खाता खोल्दा ग्राहकलाई बैंक तथा वित्तीय संस्थाबाट सय रुपैयाँ !

  २०७५ चैत २८ गते ८:४२     विकासन्युज

काठमाडौँ । नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ हालिदिने भएका छन् । सरकारको ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ खर्च गर्न लागेका हुन् ।

यसका लागि राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिइसकेको छ । बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले बुधबार हरेक नयाँ खातामा सय रुपैयाँ जम्मा गरिदिने निर्णय गरेको छ ।

यो कार्यक्रम ०७६ वैशाख १ देखि लागू हुनेछ । उक्त वर्षभरि खुल्ने प्राकृतिक व्यक्ति (व्यक्तिगत) खातामा बैंक तथा वित्तीय संस्थाले सय रुपैयाँ हालिदिन लागेका हुन् । उक्त रकम बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउनेछन् । संस्थागत खातामा भने यो व्यवस्था लागू हुने छैन । बचत खाताको ब्याजदर भने बैंकअनुसार फरकफरक हुनेछ ।

पछिल्ला केही वर्षयता सरकारले वित्तीय पहुँच विस्तारका लागि सबै नेपालीको बैंक खाता कार्यक्रम घोषणा गर्दै आएको छ । कार्यक्रम घोषणा भए पनि अपेक्षित रूपमा वित्तीय पहुँच विस्तार भएको देखिँदैन । यही कारण सरकारले आउँदो वैशाखदेखि उक्त कार्यक्रमलाई व्यापक बनाउन लागेको छ । कार्यक्रमलाई सफल प्रभावकारी बनाउन अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सहकार्य गर्न लागेका हुन् ।

यो कार्यक्रमअनुसार नयाँ खाता खोल्दा ग्राहकले यसअघि कुनै बैंक तथा वित्तीय संस्थामा खाता नभएको पुष्टि गर्नुपर्नेछ । यसको अर्थ यसअघि बैंक खाता खोलिसकेका ग्राहक यो कार्यक्रममा सहभागी हुन पाउने छैन । बैंकिङ पहुँचमा नभएका ग्राहकलाई लक्ष्यित गरी यो कार्यक्रम ल्याइएकाले पहिल्यै खाता भइसकेका ग्राहकले सुविधा नपाउने राष्ट्र बैंकले जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.