बैंक तथा वित्तीय संस्थाबाट भूकम्पपीडितले लिए दुई अर्ब ६८ करोड ऋण

  २०७६ वैशाख ८ गते ९:२१     विकासन्युज


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई रु दुई अर्ब ६८ करोड बराबरको सहुलियत कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महिनाको विवरणअनुसार त्यस्तो कर्जा लिने भूकम्पपीडितको सङ्ख्या एक हजार ५७७ रहेको छ ।

भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराएको पुनरकर्जाअनुसार पीडितले उक्त परिमाणको रकम ऋण लिएका हुन् । यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने लक्ष्यले केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्ने पुनरकर्जाको उपयोग सो अवधिमा बढेको छ ।

चालू आवको आठ महिनासम्म केन्द्रीय बैंकले रु २४ अर्ब ५४ करोड पुनरकर्जा लगानी गरेको छ । त्यसमा साधारण पुनरकर्जा रु २० अर्ब ३८ करोड रहेको छ भने निर्यात पुनरकर्जा रु एक अर्ब ४८ करोड छ । यस्तै सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पुशपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्या १४ हजार ११३ पुगेको छ ।

सो कार्यक्रममा रु २३ अर्ब ४१ करोड कर्जा बक्यौता रहेको छ भने रु ९८ करोड २२ लाख ब्याज अनुदान दिइएको छ । ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ मा भएको व्यवस्थाअनुसार अन्य क्षेत्रतर्फ रु पाँच करोड १४ लाख कर्जा प्रवाह भएको बैंकले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.