नो हिसाबमा काम गर्दै आएका छौँ । काम गर्ने क्रममा कहि कतै कमजोरी पनि भएका हुन सक्छन् । हामी त्यसलाई सच्याउन तयार रहेका छौँ ।

२८ वटा वाणिज्य बैंक मध्ये आज पनि नबिल बैंक राम्रो मानिन्छ । त्यसमा त विवाद नै छैन । तर के नबिल बैकले अहिलेको पोजिसन आगामी दशकसम्म कायम राख्न सक्छ ?

बजारमा कतिपय नयाँ कुरा आउँछन् । त्यसलाई तुरुन्तै बुझेर लागू गर्न सकेनौ भने हामीलाई कुनै कुनै ठाउँमा मुस्किल पर्नसक्छ । कुनै ठाउँमा हामीले दुःख पाउँछौं कि भन्ने डर पनि छ । त्यो हिसाबले हामी सचेत पनि छौं । हाम्रा शुभचिन्तकले समेत यस विषयमा सचेत रहन सल्लाह दिँदै आउनु भएको छ । तपाई सुध्रनुहोस है भनिरहनु भएको छ । तपाईले जुन प्रश्न उठाउनु भयो, त्यो पनि हामीलाई सचेत गराउने शुभेच्छायुक्त प्रश्न हो । यो शुभलक्षण पनि हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जरमा जाउन् भन्ने चाहेको छ । यसमा तपाईको दृष्टिकोण के हो ? नलिब बैंक के गर्छ ?

मैले शुरु मै भने यहाँ सिस्टम भएन, भद्रगोल भयो । पोलिसी मेकरले, हिसाबकिताब गरेर बोलेको होला । राष्ट्र बैंकले त्यसै बोल्दैन । बैंकहरुको संख्या बढी भयो, भीड भयो, त्यसलाई व्यवस्थित बनाउनु पर्छ भनेर राष्ट्र बैंकले जे भन्दै आएको छ, मेरो हिसाबमा पनि त्यो सहि हो । यसमा राष्ट्र बैंकको भन्दा मेरो फरक विचार छैन ।

के त्यसो भए नबिल बैंक पनि मर्जरमा जान्छ ?

नबिल बैंकले विगतमा जे पोलिसी लियो त्यहि पोलिसीमा हिड्छ । हामी एक्लै हिड्छौं । हामी सकेसम्म साइज बढाउँदै जान्छौं । भएन भने, मर्ज गर्नु पर्ने बाध्यता आयो भने त्यतिबेला सोचौँला ।

इन्भेष्टमेन्ट बैंकले मर्ज चाहेको छ । अध्यक्ष पृथ्वीबहादुर पाँडेले पनि मर्ज आवश्यक भएको सार्वजनिक टिप्पणी गरिसक्नु भयो । नविल बैंक किन एक्लै हिड्न चाहान्छ ?

पृथ्वीबहादुर पाँडेले मर्ज आवश्यक भन्नु कुनै नयाँ कुरो नै भएन । उहाँले यसअघि नै एउटा डेभपलमेन्ट बैंक एक्वाएर गरिसक्नुभएको छ । मर्ज तथा एक्विजिशनको प्रक्रियामा उहाँहरु यसअघि नै गईसक्नुभयो । हामीले त अहिलेसम्म मर्ज तथा एक्विजिशन केही पनि गरेका छैनौं ।

बाध्यात्मक राष्ट्र बैंकको पोलिसी हामीले स्वीकार गर्नैपर्छ । नत्र हामी विगतमा पनि एक्लै उठेका हौ । अब पनि एक्लै हिड्छौ । धेरै बैंक मर्जरमा गए । मलाई विश्वास छ, हामी एक्लै अगाडि बढ्न सक्छौं ।

वित्तीय क्षेत्रमा जुन शीर्षकहरुमा जति कर लाग्छ, लगानीकर्ताले त्यसलाई सहज रुपमा लिएका छन् कि बढी कर लाग्यो भन्ने लाग्छ ?

अहिलेसम्म हामीले सोचेका छैनौं । तर हाम्रा कर्मचारीले ह्याण्ड टु माउथको समस्या देखाए, लगानीकर्ताले उचित प्रतिफल पाएनन्, स्टक मार्केटप्रति लगानीकर्ताको विश्वास गुमायो भने विरोधको आवाज आउने छ । यहाँ बैंकहरुले बढी नाफा गरे भनेर व्यापारीहरुले विरोध गरिरहेका छन् । उनीहरु ५ रुपैयाँमा आयात गरेको सामान ५० रुपैयाँमा बेच्छन्, ५० रुपैयाँमा किनेको सामान ५०० रुपैयाँमा बेच्छन् । बैंकहरुको स्प्रेडदर ४.५ प्रतिशत मात्र तोकिएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रका लगानीकर्ताले पनि कान ठाडो बनाएका छन् । नबिल बैंकले त ३४ प्रतिशत लाभांश दिएकोले सेयरधनी खुशी नै छन् । यहाँ ५ प्रतिशत लाभांश नपाउने कम्पनीहरु पनि छन् । तिनका लगानीकर्ता त सन्तुष्ट छैनन् ।

नबिल बैंकले केही समयअघि १३ प्रतिशत व्याजमा, त्यो पनि अग्रीम भुक्तानी दिने गरी मुद्दति खातामा निक्षेप उठायो बजारबाट । ८५० मा सेयर किनेका लगानीकर्ताले ४ प्रतिशत भन्दा कम प्रतिफल पाए । लगानीकर्ताले भन्दा ३ गुणा बढी प्रतिफल निक्षेपकर्ताले पाए । यस्तो अवस्थामा नबिल बैंकको सेयरमा लगानी गर्नेहरु कसरी सन्तुष्ट हुन सक्छन् ?

यो त बजारको कुरा हो । जसले १०० रुपैयाँमा सेयर किनेका थिए, उनीहरुले त ३४ प्रतिशत नै पाए । दोस्रो बजारमा लगानी गर्नेले छुट्टै हिसाव गरेका छन् । कुनै कम्पनीको सेयर ३१ हजार रुपैयाँमा पनि किनबेच भएका छन् । त्यो सेयर किन्नेले पनि हिसाब गरेकै होलान् । नबिल बैंकको सेयर ६ हजार ६ सयमा पनि किनबेच भयो । एक महिनाअघि ६०० रुपैयाँमा पनि झर्यो । ६०० किन्नेले अहिले नै २५० भन्दा बढी फाइदा गरिसकेका छन् । जान्नेले फाइदा लिए । कुन बेलामा किन्ने, कुन बेलामा बेच्ने त्यो त लगानीकर्ताले फाइदा नोक्सान हेरेर निर्णय गर्ने कुरा हो ।