चैत्र २९ गते बुढामगर दम्पतिले नाचघरमा गर्ने भए ‘युगल साँझ’

  २०७५ चैत २२ गते १६:४४     विकासन्युज

काठमाडौं । चैत्र २९ गते लोक गायक बुढामगरका दम्पत्तिले नाचघरमा ‘युगल साँझ’ को आयोजना गरेका छन् । चर्चित लोक गायक एवम् वरिष्ठ बाद्यवादक खर्कबहादुर बुढा मगर र उनकी धर्मपत्नी लिलावती बुढामगरले यही २९ गते काठमाडौंको जमलस्थित् राष्ट्रिय नाचघरमा ‘युगल साँझ’ को आयोजना गर्ने भएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा हुने उक्त कार्याक्रममा साँझ सम्म तयारी हुने बुढामगरले बताए । उनका अनुसार दिउँसो २ बजेदेखि शुरु हुनेछ । त्यस दिन साँझ सभ्य र भव्य रुपमा सम्पन्न हुने दम्पत्तिले विश्वास दिलाए ।

उक्त कार्यक्रममा कम्तिमा १२ वटा गीत प्रस्तुत गर्ने पनि गायक बुढामगरले जानकारी दिए । उनले भने,‘विशेषगरि सल्यानमा नाचिने पैंसेरुँ, सोरठी र टप्पा नाँच पनि हामी प्रस्तुत गर्छौं । यी पौराणिक, मौलिक नाचको प्रस्तुतीका लागि सल्यानबाटै स्थानीय कलाकारहरु आउनु हुनेछ । यसबाट सल्यानकोमात्र नभई सम्पूर्ण कर्णालीको संस्कृतिको एउटा पाटोलाई झल्काउने छ ।’

आफ्नो सांगितिक यात्राको दौरानमा करिब २०० वटा लोकगीतहरु यो जोडिले रेकर्ड गरिसकेको छ । उनीहरुका व्यवसायिकभन्दा मौलिक र स्थानीय लोकगीतहरु रहेका छन् । खर्क बहादुर बुढा मगर गायकमात्र नभएर नेपालकै अब्बल बाद्यवादक हुन् । उनको ३१ वर्षे सांगितिक यात्रामा करिब २५००० (पच्चिस हजार) भन्दा बढी नेपाली लोकगीत तथा संगीतमा मादलका तालहरु रेकर्ड गराएका छन् ।

उक्त युगल साँझको दिन मादलको मात्रै एउटा सोलो प्रदर्शन उनीलगायतको समुहले गर्नेछ । मादल वादकको इतिहास हेर्ने हो भने खर्क बहादुर बुढालाई “मादल सम्राट” को उपाधिले विभुषित गर्दा उनको यसप्रतिको साधना र लगावको सम्मान हुने सल्यान सरोकार समाजको भनाई छ ।

उक्त ‘युगल साँझ’ कार्यक्रमलाई सम्पन्न गर्नको लागि सल्यानका १० वटै स्थानिय सरकार, कर्णाली प्रदेशको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, बैंकहरुको विशेष आर्थिक सहयोग रहेको पनि समाजले स्पष्ट पारेको छ । त्यस्तै, अन्य गैर–सरकारी संघ–संस्था र थुप्रै शुभचिन्तकहरुले साथ सहयोगको आश्वासन दिएको पनि समाजले जनाएको छ ।

कार्यक्रमबाट बचत भएको रकम संस्थाको अक्षयकोष निर्माणको लागि जम्मा हुने सल्यान सरोकार समाज परिवार अध्यक्ष संघर्ष सदिक्षा घर्तीले जानकारी दिईन् । उक्त कोषबाट आउने वार्षिक ब्याजले सल्यानबाट आउने विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई विगतमाझैं आउने दिनमा पनि सक्दो आर्थिक सहयोग गरिने उनले बताईन् ।

कार्यक्रम समाजका महासचिव फौद बहादुर बस्नेत, सचिव तुलसी भण्डारी, पर्यटन व्यवसायी भीम भारती र सल्यान युवा सञ्जाल काठमाडौंका सुदर्शन बुढाथोथकीको पनि सहभागिता रहेको थियो । उक्त युगल साँझमा सहभागी हुनेहरुको लागि पाँच सय र हजार रुपैयाँको टिकट शुल्क निर्धारण गरिएको पनि समाजले जनाएको छ । उक्त युगल साँझको आयोजक नै सल्यान सरोकार समाज रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.