दूरसञ्चार सेवा प्रदायकलाई बक्यौता बुझाउन असारसम्म मौका, नबुझाए लाइसेन्स खारेज गर्ने

  २०७५ चैत १३ गते ८:३४     विकासन्युज


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता बुझाउन बाँकी रहेका दूरसञ्चार सेवा प्रदायकलाई आगामी असारसम्म मौका दिने भएको छ ।

सेवा प्रदायकलाई यसअघि बक्यौता बुझाउन बारम्बार पत्राचार गरे पनि प्राधिकरणले अन्तिम मौकाका रूपमा असारसम्मको समयसीमा तोकेको कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । संसद्को अर्थ समितिको निर्देशनलाई सम्मान गर्दै दूरसञ्चार ऐनमा भएको व्यवस्थाअनुसार सेवा प्रदायकलाई अन्तिम मौका दिने निर्णय भएको हो, उनले भने । प्राधिकरणका अनुसार विभिन्न दूरसञ्चार सेवा प्रदायकले फ्रिक्वेन्सी शुल्क, नवीकरण शुल्कलगायत विभिन्न शीर्षकमा करिब तीन अर्ब तीन करोड रुपियाँ बक्यौता बुझाउन बाँकी छ ।

दूरसञ्चार ऐन २०५३ को दफा २८ को उपदफा २ मा भएको व्यवस्था अनुसार अन्तिम पटकका लागि मौका दिइएको खनालले स्पष्ट पारे । कानुनी रूपमै प्राधिकरणले निश्चित अवधि दिएर काममा सुधार गर्न निर्देशन दिने व्यवस्था रहेको उनले बताए । सो दफाको उपदफा २ अनुसार ‘अनुमतिपत्र प्राप्त व्यक्तिले यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम र अनुमतिपत्रमा उल्लिखित शर्तविपरीत कुनै काम गरेमा प्राधिकरणले त्यस्तो काममा सुधार गर्न निश्चित अवधिसमेत तोकी सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई आदेश दिन सक्ने’ उल्लेख छ ।

त्यस्तै उपदफा ३ मा सो अनुसार काम नगरे अनुमतिपत्र खारेज गर्न सक्ने व्यवस्था उल्लेख गरिएको छ । प्राधिकरणका अनुसार स्मार्ट टेलिकम, भारतीय लगानीको युनाइटेड टेलिकम (यूटीएल), नेपाल स्याटेलाइट र केही इन्टरनेट सेवाप्रदायकको गरी करिब तीन अर्ब बक्यौता छ । तत्काल नै अनुमति खारेज गर्दा उनीहरूको ग्राहक र उपकरण व्यवस्थापनमा पनि समस्या हुनसक्ने भएकाले प्राधिकरणले मौका दिएको उनको भनाइ छ ।

प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले असारसम्म मौका दिने र त्यो समयभित्र पनि नबुझाए १५ दिनको स्पष्टीकरण सोधेर लाइसेन्स खारेज गर्ने खनालले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.