कलङ्की–महाराजगञ्ज सडक विस्तारको तयारी, अध्ययन गर्दैछ चिनियाँ टोली

  २०७५ फागुन २३ गते १२:१९     विकासन्युज

काठमाडौँ । कोटेश्वर-कलङ्की सडक हस्तान्तरण भएसँगै कलङ्की–महाराजगञ्ज सडक विस्तार र सुधारको तयारी गरिएको छ । चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर-कलङ्की सडक हस्तान्तरणपछि दोस्रो खण्डका रुपमा कलङ्कीबाट महाराजगञ्जसम्मको सडक सुधारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) को काम भइरहेको सडक विभागले जनाएको छ ।

चिनियाँ पक्षले नै सडकको अध्ययन गरिरहेको विभागका वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । उनका अनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन आएपछि त्यसमा आवश्यक सुझाव समेटेर अन्तिम प्रतिवेदन आउनेछ । प्रारम्भिक र अन्तिम दुवै अध्ययन प्रतिवेदन चिनियाँ पक्षले नै गर्नेछ ।

प्रमुख श्रेष्ठले भने, “हामीले त्यसमा समेट्नुपर्ने विषयमा भने सुझाव दिइरहेका छौँ ।” कोटेश्वर-कलङ्की सडकबाट सिकेका कुरा यस खण्डमा लागू गर्न विभागले चिनियाँ पक्षलाई भनिरहेको बताएको छ । सडक चिह्न, आकाशे पुल, जेब्राक्रसिङलगायतका कुरामा ध्यान दिनका लागि चिनियाँ पक्षलाई भनिएको छ । दुई देशमा रहेका सांस्कृतिक भिन्नताका कारण कोटेश्वर-कलङ्की सडकमा समस्या देखिएको बताइएको छ । प्रमुख श्रेष्ठले भने, “रोड डिभाइडरको काम चीनमा सडक चिह्नले गर्ने भए पनि यहाँ पर्खाल चाहिने खालको हाम्रो सोचाइ रहेको छ ।”

आकाशे पुल वा ‘अण्डरपास’ कति वटा र कुन कुन ठाउँमा बनाउने भन्ने चीनले गर्ने लगानीमा निर्भर हुने विभागले जनाएको छ । यो सडकको लम्बाइ झण्डै आठ किलोमिटर छ । निर्माण सम्पन्न भएको कोटेश्वरबाट कलङ्कीसम्मको सडक झण्डै १० किलोमिटर छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.