बन्द हुने अवस्थामा कान्ति बाल अस्पताल: ६ आइसियूसहित ४६ बेड कटौती

  २०७५ चैत १७ गते ८:३८     विकासन्युज

काठमाडौँ । देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट (आइसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको हो ।

यसअघि ५२ बेडको केन्द्रीय आइसियूको अवधारणा भए पनि ३७ वटा आइसियू बेड सञ्चालनमा थिए । इन्टरमिडियट बेडको संख्या २० थियो । पुस ०७३ सम्म कान्तिको आइसियूमा १८ बेड थिए । बिरामीको चाप बढेपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले २२ पुस ०७३ देखि आइसियूमा ३४ बेड थप गरेका थिए । यद्यपि अस्पतालले ५२ वटा आइसियू बेड सञ्चालन गर्न सकेन । जम्मा ३७ बेड मात्र सञ्चालित थियो । अस्पताल निर्देशक गणेश राईले डाक्टर, नर्स र बजेटको अभावले सेवा प्रवाहमा गम्भीर समस्या आएको बताए ।

‘मेडिकल अफिसर र आइसियूमा नर्सको चरम अभाव छ । बेडसंख्या थप गर्नुपर्ने समयमा घटाउनुपरेको छ । यसै साता ६ वटा आईसियू बेड घटाएर ३१ मा झारिएको छ’ निर्देशक राईले भने, ‘हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटकपटक सहयोगको अपिल गरेका छौं । तर सहयोग मिलेको छैन । यही अवस्था रहे अस्पतालका सबै सेवा चाँडै बन्द हुन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.