कोलोरेक्टल क्यान्सरबारे नर्भिक हस्पिटलले गर्यो जनचेतनामूलक कार्यक्रम

  २०७५ चैत १९ गते १५:०६     विकासन्युज


काठमाडौं । रोटरी क्लब चन्द्रागिरीसँगको सहकार्यमा नर्भिक इन्टरनेशनल हस्पिटलले कोलोरेक्टल क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । मार्च महिनालाई कोलोरेक्टल अर्थात् ठूलो आन्द्रा र मलासयको अर्बुदरोग(क्यान्सर)बारे जनचेतना अभिवृद्धि गर्ने÷गराउने महिनाका रुपमा लिइन्छ । सोही अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको अस्पतालले जनाएको छ ।

ठूलो आन्द्रा र मलाशयको अर्बुदरोग मानिसलाई हुने अर्बुदरोगहरु मध्ये तेस्रो ठूलो र भयानक रोगमा पर्दछ । विश्व तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यस रोगका १८ लाख नयाँ विरामीहरू देखापर्ने गर्छन् भने तिनीहरु मध्ये झण्डै ५० प्रतिशत अर्थात् नौ लाख जतिले ज्यान गुमाउने गर्दछन् । हालैका वर्षहरूमा नेपालमा समेत यस रोगका रोगीहरू प्रशस्तै भेटिन थालेका छन् ।

नर्भिक हस्पिटलका कोलोरेक्टल तथा जनरल सर्जन डा. सत्यदीप भट्टाचार्यका अनुसार ठूलो आन्द्रा तथा मलाशय (कोलन र रेक्टम)को क्यान्सरबारे आवश्यक जनचेचना सबैमा हुने हो भने, नियमित जाँच/परीक्षण गराउने हो भने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोगलाई सजिलै रोकथाम गर्न सकिन्छ ।

हस्पिटलले गरेको कार्यक्रममा नर्भिकका पेटरोग विशेषज्ञ डा. वरुण शाहले ठूलो आन्द्रा र मलाशयका तमाम रोगहरुको निदानमा कोलोनोस्कोपीको महत्वबारे प्रकाश पारेका थिए । रोग समयमै पत्ता लागेमा ठूलो आन्द्रा र मलाशयका सबै खाले क्यान्सर रोगको शल्यक्रियात्मक उपचार सहज हुन सक्ने चिकित्सकहरु बताउँछन् । शल्यक्रियाका साथसाथै रेडियसन थेरापी तथा किमोथेरापी पनि साथसाथै चलाउनुपर्ने हुन्छ । रोग समयमै पत्ता नलागी ढिलो हुँदा सफल उपचार हुने दर ५० प्रतिशत मात्रै वा सोभन्दा पनि कम हुने बताइएको छ ।

कुनैपनि व्यक्तिमा ठूलो आन्द्रा/मलाशयको अर्वुदरोग (क्यान्सर) हुने जोखिम उमेरसँगै बढ्दै जान्छ । सबै महिला तथा पुरुष जो ४५ वर्ष कटिसकेका छन्, तिनलाई ठूलो आन्द्रा र मलाशयको अर्वुदरोग हुनसक्ने जोखिम समान रुपमा बढेर जान्छ । तसर्थ उमेर पुगेका हरेक महिला तथा पुरुषले नियमित रुपमा रोग परीक्षण/जाँच गराउनु अत्यावश्यक हुने नर्भिक हस्पिटलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.