“जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट” वैशाख २ गतेदेखि शुरु, पहिलो विजेतालाई ३६ हजार नगद पुरस्कार

  २०७५ चैत ५ गते १७:२०     विकासन्युज

काठमाडौं । आईएमई फाउन्डेसनले आगामी २०७६ साल वैशाख २ गतेदेखि “दोस्रो आईएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस टुर्नामेन्ट” आयोजना गर्ने भएको छ ।  फाउन्डेसनले आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खेल क्षेत्रको विकासका साथै खेलप्रतिको सीप अभिवृद्धि गर्ने उदेश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको उक्त टुर्नामेन्ट वैशाख ७ गतेसम्म संचालन हुने छ । जसमा देशभरबाट ८ वर्षदेखि १४ वर्षसम्मका प्रतिष्पर्धीहरुले भाग लिन पाउने आयोजकले जनाएका छन् । प्रतियोगितमा भाग लिन इच्छुक प्रतिष्पर्धीहरुले चैत ५ गतेदेखि २५ गतेसम्म आवेदन फारम बुझाउन पर्ने छ ।

इच्छुक खेलाडीले दशरथ रंगशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस एसोसिएसन सातदोबाटो ललितपुर, मण्डीखाटार टेनिस कोर्ट मण्डीखाटार, नाउलिङ्ग स्पोर्टस भिल्ला सुन्दरवस्ती भंगाल र आईएमई कम्प्लेक्स पानीपोखरीमा आवेदन फारम बुझाउन सक्नेछन् । उपत्यका बाहिरका इच्छुक प्रतिष्पर्धीहरुले आईएमईको सम्बन्धित क्षेत्रीय कार्यालयमा फारम बुझाउन सक्नेछन् । साथै, इमेल तथा आइएमई फाउन्डेशनको वेवसाइटबाट फर्म भर्ने व्यवस्था मिलाइने फाउन्डेशनका सदस्य राजु पौडेलले जानकारी गराएका छन् ।

त्यस्तै, प्रतियोगितामा भाग लिन इच्छुकले आफ्नो उमेरअनुसार सेवा शुल्क तिरेर आवेदन दिन पाउने व्यवस्था रहेको छ । उक्त व्यवस्थाअनुसार ८ वर्षकाले ५०० रुपैयाँ, ९ र १० वर्षकाले ७०० रुपैयाँ तथा १२ देखि १४ वर्षका प्रतिष्पर्धीले एक हजार रुपैयाँ सेवा शुल्क तिर्नु पर्ने जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेले बताएका छन् ।

कुल तीन लाख २६ हजार पुरस्कार राशिको उक्त एकल प्रतियोगिता पाँच वटा वर्ग (अर्थात ८, ९, १०, १२ र १४ वर्ष)मा विभाजित गरिएको छ । सो अन्तर्गत ८, ९ र १० वर्षका प्रथम, दोश्रो र तेश्रो विजेताहरुले उनीहरुको स्थानअनुसारको पुरस्कार पाउने भएका छन् ।

जसमा पहिलो स्थान प्राप्त गर्ने छात्र तथा छात्राहरु दुबै विजेताले १२ हजार रुपैयाँ पाउने छन् । दोश्रो हुनेले ६ हजार रुपैयाँ जुन एक जना छात्र र एक जना छात्रालाई प्रदान गरिने छ । त्यस्तै, तेश्रो विजेतालाई चन्द्रागिरी केवल कारको टिकट प्रदान गरिने पौडेलले बताए ।

त्यसैगरी, १० वर्षभन्दा माथि र १२ वर्षभन्दा तलका पहिलो छात्र तथा छात्राले २० हजार नगद रुपैयाँ पाउने छ । साथै, उनीहरुले अन्तराष्ट्रिय भ्रमण तथा टुर्नामेन्टको लागि जान चाहेमा २० हजार रुपैयाँ बराबरको रकम फाउन्डेसनले व्यहोर्ने र बाकी रकम विजेता आँफैले भुक्तान गनुपर्ने पौडलले जानकारी गराए । त्यस्तै, दोश्रोलाई १० हजार रुपैयाँ नगद पुरस्कार र तेश्रो हुने विजेतालाइै चन्द्रागिरी केवलकारको दुई वटा टिकट प्रदान गरिने छ ।

साथै, १२ वर्षभन्दा माथि र १४ वर्षमुनिका पहिलो विजेतालाई ३६ हजार रुपैयाँ, दोश्रोलाई १८ हजार रुपैयाँ र तेश्रोलाई चन्द्रागिरीकै केवलकारको दुई वटा टिकट प्रदान गरिने आयोजकले बताएका छन् ।

साथै, प्रत्येक खेलाडीहरुलाई आइर्एमई ग्रुपको टिसर्ट प्रदान गरिने आयोजकले जानकारी गराएका छन् । फाउन्डेसनले मंगलबार पानीपोखरी स्थित आईएमई कम्प्लेक्समा एक पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो । सम्मेलनमा आईएमई फाउन्डेसनका सदस्य सचिव अन्जली अर्याल(ढकाल), सदस्य राजु ढकाल र जुनियर टेनिस एसोसिएसनको तर्फबाट कृष्णराज घलेको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.